


काठमाडौं । लामो समयदेखि लघुकथा तथा नियात्रा विधामा कलम चलाइरहेका लेखक कृष्ण बजगाईंको पछिल्लो लघुकथा कृति ‘संवैधानिक पत्नी’ सार्वजनिक गर्दै सोमाथि अन्तरक्रिया सम्पन्न भएको छ ।
आइतबार बिहान सम्पन्न कार्यक्रममा उपस्थित स्रष्टाहरूले एकसाथ उक्त लघुकथासंग्रह सार्वजनिक गरे । कार्यक्रममा समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतमले धेरै लेखकहरू मुलुकबाहिर गएपछि लेखनमा निष्कृय हुने गरेको चर्चा गर्दै थोरै लेखकमा मात्रै साहित्यमा सक्रियता रहेको उल्लेख गरे ।
उनले बजगाईंको लघुकथासंग्रह ‘संवैधानिक पत्नी’को चिरफार गर्दै उनको लघुकथा राजनीति, परिवार र सिंगो समाज समेटिएको बताए । उनले संग्रहमा केही लघुकथा कमजोर रहेको पनि बताए ।
साहित्यकार प्रमोद प्रधानले लघुकथा लेखनले व्यापकता लिए पनि लघुकथाका प्रतिनिधि लेखकहरूलाई बिर्सिंदै गएकोमा दुखेसो पोखे । समालोचक डा. लेख निरौला, डा. विदुर चालिसेले पनि लघुकथा लेखनका विभिन्न पक्षलाई लिएर चर्चा गरे ।

कार्यक्रममा लघुकथा समाजका अध्यक्ष श्रीओम रोदन, तुलसीहरि अधिकारी, प्रकाशन संस्थाका विजयराज आचार्यलगायतले आफ्नो धारणा राखेका थिए ।





