site stats
बाह्रखरी :: Baahrakhari
अविच्युरी
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
बानेश्वरका आइकन गोपालप्रसाद बास्कोटा सरको सम्झनामा
Ghorahi CementGhorahi Cement

बोष्टन, (अमेरिका)  । एउटा अग्लो गोरो वर्णको शरीर, फित्ते चस्मा लगाउने व्यक्तित्व । जसको सम्मुखमा पर्दा एक प्रकारको मिठो परफ्युमको बासना आउँथ्यो । जति उहाँको भर्टिकल उचाइ थियो, करिब त्यति नै बराबरको होरिजेन्टल दूरी पार गर्र्दै एउटा परफ्युमले स्पर्स गर्दथ्यो, उहाँको सम्मुख पर्ने जो कोहीलाई । अनि, एउटा हेडसरको अथोरिटी । जसले हामीलाई सतर्क तर प्रभावित बनाउँदथ्यो, सधैँभरि । यस्तै किसिमको स्मृतिको अटलछाप रहिरहने छ । हेडसर अर्थात् गोपालप्रसाद बास्कोटाको बारेमा ।

बानेश्वरको एउटा आइकन मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालय र त्यो विद्यालयको एउटा आइकनिक व्यक्तित्व पूर्वप्रधानाध्यापक गोपालप्रसाद बाँस्कोटा । गोपाल सरका नामले उहाँ रत्नराज्य स्कुलमा मात्र होइन, बानेश्वरमै परिचित हुनुहुन्थ्यो । सार्वजनिक विद्यालयको शिक्षा पनि गुणस्तरीय हुनसक्छ र ती विद्यालयहरुका उत्पादन पनि प्रतिस्पर्धी जनशक्ति हुनसक्छ भन्ने कुराको नजिर बनाएर जानुभयो, रत्नराज्य स्कुललाई । रत्नराज्य उहाँको कुशल नेतृत्व र शिक्षण पेसाप्रतिको प्रेमको एक जबर्जस्त हस्ताक्षर बन्यो ।

प्रवेशिका परीक्षा (एसएलसी)मा उत्कृष्ट दशको घोषणा हुने गरेको समयमा उहाँले आफ्नो कार्यकालमा रत्नराज्यलाई दुईपटक उत्कृष्ट दशमा पार्न सफल हुनुभयो । २०४३ सालको एसएलसीमा बोर्डफस्ट र २०४७ सालको एसएलसीम बोर्ड तृतीय । यी दुई सफलताहरु रत्नराज्य स्कुलको लागि महत्वपूर्ण कोसेढुंगा बने । बानेश्वर तथा वरपरको क्षेत्रका मध्यमवर्गीय परिवारका विद्यार्थीहरुको अध्ययन गन्तव्य बन्यो, रत्नराज्य । विद्यार्थी भर्ना गर्न मात्र होइन, शिक्षक नियुक्तिमा पनि कडा प्रतिस्पर्धा हुन थाल्यो ।

Agni Group

सरकारी विद्यालयहरुको शैक्षिकस्तर निजी विद्यालयको तुलनामा कम हुने गरेको चूनौतीपूर्ण घडीहरुमा गोपाल सरको नेतृत्वको रत्नराज्यलक्ष्मी माविले सदैव सम्मानित स्थान बनायो । ठ्याक्कै अंक यकिन भएन । तर, रत्नराज्यबाट एसएलसीमा उत्तीर्ण हुने विद्यार्थीको प्रतिशत हरेक वर्ष ८० देखि ९० प्रतिशतसम्म हुने गर्दथ्यो । कहिलेकाहीँ त उत्तीर्ण प्रतिशतले ९० प्रतिशत नै नाघ्दथ्यो । त्यस्तै, अधिकांश विद्यार्थीहरु फस्ट डिभिजन र सेकेन्ड डिभिजनमा पास हुने गर्दथे । तृतीय श्रेणीमा थोरै विद्यार्थी मात्र पास हुन्थे । आज रत्नराज्यलक्ष्मी माविका उत्पादनहरु स्वदेशमा सार्वजिनक जीवनका महत्वपूर्ण क्षेत्रहरुमा मात्र होइन, विदेश खासगरी युरोप, अमेरिका र अष्ट्रेलियामा पनि सम्मानित पेसामा संलग्न छन् ।

रत्नराज्यलाई एउटा सफल सार्वजिनक विद्यालय बनाउनुका पछाडि बास्कोटाको कुशल नेतृत्व क्षमताको प्रशंसा गर्नुहुन्छ, उक्त विद्यालयमा लामो समय गणित शिक्षककोे रूपमा सेवा गर्नुभएका पूर्वशिक्षक शेषमणि भट्टराई । ‘‘उहाँले टिमलाई अगाडि लिएर जानुभयो,’’ भट्टराइ भन्नुहुन्छ, ‘‘उहाँ कहिल्यै एक्लै हिँड्न खोज्नु भएन ।’’ विद्यालयको प्रारम्भिक दिनहरुमा भौतिक पूर्वाधारहरुको निर्माणको खर्च जुटाउन बास्कोटाको संयोजनमा महायज्ञ लगाइएको स्मरण गर्नुहुन्छ, भट्टराई । जानकारहरुका अनुसार विद्यालय स्थापनाकालमा मुद्धा–मामिलाको किचलोहरुमा पनि बास्कोटाको बुद्धिमत्तापूर्ण भूमिकाले विद्यालयका गतिविधिहरु चल्दै गए । झन्झट र अफ्ठ्याराहरु क्रमशः सुल्झँदै गए । बास्कोटाले सानोठिमी क्याम्पस भक्तपुरबाट बीएड र जनप्रशासन क्याम्पसबाट एमपीए गर्नुभएको थियो । लामो समय उहाँले उक्त विद्यालयमा लेखा विषय शिक्षण गर्नुभयो ।

Global Ime bank

भट्टराईका अनुसार २०४१ सालमा बास्कोटा उपप्रधानाध्यापक हुनुभयो र २०४२ सालदेखि उहाँ प्रधानाध्यापक बन्नुभयो । २०४२ सालदेखि स्कुलको रिजल्ट राम्रो हुँदै गयो । त्यसपछि त रत्नराज्यका विद्यार्थीले २०४३ सालमा बोर्ड प्रथम र २०४७ मा बोर्ड तृतीय हुन सफल भए । ‘‘गोपालप्रसाद बास्कोटा राम्रो तलब पाउँछु भनेर शिक्षण पेसामा आउनुभएको थिएन,’’ भट्टराईले भन्नुभयो, ‘‘यस क्षेत्रप्रतिको वास्तविक प्रेम र लगावको कारण नै उहाँ यो क्षेत्रमा आउनुभएको थियो । उहाँसँगको कुनै त्यस्तो क्षण छैन, जुन मलाई स्मरण नरहेको होस् ।’’

रत्नराज्यमा लामो समय अध्यापन गर्नुभएका तथा हाल अमेरिकाको केन्टक्कीमा बसोबास गर्नु हुने पूर्वशिक्षक धर्मराज अर्याल स्व. गोपालप्रसाद बास्कोटामा निर्णय क्षमता र दूरदर्शीता भएको बताउनुहुन्छ । ‘‘क्षमताअनुसारको जिम्मेवारी र समयानुसारको कार्य बाँडफाँड गर्न उहाँ सिपालु हुनुहुन्थ्यो,’’ पूर्वशिक्षक अर्याल स्मरण गर्नुहुन्छ, ‘‘कसैसँग नराम्रो नै किन बन्नु नपरोस्, उहाँ हाक्काहाक्की गाली र माया गर्नसक्ने अद्भूत क्षमता थियो ।’’

त्यस्तै, अमेरिकाको वासिंगटन डिसीमा बसोबास गर्दै आउनुभएका रत्नराज्यका पूर्वशिक्षक केशव बराल स्व. बास्कोटालाई उदार भावना भएको शिक्षकको रूपमा सम्झनुहुन्छ । ‘‘उहाँले हरेक विद्यार्थीलाई समान दृष्टिकोणले हेर्नुहुन्थ्यो र शिक्षण पेसामा संलग्न हुन चाहने नवआगन्तुकलाई उसको क्षमता जाँचेर मौका दिनुहुन्थ्यो,’’ बरालले भन्नुभयो ।

विद्यालय र पुस्तकालयको सम्बन्धलाई बानेश्वर क्षेत्रमा प्रगाढ गराउनेमध्येका एकको श्रेय पनि गोपालप्रसाद बास्कोटालाइ नै जान्छ । साहित्य, राजनीति, दर्शन आदि विभिन्न विधाका पुस्तकहरु विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुले विभिन्न पुस्तकहरु घरमा पढ्न लैजान पाउने व्यवस्था थियो । त्यति मात्र होइन, विद्यालय प्रांगणमा रत्न पुस्तकालय स्थापना गरेर साँझको समय स्थानीय युवा तथा किताब–पत्रिकाप्रेमी पाठकहरुको पनि गन्तव्य थियो, त्यो । विद्यालय, पुस्तकालय र मन्दिरको बेजोड संगम बन्यो, महादेवस्थानको रत्नराज्य स्कुल । बानेश्वरलाई उक्त पुस्तकालयले पत्रपत्रिका तथा पुस्तकलाई प्रेम गर्न सिकायो । प्रायः सबै नेपाली दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिकाहरु मात्र होइन, केही हिन्दी साप्ताहिक, मासिक पत्रपत्रिकाहरु पनि पढ्न पाइन्थ्यो । ‘‘लाइब्रेरियन भट्टजीलाई आग्रह गर्यो भने उनले व्यक्तिगत विश्वासका आधारमा पुराना पत्रपत्रिकाहरु घरमै लगेर पढ्ने अनुमति पनि दिनुहुन्थ्यो,’’ अर्यालले थप्नुभयो, ‘‘विद्यालय र पुस्तकालयको सम्बन्ध मात्र होइन, विद्यालय र मन्दिरको सम्बन्ध अनि विद्यालय र समुदायको सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने कुराको एउटा उदाहरण हुनुहुन्थ्यो, गोपाल सर ।’’

रत्नराज्यबाट २०४७ सालको एसएलसीमा बोर्ड तृतीय बन्नुभएका डा. पोशेन्द्र सत्याल अहिले क्याम्ब्रिज, युकेमा कार्यरत् हुनुहुन्छ । हेडसर गोपालप्रसाद बास्कोटासँगको आफ्नो यादलाई उहाँ यसरी सम्झनुहुन्छ, ‘‘मैले जब पहिलोचोटि लामो कद भएको कालो चस्मा लगाएर मोटरसाइकलमा आउने हेडसरलाई भेटेँ, मलाई भित्रभित्रै डर लागेर आएको थियो । तर, पहिलो भेटमै मैले हेडसरलाई साथीहरुले भनेभन्दा पूरै फरक पाएँ । जब सरले पहिलोपल्ट ९ कक्षाको सेक्सन ‘बी’मा अकाउन्ट पढाउन आउनुभयो, मेरो फस्टटर्मको रिजल्ट राम्रो भएपछि मलाई राम्रोसँग पढ्नको लागि हमेसा प्रोत्साहन दिनुभयो ।’’ डा. सत्यालले थप्नुभयो, ‘‘मलाइ लाग्छ, रत्नराज्य स्कुलबाट २०४३ सालमा नै एसएलसीमा बोर्डफस्ट प्रमोद आचार्य आइसकेकोले हेडसरले मेरो सम्भावना देख्नुभयो र त्यहीअनुसार हेडसर र सारा स्कुलले मलाई निरन्तर मार्गदर्शन र प्रोत्साहन दिने काम गरे ।’’ जनआन्दोलनका कारणले शैक्षिक क्यालेन्डरमा फरक पर्ने देखेर सबै विद्यार्थीलाई निःशुल्क अतिरिक्त कोचिङ कक्षाको प्रबन्ध हेडसर बास्कोटाले गर्नुभएको स्मरण डा. सत्याल गर्नुहुन्छ ।

सामुदायिक क्याम्पसको अवधारणामा स्थापना भएको बानेश्वर क्याम्पसको पनि संस्थापकमध्येको एक हुनुहुन्थ्यो । २०५३ मा रत्नराज्यलक्ष्मी मावि गोपाल सरलाई फोक्सोको क्यान्सर भएको खबरले विस्मित बन्यो । क्यान्सरविरुद्धको केही वर्षको उपचारपछि उहाँ फेरि २०५९ मा अध्यापनमा फर्कनुभयो । उहाँ निकटस्थहरुका अनुसार दोस्रोपटक फेरि उक्त रोग फर्कियो र उहाँलाई प्यारालाइसिस भयो । पहिल्यै विभिन्न रोगले थलिएको उहाँको शरीर कोरोनाभाइरसले गर्दा थप जटिल बन्यो । अस्पतालमा करिब डेढ महिनाअघि उहाँको निधन भयो ।

हाम्रो अकाउन्ट शिक्षक कृष्ण पाण्डे हुनुहुन्थ्यो । हामीभन्दा अगाडिका ब्याचलाई भने गोपाल सरले पढाउनुभएको थियो । मलाई याद छ, एक–दुईपटक उहाँ हाम्रो कक्षामा आउनुभएको थियो । त्यसबाहेक अन्तरस्कुल प्रतियोगिताहरुका अतिरिक्त क्रियाकलापमा अग्रपंक्तिमा रहनेहरुलाई उहाँले विशेष स्नेह गरेको सम्झन्छु ।

अमेरिकाको कोलोराडोमा चिकित्सकको रूपमा कार्यरत पंकज तिम्सिना उहाँलाई व्यावहारिक शिक्षकको रूपमा सम्झन चाहनुहुन्छ । ‘‘जुन किसिमबाट विभिन्न उदाहरणहरुको बेलिविस्तार लगाउँदै उहाँले पढाउने गर्नुहुन्थ्यो, त्यो शैलीका कारण विद्यार्थीहरुलाई विषयवस्तु सधैँ स्मरणमा रहिरहन्थ्यो,’’ तिम्सिना भन्नुहुन्छ ।

राजनीतिक र शैक्षिकवृत्तमा हेडसर गोपालप्रसाद बास्कोटा सुपरिचित हुनुहुन्थ्यो । धेरैजसो आफ्नो क्षमताको कारण र केही आफ्नो संलग्नताका कारण । उहाँ शिक्षक आन्दोलमा सक्रिय व्यक्तित्व हुनुहुन्थ्यो भने उहाँको संलग्नता राष्ट्रिय शिक्षक संगठनमा पनि थियो ।

स्मृतिका अग्ला शिक्षक गोपालप्रसाद बास्कोटा तमाम विद्यार्थीहरुको मानसपटलमा रहिरहनुहुने छ । उहाँको सत्कर्मको सुगन्ध आगामी कैयौँ वर्षहरुसम्म पनि जीवन्त रहिरहने छन् । हार्दिक श्रद्धाञ्जलि । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC