बाह्रखरी
भर्खरै
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संस्मरण अनुहारको भाषा
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, फागुन ८, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

हामी आरुबारीको त्यस घरमा जान थालेको धेरै भइसकेको थियो । जहिले जाँदा पनि घर–परिवारका सदस्यहरूको चहलपहल बाहिरबाटै देखिन्थ्यो । सबैको व्यस्ततालाई घरभित्र र बाहिरको गतिशीलताले नै बताउँथ्यो ।

तर, त्यस दिन त्यहाँको वातावरण अलि बेग्लै थियो । बाहिर कुनै चहलपहल थिएन । सधैँ व्यस्ततामा रहने घरका सदस्यहरू पनि घरबाहिर देखिएनन् । लगभग सुनसान अवस्था । हामीले सोच्यौँ– चाडबाडको बाहिरी व्यस्तताले होला । 

हामी घरको आँगनमा पुग्यौँ । घरको भुइँतल्ला र माथ्लो तल्लाका ढोका खुलै थिए । झ्यालहरू पनि खुलै थिए । बाहिरतिर कोही नदेखिए पनि घरभित्र कोही छ भन्ने आभास हामीलाई भयो । केहीबेर हामी आँगनमै उभिएर यताउति नियाल्न थाल्यौँ । माथ्लो तल्लामा कसैले खोकेको आवाज आयो । हामी त्यही आवाजलाई पछ्याउन थाल्याँै । 

Global bank

Agani Group

०००

मित्र गोविन्द वर्तमान ‘मूल्याङ्कन’ मासिकमा काम गर्थे । म ‘एक्काइसौँ शताब्दी’ मासिकमा काम गर्थेँ । कुनै बेला यी दुवै म्यागेजिन चर्चामा थिए । यी दुवैको स्तर र बिक्री राम्रै मानिन्थ्यो । तर, अहिले यी दुवै बन्द भइसकेका छन् । 

sarbottam cement

दसैंअगाडि निस्कने पत्रपत्रिकाहरूले दसंैको फुर्सदमा अध्ययनका लागि साहित्यिक रचनाहरू समावेश गर्ने प्रचलनअनुसार ‘मूल्याङ्कन’ र ‘एक्काइसौँ शताब्दी’ दुवैले दसैंअगाडिको अंकमा विशेष सामग्रीका रूपमा साहित्यिक रचनाहरू समावेश गरेका थिए । संयोग नै भन्नुपर्छ – यी दुवै म्यागेजिनमा रमेश विकलका कथा प्रकाशित थिए । 

चाबहिलका हामी केही साथी चालीसको दशकदेखि नै पत्रकारितासँग जोडिएका थियौँ । यो यात्रा साहित्यिक पत्रकारिताबाट सुरू भएको थियो । पछि यो यात्रा विभिन्न साहित्यिक पत्रिका, खबर पत्रिका र म्यागेजिनहरूसँग पनि जोडियो । कुनै पनि साहित्यिक पत्रिकामा कथा माग्नुपर्दा हामी रमेश विकललाई सम्झन्थ्यौँ । त्यति बेलादेखि नै हामी ‘नयाँ सडकको गीत’ कथासंग्रह र ‘ज्ञानी मामा’, ‘रक्तरेखा’जस्ता कथालाई मापदण्ड बनाएर नेपाली साहित्यका सर्वश्रेष्ठ कथाकार मान्थ्याँै उहाँलाई । त्यसैले पनि हामी संलग्न रहेका कतिपय पत्रिकामा उहाँको कथा राख्नैपर्ने हठ हामी गर्थ्यौँ । 

रमेश दाइलाई पत्रिका र पारिश्रमिक दिनु थियो । दसंैअगाडि नै पारिश्रमिक पाउँदा रमेश दाइ खुसी हुनुहोला भन्ने पनि लाग्योे । हामी रमेश दाइको घरमा जाने भयौँ । 

सधैँ एक–डेढ घण्टाको मर्निङ वाक गर्ने गोविन्द वर्तमान त्यस दिन मर्निङ वाकमा गएनन् । चाबहिलबाट हिँडेर जाने र हिँडेरै फर्किने विचारले उनले त्यस बिहानको मर्निङ वाकको गन्तव्य आरुबारीलाई बनाएका थिए । हामी चाबहिल चोकबाट आरुबारीतिर लाग्यौँ । चाबहिल, चुच्चेपाटी, महांकाल, रामहिटी, तीनचुले हुँदै एक घण्टाभित्रै रमेश दाइको घरमा पुग्ने हाम्रो योजना थियो । हामी आफ्नो योजनामा सफल रह्यौँ । पचपन्न मिनेटमा हामी रमेश दाइको घरमा पुग्यौँ । 

०००
‘दाइ नमस्कार !’ कोठाभित्र छिरेर हामी दुवैजनाले दुई हात जोड्दै भन्याँै तर । उहाँले नमस्कार फर्काउनु भएन । मुसुक्क हाँसेजस्तो गर्नुभयो । त्यो पनि खुलेर होइन, अलिकति खुम्चिएरै । जबर्जस्ती हाँसेजस्तो । अरू कुनै प्रतिक्रिया पनि जनाउनु भएन । एक शब्द बोल्नु पनि भएन । उहाँलाई खोकी पनि लागिरहेको रहेछ । हामीले सोच्यौँ– सञ्चो नभएर होला । 

उहाँले हातले इसारा गरेर हामीलाई बस्न भन्नुभयो । उहाँको मुखमुद्रा नै बेग्लै थियो । उहाँको अनुहार क्रोधले भरिएको हो कि पीडाले, केही बुझ्न नसकिने खालको थियो । मलिन मात्र होइन, अलि अँध्यारो पनि । 

हामी डराइ–डराइ उहाँको अगाडि गएर बस्याँै । उहाँको मुखबाट अझै पनि कुनै शब्द व्यक्त भइरहेको थिएन । उहाँको अनुहारको भावलाई बुझ्न हामीलाई निकै गाह्रो परिरहेको थियो । 

‘दाइलाई सञ्चो छैनजस्तो छ ।’ मैले भनेँ । 
‘यस्तै त हो ।’ निराशाजनक पारामा उहाँ बोल्नुभयो । 
‘दाइ निकै गल्नुभएछ ।’ गोविन्द वर्तमानले थपे ।
‘अँ, गल्ने त बेलै हो ।’ फेरि पनि निराशाजनक भावमा उहाँ बोल्नुभयो । 
हरेक भेटमा ‘के छ ?’, ‘के गर्दै छौ ?’ भनेर सोध्ने रमेश दाइले त्यस दिन त्यस्ता कुनै प्रश्न गर्नु भएन । उहाँको प्रतिक्रियारहित मौनतामा हामी पनि केहीबेर मौन बस्यौँ । मौनतालाई तोड्दै विजय चालिसे आइपुग्नुभयो । छोटो कुराकानीपछि उहाँ निस्कनुभयो । त्यति बेलासम्म पनि रमेश दाइको मौनता यथावत नै थियो । 

हामीले एक÷एकप्रति पत्रिका र पारिश्रमिक रमेश दाइलाई दियौँ । उहाँले पत्रिका र पैसा हातमा लिनुभयो । तैपनि, केही बोल्नु भएन । पत्रिका पल्टाएर हेर्ने जाँगर पनि उहाँले देखाउनु भएन । तैपनि, उहाँको रिसाएको जस्तो अनुहार हामीतिरै एकोहोरिएको थियो । हामी पनि केही अनौठो अनुभव गर्दै रमेश दाइको अनुहारतिर हेरिरहेका थियौँ । हेर्दाहेर्दै रमेश दाइका आँखा रसाए । फुस्रा आँखा एकैछिनमा रसिला देखिए । आँखामा आँसु भरिँदै गयो । हामी अलमल्लमा पर्यौँ ।

रमेश दाइ आफूअगाडिको ‘गोरखापत्र’ पल्टाउन थाल्नुभयो । गोविन्द वर्तमान रमेश दाइको अनुहार नियाल्दै थिए । म त्यही क्षण रमेश दाइका अगाडि पहिलोपटक कविता सुनाउँदाको घटनालाई स्मरण गर्न पुगेको थिएँ । 

०००

त्यस दिन कविता सुनाउने इच्छा भए पनि म डराइरहेको थिएँ । ठूल्ठूला लेखकका अगाडि कसरी कविता सुनाउने होला ? आफ्नै इच्छाका कारण उत्पन्न प्रश्नबाट म आफैँ त्रस्त बनेको थिएँ । यो प्रश्नबाट मानसिक रूपले प्रताडित पनि थिएँ म । एक मनले कविता नसुनाऊँ कि भन्ने पनि लागिरहेको थियो । अर्कोतिर, कविता सुनाउन पाएको दुर्लभ अवसरबाट पछाडि हट्नु हुन्न भन्ने कुराले बल दिइरहेको थियो । एकैछिन अगाडिसम्म म दोमनमै थिएँ । अन्ततः ममा उत्पन्न डरलाई मेरै मनको चाहनाले पराजित गरयो । 

मैले रमेश विकलजस्ता ठूला लेखकका अगाडि, अरू पनि दश–पन्ध्रजना लेखक–साहित्यकार तथा साहित्यका गम्भीर पाठकहरूका बीचमा डरले थरथरी काँप्दै कविता सुनाएको थिएँ । त्यो कविता सुनाइसकेपछि मैले आफूलाई गोलघरको चरम यातनाबाट मुक्त भए झैँ महसुस गरेको थिएँ । तैपनि, आफ्नो कविताबारे कस्तो प्रतिक्रिया हुने हो भन्ने मनभित्रको भयानक डर भने यथावत नै थियो । त्यसमा पनि रमेश विकलले कस्तो प्रतिक्रिया जनाउनुहुने हो भन्ने कुराबाट बढी डराएको थिएँ । अन्तिममा मेरो कविताका बारेमा विकल दाइको प्रतिक्रिया सुनेपछि मैले आफैँलाई प्रश्न गरेँ – ‘बेकारमा म किन डराएको हुँला ?’

यो प्रसंग २०३५ सालको अन्ततिरको हो । चाबहिलबाट ‘उत्साह’ साहित्यिक त्रैमासिक पत्रिका प्रकाशित हुन थालेको थियो । सुरूमा त्यसको प्रधानसम्पादक रमेश विकल हुनुहुन्थ्यो । सम्पादकमा देविका तिमिल्सिना, प्रकाशकमा वैकुण्ठमान मालाकार र अन्य सहयोगीमा कणाद महर्षि, गोविन्द वर्तमान, भीमानन्द ढुंगाना, मुकुन्दमणि अर्याल आदिको संलग्नता थियो । ‘उत्साह’कै नामबाट नियमित साहित्यिक गोष्ठीहरूसमेत हुने गर्थे । 

मैले एउटा कविता लेखेको थिएँ, निरंकुशताका विरुद्धमा । त्यो कविता छन्दमा लेखिएको थियो । मैले लेख्नेबित्तिकै त्यो कविता सबैभन्दा पहिले मित्र भीमानन्द ढुंगानालाई सुनाएको थिएँ । उनले नै देविका तिमिल्सिना, गोविन्द वर्तमान, मुकुन्दमणि अर्याल, गोविन्द कुइँकेल, युवराज शर्मालगायतलाई पढेर सुनाए । कविता राम्रो रहेको प्रतिक्रिया सबैको थियो । सुन्ने साथीहरूको सुझाव थियो– त्यो कविता ‘उत्साह’ गोष्ठीमा सुनाउनु राम्रो हुनेछ । त्यो सुझावले मलाई वास्तवमै उत्साहित गराएको थियो । 

स्कुलमा हुने साहित्यिक कार्यक्रमबाहेकका साहित्यिक गोष्ठी र साहित्यकारहरूको जमघटमा मैले कहिल्यै कविता सुनाएको थिइनँ । रमेश विकलजस्ता ठूला व्यक्तित्वका अगाडि कविता सुनाउनु त परै जाओस्, त्यस्ता व्यक्तित्वको अगाडि पर्नसमेत म डराउँथँे । ठूला मान्छेका अगाडि बोल्नै डर लाग्थ्यो । त्यसमा पनि आफूले कविताको नाममा लेखेको कुरा साँच्चिकै कविता हो कि होइन भन्नेमा आफैँलाई शंका लागिरहेको हुन्थ्यो । त्यसलाई ठूला साहित्यकारहरूले के–कस्तो ठान्ने हुन् भन्ने डरले पनि ग्रसित पारेको हुन्थ्यो । त्यही मनोदशाका बीच मैले जीवनमै पहिलोपटक स्कुलबाहेकको सार्वजनिक ठाउँमा, साहित्यकारहरू उपस्थित साहित्यिक गोष्ठीमा कविता सुनाएको थिएँ । 

त्यो ‘उत्साह’ गोष्ठी चाबहिलको मित्र वाचनालयअगाडि अर्थात पशुपति मित्र माध्यमिक विद्यालयको चउर (त्यति बेला त्यो ठाउँमा दुबोको चउर नै थियो)मा भएको थियो । त्यहाँ रमेश विकल, कृष्णप्रसाद सर्वहारा, रोचक घिमिरे, कणाद महर्षि, गोविन्द वर्तमान, भीमानन्द ढुंगाना, देविका तिमल्सिना, मुकुन्दमणि अर्याल, गोविन्द कुइँकेल, बलराम आधार, वैकुण्ठमान मालाकार, श्रेनु नारायण, कृष्णप्रसाद दुवाल, अच्युत कोइरालालगायतको उपस्थिति रहेको थियो । यसबाहेक अन्य केही नाम चलेका कविहरू पनि त्यो गोष्ठीमा उपस्थित रहे झैँ लाग्छ । तर, यति बेला ती सबै नामहरू सम्झन मेरो स्मरणशक्ति सक्षम नरहेको महसुस भइरहेको छ । 

रचना सुनाइसकेपछि त्यसमाथि सबैले आ–आफ्नो प्रतिक्रिया प्रस्तुत गर्ने प्रचलन ‘उत्साह’ गोष्ठीको थियो । सोहीअनुसार त्यस गोष्ठीमा मेरो कवितामाथि पनि प्रतिक्रियाहरू आए । सबैजसोको ‘छन्दको बन्धनमा पनि कविता समसामयिक सामाजिक चेतनालाई अभिव्यक्त गर्न सफल रहेको’ भन्ने प्रतिक्रिया थियो । सबैको प्रतिक्रिया लगभग एकैखालको थियो । त्यसबेला सबैको प्रतिक्रियाले मलाई उत्साहित गरिरहे पनि रमेश दाइको प्रतिक्रिया सुन्न म ज्यादै नै आतुर थिएँ । उहाँले सबैभन्दा पछि बोल्नुभएको थियो । रमेश दाइले कस्तो प्रतिक्रिया जनाउनुहुने हो ? त्यो कविता नै होइन भन्नुहुने हो कि ? यस्ता प्रश्नको यातनाबाट मेरो मुटु ढुकढुक गरिरहेको थियो । तर, रमेश दाइले अत्यन्तै संक्षिप्तमा मेरो हौसला बढाउने प्रतिक्रिया जनाउनुभयो । वास्तवमा त्यो ‘उत्साह गोष्ठी’ मेरा लागि उत्साहकै माध्यम बनेको थियो । 

त्यही ‘उत्साह गोष्ठी’ को पर्सिपल्ट बेलुका चाबहिल चोकमा, धनदाइको होटेलअगाडि रमेश दाइसँग भेट भयो । उहाँले आरुबारीको ‘ग्राम निर्माण बन्धु मण्डल’ले कविता प्रतियोगिताको आयोजना गर्न लागेकाले त्यसमा भाग लिन मलाई भन्नुभयो । उहाँले सकेसम्म नयाँ, सम्भव नभए ‘उत्साह गोष्ठी’मा सुनाएकै कविता पठाए पनि हुने कुरा मलाई बताउनुभयो । मेरा लागि यो अर्को हौसला थियो । 

रमेश दाइले भनेअनुसार नै मैले प्रतियोगितामा भाग लिएँ । प्रतियोगितामा मेरो कविता प्रथम भयो । पछि त्यो कविता ‘उत्साह’ साहित्यिक त्रैमासिकको ‘थ्याङ्क्यू मिस्टर ग्ल्याड’ उपन्यास अंकमा प्रकाशित गरेर मलाई अझै उत्साहित गर्ने काम रमेश दाइलगायत ‘उत्साह’मा संलग्न साथीहरूले गरे । भारतबाट निस्किने हिन्दी साहित्यिक पत्रिका ‘सारिका’मा प्रकाशित अनिल बर्बेको उपन्यास ‘थ्याङ्क्यू मिस्टर ग्ल्याड’लाई गोमुदेभी (गोविन्द वर्तमान, मुकुन्दमणि अर्याल, देविका तिमिल्सिना र भीमानन्द ढुंगाना)ले नेपालीमा रूपान्तर गरेका थिए । 

त्यसपछि म पनि ‘उत्साह गोष्ठी’को नियमित सहभागी बन्न पुगेँ । ‘उत्साह गोष्ठी’कै कारण धेरै साहित्यकारहरूसँग भेटघाट र चिनापर्ची गर्ने मौका मैले पाएँ । त्यही गोष्ठीकै कारण रमेश दाइसँग नजिकै रहने मौकासमेत पाएँ । उहाँसँग निरन्तर भेट भइरहन्थ्यो । भेट भयो कि ‘के छ ?, के गर्दै छौ ?’ भनेर सोध्ने बानी थियो उहाँको । उहाँको त्यो बानी मलाई अत्यन्तै प्रेरणादायी लाग्थ्यो । 

जुन बेला रमेश दाइ जागिरदार हुनुहुन्थ्यो, त्यति बेला चाबहिल चोक उहाँको दैनिक विश्रामको ठाउँ थियो । अफिसबाट घर फर्कँदा उहाँ लगभग साँझसम्मको समय चाबहिलमै बिताउनुहुन्थ्यो । त्यो पनि धन दाइको होटेल वा त्यस वरपर । कहिले आलु र चना खाँदै, कहिले चना र चिया खाँदै । दैनिक एउटा–दुईटा पेडा वा बर्फी किन्नकै लागि पनि उहाँ धन दाइको होटेलमा आइपुग्नुहुन्थ्यो ।

चाबहिल चोकमा रमेश दाइलाई देख्दा हामी हरेक दिन गौरवान्वित हुन्थ्यौँ । रमेश विकलजस्ता ठूला व्यक्तित्वका अगाडि आफूलाई उभ्याउन पाउँदा आफ्नो मान र सान दुवै बढेको अनुभव हामीलाई हुन्थ्यो । उहाँसँगको निरन्तरको भेटघाट र कुराकानीका लागि जोड्ने एउटा माध्यम ‘उत्साह साहित्यिक त्रैमासिक’ पनि बनेको थियो । यस पत्रिकाले पनि रमेश दाइसँग धेरैको आत्मीयता बढाएको थियो । कुनै दिन उहाँ चाबहिल चोकमा देखिनु भएन भने ‘आज रमेश दाइ कता जानुभएछ ?’ भनेर प्रश्न गर्नेहरू धेरै हुन्थे । 

जागिर छोडेपछि पनि उहाँ चाबहिल आइरहनुहुन्थ्यो । तर, पहिलेको जस्तो दैनिक होइन । विभिन्न कारणले चाबहिल–आरुबारी आवतजावतको क्रम क्रमशः अनियमित बन्दै गयो । उहाँ यदाकदा, कुनै विशेष काममा मात्र चाबहिल आउन थाल्नुभयो । दोस्रो जनआन्दोलनपछिको अवस्थामा चाबहिलमा उहाँको उपस्थितिको अनुभव कसैले गर्नै पाएनन् भन्दा पनि हुन्छ । उहाँ उमेर र स्वास्थ्यका कारण धेरै हिँडडुल गर्न नसक्ने हुनुभयो । महिनौँ पछि मात्र उहाँसँग भेट हुन थाल्यो । यसपटक हामी पनि लामै समयपछि उहाँको घरमा पुगेका थियौँ ।

०००
‘गोरखापत्र’का पाना पल्टाइसकेपछि रमेश दाइले त्यसलाई अलि पर फाल्नुभयो । फेरि, उही मौनता । उहाँको अनुहार फेरि पनि स्तब्ध नै देखिएको थियो । 

रमेश दाइ आ–आफ्नो स्वार्थवश भेट्न आउनेहरूसँग दुःखी हुनुभएको थियो वा हामी पारिश्रमिक र पत्रिकासहित एकाबिहानै पुगेकोमा खुसी हुनुभएको थियो ? उहाँका रसाएका आँखामा अभिव्यक्त अनुहारको भाषा बुझ्न हामीलाई निकै गाह्रो पर्यो । 

उहाँको दुःखित अनुहारलाई नियाल्दै हामी चुपचाप बसिरहेका थियौँ । उहाँका आँखा ओभानो बन्ने क्रममै थिए । बीस–पच्चीस मिनेटपछि बल्ल रमेश दाइ बोल्नुभयो– ‘आज कहाँबाट बाटो बिराएछौ ।’

रमेश विकलले आफ्नो बिग्रँदै गएको स्वास्थ्यका बारेमा बताउनुभयो । त्यही सिलसिलामा उहाँले हामीप्रति व्यंग्य गर्दै भन्नुभयो– ‘म अशक्त भएर चाबहिलतिर आउन नसक्ने, तिमीहरू सशक्त भएर पनि आरुबारीतिर धाउन नसक्ने । जे कुरा पनि आफू सक्रिय रहुञ्जेलका लागि मात्रै त रहेछ ।’

रमेश दाइ अस्वस्थताका कारण बोल्न गाह्रो मानिरहनुभएको होइन रहेछ भन्ने अब स्पष्ट भयो । बिरामी अवस्थामा, डाक्टरले धेरै बोल्नु हुन्न भनेको बेलामा पनि उहाँ बोल्याबोल्यै गर्नुहुन्थ्यो । उहाँको यो बानीसँग हामी पहिले पनि जानकार थियौँ । एकपटक उहाँ रक्तचापका कारण निकै गम्भीर अवस्थामा शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना हुनुभएको थियो । उहाँलाई भेट्न हामी चारजना– राजव, अग्निशिखा, गोविन्द वर्तमान र म अस्पताल पुगेका थियौँ । आईसीयूबाट क्याबिनमा सर्नुभएका रमेश दाइ हामीसँग बोल्याबोल्यै गरेको देखेर हामी त्यहाँबाट चाँडै हिँडेका थियौँ । यहाँसम्म कि बिदा भएर ढोकाबाट बाहिर आइसकेका राजवलाई फेरि बोलाएर रमेश दाइले साझा प्रकाशनका बारेमा सोधखोज गर्नुभएको थियो । त्यति बेला राजव साझा प्रकाशनका निर्वाचित सञ्चालक भएकाले रमेश दाइले केही कुरामा चासो राख्नुभएको थियो । तर, यसपटक स्वास्थ्य ठिकै भए पनि उहाँमा कुनै उत्साह र जाँगर थिएन । उमेरको बोझसँगै रोगले थिचेर उहाँ झन्–झन् शिथिल बन्दै जानुभएको कुरा स्पष्ट थाहा हुन्थ्यो । तैपनि, बोल्नै गाह्रो हुने अवस्थामा उहाँ हुनु हुन्नथ्यो । 

आधा घण्टापछि हामीले रमेश दाइको लेखन र दिनचर्याका बारेमा सोध्यौँ । उहाँले आफ्नो आत्मकथा लेखनका कुराहरू, रमेश विकल प्रतिष्ठानको निर्माण, पूरा हुन बाँकी केही लेख–रचनाका विषयमा सामान्य कुराहरू गर्नुभयो । त्यति धेरै खुलेर बोल्नु हुने रमेश विकल आज किन सामान्य जवाफ दिन पनि गाह्रो मानिरहनुभएको छ ? हामीले उहाँको अनुहारको भाषा त बुझ्न सकिरहेका थिएनौँ भने मनको भाषा कसरी बुझ्ने ? 

सामान्य कुराकानीमै डेढ घण्टा बित्यो । गोविन्द छटपटाउन थाले । चुरोटको तलतलले उनको धैर्य अघि नै टुटिसकेको थियो । म रमेश दाइको अनुहारको भाषा बुझ्ने प्रयत्न गरिरहेको थिएँ । गोविन्द भने मेरो प्रयासलाई बेकार मानिरहेका थिए । 

‘अब हामी जान्छौँ दाइ ।’ बसेको ठाउँबाट उठ्दै गोविन्दले भने । रमेश दाइले सजिलैसँग भन्नुभयो– ‘हुन्छ ।’ 

गोविन्द वर्तमान उठेर हिँड्ने तरखरमा लागिसकेकाले म पनि उठेँ । आफ्नो अनुहारको कान्ति र तेजलाई लुकाएर घोत्लिरहनुभएका रमेश दाइ पनि हामी सँगसँगै बाहिर निस्कनुभयो । 

आँगनमा उभिएर हामीले रमेश दाइसँग बिदा माग्ने क्रममा उहाँको अनुहारतिर हेर्यौँ । उहाँका आँखा फेरि पनि रसाएका थिए । हामी फेरि पनि अलमल्लमा पर्याँै । न रमेश दाइ केही बोल्नुभयो न हामी नै केही बोल्न सक्यौँ । हामी एक छिन त्यत्तिकै उभियौँ । 

‘जान्छौ त, ल जाओ है ।’ यति भनेर रमेश दाइ फरक्क फर्किनुभयो । फेरि पनि हामीले उहाँको अनुहारको भाषा बुझ्न सकेनौँ । रमेश दाइ घरभित्र छिर्नुभयो । हामी आफ्नो बाटो लाग्यौँ । 


०००

भोलिपल्ट बिहान रमेश दाइले फोन गर्नुभयो । उहाँले किन फोन गर्नुभएको होला भन्ने उत्सुकतासहित म ‘दाइ, नमस्कार’ भन्दै थिएँ । तर, ‘नमस्कार’ भन्ने शब्द सुन्दै नसुनी उहाँ एक्कासि कड्किनुभयो– ‘तिमी भन त, के म राजावादी हुँ, ज्ञानेन्द्रवादी हुँ म ?’

आश्चर्य मान्दै मैले भनेँ– ‘होइन दाइ, तपाईं कुनै हालतमा राजावादी हुन सक्नु हुन्न । तपाईं कहिल्यै पनि ज्ञानेन्द्रवादी हुन सक्नु हुन्न । यो कुरा म ठोकेर भन्नसक्छु ।’

मेरो उत्तर टुंगिन नपाउँदै रमेश दाइले कुरालाई अझ स्पष्ट गर्दै भन्नुभयो – ‘हेर, मेरो बारेमा अनर्गल प्रचार गर्नेहरू पनि छन् । त्यस्तो प्रचारमा नलाग्न त्यो गोविन्दलाई भनिदिनू ।’

राजा ज्ञानेन्द्रको ‘कू’पछि र दोस्रो जनआन्दोलनताका गोरखापत्रमा प्रकाशित रमेश दाइका एक–दुई लेखका बारेमा विभिन्नखाले टिप्पणीहरू भएका थिए । त्यसबारेमा ‘राजावादी लेख’ भनेर गोविन्द वर्तमानले कतै (त्यो मौखिक मात्र पनि हुनसक्छ) टिप्पणी गरेका रहेछन् । उहाँको रिस त्यसैमा रहेछ । 

त्यसबारेमा रमेश दाइले लामै कुरा गर्नुभयो । उहाँ सुरूमा निकै आक्रोशित भाषामा बोलिरहनुभएको थियो । तर, पछि निकै भावुक बन्न पुग्नुभएको थियो । उहाँले भन्नुभयो– ‘तिमीहरूलाई मैले उहिल्यैदेखि निकै माया गर्दै आएको छु । अहिले पनि गर्छु । कतिपय कुरा मैले सिकाएकै पनि हुँला । तर, अहिले आएर तिमीहरू नै मेरो विरोध गर्छौ भने मलाई अरू कसले माया गर्ला भन त ?’

रमेश दाइको यो अभिव्यक्ति निकै मार्मिक लाग्यो मलाई । कुनै पनि कुरामा तातो र कडा टिप्पणी गर्ने गोविन्द वर्तमानको शैलीका कारण रमेश दाइको हृदयमै चोट परेको महसुस मैले गरेँ । म बारम्बार ‘दाइजस्तो लेखक कुनै पनि हालतमा राजावादी हुन नसक्ने’ कुरा गरिरहेको थिएँ । तर, मेरो कुरालाई उहाँले खासै वास्ता गरिरहनुभएको थिएन । 

मैले त्यसबारेमा गोविन्द वर्तमानले कहाँ, कुन प्रसंगमा लिखित वा मौखिक के टिप्पणी गरेको हो, त्यो यथार्थसमेत बुझेर फेरि भेट्न आउने कुरा पनि गरेँ । तर, मेरो यो कुरालाई उहाँले खासै चासो दिनु भएन । एकोहोरो आफ्नो कुरा गर्दागर्दै उहाँले फोन राख्नुभयो । 

मैले रमेश दाइको अघिल्लो दिनको अनुहार सम्झिएँ । उहाँको त्यस दिनको अनुहारको भाषा बल्ल बुझेँ मैले ।
 

Nepal Investment bank
Nepal Investment bank
शनिबार, फागुन ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्