बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
पुस्तक  समानताको वकालत– ग्रिन टावेल 
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, फागुन ८, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

समाज आधुनिक बन्दै गएको छ । साक्षर दर बढेको छ । मानिसहरू धनसम्पत्ति र इज्जत प्रतिष्ठाका लागि निकै मिहिनेत गरिरहेका भेटिन्छन् । हिजोभन्दा आज र आजभन्दा भोलि मानिसको जीवनस्तर पनि बढिरहेको छ । तर समाज जति नै आधुनिक भए पनि नारी–पुरुषबीचको विभेद उस्तै छ । स्वास्नीमान्छे भएकै कारण अहिले पनि प्रताडित हुनेहरूको संख्यामा कमी आएको छैन । मानिसहरूले डिग्री त हासिल गरे तर ज्ञान र चेतना बढाउन सकेनन् । जसका कारण हामी हरेक दिन विभेद र असमानताका परिघटनाहरू देख्न बाध्य छौँ । समाजमा व्याप्त हिंसाका समाचारहरू सुन्न र पढ्न अभिशप्त छौं ।
 
यही समय कथाकार शान्ति शर्माको नयाँ कथासंग्रह बजारमा आएको छ– ‘ग्रिन टावेल’ । यो महिला पुरुषबीचको विभेद र असमानताका परिसन्दर्भहरूले भरिएका कथाहरूको संग्रह हो । प्रेम र यौनको पृष्ठभूमिमा लेखिएको महिला संवेदनाका १५ वटा कथाले भरिएको यस संग्रह वर्तमान समाजमा विद्यमान पारिवारिक, सामाजिक, आर्थिक पक्षलाई मनोवैज्ञानिक ढंगले विश्लेषण गरिएको छ ।
 
कथाकार शब्दहरूको सहाराले सामाजिक विसंगति केलाउन उद्यत छिन् । उनले आदर्श समाजको कल्पनामा बेथितिहरूको चिरफार गरेकी छिन् । कथामा जीवन उतार्न खप्पिस उनी प्रेम, संवेग, यौन मनोविज्ञानलाई लेख्छिन् । नारीमाथि हुने विभेद जसरी उनले कथामा उतारेकी छिन् त्यसैगरी उनले नारीले पुरुषमाथि गर्ने दुर्व्यवहारको पनि विरोध गरेकी छिन् । यसबाट उनी समग्र मानवताको पक्षमा छिन् भन्ने प्रस्ट हुन्छ । उनी आफैं संघर्षशील नारी भएका कारण कोमलता, समर्पण, सहनशीलता मात्र होइन उनले नारीभित्रका क्रूरता, बदमासी र बेइमानीलाई पनि लुकाएकी छैनन् । 

शान्तिका कथाहरूको सार नारी पुरुष समानता नै हो । त्यसैका लागि उनले कथाका माध्यमबाट वकालत गरेकी छिन् । तर केही कथामा उनले गरिरहेको वकालत प्रस्ट र ज्यादा मुखरित हुँदा सन्देश दिनकै लागि कथा लेखेको भान पर्छ । संरचनागत हिसाबले सुन्दर कथाहरू पढिरहँदा पाठक रोमाञ्चित हुन सक्छन् । कति स्थानमा पाठक संवेदित र भावुक बन्न पुग्छन् । तर केही कथामा दृश्य र घट्नाको ज्यादा विश्लेषण र विवरणात्मक अभिव्यक्तिले पाठकलाई अल्मलाउने खतरा पनि छ ।
 
म आफैं पनि यही समय कथा लेखिरहेको छु । मलाई पनि मानिस–मानिस सम्बन्ध र प्रेमका विषयमा कथा लेख्न मन पर्छ । शान्तिले पनि आफ्नो मुख्य विषय यसैलाई बनाएकी छिन् । तर उनले प्रस्टसँग समानताका पक्षमा गरेको वकालत मलाई निकै मन पर्यो । अझ मलाई रमाइलो लागेको के हो भने समाजको आनीबानी, व्यक्तिका कुण्ठा र मनोविज्ञानलाई शैलीगत रूपमा उनले कथामा उतारेकी छिन् । कतिसम्म भने नारी संवेदना र चाहनालाई उनले इमानदारीसाथ प्रस्तुत गरेकी छन् ।
 
सबै कथाको बुनोट र विषय उठान शक्तिशाली छ । र त्यही अनुपातमा केही कथामा भाषाले चुस्तता माग्छ जसका कारण सबै कथाहरू शक्तिशाली हुन सकेका छैनन् । तर केही कथाहरूमा भएका छोटा वाक्य विन्यास र सरल शैलीले पाठकलाई तानिरहन्छ । त्यसो त शक्तिशाली केलाई मान्ने भन्ने प्रश्न व्यक्ति र उसले बाँचेको परिवेशअनुसार फरक हुन सक्छ । शान्तिका कथाहरूले जुन विषयलाई समाएका छन् त्यही विषयमा कहिलेकाहीं पात्र छनोटमा कमजोरी देखिन्छ । कतै संवादमा समस्या छ । तर यसो भनिरहेको केही कथाका सन्दर्भमा हो । अधिकांश कथा अब्बल छन् । 

Global bank

Agani Group

शान्तिको कथाको ध्येय हो ‘नारी कमजोर छैनन्’ । उनले हरेक कथामा कतै न कतैबाट यही ध्येयलाई उजिल्याएकी छिन् । भन्छिन्, ‘प्रेमका नाममा हुने धोकादेखि लिएर हत्या, हिंसा, बलात्कार, कुप्रथा आदिका विषय त झन् उठाइ नसक्नु छन् । पछिल्लो समय हिंसामा पर्ने मानिसको संख्या हेर्ने हो भने चार भागमा तीन भाग महिला छन् । बाँकी एक भाग पुरुष हिंसालाई पनि प्रतिनिधित्व गरी कथा लेखेकी छु ।’

शान्तिलाई थाहा छ, समाजका सबै लोग्नेमान्छे खराब छैनन् । र उनलाई यो पनि राम्रोसँग ज्ञान छ, सबै स्वास्नीमान्छे असल छैनन् । ‘ग्रिन टावेल’मा पितृसात्मक सोचले ग्रस्त समाजका अनेकन तस्बिर छन् तर लैंगिक रूपमा कथाकार प्रभावित छैनन् । उनले आफ्ना कथामा समाजको यथार्थ चरित्रलाई चित्रण गरेकी छन् । मानिसभित्रका प्रेम, आकर्षण र यौन मात्र होइन रिस, राग, प्रतिशोधलाई पनि कथामा उतारिएको छ । हरेक कथाका शीर्षक प्रिय र सार्थक छन् । फरक र मीठा बिम्ब प्रयोग भएका छन् । पाठकलाई सहज बनाउन प्रयोग भएका मिथ र बिम्बहरू हाम्रै चलनचल्तीका छन् । त्यसले पढिरहँदा पाठकलाई रमाइलो बनाउँछ । चितवन र आसपासका परिवेशलाई प्रायःजसो कथामा चित्रण गरिएको छ । कथालाई ‘अति यथार्थ’ बनाउन उनले लेखनमा गरेको मिहिनेत र प्रयास मलाई सर्वथा प्रिय लागेको छ ।

sarbottam cement

यो शान्तिको दोस्रो कथासंग्रह हो । यसअघि २०६८ सालमा उनको ‘पहिलो प्रेमिका’ कथासंग्र्रह सार्वजनिक भएको थियो । अघिल्ला कथाहरूको तुलनामा यस कृतिमा उनले मारेको फड्कोले नेपाली कथामा उनको सम्भावनाको फराकिलो आकाशलाई प्रस्ट पारेको छ । 

किताबको मूल कथा ‘ग्रिन टावेल’ भिन्न र एकोहोरो प्रेम कथा हो । यसमा एक छात्राको आफ्नै शिक्षकसँगको प्रेमसम्बन्ध पढ्न सकिन्छ । प्रेम पनि के भन्नु ? गुरुप्रतिको आशक्ति भन्नु पर्ला । छात्राभित्र गुरुप्रति बढेको आकर्षण गुरु शिष्यबीचको सम्मानलाई नाघेर उदात्त प्रेममा परिणत हुन भ्याउँदैन । तर चाह छ । छात्रा भन्छिन्– ‘गुरु, गुरु मात्रै रहनुभएन । अब उहाँ त प्रेमी पनि । तर उहाँले नै अघि दिएको गुलाबको फूलजस्तै अप्राकृति ।’ उनले बोलिरहँदा प्रेम र आकर्षणको चरमरूप महसुस हुन्छ । प्रेम पवित्र छ । निःस्वार्थ र आदर्शशील छ । पात्रकै मुखबाट कथाकार लेख्छिन्, ‘प्रेमभन्दा शक्तिशाली चिज कुनै नहुँदो रहेछ । मेरो मनमा पनि नजाँनिदो तरिकाले गुरुप्रतिको प्रेमभाव उब्जियो । विशुद्ध प्रेम, जसमा कुनै विकार तत्त्वको मिसावट नहोस् आखिर मनै त हो कसले बात लगाउन सक्छ र चाहेर पनि...।’

संग्रहमा अर्को शक्तिशाली कथा छ – ‘प्रेमातंक’ । म भएको भए किताबको नाम पनि यही राख्थेँ । कथामा एक प्रेमिकाको मनोविज्ञानलाई देखाइएको छ । विवाहका लागि आफ्नो प्रेमीको प्रतीक्षामा बसेकी किशोरी प्रेमिकाको मनोदशा बुझ्न नसक्ने कठोर मन भएको पुरुषको चित्रण गज्जब छ । कथा पढिरहँदा शान्तिले कसरी पुरुष मनोविज्ञानलाई यति दुरुस्त उतार्न सकेकी होलिन् भनेर म हैरान भएँ । कथामा हरेक पुरुषले आफूभित्रको कमजोरीलाई बुझ्न र महसुस गर्न सक्छन् । अथवा पुरुषले ग्रहण गर्न नसकेको प्रेमको भावलाई अनुभूत गर्न सक्छन् । किशोरी चेतना र उत्सुकताको स्तरबाट हेर्दा यो कथा मलाई बेजोड लाग्यो । 
 

Nepal Investment bank
Nepal Investment bank
शनिबार, फागुन ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्