बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
क्लासिक कथा एक पैसा
Godraj nepal
Godraj nepal
बाह्रखरी - शनिबार, फागुन ८, २०७७
Laxmi Bank
Laxmi Bank

‘एक पैसा हजुर... ...सानुलाई मन भोग.. ... ।’ –मैलो टालोमा बेह्रिएको एक–डेढ महिनाको शिशुलाई देखाउँदै, जीर्ण–र्सिण आइमाईले भनी । नाउँ मात्रको पातलो फुटपाथको पुछारमा बसेर पूर्वपट्टिबाट आउने सूर्यको अलिअलि मात्र घाम आफ्नो सानुलाई ओगटी त्यो बसेकी थिई । मैलो अनुहार, प्रसूति–क्लान्त जीउ, बच्चा जन्माएर संसारकै उपकार गरेकीझैँ आँखाको दीनहीन दृष्टिसाथ खुम्चिँदै, डराउँदै, लगभग कामिएकै अपराधीजस्तो सुर थियो त्यस सानुकी आमाको ! प्रशवपछि कमसेकम तीन÷चार महिनासम्म नारीको कुनै रूप नै नरहेको नियमाकूल उसको तात्कालिक रूप थियो, कुनै वर्णको अनुमानसम्म लगाउन नसकिने ! 

बिहानदेखि छोपिराखेको कुहिरोभित्रबाट अलिअलि गरेर आकाशले मुख उघार्ने चेष्टा गरिरहेको थियो । मलाई लाजिम्पाटतिर जानु थियो । लैनभित्र र लाजिम्पाटतिर जाने दोबाटोको बायाँपट्टिको पेटीको कुनामा बसेकी त्यस सानुकी आमाको मायाको पछ्यौरीबाट त्यस भागले सुर पाएको थियो– ‘एक पैसा हजुर... ...सानुलाई ... म... न... भोग ... ....।’
 
उसको मुखबाट केही निस्कनै आँटेर पनि मलाई चिनेर होला शब्दहरूले स्वर पाएनन् । अवश्यमेव अभ्यासजन्य उसका ओठ चलेका थिए...। माग्नुजस्तो स्वर पनि त्यतिको लोभलाग्दो किसिमको पवित्र हुनसक्छ भन्ने अनुभूतिले मेरा खुट्टा अडे । आइमाईलाई पनि कदाचित हेरी साहस मिल्यो– ‘दिन्छ कि–’, सम्भवतः उसले आफ्नो याचना पुनः दोहोर्याउन खोजेकी होली तर मेरो उपस्थिति निश्चय नै उसको साहसभन्दा गह्रौँ भएर होला उसको मुखले सुर पाएन । एकपल्ट मतिर हेरेर ऊ आफ्नो सानुतिर हेर्न थाली । 

शिशुका दुवै पातला, नरम ओठ आपसमा चल्मलाइरहेका थिए । ती अवश्यमेव, तुरुन्तै छुटेका वा हटाइएका मातृस्तनको खोज गरिरहेका थिए । तर मलाई लाग्यो– ‘उसको दुवै ओठमा त्यही मूक याचना चलमलिइरहेको छ ।’... ‘एक पैसा हजुर... मलाई... मनभोग...।’ 

Agani Group

साँच्चिकै, अहिले यसका ओँठहरूमा अलिकति मनभोग दलिदिए गुलियो चाट्न उसको जिब्रो पनि बाहिर आउला । मलाई उसको पातलो, नरम जिब्रो हेर्ने उत्कण्ठा लाग्यो तर अलिक झस्केर भनेँ– “यसलाई मनभोग खुवाउन हुन्छ र– यत्तिको कलिलो बच्चाको घाँटीमा नै अड्क्यो भने ... ...।’ 

‘मजासित खान्छ हजुर, कतिपटक ख्वाएकी हुँ...। थुनमा दूध आउँदैन, सुत्केरी हुँदा खानुपर्ने मसला, पुष्टकारी केही खान पाइएन, दूध छँदै छैन । अलिअलि मनभोगै खुवाएर यतिन्जेल पालेको, के गरूँ... विचरा... ...गरिब हुँ, हजुर...के खानु... यो छोरा...!’ 

sarbottam cement

टीठ लाग्दो दृष्टिले उसले सानुलाई हेरी । मेरो हेराइ पनि त्यही सानुमा गाडियो– एक पैसाको भिखको जीवनारम्भ । नेपाली एक पैसा मात्र र मानिस नेपाली । पकेटबाट एक पैसा झिक्दै भनेँ– “यसलाई मनभोग किनेर खुवाउँछेस् र ? भरदिन यसैको नाउँ बेचेर पैसा माग्ने होइन– यो कति खाने हो र –’ अनि एक पैसा त्यस आइमाईको अगाडि फाल्दिएँ । 

पैसा भने उसले टिपेर पनि मेरो प्रश्नको कुनै उत्तर उसको मुखमा थिएन । एकपटक मलाई हेरी मात्रै । त्यस मूक हेराइमा थियो जाबो एक पैसाका लागि त्यस्तो वचन । एक पैसा र त्यत्तिको सतर्कता, सावधानी ! आफ्नो छातीको रगतको नाउँमा त के ठग्नु, चलेको भए आज उसको नाउँमा तिमीलाई पो दिने थिएँ; दान, धर्म गर्थें, एक पैसा.... तर...। उसको मौनलाई नियाल्दै सम्झेँ– हो नि । आमा नै नबाँचे बच्चो बाँच्छ र– जरो सुकाउने, मुना पाल्ने; कत्तिको मुख्र्याईं– तर बच्चोका लागि माग्नु, आफ्नो पेट पाल्नु ! विचार नै कस्तो–कस्तो लाग्ने ! किन्तु अति वास्तविकता भने यही नै होइन र – मनै खल्लो भयो । तैपनि च्वाट्ट मिल्ने गरी कुनै समन्वय छैन । आमालाई पालिनैपर्छ, बच्चो त्यसै पालिनेछ ।

एकाएक मनमा के आयो भनेँ– ‘हेर, बच्चोको नाउँ लिएर कसैसित एक पैसा पनि नमाग, आफ्ना लागि माग है, अनि बच्चोलाई पनि खुवाउनु । बच्चोको नाउँमा पैसा माग्नु त...।’ भन्दाभन्दै त्यस आइमाईको अनुहारमा दृष्टि पर्दा वाक्य त्यहीँ रोकियो । त्यहाँ कुनै गुनासो प्रकट थियो, तिरष्कार पनि, अलिअलि विवश विषाद पनि– ‘मैले आफैंलाई मागे तिमीले नै दिने थियौ र ? मलाई खुवाउँछौ...त !’ 

फेरि त्यही अति वास्तविकता, निःस्वर, कठोर अन्तरसत्य खप्न सकिएन । कुरा पल्टाउँदै भनेँ– ‘लौ त मनभोग किनेर ले त, यसलाई खुवा हेरूँ खान्छ कि– ‘खान्छ हजुर, यसैले जेनतेन गरी अझसम्म पालेकी हुँ ।’ फुर्सद मिलेको जस्तो मौका पाएर भनेँ– ‘लौ खुवा है, भोलि फेरि यसलाई म मनभोग खान दिउँला । राम्ररी स्याहार !’ यति भनेर म आफ्नो बाटो लागेँ । 

त्यसदिनपछि अर्को दिन फेरि अर्को दिन पनि म पैसा दिँदै गएँ । जतिन्जेल मेरो लाजिम्पाटतिरको काम सकिएन, मलाई लगभग रोजिन्दै जान पर्यो, म उसलाई पैसा दिँदै गएँ । सानुकी आमा पनि रोजिन्दै मबाट एक पैसाको प्राप्तिमा सम्भवतः आश्वस्त हुन गएकी थिई । 

तर काम सकिएपछि, म बसेको पुरानो भन्सारदेखि लिएर लैनसम्म एक कोस जतिको बाटो, त्यसलाई एक पैसा तिर्न जान सकिनँ । त्यो क्रम टुट्यो । क्रम टुटे पनि प्रत्येक बिहान एकपटक टालोमा बेह्रिएको सानुका पातला पलक झैँ दुवै ओठ चल्मलिएको मेरो अन्तर्चक्षुमा नउदाई छोड्दैनथ्यो; सँगसँगै माने त्यस चल्मलाइमा ऊ रोजिन्दै भन्थ्यो– ‘एक पैसा हजुर....मलाई..... मन...भोग...।’ 

एक दिन मनमा आयो, एक रुपियाँ त्यसको आमालाई एकैचोटि दिए त सय दिनका लागि सानुलाई मनभोग पुग्ने छ । तीन महिना र दश दिनसम्म नगए पनि हुन्छ । सानुले मनभोग खाँदै गर्छ, बढ्दै पनि जान्छ । यस सम्झनाका साथै सानुका ओठ चल्मलाएको, चल्मलाइरहेको मेरो अन्तरमा प्रतिभासित भयो तर त्यसै दिनमा साह्रै व्यस्तता भएर म जान सकिनँ ।
 
अर्को दिन पनि जान सम्झेँ, तैपनि त्यतिसम्म हिँडेर जान अल्छी लाग्यो, गइनँ । त्यस्तै अरूअरू आउने दिनहरू पनि बित्दै गए, महिनौं बिते, गइनँ । बरु एक दिन यो तर्क पनि समातेँ– ‘एक वा दुई रुपियाँ दिए पनि सानुकी आमाले बच्चोकै लागि त्यो राखिछोडेर दिनहुँ उसलाई एक एक पैसाको दरले मनभोग खुवाई राख्थिहोली र– एक वा दुई रुपियाँ एकैपटक पाए त्यसको अर्काे उपयोग नगरी ऊ छोड्दैन थी; या त आफैं खान्थी अथवा लुगा कपडा किन्थी वा अन्य जरुरी काममा लगाउने थिई । सानुको मनभोगलाई त्यति पैसा राखी छाड्थी र–’ स्वयं– आश्वासनका यस्ता कुराहरूले सानुको दैनिक सम्झना क्रम पनि क्रमशः बिलाएर गयो । 

लगभग तीन महिनापछि कुनै बिदा परेको एकदिन बिहानै आ–आफैं मेरो अठोट भयो– आज म एकपटक लाजिम्पाटतिर डुलेरै आउँ; डुल्नु होइन, सानुलाई हेरुँ, कति ठूलो भयो । निःसन्देह त्यस दिन मसँग तलब आएको निकै पैसा थियो, एक/दुई वा दुइ/चार रुपियाँ पनि छोडेर आए मेरो कुनै आवश्यकता अड्कने थिएन । 

बिहानको चिया–सिया खाई, लुगा लाइओरी म निस्के । जति–जति लाजिम्पाट वर आउँदै गयो, त्यही परिमाणमा सानु ठूलो भएको, मोटोघाटो, हातखुट्टा बेस्करी चलाएको, टक्क हेरेको र हाँसेको पनि उसकोे सिंगै जीउ मेरो मनमा प्रत्यक्ष हुँदै गयो ।
 
आधा घण्टाजति हिँडेर लाजिम्पाट पुगेँ; त्यसदिन बिहानैदेखि लागेको छर्लंग घामको प्रकाशमा बायाँतिरको पेटीको पुछारमा एउटा मलिन धब्बा पनि देखियो । अवश्यै त्यो सानुकी आमा नै थिइहोली । बच्चोलाई पेटीमा लडाएकी होली, कहाँ देखापर्छ र– दश÷पाँच मिनेटपछि नै म सानुकी आमानजिक पुगी टक्क अडेँ । सानुकी आमासित मेरो आँखा जुध्यो ।

उसको मुखबाट केही निस्कनै आँटेर पनि मलाई चिनेर होला शब्दहरूले स्वर पाएनन् । अवश्यमेव अभ्यासजन्य उसका ओठ चलेका थिए । सानु कहाँ छ, ठूलो भएको होला होइन– निकै दिनसम्म आइन, आज उसको मनभोगको जम्मै बाँकी तिरिदिन्छु । सानु कहाँ छ– एक सासमै त्यति भनेर सानुकी आमाको जवाफ पाउन उसको अनुहारमा दृष्टि जमाए । तर...तर... उसको उत्तर थिएन । निमेषसम्म ऊ मलाई हेर्दैरही र विस्तारै उसको आँखा रसाउँदै आए र क्रमशः आँसुका थोपाहरू चुहुन थाले । 

आशंकाको एउटा तोरसितको झोक्का लागेको अनुभूति भएर फेरि सोधेँ ‘होइन रोएको किन– सानु कहाँ छ – भन्न त भन–’ 

टाउको ओराली आँसुले नै भिजेको र थामिई–थामिई निस्केको उसको स्वर थियो– “सानुले मलाई छोडेर गयो । खान नपाएर मर्यो हजुर, खानै नपाएर मर्यो । जति गरे पनि थुनमा दूध आएन र सानु भोकभोकै सुकेर गयो ।” 

हत् बुद्धि, एकछिन त्यसै उभिरहेँ; अनि अलिक पछि भनेँ ‘चुपलाग, यसै भयो ! के गर्नु’ – अनि तुरुन्तै फर्कें । 

‘...यसै भयो के गर्नु...’ मेरै भनाइको उत्तर, मैले सानुकै मनभोगलाई ल्याएको रुपियाँले दिइरहेका थिएँ– सानु यहाँ छ, अहिलेसम्म यही पकेटभित्र छ, पकेट भित्रै ! 

‘यसरी एक नेपालीको एक पैसाको जीवनारम्भ र एक पैसाकै जीवनान्त भयो’– मैले सम्झेँ ! खल्तीका रुपियाँ बाटोभरि कराइरहे– सानु यहीँ छ, अहिले यहीं, खल्तीभित्रै !
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, फागुन ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्