बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
संघर्ष हामीलाई परिपक्व बनाएकै अभावले हो
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, फागुन ८, २०७७
Laxmi Bank
Laxmi Bank

नाटकप्रतिको अगाध रुचि स्कुले समयदेखि नै रह्यो । मलाई राम्ररी सम्झना छ, मैले एसएलसी दिनुभन्दा एक वर्षअगाडि रंगमञ्चमा पहिलो पाइला टेकेको थिएँ । विराटनगरको साहित्यिक सांस्कृतिक परिवेश राम्रो थियो । स्कुलमा पनि समयसमयमा सांस्कृतिक कार्यक्रमहरू भइरहन्थ्यो । त्यसैले पनि स्कुल पढ्ने बेलादेखि नै रंगमञ्चमा काम गर्न थालियो । 

म पहिलोपटक २०२९ सालमा रंगमञ्चमा ओर्लिएँ । एकपटक स्कुलका शिक्षकहरूले हामीलाई तिमीहरूले पनि केही गर भन्नुभयो । र, मैले एकजना साथीसँग मिलेर एउटा प्रहसन तयार गरेँ । सानैदेखिको बानी थियो मेरो, केही न केही भनेर वा गरेर हँसाइरहने । त्यही बानीले गर्दा प्रहसन गरे ठिक हुन्छ भन्ने लागेर त्यसको तयारी गरियो । 

स्कुलमा गरिएको त्यो प्रहसन यति हिट भयो कि कहीँ कतै कुनै सांस्कृतिक कार्यक्रम हुँदा स्कुलले हामीलाई त्यही प्रहसनका साथ पठाउन थाल्यो । हामी पनि ठाउँठाउँमा गएर त्यो प्रहसन मञ्चन गर्न थाल्यौँ । त्यो प्रहसन मञ्चनले हाम्रो हौसला बढाउँदै लग्यो । 

Global bank

Agani Group

योसँगै रंगकर्मप्रतिको आकर्षण पनि बढेर गयो । केही समयपछि एसएलसी दिइयो । एसएलसीपछि लामो समय खाली बस्नुपर्यो । खाली बस्न सकिएन । सकसक लाग्न थाल्यो । हैन, फुर्सदमा त नाटक पो गर्नुपर्याे भन्ने भावना विकसित हुँदै गयो, मेरो मनमा ।

अनि, नाटक गर्ने सोचाइ बन्यो । एसएलसी दिएपछिको ग्यापलाई सदुपयोग गर्नुपर्छ भन्ने सोच थियो त्यो । सरस्वतीको आशीर्वाद भनौँ वा अन्तरमनको कल्पनाशीलता, त्यसले नाटक गर्न घच्घच्यायो । नभए नाटक कस्तो हुन्छ थाहा थिएन । नाटक के हो भन्नेबारेमा पढेको पनि थिइएन । नाटक बुझ्ने त कुरै भएन ! 

sarbottam cement

त्यस बेलासम्म विराटनगरका केही अग्रज नाट्यकर्मीहरूको नाटक थोरै हेरिएको थियो । मैले हेरेको भनेकै लोकमणि सापकोटा, राजानन्द कार्कीहरूको नाटक होला । त्यसलाई नाटकै त नभनौँ, एकाङ्की अंशहरू थिए ती, जसकोे झझल्को मलाई हुन्छ । त्यो पनि राम्ररी बुझेर हेरिएको हैन । तथापि, नाटक गर्नुपर्छ भन्ने सोचाइ मनमा विकसित भएर गएको थियो । 

नौ कक्षामा हुँदा पाइएको त्यो मौकाको असर हुनसक्छ, हामीले पनि केही गर्दै गयौँ । सायद, राम्रो पनि गर्दै गयौँ । 

त्यसबेला ‘रुपक’ भनिन्थ्यो । एकाङ्कीजस्तो हुन्छ, सानोसानो । अनि, मैले पनि रुपक लेखेँ । एउटा एकाङ्की पनि लेखेँ । लेखेर आफूभन्दा अग्रजहरूलाई देखाएँ । उहाहरूले ‘ल, यहाँयहाँ सच्याउ भन्नुहुन्थ्यो’ । त्यसैअनुरुप सच्याएर मैले नाटक तयार गरेँ ।

नाटक तयार भएपछि कसलाई निर्देशन गर्न भन्ने ? कोही त छैन ! अनि, निर्देशक पनि आफै भएँ । मुख्य भूमिका पनि आफैले गरेँ । महिलाको भूमिकामा छरछिमेक वा आफ्नै घर–परिवारका दिदी–बहिनीलाई अनुरोध गरेर खेलाइयो ।

यसरी सुरुवात भएको हो मेरो नाट्यकर्म, २०३० सालदेखि । त्यसपछि ०३४÷०३५ सालसम्म नाटक गर्दै गइयो । त्यसपछि त नाटकमा रुचि भएका अरू साथीहरूसँग सम्पर्क हुन गयो । पहिले त हामीले पनि ‘बालकला निकेतन’को नाम दिएर एउटा संस्था स्थापना गरेका थियौँ । अरूअरू साथीहरूको पनि नाट्य संस्था थियो । 

पछि दियालो परिवारको स्थापना गर्यौं, हामीले । त्यसमा दीपक आलोक, रमेश बुढाथोकी, मुकुन्द श्रेष्ठ, मोहन निरौला, सुनील पोखरेल, शेखर चापागाईंहरूजस्ता समकालीन कलाकारहरू जम्मा हुँदै गयौँ । 

त्यो संस्थाले विराटनगरमा बरोबर नाटक मञ्चन गर्न थाल्यो । नाटक राम्रो मानियो । नाम र इज्जत पनि दियो । सबैले प्रशंसा पनि गर्थे । तर, त्योसँगै केही पीडा पनि थियो । महिनौँ नाटकको रिहर्सल गथ्र्यौँ, हामी । सिनेमा हल भाडामा लिएर नाटक मञ्चन गर्दथ्यौँ । तर, नाटक भने एक शो मात्रै गर्न पाइन्थ्यो । पसलपसलमा गएर टिकट पुससेल गर्दथ्यौँ । तर, टिकट लिएका व्यापारीहरू टिकट किन्थे अनि टिकट तिमी नै राख भन्थे । हामीलाई लाज लाग्थ्यो । चन्दा त लिएका होइनौँ नि हामीले ! हामीलाई त दर्शक चाहिने हो । तर, पसलेहरू नआउने नाटक हेर्न ।

त्यसपछि घर–परिवार, छिमेकका मानिस बोलाएर हामी हल भर्दथ्यौँ । त्यति न गरे त भिड कसरी बढाउने । त्यो एक शो नाटक गर्दा, त्यो दिन राम्रो चर्चा–परिचर्चा हुन्थ्यो । त्यसपछि भने त्यसको लेखाजोखा वा चर्चा हुन्थेन । 

त्यसैले मलाई लाग्यो, यही नाटक काठमाडौंमा गर्न पाए कति राम्रो हुन्थ्यो होला । नाटकको कति चर्चा–परिचर्चा हुन्थ्यो होला । पूरा देशभरि हाम्रो नाट्यकलाको चर्चा हुन्थ्यो होला ।

त्यसैले म २०३८÷३९ तिर काठमाडौं भित्रिएँ । हुन त त्योभन्दा अगाडि पनि म काठमाडौं आएको थिएँ र एकेडेमीमा हरिहर शर्मा दाइलाई भेटेर फर्किएको थिएँ । 

खासमा त्यस बेला एकेडेमीले नाटक तालिम दिन्थ्यो । सुनील पोखरेल र म नाटकको ट्रेनिङ लिन भनेर आएका थियौँ । तर, हरिहर दाइले मसँग भन्नुभयो, ‘सुनीललाई तालिम दिलाउँ । तपार्इं आफै नाटकको लेखक–निर्देशक भइसक्नुभएको मानिस, यहीँ काठमाडौंमा बसेर दुई–चारवटा नाटक गर्नुस् । केही न केही त भइहाल्छ ।’ हरिहर दाइको कुराले म कन्भिन्स भएँ । त्यसपछि सुनील तालिम लिन थाले । म विराटनगर फर्किएँ । 

अर्को वर्ष म र रमेश बुढाथोकी एक–एकवटा ब्याग च्यापेर, गोजीमा ८० रुपैयाँ बोकेर बम्बईमा हिरो हुन गएजस्तो गरी काठमाडौं छिर्र्यौँ । र, नाट्य क्षेत्रमा केही गर्न संघर्षरत् भयौँ । त्यसबखत हामी विराटनगरबाट काठमाडौं आउँदा यहाँ सुनील पोखरेल स्थापित भइसकेका थिए । 

काठमाडौंमा त्यति बेला नाट्य संस्थाहरू थिएन । बरु, विराटनगरमा छ–सातवटा संस्थाहरू खुलिसकेका थिए । मलाई अचम्म लाग्थ्यो, यहाँ नाट्य संस्था खुलेको नदेखेर ! यहाँ त सांस्कृतिक संस्थान, एकेडेमी, सभागृह मात्रै थियो, जहाँ नाटक हुनेगथ्र्यो । 

मैले काठमाडौं आउँदा सोचेको थिएँ, ‘काठमाडौंमा नाट्य संस्था खोलौँला । नाटक लेखौँला । मज्जासँग थोकको भाउमा नाटक गरौँला’ । तर, मैले काठमाडौं आएको डेढ वर्षसम्म न त लेख्न सकेँ न त कुनै नाटकमा अभिनय नै गरेँ !

तर, काठमाडौंमा बस्नै थियो । बाँच्नै थियो । तर, यहाँ कसरी बाँच्ने ? कसरी डेरा भाडा तिर्ने ? कसरी हातमुख जोर्ने ? भन्ने समस्याले नै पिरोल्ने रहेछ ! यो त पछिपछि पो बुझ्दै गइयो । यिनै भोगाइहरूको निष्कर्ष हो, मैले लेखेर मञ्चन गरेको नाटक ‘भिडमा हराएको मान्छे’ । 

यो नाटक गर्नुपूर्व म केही समय नाचघरमा जागिरे पनि भएँ । त्यस बेला दैनिक ज्यालादारीमा काम गरिन्थ्यो । हाजिर भएको दिनको १० रुपैयाँ पाइन्थ्यो । 

काठमाडौं आएको केही समय त म यत्तिकै बसे । पछि कताकताबाट सोर्सफोर्स लगाएर जागिर मिल्यो । र, नाचघरमा जागिर खान थालियो । त्यस बेला नारायणगोपाल नाचघरको जीएम हुनुहुन्थ्यो ।

जागिरमा शनिबार र बिदा बसेको दिनको पैसा पाइन्थेन । जम्मा २४–२५ दिन काम गरिँदो रहेछ । आउने भनेको त्यही २४०–२५० रुपैयाँ मात्रै थियो । त्यो पैसाले मुस्किलले पुर्याउनुपर्दथ्यो ।

एक–डेढ वर्षपछि हामी नाचघरबाट निष्कासनमा पर्यौँ । यसरी प्रारम्भमै संघर्षपूर्ण जीवन बिताइयो, काठमाडौंमा । 

मैले नाचघरमा जागिरे हुँदै ‘भिडमा हराएको मान्छे’ लेख्न सुरु गरेको थिएँ । किनभने, त्यो हामीजस्तै आममानिसको कथा थियो । हामीजस्ता मानिस कसरी यो भिडमा हराउँछन् ? तिनले के–के समस्या भोग्छन् ? नाटकको कथा त्यही नै थियो । अर्को कुरो, मलाई काठमाडौंको भिडले थिच्दै गएपछि नै हो, ‘भिडमा हराएको मान्छे’ जन्मिएको । 

नाचघरबाट निस्किएपछि नाटक ‘भिडमा हराएको मान्छे’ मैले एकेडेमीको नाटक महोत्सवका लागि बुझाएँ । त्यसको रिहर्सल पनि गरिरहेको थिएँ । त्यो नाटक पास हुन्छ भन्नेमा म थिएँ । 

तर, नाटक पास भएन । त्यही झाँेकमा हामीले सभागृह बुक गरेर महोत्सव सकिएको भोलिपल्टदेखि नै त्यो नाटक मञ्चन गर्न सुरु गर्र्यौ । यो नाटक मञ्चन गर्दा विराटनगरबाट आएका हामी धेरै साथीहरू सहभागी थियौँ । र, त्यसै दौरान ‘आरोहण’ नाट्य संस्थाको स्थापना पनि भयो । 

‘भिडमा हराएको मान्छे’ अहिले मसँग छैन । यदि, रेकर्ड राख्ने गरिएको रहेछ भने मलाई अहिले पनि आशा छ, त्यो नाटक एकेडेमीमा कतै न कतै हुनुपर्छ । खोजे पाउन सकिन्छ होला । किनभने, हामीले बुझाएको नाटक उनीहरूले नै राख्थे । यदि, भेटिएन भने फेरि सम्झेर लेख्नु त छँदैछ । 

‘भिडमा हराएको मान्छे’ सभागृहमा मञ्चन गर्ने तयारी सुरु भयो । 

सभागृहमा नाटक मञ्चनका लागि चाहिने हरेक आवश्यक सामानहरू हामी आफै ठाउँठाउँबाट बोकेर ल्याउँथ्यौँ । मेरो साथीसँग यो सामान छ भनेर कसैले भन्यो भने ऊ बसेको ठाउँसम्म पुगेर सामान बोकेर ल्याएका छौँ हामीले । खेम शर्मा र मैले ललितपुरबाट पराल बोकेर ल्याएका छौँ ! 

नाटकको काम गर्यो । फेरि, भरे बेलुका खानलाई त केही छैन । सुनील पोखरेल, बद्री अधिकारीहरू त्यसबेला पाउरोटी मात्रै खाएर पनि सुतेका छन् । त्यस्ता दिन पनि हामीले भोग्यौँ । 

वास्तवमा जति स्ट्रगल गर्याे, अभिनय त्यति नै खारिएर आउने रै’छ । हाम्रा लागि त सरस्वतीको आशीर्वाद नै थियो, सबै । तर, एउटा कुरो के हो भने हामीलाई परिपक्व बनाएको पनि त्यही अभावले हो । अभावको सिर्जना झन् दह्रो हुँदोरहेछ । सबै कुराले पुगेर कारमा आएर रिहर्सल र नाटक गर्नु अनि दिनभरि चियाको भरमा रिहर्सल गर्नुमा फरक त हुन्छ नै ।

हामीले इन्द्र दाइको चियापसलको कुनामा पनि रिहर्सल गर्यौँ । नेपाल ल क्याम्पसको क्यान्टिनमै पनि कहिलेकाहीँ रिहर्सल गर्यौँ । हामी चाहन्थ्यौँ, राम्राभन्दा राम्रा नाटक दर्शकलाई दिउँ ।

त्यो दिनहरू सम्झँदा आज सपनाजस्तो लाग्छ । त्यो पनि अचम्मको सपना । त्यस बेला बिहे भएको थिएन । परिवार थिएन । आनन्दसँग नाटक लेख्ने र खेल्ने काम मात्रै त हुन्थ्यो । तर, त्यसका लागि धेरै संघर्ष गर्नुपर्थ्यो । त्यही संघर्षले नै आज हामीलाई यहाँसम्म पुर्याएको हो । 

त्यो बेला हाम्रो कोही गुरु थिएन । नाटक बुझ्न र नाटक पढ्ने ठाउँ थिएन । मैले र सुनीलले भारतीय पुस्तकालयमा गएर भ्याएसम्मका हिन्दी नाटकहरू पढेर सिध्याएका छौँ । यसरी नै हामीले नाटक र नाटकका बारेमा केही जान्ने प्रयास गरेका थियौँ ।

(रंगकर्मी अधिकारीसँगको कुराकानीमा आधारित ।)
 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
शनिबार, फागुन ८, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्