


बलिउड । निर्देशकहरुलाई उनीहरुको चलचित्रको जहाजको कप्तानको दर्जा दिइन्छ । चलचित्रको कथातर्फ जान्छ भन्ने कुरा उक्त चलचित्रको निर्देशकले तय गर्छ । हिन्दी चलचित्र उद्योगमा थुप्रै अभिनेताहरुले अभिनय सँगसँगै निर्देशनको जिम्मेवारी पनि निभाएका छन् । यो सूचीमा राज कपूर, आमिर खान, गुरु दत्त, मनोज कुमार, फिरोज खान, अजय देवगन, रजत कपूर र अनुपम खेरलगायत अभिनेताहरु पर्दछन् ।
तर, आज आउँदा हिन्दी चलचित्र उद्योगमा कैयौं महिला निर्देशकहरु पनि देख्न सकिन्छ । अभिनयबाट निर्देशनमा आउने अभिनेत्रीहरुको सूचि पनि लामो नै छ । वर्ष २०२१ को सुरुवातमा ‘बरेली कि बर्फी’, ‘दम लगा के हईशा’ जस्ता चलचित्रमा काम गरेकी अभिनेत्री सीमा पाहवा चलचित्र ‘रामप्रसाद की तेरहवीं’ बाट निर्देशक बनेकी छिन् । अभिनेत्री रेणुका शहाणे ओटीटमा हालै रिलिज भएको ‘त्रिभंग’ बाट निर्देशक बनेकी छिन् ।
संयोगवश निर्देशका बनेको बताउने सीमा भन्छिन्, “हामी सम्बन्धलाई त्यति महत्व दिँदैनौं भन्ने कुरा मेरो मनमा खेलिरहेको थियो । यो विचारले स्क्रिप्टको रुप लिएपछि यसलाई कोही अरु निर्देशकबाट यसलाई फिल्ममा उतार्नु थियो । तर, मेरा सबै साथीले मैले बनाएको कथा भएर दर्शकसम्म पनि मैले नै पुर्याउँदा राम्रो हुन्छ भने ।”
नयाँ सोच
महिलाको हेराई पुरुषहरुको भन्दा फरक हुने पत्रकार भावना सौमैया मान्छिन् । हालै रिलिज भएको सीमा पाहवाको चलचित्र रामप्रसादको ‘तेरहवी’को उदाहरण दिँदै उनी भन्छिन्, “मेरो विचारमा यो उत्कृष्ट चलचित्र बनेको छ । पात्र, प्रोडक्सन डिजाइन, आर्ट, कस्ट्युम र भाषालाई प्रस्तुत गरिएकोबाट अनुमान लगाउन गाह्रो हुँदैन कि यो राम्रो चलचित्र बनेको छ ।”
महिला निर्देशकहरुमार्फत भनिएका कथाहरुमा सधैं नयाँ परिपे्रक्ष देख्न पाइने सोमैया मान्छिन् । पछिल्लो केही वर्षमा चलचित्र उद्योगमा परिवर्तन आएको उनको विश्वास छ । पछिल्लो केही वर्षयता त्यस्ता विषयलाई उठाइएको छ, जुन यसअघि कहिल्यै उठाइएको थिएन ।

उनी अगाडि भन्छिन्, “पछिल्लो केही वर्षयता धेरै महिला निर्देशकहरु थपिएका छन् । जसले कथा प्रस्तुति र छनौटमा नयाँ नजरबाट प्रस्तुत भएको छ । किनभने महिलाले हरेक कुरालाई केही फरक कोणबाट हेर्छन् र पुरुष फरक नजरबाट हेर्छन् । आजसम्म पुरुष निर्देशकहरुले फरक कोणबाट चलचित्र देखाइरहेका छन्, त्यो फरक चलचित्र थियो । आश्विनी अय्यर तिवारी र रेणुका शहाणे जस्ता निर्देशकलाई भावनात्मक मैदान प्राप्त भएको छ । चलचित्र हेर्ने नजर फेरिएको छ, त्यसैले चलचित्र बनाउने तरिका पनि परिवर्तन भएको हो ।”
कथामा लैंगिक समानता
पछिल्लो समय क्विन, इंग्लिस विंग्लिस, नो वन किल जेसिका, नीरजा, तुम्हारी सुलु, पिंक लगायतका महिला प्रधान चलचित्रहरु बने र प्रशंसा पनि गरियो । चलचित्रको कथामा लैंगिक समानतालाई महत्त्व दिएको विषयमा बोल्दै अभिनेत्री–निर्देशक रेणुका शहाणे भन्छिन्, “महिलाहरु आज क्यामेरा अगाडिमात्रै नभई क्यामेरा पछाडि पनि काम गर्दैछन् । आज धेरै महिलाहरु सम्पादक, सिनेम्याटोग्राफर्स, अस्सिटेन्स छन् । मेरो कथामा सशक्त पात्र छ जुन तपाईं चलचित्रमा हेर्नुहुनेछ ।”
उनका अनुसार महिला निर्देशकहरु भावनात्मक हिसाबले सोच्छन् भने पुरुष निर्देशकहरु व्यावहारिक हिसाबले सोच्छन् । महिलाहरु सानोभन्दा सानो कुरामा ध्यान दिने तर पुरुषले भने त्यसलाई उपेक्षा गर्ने शहाणे बताउँछिन् ।
उनी निर्देशनमा पहिल्यै नआएकोमा पछुताउछिन् । अहिले उनीसँग कथा छ र निर्माताको प्रतिक्षामा छिन् ।
त्यस्तै अभिनेत्रीबाट निर्देशनको यात्राको व्याख्या गर्दै शेफाली शाह भन्छिन्, “म पहिलेदेखि निर्देशन गर्न चाहन्थें । तर, लकडाउन मेरो लागि निकै गाह्रो भयो । कोहीसँग भेट्न पाइरहेकी थिइन, यही समयमा मैले यसको कथालाई निर्देशनमा उतारेँ ।” उनले लकडाउनको समयमा दुई सर्ट चलचित्र निर्देशन गरिन् ।
पुरानै ट्रेन्ड
अभिनयबाट निर्देशनमा आउने ट्रेन्ड नयाँ भने होइन । फातिमा बेगमलाई हिन्दी चलचित्र उद्योगकी प्रथम महिला निर्देशकको रुपमा लिइन्छ । उनले साइलेन्ट युगमा कोहिनूर स्टुडियो र इम्पिरियल स्टुडियोमा अभिनेत्रीको रुपमा काम गरेकी थिइन् । उनले आफ्नो प्रोडक्सन हाउस फातिमा फिल्म्सबाट सन् १९२६ मा ‘बुलबुल–ए–पेरिसतान’ निर्देशन गरिन् । यद्यपि त्यसको प्रिन्ट आज अर्काइभमा छैन ।
चर्चित अभिनेत्री नन्दिता दसले चलचित्र ‘फिराक’ मा गुजरात दंगाका पीडितहरुको अवस्था देखाइएको थियो । त्यस्तै सन् २०१८ मा उनले ‘मन्टो’ को जीवनलाई चलचित्रमा उतारेर पूरा विश्वको वाहवाही कमाइन् । दक्षिणकी अभिनेत्री रेवतीले ८० र ९० दशकमा धेरै हिन्दी चलचित्रमा काम गरेकी थिइन् ।
सन् २००२ मा निर्देशनमा पाइला टेक्दै उनले ‘मित्र, माय फ्रेन्ड’ बनाइन्, जुन राष्ट्रिय पुरस्कार प्राप्त भयो । त्यस्तै सन् २००४ मा रेवतीले एचआईभी संक्रमितहरुमाथि संवदेनशील चलचित्र ‘फिर मिलेंगे’ निर्देशन गरिन् । अहिले आएर कोकणा सेन शर्मा, टिस्का चोपडा र श्रिया पिलगांवकरको नाम पनि थपिएको छ ।
अभिनेत्रीहरु निर्देशनमा आउनु कुनै नयाँ कुरा नभएको भावना सोमैया भन्छिन् । ७० दशकतिर फर्किदै उनी भन्छिन्, “७० दशकमा जब अभिनेत्री अपर्णा सेनले ‘३६ चौरंगी लेन’ चलचित्र लेखिन्, तब उनी सत्यजीतकोमा गइन किनभने उनी निर्देशनलाई लिएर दोधारमा थिइन् । तर, सत्यजीत रे ले अपर्णालाई नै यसको निर्देशन गर्न सुझाए । अभिनेता शशि कपूरले निर्माताको रुपमा अपर्णालाई निर्देशकमा ब्रेक दिए ।”
अभिनेत्री शोभना समर्थले हमारी बेटी र छबीली जस्ता चलचित्र निर्देशन गरिन् । त्यस्तै कोहिनूर, कालाबाजार, हम दोनो जस्ता ५० को दशकका चलचित्रमा अभिनय गरेकी अभिनेत्री लीना चीटनीसले सन् १९५५ मा ‘आज की बात’ निर्देशन र निर्माण गरिन् ।
चर्चित अभिनेत्री आशा पारेख, हेमा मालिनी, साधना, दीपा साही, नीना गुप्ता लगायत त्यो दशकका कैयौं अभिनेत्रीहरुले निर्देशनको बाटो रोजेर धारावाहिक टेलिश्रृङ्खला र चलचित्रहरुको निर्देशन गरेर आफ्नो विचार दर्शकसम्म पुर्याए ।
भेदभाव गरिनु हुँदैन
पुरुष निर्देशकहरुको प्रभुत्व रहेको चलचित्र उद्योगमा विस्तारै महिला निर्देशकहरुको पनि संख्या उल्लेख्य रुपमा वृद्धि भैरहेको छ । महिला निर्देशकहरुसँग काम गरिसकेका अभिनेताहरुका अनुसार महिला निर्देशकहरु केही बढी संवेदनशील हुन्छन् । यति भनिरहँदा उनीहरु निर्देशकहरुको कुनै जेन्डर नहुने पनि विश्वास गर्छन् ।
महिला निर्देशकका अनुसार संवेदनशील हुनुपर्छ तर महिला र पुरुष निर्देशकमा भेदभाव गरिनु हुँदैन । उनीहरुलाई फिल्मकारको रुपमा सम्बोेधन गर्नु पर्ने उनीहरुको जोड छ ।
(सुप्रिया सोगले/बीबीसी हिन्दी)





