


बीबीसी । सामाजिक समाचार एकत्रीकरण गर्ने, कुनै पनि सामग्रीलाई मूल्यांकन गर्ने र विविध विषयमा छलफल गर्ने विश्व चर्चित वेबसाइट, रेडिटले २०२० मा आफ्नो पेजबाट कुल ६ प्रतिशत पोस्ट हटाएको वार्षिक पारदर्शिता रिपोर्टमा जनाएको छ ।
यसले साइटभरका कुल ३.४ अर्ब पोस्ट डिलिट गरिदिएको छ । जसमा २३ करोड ३० लाख त ‘स्पाम’ मात्र भएको र बाँकीचाहिँ अपमानजनक, हिंसा भड्काउने, बालबालिकासम्बन्धी अनुचित सामग्री भएको बताइएको छ ।
यसरी २०२० मा हटाइएका अनुचित पोस्टको सङ्ख्या अघिल्लो वर्षभन्दा ३० प्रतिशतले वृद्धि भएको हो । यसमा एक करोड ३१ लाख बढी पोस्ट रेडिटकै अटोमेटिक निरीक्षण प्रणालीले हटाइदिएको थियो भने बाँकीचाहिँ कम्पनीका प्रशासकहरूले व्यक्तिगत रूपमा डिलिट गरेका हुन् ।

रेडिटमा विशेषगरी अपुष्ट सिद्धान्तहरू फैलने समस्या रहँदै आएको छ । त्यस किसिमका भ्रामक सूचना र गलत जानकारीहरू धेरै अवस्थामा खतरनाक साबित हुने गरेका छन् । यो राजनीतिक विषयमा हुन सक्छ भने अघिल्लो वर्ष कोरोना महामारीसम्बन्धी पनि यसमार्फत फैलाइएका भ्रामक जानकारी भाइरल हुन पुगेका थिए ।
रेडिटमा रेजिस्टर भएका सदस्यहरूले समाचार, राजनीति, विज्ञान, चलचित्र, भिडियो गेम्स, संगीत, किताब, खेल, फिटनेस, पकाउने, घरपालुवा जीवलगायत अनेकौँ विषयमा छलफल गर्न समुदायहरू निर्माण गर्छन् । यसमा सबैभन्दा धेरै ‘अपभोट’ पाउने पोस्टमाथि देखापर्छन् । यसमा अनलाइन दुर्व्यवहारलगायत प्रवृत्ति प्रतिबन्धित भए पनि साइटलाई अनुचित पोस्टबाट बचाउन यसको प्रशासनले अधिकतम समय र स्रोत खर्च गर्नुपरिरहेको छ ।
फेब्रुअरी २०२१ मा रेडिट विश्वमा १८औँ सबैभन्दा बढी हेरिएको वेबसाइट थियो ।





