बीबीसी । म्यानमार सेनाले यसअघि कैद गरी राखिएकी प्रमुख विपक्षी नेतृ आङसान सुकीमाथि दोस्रो अपराधिक अभियोग लगाएको छ ।
फेब्रुअरी १ तारिखका दिन सेनाले सत्ता हातमा लिए गत्तै आफ्नै घरमा नजरबन्द गरिएकी सुकीलाई फेब्रुअरी १४ मै रिहा गर्ने भनिएको थियो । तर, सेनाले थप दुई दिनपछि मात्र उनको मुद्दा अघि बढाइने बताएको हो । यसमा उनले सुरक्षाकर्मीहरुसँग हुने वाकीटकीजस्ता अवैध साधन राखेको आरोप रहेको थियो । अहिले भने सेनाले उनलाई देशको प्राकृतिक प्रकोप कानुनको समेत उल्लंघन गरेको अभियोग लगाएको छ ।
मंगलबार यिनै मुद्दाका लागि भिडियोमार्फत ‘ट्रायल’मा उपस्थित भएकी सुकीमाथि लगाइएको यो नयाँ अभियोग केसम्बन्धी छ भन्नेचाहिँ स्पष्ट भएको छैन ।
हजारौँका संख्यामा मानिसहरु आन्दोलनमा उत्रिने क्रम नरोकिएका बेला सेनाले भने फेरि पनि नयाँ चुनाव गराउने र सत्ता हस्तान्तरण गरिने बताएको छ । प्रदर्शनकारीहरुले सेनाको विरोध गर्दै सबै निर्वाचित नेताहरुलाई रिहा गर्न माग गरिरहेका छन् ।
सेना सरकारमा आएदेखिको पहिलो पत्रकार सम्मेलनमा प्रवक्ता जेनेरल मिन तुनले सेना लामो समयसम्म सत्तामा नरहने बताएका हुन् र निर्वाचनपश्चात् जित्ने पार्टीलाई देश हस्तान्तरण गरिने वचन दिएका छन् । तर, उनले चुनावको मितिसम्बन्धी भने कुनै जानकारी दिएका छैनन् । राजधानी नपिदबाट बोल्दै उनले फेरि पनि बिनाकुनै प्रमाण नोभेम्बरको चुनावमा धाँधली भएको कुरा दोहोर्याएका छन् । सो चुनावमा नेतृ सुकीको नेसनल लिग फर डेमोक्रेसी पार्टीले अधिकतम बहुमत ल्याउँदै जित हासिल गरेको थियो । सेनाले त्यसमा धाँधली भएको कारण देखाउँदै फेब्रुअरी १ को ‘कू’ लाई न्यायोचित तुल्याउने प्रयास गर्दै आएको छ ।
मंगलबारको ट्रायलमा सुकीले कानुनी व्यवस्थासम्बन्धी प्रश्नको मात्र जवाफ दिएकी हुन् । उनको अर्को ट्रायल १ मार्चका लागि तय गरिएको छ । मिन तुनका अनुसार सुरक्षाका कारण सुकीलाई उनकै घरमा राखिएको छ र उनी स्वस्थ र सहज तरिकाले बसिरहेको उनले बताएका छन् ।
तर पनि यतिबेला म्यानमारको स्थिति चिन्ताजनक नै मानिएको छ । जहाँ बैंकहरुमा नगदको अभाव सुरु भइसकेको छ । थप अस्थिरता हुने डरले मानिसहरु अझै पनि बैंकबाहिर लामो लाइनमा बसेको देख्न सकिन्छ । त्यस्तै, कोभिड–१९ को परीक्षण गराउने काम पनि पूर्ण रूपमा स्थगित भएको छ । पछिल्ला केही दिन सेनाको ठूलो उपस्थितिका कारण आन्दोलनहरु गत हप्ताको तुलनामा केही सानो देखिएको छ । अघिल्लो साता हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।
त्यस्तै, हिंसात्मक झडपबारे पनि खबर आइरहेका छन् । जसमा विभिन्न सहरमा मानिसहरुले रातिको समय जबर्जस्ती छापा मार्न घरमा घुस्नेहरुको रेखदेख गर्न समूह बनाइरहेका छन् । सेनाले अशान्ति फैलाउन त्यस किसिमको हुल परिचालन गरेको बताइएको छ ।