site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
क्यान्सरसँगको त्यो यात्रा एक्लो तर साहसिक !
Sarbottam CementSarbottam Cement

काठमाडौं । “मलाई ऊ बेला त मर्छु भन्ने डर लागेन अहिले किन डराउनु ?” हँसिलो मुखबाट निस्किएको हिम्मतिलो जवाफ थियो उनको ।

‘ऊबेला भनेको चाहिँ कहिले ?’ कथाले मागेको सुरुवाती प्रश्न तेर्स्याइहालें मैले । 

“जागिर खाएको सुरु सुरुमा” उनले जवाफ दिइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

‘सरकारी जागिरमा नाम निस्किँदा पनि कोही डराउँछन् त ?’ फेरि व्यंग्यात्मक जिज्ञासा पोखिदिएँ ।

“यो सरकारी खुड्किलो चढ्दै गर्दा पनि धेरै ढुंगोमाटोसँग जुधियो, पटक-पटक ठेस लाग्यो धेरै भिरपाखाहरूसँग पौंठेजोरी खेलियो तब पो यो उकालीको यात्रा यहाँसम्म आइपुगेको छ बहिनी ।” एकछिनअघिको चम्किलो अनुहारमा एकाएक छाया देखियो । उनी सामान्य हुन खोज्दै फेरि बोलिन् “भो नपल्टाउँ यो माउ लागिसकेको इतिहासको पाना ।”

Global Ime bank

तर मलाई यति जवाफले पटक्कै चित्त बुझेन माउ लागेको होस् या मक्किएको पाना इतिहासको अध्याय नै पढ्न मन लाग्यो । ‘कस्तो थियो तपाईंको जागिरको सुरुवात, किन डर लाग्थ्यो तपाईंलाई ?’

“कुरा २०५९ सालको हो, जनयुद्धको जगजगी, मेरो जागिरको पहिलो पोस्टिङ रुकुमको विकट पिपलगाउँमा भएको थियो । सदरमुकामबाट दुई दिन हिँडेर जानुपर्थ्यो त्यो बेला । म गएको क्षेत्रलाई जनयुद्धको दोस्रो उद्गमस्थल पनि भन्दा रहेछन्, माओवादीको डरले कुनै सरकारी कर्मचारी बस्न नमान्ने । दिनभर आमसभा र तालिम हुने रातभर ड्यामड्याम डुमडुम के के हो के के...। रुकुम बसाइका कैयौं दिन त्राही-त्राही अनि रात अनिद्रामै बिते । सरकारी जागिरे भनेपछि त झन् देखिनसहने । त्यसमाथि महिला एक्लै देखेपछि कति हेप्ने कति । त्यहाँबाट बाँचेर आउँछुझैं लागेको थिएन तर पनि बाध्यताले भनौं हिम्मतले यस्तै माहोलमा १५ महिना रुकुम बसें म,” थोरै ओठ फिँजार्दै उनी हौसिइन्, “लेख्ने हो भने एउटा किताब नै बन्छ नलेखेर मात्रै ।”

‘परिवारमा त निकै डराउनुभयो होला है ?’
“डराउनु मात्रै कहाँ हो र ? फर्केर आउँछे भन्ने सोचेका थिएनन् रे । तीन वर्षको छोरो छोडेर गएकी म १५ महिनापछि फर्किँदा घरमा खुसीको सीमा थिएन । त्यसपछि गएको प्यूठान जिल्ला अलि सजिलो थियो । पछि रुपन्देही झरेपछि भने बल्ल सरकारी जागिरको आनन्द मिल्यो । ढुक्कले चलिरहेको थियो जीवन । हुर्किँदै गएको छोरो अनि झाँगिँदै गाउँका मेरा सपना । यसरी नै जीवनका ४२ वसन्त पार भए । तर उही गीतले भनेझैं सोचेझैं जिन्दगी रैनछ...।” उनी फेरि टक्क अडिइन् ।

‘अनि.. ?’ मेरो प्रश्न पनि त्यतिमै अड्कियो ।

“भो नगरौं ती कमजोर बनाउने कुराहरू । अहिले त सबै हिसाबले ठीक छु नि, मलाई विगतले कत्ति पनि असर पार्दैन । के म त्यस्तो विचलित देखिन्छु र ?” चम्किलो अनुहार, मिजासिलो व्यवहार म कसरी विचलितको संज्ञा दिन सक्थेँ र ? 
‘अहँ विल्कुलै देखिनुहुन्न, तर यो फ्रेसनेसको पनि त कुनै रहस्य होला नि ?’  म कसैलाई विगत् कोट्याउन फेरि कर गर्दै थिएँ । किनकि मैले त्यो कहानीमा एउटा प्रेरणा छ भन्ने सुइँको पाइसकेकी थिएँ । त्यसले समाजमा दिने सकारात्मक सन्देशको आकलन पनि गरिसकेकी थिएँ । त्यसैले पटक-पटक उनलाई खोतल्ने प्रयास गरिरहेँ ।

एकछिन् गम्दै उनी फेरि जीवनका पुराना मोडतिर फर्किइन् “म बाहिर बसेकै समयमा मेरो श्रीमान्‌को अर्की महिलासँग प्रेम सम्बन्ध रहेछ, उनी इजरायल बस्दी रहिछिन् । मेरा श्रीमान् र उनीबीचको फेसबुक च्याट र बेला-बेलामा हुने कुराकानीलाई म नजिकबाट नियालिरहेकी थिएँ । उनीसँग सम्बन्ध भएकै कारण उनी मसँग निहुँ खोजिरहन्थे । म केही थाहा नपाएझैं गरिदिन्थें । तर पटक-पटक मानसिक तनाव दिन थालेपछि असह्य भयो, झगडा भइरहन्थ्यो । अनेक बहानामा उनले मलाई डिभोर्सका लागि अनेक मुद्दा दर्ता गरे । श्रीमान्‌-श्रीमतीको बेमेलका कारण ज्यान मार्ने र आत्महत्यासम्म भएका घटना देख्दा मलाई नराम्रो लाग्थ्यो । कमसेकम मेरो जीवनमा यस्तो नहोस् भन्ने चाहन्थेँ । श्रीमान्‌लाई मसँग बस्न मन नलागेको कुरा राम्रैसँग बुझेकी थिएँ । मन नमिलेर सँगै बसिरहनुभन्दा राजीखुसीले अलग्गिनु ठीक ठान्यो मनले । 

बन्धनको, हिंसाको निकास भएन भने त्यसको परिणाम भयानक हुन्छ । मैले धेरै महिला हिंसा सहन नसकेर आत्महत्याको चरणमा पुगेको देखेकी छु । म त्यति कुण्ठित भएर बस्न सकिनँ र आममहिलामा यस्ता घटना नहुन् भन्ने पनि चाहन्छु । त्यसैले महिला समयमै आत्मनिर्भर हुनु, हिंसाबाट बाहिर निस्कनु तर ज्यान नफाल्नु । मैले यो सबै कुरालाई मनन् गरेँ डिभोर्स दिने निर्णय गरेँ । उनैले पेपर बनाएर ल्याए, बस् साइन गरेँ र लागेँ छोरो लिएर काठमाडौं । युद्ध, संघर्ष, मिलन-बिछोड सबै भोगियो आखिरमा रोग पनि ठूलै लाग्यो ।”

‘रोग ?’

“हो, ठूलो रोग क्यान्सर । अब कथालाई अगाडि बढाउन मैले कर गर्नुपरेन उनी खुल्दै गइन् डिभोर्स भएपछि मलाई त्यो ठाउँमै बस्न मन लागेन । कोभिड काजमा काठमाडौं आएँ । गत माघमा दाहिने काखीमुनि ब्रेस्टमा सानो गिर्खाजस्तो भेटेँ । आफैँ स्वास्थ्यकर्मी भएको हिसाबले तुरुन्तै जाँच गराइहालेँ । सुरुमा क्यान्सर भएको पत्ता लागेन । दुई महिनाको औषधि दियो वीर अस्पतालले । तर मेरो मनभित्रको घण्टी कताकता बजिरहेको थियो । भक्तपुर क्यान्सर अस्पताल पुगेँ । नभन्दै मेरो ब्रेस्टमा क्यान्सर भएको रिपोर्ट आयो, जुन दोस्रो चरणमा पुगिसकेको मलाई हेर्ने डाक्टरले बताए ।”

‘म सुनिरहेकै थिएँ केही नबोली । उनले बोल्दाबोल्दै पज लिएपछि सोध्नै पर्‍यो अनि दिदी ?’

“मलाई अल्ट्रासाउन्डको रिपोर्ट नआउन्जेल अति छट्पटी भयो । दिनरात रोएरै बिताएँ । मलाई मर्नसँग कुनै डर थिएन । जीवनका तीतामीठा सबै अनुभव त भोगिसकेँ अब मर्दा कस्तो हुन्छ भन्ने भोग्न न बाँकी हो । तर पनि मन न हो ज्यानमारा क्यान्सरको अगाडि पत्थर बन्न कहाँ सक्दोरहेछ र ?” 

‘कोही थिएनन् तपाइँसँग ?’ 

“छोरो थियो । अनि मलाई हेर्ने डाक्टर । तर डाक्टरहरू भगवान् हुँदा रहेछन् जसका वचनले मन स्थिर हुने । हिम्मत जागेर आउने । मलाई डाक्टरले एक घण्टा काउन्सिलिङ गरेपछि मन शान्त हुँदै आयो । छिटै अपरेसन गर्नुपर्छ भनिएको थियो । म मानसिक रुपमा तयार भएँ । अपरेसन राम्रो भयो आफन्त र साथीभाइ वरिपरि देखेर बाँच्ने ऊर्जा भरिएर आयो । आठवटा किमो लगाउनुपर्छ भनिएको थियो । हेर्दाहेर्दै पहिलो किमोथेरापीको दिन आइपुग्यो । जीवनमा कहिल्यै विचलित नहुने मलाई पहिलो किमोले असह्य पीडा दियो बहिनी...। यति पीडा भोग्नुभन्दा त मर्न पाए हुन्थ्योजस्तो लग्यो । मलाई मर्ने विष ल्याइदेऊ न, कुरुवा बसेकी साथीलाई बेहोसीमै भनेछु । त्यसपछि प्रत्येकपटक किमो लगाउँदा कहिले नरोकिई बान्ता हुने, कहिले कब्जियत भएर घण्टौं ट्वाइलेट बस्नुपर्ने हुन्छ । किमो लगाएकी ५/६ दिनसम्म मेरो बेहाल हुन्छ । तर त्यसपछि फ्रेस भइहाल्छु । तपाईं पत्याउनुहुन्न होला म नियमित जागिरमा गइरहेकी छु ।”

म अकमक्क पर्छु । ‘हो र ?’ योबाहेक केही सोध्न आउँदैन ।

“हो नि उनी फेरि हौसिइन् । अफिसमा पनि छक्क पर्छन् तपाईं त बिरामीजस्ती पनि देखिनुहुन्न भन्छन् स्टाफहरू । उनी पहिलोपटक खितित्त हाँसिन् । उनको हाँसोमा मैले सार मिलाएँ । अझ थाहा छ म त किमो सकिनेबित्तिकै घुम्न जान्छु नि । साथीहरूले अस्पतालको बेडमा भनेका कुराहरू सम्झिराकी हुन्छु, तिमी ठीक होऔ अनि यहाँ जाउँला त्यहाँ जाउँला भनेको अलि ठीक भयो कि उनीहरूसँग पुगिहाल्छु ।” उनी थोरै भावुक हुँदै थप्छिन्, “जीवनमा जस्तो दु:ख आइपरे पनि पीडा बिर्साएर भविष्यको मीठो सपना देखाउने, बाँच्ने ऊर्जा दिने अनि हौसला थप्ने अनि आत्मीय साथी नै त रहेछन् नि ।
 अब यो छोरोलाई इन्जिनियर बनाएर एउटा जागिरमा लगाइदिन पाए एउटा चिटिक्क परेको घर बनाएर आमाछोरा बस्न हुन्थ्यो भनेको...” उनी मुस्कुराउँछिन् ।

म मौन बस्छु । मनमनै मुस्कुराउँछु ‘यस्ता साहसी मानिसहरू भेट भए त हामीलाई पनि समाजका घटना उजागर गर्ने ऊर्जा थपिन्छ नि !’ यही सोचेर ।

“ए नौ बज्न लागिसकेछ आज मेरो पाँचौं किमो लगाउने दिन ढिलो गयो भने त्यहाँ डे केयर बेड पाइन्न ।” उनी तयार हुन थाल्छिन् । विश्वकपको खेलाडीझैं जित्ने उत्साह बोकेर क्यान्सरसँग लडिरहेका यस्ता योद्धालाई अब आइन्दा म कहिल्यै प्रश्न गर्नेछैन कि : “तपाईंलाई मर्नसँग डर लागेको छैन ?” 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ३, २०७७  १७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC