काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार देशभरका ७७ जिल्लामा प्रदर्शन गर्दै छ ।
प्रतिनिधिसभा विघटन गरेको केही घण्टाभित्रै राजनीतिक रुपमा सबैभन्दा पहिले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भनेको कांग्रेसले औपचारिक रुपमा त्यसका विरुद्ध प्रतिनिधिसभा पुन:स्थापना भने अहिलेसम्म भनेको छैन ।
प्रतिनिधिसभा रहँदासम्मको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनपछि आन्दोलनको नेतृत्व गर्छ भन्ने धेरैको अनुमान थियो । तर, कांग्रेस अपेक्षाकृत आन्दोलनको साटो सभापति देउवा पक्ष र वरिष्ठ नेता पौडेल-सिटौला पक्षमा विभाजित छ । सभापति र नेताहरूको फरक धार दुबैले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्ने साझा धारणा त बनाएको छ । तर, असंवैधानिक कदमविरुद्ध उभिने विषयमा भने गम्भीर मतभेद देखिएका छन् । पौडेल-सिटौला समूहले प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने माग राखिरहेका छन् । तर, त्यसलाई सभापति देउवा स्वयंले प्रतिवाद गरिरहेका छन् ।
यसले कार्यकर्तामा भने गम्भीर अन्योल देखिएको छ । त्यसैले स्थानीयस्तरका आन्दोलनमा के भन्ने भन्ने समस्यामा उनीहरू पर्ने गरेका छन् । उनीहरू आन्दोलन त गर्ने आन्दोलनमा आमन्त्रण गर्दा देखि नै ‘कांग्रेस चुनावको पक्षमा कि संसद पुन:स्थापनाको पक्षमा’ भन्दै प्रश्नसँग भाग्नुपर्ने अवस्थामा छन् ।
“पार्टीले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला प्रतिनिधिसभा पुन:स्थापना भन्दै हुनुहुन्छ तर, सभापतिजी चुनावको पक्षमा देखिनुभएको छ,” कपिलवस्तुका कांग्रेसका नेता विमलहरि आचार्यले भने, “सभापतिले भनेजस्तो चुनावका पक्षमा भने त्यसलाई विरोधसभा कसरी भन्ने ? असंवैधानिक भनिसकेपछि त त्यसलाई सच्याउनुपर्ने होला । सच्याउन प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने होला ।” उनले आफ्नै कार्यकर्तालाई समेत चित्तबुझ्दो जवाफ नेतृत्वले दिन नसकेको भन्दै उनीहरू असन्तुष्ट बनिरहेका छन् ।
यता सभापति शेरबहादुर देउवा भने अदालतमा विचाराधीन विषयमा कांग्रेसले बोल्नै नहुने तर्क गर्दै जुलुसले न्याय प्रभावित हुने भए अदालत किन चाहियो भनेर प्रश्नसमेत उठाइरहेका छन् ।
“जुलुस देखाएर फैसला प्रभावित हुने भए अदालत किन चाहियो ?” सभापति शेरबहादुर देउवाले गत माघ २९ गते पार्टी कार्यालय सानेपामा आदिवासी जनजातिको कार्यक्रममा भनेका थिए, “संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन भएकाले यसबारे कांग्रेसले बोल्न मिल्दैन ।” प्रधानमन्त्री ओलीले चुनावको घोषणा गरिसकेकाले चुनावकै लागि दबाब बढाउनुपर्ने पक्षमा देखिएका देउवा संसद्मा समेत नभएका पार्टीका नेताहरूले पुन:स्थापना भनेको कुरामा आश्चर्य प्रश्न गर्छन् । उनी कार्यकर्तालाई चुनावमा पक्षमा तयार रहन पनि निर्देशन दिइरहेका छन् ।
“चुनावबाट सरकार बनाउने राजनीतिक व्यवस्थामा पार्टीले सधैं चुनावका लागि तयारी गरिराख्नुपर्छ । आगामी दिनमा आउन सक्ने संसद् पुन:स्थापना अथवा चुनाव दुवैको तयारीमा रहन म तपाईंहरूलाई आग्रह गर्दछु,” देउवाले भनेका छन् ।
यस्तो घोषणा गरेको तीन दिनपछि सोमबार कांग्रेसले तेस्रो चरणको अन्तिम विरोध कार्यक्रममा ७७ वटै जिल्लामा गरिरहेको छ । ‘जुलुसले न्यायलय प्रभावित गर्न नहुने र अदालतमा विचाराधीन विषयमा बोल्न नहुने’ सन्देश दिइरहेका देउवा सोमबारको विरोधसभामा भने बुटवलको सभालाई सम्बोधन गर्दै छन् । कांग्रेसका शीर्ष नेताहरू वरिष्ठ नेता रामचन्द्र पौडेलले धादिङ, उपसभापति विमलेन्द्र निधिले राजविराज, महामन्त्री शशांक कोइरालाले दाङ, प्रकाशमान सिंहले पोखरा, प्रकाशशरण महतले सिरहा, गगन थापाले चितवन तथा प्रदीप पौडेलले दैलेखसहित विभिन्न जिल्लामा अधिकांश केन्द्रीय नेताले सम्बोधन गर्दै छन् ।
तर, अहिलेसम्मको तयारी हेर्दा भोलिको सभापछि पनि कांग्रेसभित्रको दुईधार मेटिने होइन थप गहिरिने अवस्था देखिँदै छ । किन भने नेताहरुका तयारीले आ-आफ्ना लाइनलाई थप स्थापित गर्ने प्रयास गरिरहेको देखाउँछ ।
“हामीले करिब सात दशक लडेर ल्याएको संविधान कुनै व्यक्तिको सनकबाट प्रभावित हुन हुन्न, त्यसलाई जोगाउने कांग्रेसको दायित्व पनि हो,” वरिष्ठ नेता पौडेलले बाह्रखरीसँग भने, “यो संविधान र यो व्यवस्था समाप्त पार्ने षड्यन्त्रमा हामी पर्नु हुँदैन । सत्ताको स्वार्थबाट प्रभावित हुन हुँदैन ।” उनले यस्तो भनिरहे पनि सभापति देउवाले भने अदालतभन्दा ठूला जनता भएको भन्दै जनतामा जाने कुरालाई अस्वीकार नगर्न आग्रह गर्ने गरेका छन् ।
अर्का नेता कृष्णप्रसाद सिटौलाले त प्रधनमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन चुनाव गराएर कांग्रेसलाई सत्ता बुझाउन नगरेका भन्दै त्यस्तो भ्रमबाट बाहिर निस्कन कांग्रेसलाई आग्रह गर्न गरेका छन् ।
“प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्नेमा कांग्रेसमा कुनै विवाद छैन । तर ओलीले चुनाव गराइहाल्छन् हामी पहिलो शक्ति बनिहाल्छौं भन्ने भ्रमले साथीहरूमा डेरा जमाएको म देख्दै छु,” सिटौलाले भने, “चुनाव गराएर कांग्रेसलाई सत्ता सुम्पन ओलीले विघटन गरेका होइनन् । प्रतिनिधिसभासँगै संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्रमा यो कदम सुरुवात हो । कांग्रेस यसका विरुद्ध प्रस्टसँग उभिएर संविधान र लोकतन्त्रको रक्षकको भूमिका देखाउन सक्नुपर्छ ।”
कांग्रेस नेता गगन थापाले ओलीको कदम प्रतिगामी षड्यन्त्रबाट आएको भन्दै संविधान र लोकतन्त्र सक्ने षड्यन्त्रमा कांग्रेस भने दुवै हातमा लड्डु देख्नेका कारण अन्योलमा रहेको बताउँछन् ।
“एकथरी कांग्रेसहरू चुनाव भए पनि ठूलो पार्टी बनेर प्रधानमन्त्री पुन:स्थापना भए पनि नेकपाका एउटा समूहलाई लिएर प्रधानमन्त्री बन्ने र दुवै हातमा लड्डु हुने सपना देखिरहेका छन्,” थापाले भने, “तीनै लड्डु कांग्रेसले असंवैधानिक यात्रामा रहेका ओलीलाई थप हौसला दिइरहेको छ । प्रतिनिधिसभा सिध्याउने र अर्को चुनाव नगराउने षड्यन्त्रमा उनी थप उत्साही हुँदै छन् ।”
कांग्रेसका नेताहरू केन्द्रमा विभाजित हुँदा स्थानीय तहमा नेता कार्यकर्ता अन्योलमा छन् । त्यही कारण कांग्रेसको राष्ट्रियस्तरको विरोधसभा पनि अनिश्चित भइरहेको छ ।