बाह्रखरी
sticky  ncell
British college
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
भ्यालेन्टाइन डे रंगशालामा २१३ जनासँग भ्यालेन्टाइन डे मनाउँदै धुर्मुस–सुन्तली
NMB Bank
NMB Bank
बाह्रखरी - आईतबार, फागुन २, २०७७
Laxmi Bank
Laxmi Bank
Sunrise bank
Sunrise bank

नरेश फुयाँल


आज माया गर्ने जोडीहरुका लागि उत्सवको दिन । अर्थात प्रणय दिवस । माया साटासाट गर्ने दिन । धेरैका धेरै ‘प्लान’हरु होलान् आजलाई । त्यसो भए सामाजिक अभियन्ता तथा कलाकारद्वय धुर्मुस–सुन्तली (सीताराम कट्टेल–कुञ्जना घिमिरे)को योजना के छ ? 

“चितवनमा छौँ । भ्यालेन्टाइन डेको अवसर पारेर रंगशाला निर्माणमा श्रमदान गर्न धेरै ग्रुपहरुले आज आउँछौँ भन्नुभएको छ, काम गर्दैमा बित्छ,” धेरै उत्साह थोरै बाध्यता मिश्रित कुञ्जनाको स्वर सुनियो । अर्थात यो वर्ष उनीहरुको प्रणय दिवस गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमै बित्ने छ । 

Global bank

Agani Group

रंगशाला परिसमै छन् धुर्मुस–सुन्तली । तर, के गर्नु भेट हुनै मुस्किल । “म बिहान उठेर हिँड्दा उनीहरु उठेकै हुँदैनन् । बिहानसँगै खाना खाने मौका पनि विरलै जुर्छ । साँझ अबेर मात्रै भेट हुने हो,” सीताराम भन्छन्, “भेटघाट त यस्तो अवस्था छ भने भ्यालेन्टाइन डेमा प्लान गर्ने भन्ने त कुरै भएन । आज दिनभर पनि हामी कन्स्ट्रकसनमै हुन्छौँ ।” 

यो वर्ष मात्रै होइन, विवाहअगाडि र पछाडि पनि विरलै मात्रै भ्यालेन्टाइनमा रमाएको सीताराम बताउँछन् । विवाहअगाडि र पछाडि धुर्मुसको प्राथमिकतामा कलाकारिता नै पर्‍यो । ०७२ पछि कहिले एकीकृत बस्ती त कहिले रंगशाला निर्माणमै समय व्यतित भएको उनी बताउँछन् । सीतारामकै भनाइमा हो मा हो मिलाउँछिन् कुञ्जना पनि । सुरुका केही वर्ष भ्यालेन्टाइन डेमा हुने कार्यक्रम र अन्तर्वार्ताहरुमा सँगै रहे पनि सामाजिक काममा केन्द्रित भएपछि प्रणय दिवसकै लागि भनेर खासै समय छुट्ट्याउने नगरेको उनले प्रष्ट पारिन् ।

sarbottam cement

अरुले जस्तै रमौँ, रमाऔँ भन्ने त मनमा नआउने होइन । तर, काममा व्यस्त भएकाले त्यतातर्फ खासै ध्यान नजाने गरेको सीतारामको अनुभव छ । “चाडपर्व तथा अकेजनहरुमा परिवारसँगै बसौँ, घुम्न जाउँ, रमौँ भन्ने त हुँदोरहेछ । तर, समय नै नहुँदा त्यतातर्फ सोच्ने फुर्सद नै नहुँदोरहेछ,” उनी भन्छन्, “रमाउने भावना हुँदाहुँदै पनि काममा केन्द्रित हुनु परेकाले पाइएको छैन ।”

मनभित्र माया भएपछि सम्भवतः ३६५ दिनलाई नै भ्यालेन्टाइन डेका रूपमा मनाउन सकिने धुर्मुसको धारणा छ । यो वर्ष आफूहरुको भ्यालेन्टाइन विकास निर्माणसँग मनाउने उनी बताउँछन् । 

“हामी अहिले २१३ जना छौँ रंगशालामा । उहाँहरुसँग नै भ्यालेन्टाइन डे मनाउँदैछौँ । हामी प्रेमपूर्वक काम गरिरहेका छौँ । त्यसैले हामीले हरेक दिन भ्यालेन्टाइन डे मनाइरहेका छौँ भन्दा फरक पर्दैन,” सीताराम भन्छन्, “सद्भाव र प्रेमकै कारण हाम्रो यो परियोजना अगाडि बढिरहेको छ । यदि, हामबीच प्रेम र सद्भाव थिएन भने कोभिडको यो विषम परिस्थितिमा पहिले नै यो परियोजना स्थगित गर्ने अवस्थामा पुग्थ्यौँ होला । यो निरन्तरता भनेकै प्रेमका कारण सम्भव भएको हो । सहयोग गर्ने सहयोगी हात, माया गर्ने शुभचिन्तकहरुलाई सम्मान गर्दै रंगशालामा काम गर्ने श्रमजीवी दाजु–भाइ तथा दिदी–बहिनीहरुसँग भ्यालेन्टाइन डे मनाउने छौँ ।”

आफूहरुले रंगशालासँग भ्यालेन्टाइन मनाएजस्तै राजनीतिक दल, नेतृत्त्व र कर्मचारीतन्त्रले विकास, समृद्धि र जनताको सेवासँग भ्यालेन्टाइन मनाउनुपर्नेमा धुर्मुसको जोड छ । 

“देशभित्रै रोजगार होस्, कोही पनि विदेश जान नपरोस्, भाषणमा भनिएजस्तै देशमा विकास होस्, राजनीतिक स्थिरता हटोस्, भनिएका प्रतिबद्धता पूरा गर्न सकौँ भन्ने भावनाले यो वर्षको भ्यालेन्टाइन डे मनाइयोस् भन्ने मेरो चाहना हो,” धुर्मुस भन्छन्, “देश साँच्चिकै समृद्ध होस्, विशेषगरी नेताहरुमा सद्बुद्धि मिलोस् भन्ने यो प्रेम दिवसले वातावरण सिर्जना गरोस् भन्ने लाग्छ । यसो भए सबै नेपाली खुसी हुनुहुन्छ होला भन्ने लाग्छ ।”

प्रणय दिवसलाई युवाले फेसनका रूपमा बुझ्दै गएको, युवा–युवतीबीचको आकर्षणलाई प्रेमका रूपमा बुझिएकाले यसले समस्या सिर्जना गरेको भन्दै उनी भन्छन्, “प्रेम भनेको बुवा–आमासँग पनि हुन्छ । छोरा–छोरी र  दाजु–भाइ र दिदी–बहिनीसँग पनि हुन्छ भन्ने बुझ्नुपर्छ । कुनै चिजलाई अनुशरण गरिन्छ भने त्यसको व्यावहारिक पक्ष कति छ भन्नेमा पनि ख्याल गर्नुपर्छ ।”

चाडबाडका पमा विकृति र विसंगति भित्रिँदै गएको उनको बुझाइ छ । चाडपर्वलाई बाहाना बनाउने परिपाटी बढ्दै गएको उनी बताउँछन् । नेपाली कला, संस्कृति र संस्कार भुल्दै गएको भन्दै यसमा ध्यान दिनु्पर्नेमा उनको जोड छ । 

के कुराले व्यक्तिलाई खुसी दिन्छ ? सायद व्यक्तिअनुसार फरक पर्छ । तर, कुञ्जनाले गरेको अनुभव सीताराम काममा व्यस्त हुँदा रमाउँछन् । “काममा व्यस्त भएन भने सीतारामजीलाई ग्यास्टिक बढ्छ, एसिडिटी बढ्छ । टाउको दुख्छ, सकसक हुन्छ,” सुन्तली भन्छिन्, “उहाँसँगको उठबस र संगतका कारण म पनि विस्तारै उहाँतिर ढल्किदै छु । उहाँलाई जे कुराले रिफ्रेसमेन्ट दिन्छ । म पनि त्यसमै खुसी हुने प्रयास गर्छु ।”

घर–व्यवहारसँगै परिवारसँग रमाइलो पनि गरौँ न भन्ने उनको स्वभाव हो । तर, यसका लागि हम्मेसी धुर्मुस लालायीत हुँदैनन् । यद्यपि, यसको अर्थ परिवारलाई वास्तै नगर्ने भन्ने त होइन । तर, प्रणय दिवस नै पर्खनुपर्छ, चाडपर्व र अकेजन नै कुर्नुपर्छ भन्ने मान्यता राख्दैनन् । समय मिल्यो भने दुईजना सल्लाह गर्छन्, कतै निस्किहाल्छन् । तर, यस्तो अवसर कमै जुट्छ ।

यसका लागि पनि कुञ्जना नै अग्रसर हुनुपर्छ, सीताराम यसमा सधैँ पछि । “मैले यसो गरौँ न भन्दा उहाँले कहिले पनि नाईं भन्नु हुन्न । तर, उहाँको व्यवहार र समय हेरेर मात्रै म अप्रोच गर्छु,” कुञ्जना भन्छिन्, “समय छ भने तिमी खुसी हुन्छौ भने म हुन्न भन्दै भन्दिनँ भन्नुहुन्छ ।”

दुःख गरेर आजको पहिचान बनाएका हुन्, सीतारामले । रंगरौसभन्दा पनि संघर्ष र व्यवहारको बोझ नै उनले धेरै अनुभव गरे । त्यसैले कहिले रमाइलो गर्ने र कहिले परिवारलाई समय दिने भन्ने उनलाई खासै हेक्का हुँदैन । उपहार आदान–प्रदान कहिले कसरी गर्ने पत्तै पाउँदैनन् । 

तर, कुञ्जनालाई कामसँगै रमाइलो पनि गर्नुपर्ने । साथीभाइसँग भेटघाट र ग्यादरिङ पनि गर्नुपर्ने उनको स्वाभाव छ । त्यसैले कुञ्जनाले नै सम्झाउनुपर्छ सीतारामलाई ।

अरुको देखेर पनि कुञ्जनालाई सीतारामले पनि प्रणय दिवस मनाए हुन्थ्यो, वर्थ डेमा विस गरिदिए हुन्थ्यो भन्ने अपेक्षा हुन्थ्यो । सुरुका वर्षमा गरे पनि सीतारामलाई यसको ‘आइडिया’ नै नहुने । “तर, मैले विस गर्दा खुसी हुन्छिन् भने, सरप्राइज दिँदा खुसी हुन्छिन् भने किन नदिने भन्ने लाग्दोरहेछ,” उनी भन्छिन्, “त्यसैले मलाई सरप्राइज दिन मेरो मिल्ने साथीलाई लिएर मलाई के मन पर्छ हेर्न लगाएर उपहार ल्याइदिनुहुन्थ्यो । यसरी दुई–चार वर्ष चल्यो । तर, उहाँ यसमा अभ्यस्त नभएका कारण पछि मैले बुझ्दै गएँ । निश्चल मन छ भने उपहारभन्दा पनि मन ठूलो रहेछ भनेर म उहाँको स्वाभावतिर ढल्किन थालेँ ।”

अहिले कुञ्जना सीतारामले चकलेट डेका दिन चकलेट ल्याएर दिए पनि खुसी, नदिए पनि खुसी हुन्छिन् । रोज लिए पनि ठिकै छ, नदिए पनि ठिकै छ । कारण सीतारामलाई उनले बुझिसकिन् । 

कारण अभिव्यक्तिभन्दा व्यवहार ठूलो कुरा हो भन्ने उनलाई भलिभाँती थाहा छ । “१३ वर्ष भयो हामीले विवाह गरेको । तर, हाम्रो व्यवहारले हामी अझै न्यू कपलजस्तै फिल गर्छौँ । मायामा कति पनि कम भएन,” उनी भन्छिन्, “त्यसैले ला... मेरो त्यस्तो जीवन यस्तो भयो भन्ने मनमा कहिले पनि आएन । म झन् खुसी छु । मलाई विस गर्ने उहाँको ढंग नपुग्ला । तर, त्यो नियतले होइन, जिम्मेवारीले किचेर हो ।”

विवाह भएको दोस्रो वर्षतर्फ फर्किइन् कुञ्जना, जुन वर्ष सीतारामले भ्यालेन्टाइन डेका दिन उनलाई खुसी पार्न गिफ्ट ल्याइदिएका थिए । साँझको समय थियो । कुञ्जना सिरयल हेरेर बसिरहेकी थिइन् । उनले सोफाबाटै सीताराम आएको देखिन् । उनको हातमा पोलेथिन ब्याग थियो । त्यसमा केही सामान थियो । धुर्मुसे पाराले जिस्किँदै आएर हक गरे । ‘लभ यु’ भन्दै विस्तारै गिफ्ट खोल्दै गए । कुञ्जनाई डल, कुसन तथा लभ साइन भएका उपहार मन पर्थ्यो । त्यस्तै ल्याएका रहेछन् । सम्झिएर ल्याइदिनुभयो भन्दै उनी रमाइरहेकी थिइन् । अन्तिममा त क्रिसमसको उपलक्ष्यमा दिइने उपहार पो निस्कियो !

“श्रीमतीलाई केही गिफ्ट लगिदिनुपर्छ भनेर किन्न जानुभयो । राम्रोसँग नहेरी हतारमै किनेर ल्याउनुभयो । तर, गिफ्ट त क्रिसमसमा बिक्री नभएर बाँकी रहेको गिफ्ट पो उठाएर ल्याउनुभएछ । क्रिसमसको गिफ्ट भ्यालेन्टाइनमा ? सुरुमा हेर्दै जाँदा खुसी हुँदै जाँदै थिएँ । तर, अन्तिममा पुगेर हेर्दा त अब मलाइ रिस उठेन त ? रिसाउँ भने सम्झिएर गिफ्ट ल्याइदिएको हो, खुसी हौँ भने गिफ्ट राम्रोसँग नहेरी ल्याएको छ,” कुञ्जना सम्झिन्छिन्, “अर्को कुरा उहाँलाई ग्यास्टिकले सधैँ सताउने । त्यसैले के गरेर निको हुन्छ भन्ने कुराले उहाँलाई सताउँथ्यो । त्यसैले जसले जे सल्लाह दियो, त्यही औषधि बोकेर आउनुहुन्थ्यो । म भन्थेँ, यसरी जुन पायो त्यही औषधि नखानोस्, जचाएर मात्रै खानुस् भन्थेँ । यसमा हाम्रो डिस्कस परिरहन्थ्यो । त्यो दिन पनि उहाँले त्यसैगरी औषधि लुकाएर लिएर आउनुभएको रहेछ । त्यसपछि फेरि हाम्रो त्यसैमा डिस्कस भयो । भलै म उहाँको चोखो मनले गरेको कुरा बुझ्थेँ ।” 

त्यसपछि सीताराम उपहार ल्याउँदा सधैँ सचेत हुन थाले । कपडा ल्याउँदा पनि साथीहरुलाई सोधेर ल्याउन थाले । 

सीतारामका लागि भने कुञ्जनाको सधैँ गिफ्ट । सीतारामलाई कस्तो लुगा कहिले किन्ने केही थाहा हुँदैन । त्यसैले मोजा, सेन्डो, बेल्ट, पर्सदेखि इनरवेयरसम्म पनि उनैले किन्दिन्छिन् । “उहाँलाई खुसी हुन ठूलो कुरा नै चाहिँदैन । एक जोर मोजा मात्रै ल्याइदियो भने पनि बच्चाजस्तो मख्ख पर्नुहुन्छ,” कुञ्जना भन्छिन्, “उहाँले आजसम्म आफ्ना लागि भनेर केही पनि किन्नुभएको छैन । उहाँका लागि हरेक ड्रेस मैले नै ल्याइदिने भएकाले सधैँ गिफ्ट नै ल्याइदिएजस्तो हुन्छ ।”

सीताराम सामाजिक काममा व्यस्त, कुञ्जनालाई घरपरिवार र अफिसको कामले नै भ्याइनभ्याई । अधिकांश समय त भेट नै हुँदैन । अरु बेला त त्यस्तै हो, चाडपर्व र विशेष अवसरमा भने उनीहरु एकार्कालाई खुब ‘मिस’ गर्छन् ।

“सँगै बस्दा मिसिङ फिल हुँदैन । तर, एकार्काबाट टाढा रहेका बेला मिस हुँदोरहेछ । सामाजिक काम सुरु भएपछि उहाँ फिल्डमा म अफिसमा बसेर काम गर्दा अभावको मिसिङ मुभमेन्ट धेरै छन्,” कुञ्जना भन्छिन्, “कति गाह्रा, अप्ठ्यारा र चुनौती हुन्छन् । उहाँ फिल्डमा बसेर म अफिसमा बसेर चुनौती खेप्दा साँझ मनको बह कसलाई पोख्नेभन्दा दुईजनाबीच नै फोनमा लामो समय कुरा हुन्थ्यो । त्यो समय रोनाधाना पनि हुन्थ्यो । खुसी पनि साटासाट हुन्थ्यो । तर, त्यो बेलाको मजा छुट्टै हुन्छ ।” 

भलै, भ्यालेन्टाइनकै दिन भने यस्तो भएको छैन । तर, चाडपर्वमा भने यो अनुभूत उनीहरुले पटक–पटक गरेका छन् । 

राजनीतिक विषयमा कुञ्जना धेरै टिप्पणी गर्न रुचाउँदिनन् । तर, यति भन्छिन्– राजनीतिको भित्री तह बुझ्ने हो भने मन रुन्छ । किन यस्तो भएको होला भन्ने कुराले मन पोल्छ ।  

“बुद्धि नै नभएको मान्छे केन्द्र र नेतृत्त्वमा पुग्दैन । बुद्धि त हुन्छ । बुद्धि भएको व्यक्तिले पनि किन गलत काम गर्छन् र गलत कदम उठाउँछन् भन्ने लाग्छ,” उनी भन्छिन्, “जनताको मनमा राज गर्ने मान्छे किन कुर्सीमा मात्रै राज गर्छन् भन्ने लाग्छ । जनताको मनमा राज गर्न सक्यो भने त्यसको आनन्द कस्तो हुन्छ भनेर किन अनुभूत गर्न सक्दैनन् भन्ने लाग्छ । यही प्रेम दिवसदेखि जनता र विकासको प्रगतिसँग प्रेम गर्न राजनीतिक नेताहरुले पनि प्रतिबद्धता जनाउन् ।”

जनताले प्रेम गर्दाको अवस्था कस्तो हुन्छ, त्यसको अनुभूत लिएपछि बल्ल त्यसको स्वाद थाहा हुन्छ भन्दै त्यसतर्फ नेताहरुको ध्यान खिचिनुपर्ने उनको जोड छ । 


 

Nepal Investment bank
Nepal Investment bank
आईतबार, फागुन २, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्