विकास मानवभित्रको रचनात्मक भावना, क्रियाशीलता र चेतनाको उपज हो । विकासका बहसहरु उदाउने र अस्ताउने क्रम जारी छ । विगतका शास्त्रीय र नवशास्त्रीय विकासका मान्यता सधैँ जीवित रहन सकेनन् । सन् १९५० को दशकमा आधुनिकीकरणको सिद्धान्तसँगै उदायको मूलधारका विकास धारणा सत्तरीको दशकमा असफल साबित भए । सत्तरीको दशकमा वैकल्पिक विकासका प्रतिमान उदाए । विकासका प्रतिमान (प्याराडाइम) रुपान्तरण हुने क्रममा मूलधार र वैकल्पिक विकासका सिद्धान्तहरूमा अन्तर्निहित कमजोरीलाई केलाउँदै नब्बेको दशकपश्चात् उत्तर विकासको (पोस्ट डेभलप्मेन्ट) बहस हगाडि आएको छ ।
विश्वव्यापी विकासको अभ्यासभित्र हालका दिनहरूमा उत्तर विकास व्यापक छलफल, चिन्तन र विवादास्पद बहसको रूपमा देखिएको छ । उत्तर विकास मूलतः दर्शन, राजनीति, अर्थतन्त्र, भाषा, चिन्तन, निर्माण प्रविधि र सञ्चार प्रविधिसँग सम्बद्ध नयाँ चिन्तनद्वारा सिर्जित सामाजिक, सांस्कृतिक चिन्तनको एउटै शृङखला हो । यस बहसले कथित प्रगतिलाई विकास मान्ने मूलधारे विकासलाई अस्वीकार गर्छ । यो बहसअनुसार अल्पविकासको उदय दोस्रो विश्वयुद्ध पश्चात् उत्तरका धनी देशहरू (ग्लोबल नर्थ)बाट दक्षिणका देशहरूमा (ग्लोबल साउथ) भौतिक सुधार गर्ने प्रतिज्ञासहित समाजवादलाई चुनौती दिन प्रचार गरेको आर्थिक नीतिको प्रतिफल हो ।
उत्तरविकासको बहस ‘युरोसेन्ट्रिज्म’को प्रतिक्रिया स्वरूप उत्पत्ति भएको हो ।
उत्तर विकासको थालनी मूलतः इभान इलिचको कार्यबाट प्रेरित छ । यद्यपि उत्तर विकासको थालनी गुस्ताभो एस्टेभा (१९८७), वन्दना शिवा (१९८९), उल्फगङ् सच (१९९२), अर्टुरो एस्कोबार (१९९५), मजिद रनेमा (१९९७), गिलवर्ट रिस्ट (१९९७), एफ. सबेल्ली (१९९७) लगायतको चिन्तकहरुको प्राज्ञिक कार्यबाट उदाएको मानिन्छ ।
उनीहरुको तर्कअनुसार विगतको विकास सधैँ अन्यायपूर्ण रह्यो । कहिल्यै राम्रो काम गरेन र अहिले पूर्णरूपमा असफल भयो । विगतका सम्पूर्ण विकासको संयन्त्र उत्तरका देशबाट दक्षिणका देशहरूमाथि जमाएको दादागिरी हो । उत्तरविकासको मूल बुझाइ मूलधार र वैकल्पिक विकासका सिद्धान्तहरू समय ग्रुजेका, मृत, अनिश्चित् र उल्टा छन् भन्ने हो । यो बहसले पश्चिमा विज्ञान, प्रविधि, प्रगति, विकासका मोडल र प्रतिमानहरूलाई अस्वीकार गर्छ । किनभने ती प्रतिमानहरू भ्रष्टाचार, अन्याय र वातावरणीय विनाशका कारण असफल भए ।
उत्तर विकासको विचारले समता, स्वाभिमान, आत्मनिर्भरता, स्वनिर्वाह, स्थानीय ज्ञान र संस्कृतिमाथि विशेष जोड दिएको छ । समुदायमा फर्केर जाऊ भन्ने मान्यता राख्छ । विकास सरल र सजातीय हुनुपर्छ । यो चिन्तनशील विकासको बहस हो । यसले विकासका पुराना विचारहरूको खण्डन गर्दै नयाँ रुचिको खोज गर्छ । यो मान्यताअनुसार समस्या विकास बाहिर छैन, भित्रै छ । मानव समाज, संस्कृति, अर्थव्यवस्था र वातावरण विकासका लागि बाधक तत्त्व होइनन् । मूल बाधक तत्त्व त विद्य्मान विकास प्रणालीभित्रको आन्तरिक संरचना हो । विकासको बहसभित्र व्याख्या गर्दै आएका अवधारणाजस्तै गरिबी, पछौटेपन, तेस्रो विश्व, दुर्लभता आदि वास्तविकता होइनन् (एस्कोवार, १९९५) । यी सबै उत्तरका धनी देशहरूको आधिपत्यका कारण जन्मेका प्रतिकूलता हुन् ।
एस्कोवारले कोलम्बियाको वैयक्तिक अध्ययन गरेर उत्तर विकासको अवधारणालाई उचाइमा पु¥याए । उनको तर्कअनुसार कोलम्बियाभित्र विकासको नाममा बाहिरिया प्रवेश गर्नुभन्दा अगाडि त्यहाँ गरिबी थिएन, अभाव पनि थिएन । आधारभूत कुराहरू पूरा भइराखेका थिए । अर्थतन्त्र स्वचालितरूपमै चलिरहेको थियो । तर, आधुनिकीकरण र विकासको नाममा धनी देशहरूको नीति कोलम्बियाको समाज र अर्थतन्त्रमा प्रवेश गरेपछि भने त्यहाँ क्रमशः विकास भएको छैन भन्ने भान जनमानसमा पर्न थाल्यो । यी सबै समस्याहरू उत्तरका धनी देशहरूको मूल्य, मान्यता र नियमहरूको प्रभुत्वले भएको हो भन्ने तर्क एस्कोवारले खुलेरै उठाए । उत्तरका देशहरूले दक्षिणका देशहरूमा लागू गरेको विकास नीति पूरै पश्चिमा (युरोसेन्ट्रिक) मान्यतामा आधारित रहयो । उत्तरका धनी देशहरूको आर्थिक र राजनीतिक प्रणालीले दक्षिणका देशहरूको मौलिक संस्कृति, कला, वातावरण आदि सबैमा विनाश जन्मायो ।
उल्फगङ् सच् (२०१०) को तर्कअनुसार उत्तरका धनी देशहरूले अङ्गीकार गरेका विकास नीतिहरू दक्षिणका गरिब देशहरूमाथि लादिएका उदारता, घुसखोरी र दबाबका मिश्रित रूप हुन् । मूलधारअन्र्तगत चालिएका विकासका अभ्यासहरू भ्रम, मिथक, निराशा, अपराध र कल्पनामात्र हुन् । यी व्यवहारहरूले दक्षिणका गरिब विकासोन्मुख देशहरूको समृद्धि हुँदैन । यो समयको बर्बादीमात्र हो । यस बहसले विकासोन्मुख देशहरुले आफ्नो मुलुकको आत्मनिर्भर र स्वायत्त विकासका लागि शास्त्रीय विकासको प्रतिमानलाई आधारभूतरूपमै अस्वीकार गर्दै स्थानीय ज्ञान र संस्कृतिमा रुचि बढाउनुपर्छ भन्ने सुझाव पेस गरेको छ । समुदायमा फर्केर जाऊ किनभने विकास जनताका लागि हो । समता, स्वाभिमान, आत्मनिर्भरता र स्वनिर्वाहमाथि जोड देऊ । विकासको विकल्प (अल्टरनेटिभ टु डेभलपमेन्ट) उत्तम हो वैकल्पिक विकास (अल्टरनेटिभ डेभलपमेन्ट) होइन । यो नै उत्तर विकासको मूल मन्त्र हो ।
उत्तर विकासको बहसले महात्मा गान्धीको विकास मोडलसँग सामिप्य राख्छ । गान्धीले आत्मनिर्भरतामा जोड दिएका थिए । विकासको लागि राज्यको खराबी कुनै कारक होइन । मूल कारक वा बाधक भनेको विद्यमान सामाजिक, आर्थिक तथा राजनीतिक संरचनाबाट उत्पन्न हुने प्रतिकूलताहरू हुन् । गान्धीको तर्कअनुसार शिक्षा नै नैतिक र भौतिक विकासको शक्तिशाली उपाय हो । समाजलाई भ्रष्टाचार र विनाशबाट जोगाउनुपर्छ । आर्थिक विकास सापेक्षिक सत्यमात्र हो । निरपेक्ष होइन, हुनै सक्दैन । हरेक समाजका विद्य्मान प्रकृति, संस्कृति, संस्कार, परम्परा र जीवनशैलीको आआफ्नै महत्त्व छ । अतः कुनै एक समाजको समस्या र विकासको प्रवृतिलाई अर्को समाजसँग तुलना गर्न मिल्दैन । किनभने विकास सापेक्षिक अवधारणा हो । शक्तिको आधारमा सत्यको सिर्जना गर्न खोज्नु भ्रममात्र हो । यो नै उत्तर विकासको अभीष्ट हो ।
उत्तर विकासको बहसको तर्कअनुसार विकासोन्मुख देशहरूमा सञ्चालित विकासका प्रणाली र पद्धतिहरू बाधक होइनन् । बाधक तत्त्व त तिनै प्रणाली र पद्धतिभित्रको आन्तरिक संरचना हो । यसर्थ विकासका लागि आन्तरिक संरचनामा सुधार गर्नुपर्छ । उदाहरणको लागि नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा राजनीतिक दलहरूको भूमिका रचनात्मक छैन । तिनीहरूको विकल्पमा वैकल्पिक शक्तिको खोज गर्नुपर्छ भन्ने जुन बहस चलिरहेको छ । उक्त बहस दिगो समाधान होइन । दिगो समाधान त विद्यमान राजनीतिक दल र तिनीहरूको आन्तरिक व्यवहार, प्रवृत्ति र नेतृत्वको कार्यशैलीमा प्रगतिशील र रचनात्मक सुधार ल्याउनु हो ।
उपप्राध्यापक (ग्रामीण विकास विभाग, पाटन संयुक्त क्याम्पस, पाटनढोका, ललितपुर )