


चितवन । पूर्वी चितवनको रत्ननगर १२ निवासी ७६ वर्षीय तीर्थराज न्यौपानेको जीवनसंघर्ष र स्काउट सेवासँग सम्बन्धित पुस्तक शनिबार एक समारोहबीच सिजी ल्याण्डमार्कको होटल चितवनमा शनिबार सम्पन्न भएको छ । न्यौपानेको हीरक महोत्सवको अवसरमा सो पुस्तक प्रकाशन गरिएको हो ।
पुस्तक विमोचन गर्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्काउट सेवामा ५० वर्ष खर्चिएका न्यौपानेप्रति श्रद्धा व्यक्त गर्दै स्काउटको संस्थागत विकास, शैक्षिक विकास तथा समाजसेवामा पु¥याएको योगदान अनुकरणीय रहेको बताए ।
उनले भने, ‘अहिले मान्छे असल बन्न गाह्रो छ, असल मानिस बनेर टिकिरहन झन् गाह्रो छ । स्काउटमा रहेर असल नागरिक बनाउन उहाँजस्ता व्यक्तित्वको देशका लागि अझ बढी खाँचो छ ।’ प्रजिअ भट्टराईले उहाँको पुस्तकले धेरै तीर्थ न्यौपाने जन्माउन सफल हुने विश्वास व्यक्त गरे ।
समारोहमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले स्काउटको गरिमा बढाउने काम गर्दै एउटा ब्राण्ड स्थापित गर्न सफल भएको भन्दै शुभकामना व्यक्त गरे । उनले समाजमा तीर्थराजजस्ता निस्वार्थ व्यक्तित्वको खाँचो रहेको बताउँदै अहंकार र घमण्डले राज गरेको वर्तमान समयमा उनीबाट सबैले सिक्नुपर्ने बताए ।
पूर्वसांसद् एवं न्यौपानेका सहपाठी जगन्नाथ पौडेलले लगनशील, विनयीशील र अन्तर्राष्ट्रियस्तरमा छवि निर्माण गर्न सफल तीर्थराजबाट युवापिंढीले धेरै कुरा सिक्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्काउट चितवनमा पूर्वआयुक्त भवानीप्रसाद पौडेल, भीष्मप्रसाद न्यौपाने, शिक्षा मन्त्रालयका पूर्व सल्लाहकार रमाकान्त सापकोटा, जिल्ला शिक्षा अधिकारी भीमलाल सुवेदी, साहित्यकार केदारनाथ खनाललगायतले न्यौपानेको कृति स्काउट र शिक्षा क्षेत्रका विद्यार्थीका लागि सन्दर्भ सामग्री हुने उल्लेख गरे ।
समारोहमा अग्रज कवि गोविन्द विनोदीले कवितामार्फत् न्यौपानेप्रति हीरक दिव्य वर्षका शुभकामना व्यक्त गरेका थिए ।
पुस्तकका प्रकाशक हिमालय खबर अनलाइन पत्रिकाका प्रधानसम्पादक विजय घिमिरेले न्यौपानेको व्यक्तित्वबारे चर्चा गर्दै उनको स्काउट यात्रा र शिक्षणसेवा सबैका लागि उदाहरणीय रहेको बताए ।
कार्यक्रममा लेखक न्यौपानेले पुस्तक प्रकाशनका लागि सहयोग गर्ने, लेखरचनामार्फत् शुभेच्छा प्रकट गर्ने सबै शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरे । कार्यक्रम सञ्चालक रामहरि न्यौपानेले पुस्तक न्यौपाने बन्धुहरुको यही नै ऐतिहासिक दस्तावेज रहेको भन्दै शुभकामना व्यक्त गरे ।





