बाह्रखरी
sticky  ncell
coke
British college
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कथा निधारको चोट
NMB Bank
NMB Bank
बाह्रखरी - शनिबार, फागुन १, २०७७
Laxmi Bank
Laxmi Bank

निधार छोपेको कपाललाई पन्छ्याउँदै बैनी देब्रे हातले मेरो तालु थिच्छे । दाहिने हातको साँहिली औँलाले केशरी लगाउँदै गर्दा बीचैमा टक्क रोकेर सोध्छे, “निधारमा त खत पौ रै’छ त ! केको चोट हो दाइ ?” 

उसको प्रश्न भुइँमा झर्न नपाउँदै मैले जवाफ दिएँ, “त्यो कुरा पछि गरौँला । पहिले साइतको टीका त लगाऊँ ।” 

टीका लगाइसकेपछि बैनीले फेरि सोधी, “दाइ, निधारमा कसरी चोट लागेको हँ ?” 

Global bank

Agani Group

हुँ... ! म अन्कनिँदै थिएँ ! मलिन अनुहार पार्दै फेरि बोली, “भन्नुस् न के । नभन्ने भए म त रोइदिन्छु ।” बैनी घुक्र्याउन थाल्छे ।

“राति अँध्यारोमा ढोकामा ठोक्किएर काटेको ।” मैले जवाफ दिएँ । टीकाको थाली वर तानेर बैनीलाई टीका लगाइदिँदै गर्दा उसले मेरो मुखमा पुलुक्क हेरी । म मुसुक्क हाँसे । तत्कालै मेरो हात च्याप्प समातेर उसको टाउकोमा राखी । अनि भनी, “तपार्इंले मसँग झुटो बोलेजस्तो छ ! योभन्दा अघि त मैले निधारमा खत देखेकी थिइनँ । सानो कमिलाले टोकेको कुरा त बताउने मान्छेले यति ठूलो चोट लाग्दासमेत मलाई केही भनेजस्तो लागेन । मेरो कसम खाएर भन्नुस् त, यो खत कसरी बस्यो ?” 

sarbottam cement

मैले भनेँ, “पहिला टीका लगाइदिन दे । अनि, सबै कुरा भनौँला ।” बैनीलाई सप्तरंगी टीका, सयपत्री र मखमलीको माला लगाइदिएँ । तिहारको भाइ मसला, सानो उपहार र दक्षिणा दिँदै उसको खुट्टामा ढोगेँ । अनौठो मान्दै उसले भनी, “यसपालि त अचम्मै भयो लौ ! दसैं टीका लगाउँदासमेत बुवा–ममीको पाउमा शिर नझुकाउने मेरा दाइ आज घुँडा टेकेरै मेरो खुट्टामा ढोग्दै छन् त !” 

०००

सिस्टम र शिष्टता एउटै आमाबाबुका सन्तान नभए पनि यिनमा घनिष्ट सम्बन्ध थियो । शिष्टताले रक्षाबन्धनका दिन सिस्टमका हातमा राखी बाँधेर पवित्र सम्बन्धलाई जोडेकी थिई । सिस्टम, शिष्टताका लागि अभिभावक मात्र हैन, सल्लाहकार पनि थियो । आफ्नी बैनीले सधँै राम्रो काम गरोस्, कसैले उसलाई औँला उठाएर बोल्न नपरोस् र सबैबाट प्रशंसा पाओस् भन्ने सिष्टमको चाहना थियोे । शिष्टताले पनि हरेक कुरामा सिष्टमसँग राय लिने गर्थी । एकले अर्कालाई खुब माया गर्थे उनीहरू । छिनमै रिसाउने, छिनभरमै खुसी हुने उनीहरू दुवैको आदत थियो । जिन्दगीका सबै कुराहरू सेयर हुन्थ्यो । एउटालाई चोट पर्दा दुवै सँगै रुने गर्थे । कहिलेकाहीँ झँैझगडा गरेता पनि एकले अर्काको पीडालाई बुझ्थे, उनीहरू ।  

तिहार नजिकिँदै थियो । भाइटीकाको दिनका लागि भनेरै सिष्टमले बैनीका लागि केही कपडा किनिदियो । शिष्टताले पनि दाजुका लागि केही कपडाहरू किन्न खोजी तर उसले इकार ग¥यो । शिष्टताले ढाकाको टोपी देखाउँदै भनी, “यो त किन्न सक्छु नि ?” उसले मुन्टो हल्लाउँदै “अँ, हुन्छ,” भन्यो । टोपीका चुच्चाहरू मिलाउँदै शिष्टताले दाजुको शिरमा लगाइदिई । बैनीले रोजेको टोपी सिष्टमलाई ठिक्क भएको थियो । चिटिक्क सुहाएको पनि थियो । 

“आहा कति राम्रो !” पसल्नी साउनी पनि स्वर मिलाउँदै थिइन् । उता, “हिरो छ नि मेरो दाजु” भन्दै शिष्टता दाजुको टाउको सुम्सुम्याउँदै थिई । “दाइ, यसपालि तिहारमा त तपार्इंको कपाल हाइलाइट गर्नुपर्छ है ? मेहेन्दी किनौँ, म लगाई दिन्छु,” फुलेको एउटा कपाल तान्दै शिष्टताले भनी । 

“अलिअलि कपाल फुलेर के भो त, नहाल्ने मेहेन्दी–सेहेन्दी ।” सिष्टमको यस्तो जवाफ सुनेर बैनी चित्त दुखाउँछे । “मैले भनेको त के नै मान्नुहुन्छ र ?” 

उमेरले ३०औँ वसन्तको यात्रा गरिरहँदा सिष्टमको कपाल फुलेर सेताम्मे थियो । शिष्टतालाई दाजुको सेतो कपाललाई रंग्याउने खुबै रहर ! यही कुरामा उनीहरूबीच सामान्य विवाद भयो । दाजुबैनीको विवादलाई यहाँ चित्रण नगरौँ । 

उनीहरू त्यहाँबाट फर्किए । बेलुका घर फर्किएपछि शिष्टताले दिउँसोको घटनासँग मेल खाने एउटा पोस्ट फेसबुक वालमा सेयर गरी । जुन पोस्टले सिष्टमलाई बैनीले उसैलाई भनेकोजस्तो आभास भयो । उसले पनि त्यस्तैखालको कमेन्ट गर्यो । सिष्टतालाई दाजुको पछिल्लो व्यवहारले निकै चित्त दुखायो ! 

तिहारकै केही दिनअघि शिष्टताका मामाले फोन गरे र भने, “भान्जी, यसपालि तिहारमा म पनि तिम्रो गाउँ जाने हो । ममीलाई भन्नु मामा उतै आउनुहुन्छ भनेर । म लक्ष्मीपूजाको दिन यहाँबाट बिहानै चिया खाएर त्यही आउँछु । तिमी खाना बनाइराख । देउरालीका मिलन मामा पनि आउनुहुन्छ । त्यहीँ खाना खाएर सँगै गाउँ जाऔँला । गाउँ नगएको धेरै भयो । यसपटक रमाइलो गर्नुपर्छ ।” 

सल्लाहअनुरुप लक्ष्मीपूजाको दिन बिहानै शिष्टता मामासँगै गाउँ जान्छे । गाउँमा देउसी–भैलो कार्यक्रमको आयोजना गरिएको हुन्छ । भाइटीकाका दिन बिहान अबेरसम्म देउसी–भैलो खेल्ने कार्यक्रम थियो । 

टीकाको दिन भाइलाई टीका लगाएर मामासँगै फर्किने र दाजुलाई पनि टीका लगाइदिने उसको सोच थियो । तर, सोचेजस्तो वातावरण मिलेन । तर, ऊ त्यो दिन फर्किन सकिन । 

०००

बैनीले धेरै नै कर गरेपछि सिष्टमले आफ्नो निधारको चोटको बारेमा बताउन थाल्यो । 

कुरा पोहोर साल तिहारको हो । भाइटीकाको दिन फोन गर्दा तिमीले भनेकी थियौ, ‘दाइ म आउँदिन है’ । मैले सोधेको थिएँ, ‘किन ? त्यसो भनेर कहाँ हुन्छ ? जस्तोसुकै अवस्था भए पनि आउनु’ यति भन्दै कर गरेको थिएँ । त्यसपछि तिमीले भन्यौ– ‘यसपालि टीका लगाउन नमिल्ने भयो, त्यही भएर ।’ ‘नाटक नगर, खुरुक्क आऊ’ भन्दा तिमीले हैरान भएर भन्यौ– ‘ह्या ! तपाईं पनि, लेडिज प्रोब्लम हो के बुझ्नु न ।’ 

तिमी नआउने बहाना बनाउँदै थियौ । मलाई राम्रोसँग याद थियो । दसैंको बेलामा ‘पिरियड’ भएकै कारण तिमीले मेरो हातको टीका गुमाएकी थियौ । त्यति बेला भावुक हुँदै भनेकी थियौ, ‘दाइको हातबाट दसैंको टीका लगाउन नपाए पनि तिहारमा दाजुबैनी भएर खुब रमाइलो गर्नुपर्छ ।’ 

तिमी आउँदिनौ भन्ने कुरामा मलाई अलिकति पनि विश्वास थिएन । घरमा सार्थकलाई टीका लगाएर आउँदा अलि ढिलै होला भन्ने मेरो अनुमान थियो । तिमी आउँछेउ भन्नेमा म पूर्ण विश्वस्त थिएँ । त्यसैले टीकाको सबै सर्दाम, खानेकुरा ठिक पारेर तयारी अवस्थामा तिम्रो प्रतीक्षामा बसेको थिएँ । 

दिन ढल्किँदै गयो । साँझसम्म पनि तिमी नआएपछि मेरो मन छट्पटिन थाल्यो । आँखाहरू दोबाटोतिरै टोलाउन थाले । तिमीलाई फोन गरेँ । फोन उठेन । केहीपछि दोहोर्याएर कल गरेँ । मोबाइलको स्वीच अफ थियो । आइपुग्नै लागेको भएर मलाई सरप्राइज दिन खोजेको होला भन्ने पनि सोचँे । अनि, कोठाभित्र छिरेँ । दियो बत्ती बालेर टीका लगाउने ठाउँ फेरि एकपटक सफा गरेँ । कोठा टिलिक्क पारेर सजाएको थिएँ । हुन त दिनभरि मेरो अरू काम नै के थियो र ! 

त्यही बेलै मोबाइलको घन्टी बज्यो । तिम्रो कल थियो । हत्तपत्त फोन उठाएर सोधेँ, ‘कहाँ आइपुग्यौ ?’ भनेर । तिमीले भन्यौ– ‘म त घरमै छु ।’ ‘नजिस्की, म कुरिरहेको छु ।’ यति भन्न नपाउँदै तिम्रो जवाफ आयो– ‘अरे पागल, झन् मैले बिहानै भनेको हैन, म आउँदिन भनेर !’ फोन काटियो र लगत्तै म्यासेन्जरमा भिडियो कल आयो । वास्तवमै तिमी घरमै रहिछौ । ‘ए !’ भनेर फोन काटेँ । एक्कासि मन भक्कानिन थाल्यो । छाती डम्म फुल्यो । एक छिन अक्क न बक्क परेँ ! सुत्ने विचार गरेर बाहिर ढोका लगाउन निस्केको थिएँ, त्यति बेलासम्म पनि तिम्रो झझल्कोले छाडेको थिएन । ढोकाको चुकुल लगाएँ । जुन ढोका तिमी आउने आशमा खुला गरेको थिएँ, त्यही ढोका निराश हुँदै बन्द गर्न विवश थिएँ । 

एक्लोपनको असाध्यै महसुस भयो मलाई । त्यही अवस्थामा आफ्नो भाग्यलाई धिक्कार्दै ढोकामा टाउको बजार्न पुगेछु । त्यसै बेलाको चोटको हो यो । जति बेला मेरो निधार खाली थियो ! 
 

Nabil Bank
Nepal Investment bank
Nabil Bank
Nepal Investment bank
शनिबार, फागुन १, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्