म यो देशको कवि हुँ
हो
म यो देशको कवि हुँ
सत्यको हिमायती हुँ
म
निर्धक्क तिमी यस्तो छौ भन्छु
तिमी जस्तो छौ त्यस्तै भन्छु
तिमीलाई तिम्रो स्वरूप दुरुस्त बताएको मन पर्दैन भने पनि
म त्यही भन्छु
तिम्रो अनुहार सफा भए सफा
र दागी भए दागी भन्छु
सायद
तिमी मलाई तिम्रो विरोधी मान्न सक्छौ
विद्रोही ठान्न सक्छौ
तर म
जस्तो तिमी छौ त्यस्तै भन्छु
किनकि तिमी समय हौ
र म दर्पण हुँ
यत्ति बुझ
म
अँध्यारोलाई उज्यालोले धुने रवि हुँ
सत्यम शिवम् सुन्दरमको छवि हँु
हो म निःसन्देह
यो देशको कवि हुँ ।
हो
म यो देशको कवि हुँ
न्याय सम्पादनको दाबी हुँ
जस्तो हुनुपर्छ त्यस्तै हुनुपर्छ भन्छु
तिमीले बाटो बिरायौ भने
म मेरा निडर औंला ठड्याउँछु
थाहा छ मलाई
तिमीलाई तिमीतिर ठडिएको औंला मन नपर्न सक्छ
तिमी मेरा औंला उपर उर्दी जारी गर्न सक्छौ
निर्मम बुट बजार्न सक्छौ
हिंस्रक बारुद पड्काउन सक्छौ
मेरा साहसी औंलालाई हत्कडी लगाउन सक्छौ
तर
जेलका कोठरीभित्र पनि मेरो औंला झुक्ने छैन
किनकि म
गलतीहरूमा खबरदारी हुँ
सिंगो न्यायको छवि हुँ
हो म निःसन्देह
यो देशको कवि हुँ ।
हो म
यो देशको कवि हुँ
आदर्शको पक्षपाति हुँ
जस्तो हुनुपथ्र्याे त्यस्तै हुनुपथ्र्यो भन्छु
सोह्रै आना इमानदारिता हुनुपथ्र्यो भन्छु
आचारसंहिता बिर्सनु हुन्नथ्यो भन्छु
नैतिकताले हार्न हुन्नथ्यो भन्छु
व्यभिचार फैलिनु हुन्नथ्यो भन्छु
सुनमा खिया लाग्न हुन्नथ्यो भन्छु
नुनमा कीरा लाग्न हुन्नथ्यो भन्छु
सिरानीमा शिर अनि
जुत्तामा खुट्टा हुनुपथ्र्यो भन्छु
इमानीमा लौरो
र बेइमानीमा छडी हुँ
न घटी हुँ न बढी हुँ
म
युगलाई बाटो देखाउने रवि हुँ
सिंगो आदर्शको छवि हुँ
हो म निःसन्देह
यो देशको कवि हुँ ।
० ० ०
लाचार ईश्वर
ती
माटो मुछ्ने गोडाहरू
गाह्रो ठड्याउने हातहरू
इँटा बोक्ने ढाडहरू
छाना छाउने पैतालाहरू
गजुर उठाउने पाखुराहरू
अपलक हेर्दछन् परबाटै
च्यापेर छियाछिया मुटु
आफ्नै पसिनाले सिँचेर
आफैंले छुन नपाइने
आश्चर्यमय पवित्र मन्दिर !
आरनमा ओल्टाई–पल्टाई
आगोले पोली–पोली
खुट्टाले च्यापी–च्यापी
मार्तोलले ठोकी–ठोकी
मूर्ति कुँद्ने औंलाहरू
आफैंले बनाएको त्यो मूर्ति
पुजिएको हेर्ने रहर
आँखाभरि च्यापेर
अपलक चियाउँछ परबाटै
आश्चर्यमय पवित्र मन्दिर !
ईश्वरका सन्तानहरू
ईश्वरकै सन्तानहरूलाई
ईश्वरकै सामुन्ने
गर्छन् दुस्साहस पिलाउन
कालकुटजस्तो अपमानको घुट्को
अर्धमृत ईश्वरको सन्तानहरूलाई
अमृत ईश्वरको मूर्ति
अमूक अपलक चियाउँछ
आश्चर्यमय पवित्र मन्दिरको भित्ताबाट
र
चुपचाप हलाहल पिएर
प्रश्न गर्छु म
हे ईश्वर, के तिमी साँच्चिकै यति लाचार छौ ?
(बेलायत)