site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
‘निगमले नाफा होइन बचत गरेको हो’
Sarbottam CementSarbottam Cement

नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति सहज व्यवस्थित बनाउने जिम्मेवारी नेपाल आयल निगमको हो । निगमले निजी क्षेत्रका आफ्ना अधिकृत विक्रेतामार्फत इन्धन बिक्री गर्दै आएको छ । यो स्वायत्त संस्थाको नेतृत्वमा छन्, कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल

हिजोको दिनमा सधैं घाटामा रहेकाले तेल किनेर सर्वसाधारणमा बेच्न नसक्ने बनिसकेको निगम आज निकै सहज अवस्थामा छ । घाटाको अवस्था छैन, तेलको मूल्य स्वतः सञ्चालित मूल्य प्रणालीले पेट्रोल प्रतिलिटर ११० रुपैयाँभन्दा सस्तो बनाएको छ । ग्यास आपूर्ति सहज छ । ठाउँठाउँमा सक्षम बन्दै गएको निगमको भौतिक पूर्वाधारले उल्लेखति पेट्रोलियम भण्डारण तथा आपूर्ति कुशल बनाएको छ ।

चुक्तापुँजी २९ करोड रुपैयाँ मात्र रहेको सानो संस्था आज ११ अर्ब रुपैयाँको बनेको छ । चालु आवमा अघि सारिएको नीति तथा कार्यक्रम, पूर्वाधार विकासका योजना, पाइपलाइनबाट तेल आयात, ईआरपी, प्रदेशप्रदेशमा भण्डारण कक्षको विस्तारले निगम थप अगाडि बढेको महसुस गर्न सकिन्छ । प्रस्तुत छ, निगमको नेतृत्व गर्ने पौडेलसँग बाह्रखरीका रोविन पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

Prabhu Bank
Agni Group
NIC Asia

बाह्रखरीसँग यसअघिको अन्तर्वार्तामा तपाईंले अभाव, असजह र घाटा एक-दुई वर्षमै एकादेशको कथा बन्ने दाबी गर्नुभएको थियो । लकडाउनको मुखैमा त्यसो भनिरहँदा धेरैले पत्याएका थिएनन् पनि । नभन्दै त्यो विषम् परिस्थितिमा अभाव र असहज भएन, बिक्री घटे पनि निगमले घाटा बेहोरेन । तपाईंको कार्यकालकै सबैभन्दा ठूलो च्यालेन्ज बनेर उभिएको यो समस्यालाई निगमले सहजै कसरी व्यवस्थापन गर्न सकेको हो ?
हिन्दीमा ‘एकसे भला दो’ भन्छन् । त्यो अहसज घडीमा सबै स्टेकहोल्डरलाई साथमा लिएर म हिँडेको थिएँ । अर्थात व्यवस्थापन मैले गरेको होइन, ‘हामी’ले गरेको हो ।

नेपाल आयल निगम, ट्यांकर वा बुलेट चालक, पम्प सञ्चालक, पम्पका कर्मचारी बोटलिङ ग्यास विक्रेता, आम उपभोक्ता ‘हामी’ भित्र पर्छन् । यी सबैमा आवश्यक समन्वय, रुट व्यवस्थापन, खाने बस्नेसमेत व्यवस्था गरेर, टायर पन्चर हुँदा बनाउने व्यवस्था गरेर समस्यालाई सजिलै व्यवस्थापन गर्न सकियो ।

Global Ime bank

‘गोरु बेचेको साइनो’ लाग्नेसम्मलाई यो प्रणालीमा आबद्ध गरेका थियौं । प्रधानमन्त्री, आपूर्ति मन्त्रीसम्मको नेटवर्क सुत्रमा सबैलाई जोडेर एकीकृत प्रयासले सफल बनेका हौं ।

जुन वस्तुको अभावले आम नागरिकको चुलो बल्दैन, त्यसैको व्यवस्थापन नेतृत्व गर्नु कस्तो हुँदो रहेछ ?
जिम्मेवारी सम्हाल्ने काम पृथक कुरो रहेछ । संवेदनशील काम रहेछ । पेसामा जोगी हुनुपर्छ, अनि मात्र सफल भइन्छ भन्छन् । अर्थात् घर परिवार तथा व्यक्तिगत विषयलाई दोस्रो प्राथमिकतामा राख्नुपर्ने रहेछ ।

आफूसँग जोडिएका विषयलाई टाढा राख्नु ज्यादै पीडाको काम रहेछ । पेसामा बढीभन्दा बढी जोडिन सकियो भने मात्र सफल बन्न सकिँदो रहेछ । खेलमा पनि क्याप्टेनले खेलेर, व्यवस्थापन गरेर, फुल एफोर्ट दिएमात्र जितिन्छ नि, विषम् परिस्थितिलाई व्यवस्थापन गर्ने काम त्यस्तै रहेछ ।

निगम इतिहासमा पहिलोपल्ट एनएफआरएस प्रणालीबाट वार्षिक वित्तीय विवरण तयार पार्नुभयो । १३ अर्ब नाफा भयो, फेरि १५-१५ दिनको अन्तरमा निगमले इन्धन घाटामै बेचेको देखिन्छ । नाफा हुनुपछाडि अरु कारण पनि छन् ?
कानुन र अभ्यासले ‘नाफा’ भन्छ । तर, निगमको हकमा नाफा होइन, बचत हो । म त ‘कस्ट रिकभरी’ गरेको हो भन्छु । कानुनले बाँधेका हुनाले नाफा नोक्सानीको हिसाब देखाएका मात्र हौं ।

नाफा भएको भए सीमित व्यक्तिले लाभ लिन्थे । निगमले गरेको बचतबाट अन्ततः नाफा हुने इन्धन खरिदकर्तालाई नै त हो । यस अर्थमा सरकारले व्यापार गरेर बचत गरेको हो भन्ने बुझ्नुपर्छ । कर भइदिएको भए सरकारबाट खर्च हुन्थ्यो, निगमको नाफा त सञ्चित भएर बस्ने कुरा हो ।

सरकारले नाफा गरेको भन्दा संवेदनहीन सुनिन सक्छ, त्यही भएर म नाफा भन्दिनँ, प्राविधिक शब्दमा ‘सरप्लस’ (बचत) भन्छु । दीगोपनका लागि चाहिने ‘कस्ट रिकभरी’को पाटो हो । कानुनी हिसाब तथा अन्तर्राष्ट्रिय अभ्यासअुनसार नाफा नै भनिएला । तर, निगमको नाफा अरु कम्पनीले गरेको नाफाजस्तो चित्रण गर्न मिल्दैन ।

तपाईंले यसो भने पनि निगमलाई ‘सरकारी कम्पनी भएर पनि नाफामुखी भयो’ भनिन्छ । समयानुसार इन्धनको मूल्य समायोजन गरिरहँदा, ५ वर्षअघिको तुलनामा लिटरमै २५ रुपैयाँ सस्तोमा इन्धन बेचिरहँदा पनि यो आरोप किन चिर्न सक्नु भएन ?
‘नाफा होइन, बचत हो’ भनेको भए आरोप लाग्दैन थियो । आज मासिक रुपमा डेढ अर्ब घाटा बेहोरेर निगमले तेल बेचिरहेको छ । तपाईंले भन्नुभयो नि हिजो १३ अर्ब बचत गर्न सकेका थियौं र आज घाटा बेहोरेर सस्तोमा तेल बेच्न सकिरहेका छौं । पाक्षिक घाटा बढ्दो क्रममा छ । निगम सहज स्थितिमा भएकाले नै घाटा बेहोर्न सकिएको हो ।

निगमको बचत सरकारकै पैसा त हो नि । केन्द्रीय बैंकसँग भएको बचत सरकारले नाफा गरेर खायो भन्न मिल्छ र ?

हिजो भ्रष्टाचारको अखडा भनेर चिनिने निगम आज काम गरेर देखाउने संस्था भनेर चिनिएको छ । आफूसम्बद्ध सरोकारवाला, उपभोक्ता (व्यक्ति तथा संस्था), तेल व्यापारी, ढुवानीकर्ता र निगम कर्मचारी सबैको विश्वास जितेर यो कुर्सीमा बस्न कत्तिको सहज रहेछ ?
परिश्रम गरेपछि अर्कोले महसुस पनि गर्छ । काम गर्नेका लागि समाज नेगेटिभ छैन । हाम्रो एक्सनले हामीलाई मूल्यांकन गर्ने आधार बनाउँछ ।

हिजोको दिनमा राम्रो काम गर्नेहरू पनि त थिए । सुवर्णविक्रम थापा, गुणराज उपाध्याय आदिको ठूलो नाम छ । आयल निगमभन्दा नेपाल ग्यास जेठो हो, र पनि निजी क्षेत्रबाट गर्ने काम सार्वजनिक संस्थाबाट हुने वातावरण बनाउनुभयो ।
बीचमा नीतिगत कारणले निगम बदनाम भएको पक्कै हो । त्यतिबेला पेट्रोल र डिजेल/मट्टितेलको मूल्यमा ठूलो अन्तर थियो । आधारभूत आवश्यकता रहेको मट्टितेल महँगो गर्न सकिएको पनि थिएन ।

हामी यतिसम्म बदनाम भइसकेका रहेछौं कि त्यतिखेरको ह्याङओभर अहिलेसम्म उत्रिएको छैन ।
निगमलाई बदनाम गराउन खोज्ने तत्व पनि होलान् । म त के भन्छु भने हामी स्यालको पछि लाग्नु हुँदैन । स्याललाई त घेराबन्दीमा पार्नुपर्छ । घेराबन्दी नियम, कानुन, विधि र प्रक्रियाले गर्नुपर्छ ।

निगमलाई बदनाम भएपछि केही उपलब्धि पनि हासिल भए । उपभोक्ता ऐन, संघ-संस्था सक्रिय हुनुमा निगमकै कारण देख्छु म ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत पूर्वाधार विस्तारका कामलाई एग्रेसिभ रुपमा अगाडि बढाउनुभएको छ । सुरुमा भण्डारणको कुरा गरौं । कहाँ पुगे भण्डारण विस्तारको काम ? भारतीय नाकाबन्दीसँगै ९० दिनको भण्डारण बनाउने भनिएको थियो नि !
समयसान्दर्भिक प्रश्न हो यो । व्यापार दिमाग वा दिलबाट गर्नुपर्छ, भावनाबाट हुँदैन । नाफा नोक्सान हिसाब गरेर गर्नुपर्छ । डिजलमा लिटरको १ रुपैयाँ मूल्य बढाउँदा पनि मेरो मन रुन्छ । मेरा छोरीहरूले पनि भाउ बढाएको दिन प्रश्न सोध्छन्, गाली गर्छन् । संस्थालाई त बचाउनै पर्‍यो, बचत गर्न नसके पनि ।

म आएपछि मात्र राम्रो भएको म भन्दिनँ । त्यतिबेला मूल्य बढाउन मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्थ्यो, आज त्यस्तो दिन छैन । निर्णय लिने प्रक्रिया जति लामो हुन्छ, काम गर्न त्यति असहज हुन्छ ।

इतिहासले यी सबै विषय सिकाएको छ । निगम स्वायत्त बनेको छ । त्यसैले अलिअलि बचत गर्न सकेको छ । नाकाबन्दीताका निगम ३६ अर्ब घाटामा थियो । सोहीकारण भण्डारण विस्तार हुन सकेको थिएन । एकातिर मूल्य बढाउन नसक्ने, भारतमा तेल महँगो हुँदा नेपालबाट तेल उता जाने, घाटा झन् बढ्ने । भारतीय आयल निगमलाई निगमले भुक्तानी गर्न सक्थेन । असहज सामान्य कुरा थियो ।

त्यही भएर निगम बलियो नहुँदै ९० दिनको भण्डारण कल्पना गरिएको हो । बल्ल त बलियो बनेका छौं । 

अर्कोतर्फ ९० दिनको भण्डारको प्रभाव मूल्यांकन पनि गर्न जरुरी छ । हाम्रो अध्ययनले तीन महिना भण्डारण गर्दा तेलमा प्रतिलिटर १३ रुपैयाँ लागत बढ्ने देखाउँछ ।

साँच्चै १३ रुपैयाँ लागत बढाएर ९० दिनको भण्डारण गर्न आवश्यक छ त ? काम गरेर जवाफ दिन सिक्दै छौं । कति दिन भण्डारण गर्दा लागत बेहोर्न सकिन्छ त भनेर अध्ययन गर्दा एक महिना सम्भव देखियो ।

९० दिनको भण्डारण गर्न के आवश्यक छ ?
हामीलाई सरकारको अनुदान आवश्यक पर्छ । इन्धनको आपूर्ति तथा ढुवानी सहज हुँदाहुँदै ९० दिनको भण्डारण निगमको आवश्यकता होइन, ऊर्जा सुरक्षा सुनिश्चत गर्न सरकारको आवश्यकता हो ।

जसरी खाद्य व्यापार तथा आपूर्ति कम्पनीले धान चामलको भण्डारणका सबै लागत सरकारले बेहोर्छ, ९० दिनको भण्डारण गर्दा थपिने लागत राज्यले बेहोर्नुपर्छ । हामी ९० दिन भण्डारणको लागत तेलको मूल्य बढाएर बेहोर्ने पक्षमा छैनौं ।

त्यही भएर बढीमा एक महिनाको भण्डारण विस्तारको काममा अघि बढेको हो त ?
१, २ कक्षा नपढी सीधै बिजगणितको हिसाब गर्न सक्ने हुन सकिँदैन । त्यसैले ३० दिनसम्मको भण्डारण विस्तार गर्ने कार्यमा अघि बढेका छौं । जब आवश्यकता पर्छ, निगमले नै राज्यलाई ऊर्जा सुरक्षाको आवश्यकता रहेको जानकारी गराउँछ ।

ऊर्जा सुरक्षाको कुरा त अहिले गरेकै छैनौं । किनकि क, ख, ग, घ पढ्दै छौं । हाल दुई स्थानमा बल्क स्टोरेज बनाउने काम निकै अघि बढेको छ । नेपाल र भारत सरकारबीच सहमतिअनुसार लागत अनुमान तथा सर्भे सकिएको छ ।

चितवनको लोथरमा एक लाख किलोलिटर र झापाको चारआलीमा ४० हजार किलोलिटर इन्धन भण्डारको काम अघि बढेको छ । यी भण्डारण कक्षमा पाइपलाइनबाट तेल आउँछ ।

छिटै सञ्चालक समितिमार्फत प्रक्रिया अघि बढाउँछौं । त्यसबाहेक आन्तरिक स्रोतले बेहोर्ने गरी प्रादेशिक भण्डारण कक्ष विस्तारका काम भइरहेको छ । जसबाट उल्लेखित दुई ठूला परियोजना नसकिए पनि आगामी आर्थिक वर्षको अन्त्यसम्म भण्डारण क्षमता २० प्रतिशतले वृद्धि भइसक्छ ।

यो कुरा त भयो भण्डारणको । अन्तरदेशीय पाइपलाइन विस्तार (भारत तथा चीनसँग) तथा ग्यास बोटलिङ प्लान्ट निर्माणका काम कहाँकहाँ पुगे ?
सिलिगुढीको पाइपलाइन सम्भव देखिएको छ । मोडालिटीबारे छलफल गर्दै छौं । मोडालिटी भन्नाले कस्तो हो भने, नेपालतर्फ पाइपलाइनको १५ किलोमिटर भाग पर्छ, भारततर्फ ३५ किमि पर्छ । हामीले भारततर्फको लागत इन्डियन आयल निगमले बेहोर्ने भनेका छौं ।

पाइपलाइन भनेको तेल बोक्ने पाइपवाला ट्यांकर भनेर बुझ्नुपर्छ । ग्यास बोटलिङ प्लान्टको पनि सम्भाव्यता अध्ययन हुँदै छ । ग्यास भण्डारण कक्षको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको अन्तिम चरणमा छौं । चालु आवको अन्त्यसम्म टेन्डर आह्वान गरेर काम अघि बढिसक्नेछ ।

ग्यास भण्डारणका लागि झापामा पाँच हजार टन र सर्लाहीमा १८ हजार टनको स्थान तयार हुनेछ । सर्लाहीमा ग्यास भण्डारण ५ हजारबाट १८ हजारमा विस्तार गर्नुको कारण के हो भने, सर्लाहीमा ३ किमि रेलमार्ग विस्तार गर्दा भण्डारण स्थलसम्म रेल आउन सक्ने देखिएको छ । चालु आर्थिक वर्षसम्म सबै काममा माइलस्टोन सेट गर्नेछौं ।

पूर्वाधार विस्तारका काममा तपाईंको कार्यकाल स्वर्णीम युग हुने भयो नि !
समयको माग हो । म नभएर अर्कै व्यक्ति निगमको नेतृत्वमा रहेको भए पनि यति काम गर्नुपर्ने थियो ।

कुरा गरौं सुशासनको । तपाईंको कार्यकाल सुरु भएपछि इन्धन चोरीका घटना कम भएका छन् । तपाईं कडा भएर हो कि नीति नियमको परिबन्ध परेका हुन् ? वा प्रणालीमा आबद्ध भएकाले ?
सबै नेतृत्वले सुशासन कायम गर्न खोजेको हो । म राम्रो सर्जन यस हिसाबमा पनि हुन सहज भयो कि मेरो आफ्नो पेसाले आन्तरिक नियन्त्रण प्रणाली सुदृढ बनाउने विशेषज्ञता विकास गरेको छ । हामीले आन्तरिक नियन्त्रण प्रणाली विस्तारै सबल बनाउँदै गयौं ।

प्रणाली सुदृढ हुनेबित्तिकै यी कुराहरू आफैं कम हुने रहेछन् । प्रहरी, प्रशासन लगाउने विषय फरक पाटो भए । लोड भएदेखि अनलोड भएर पम्पसम्म पुग्ने प्रणाली चुस्त बनायौं । यो काममा म एक्लै हैन, पूरै निगम परिवार लागिपर्‍यो ।

यसमा विशेष गरी निगमको वरिष्ठ नेतृत्व र ट्रेड युनियनको ठूलो भूमिका छ । ट्रेड युनियनलाई गाली गर्छौं नि ? निगमको ट्रेड युनियन हेर्नोस् । उहाँहरू निगमको सुशासन र विकासका लागि एग्रेसिभ छ । कुनै पनि दिन गलत काम गर्नेका पक्षमा युनियन छैन । यो सपोर्ट भाग्यमानीले मात्र पाउँछ ।

सुशासन कायम गर्न, थप व्यवस्थित गर्नकै लागि इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) कार्यान्वयनमा ल्याइएको हो ?
संसार सूचना प्रविधिको युगमा छ । ‘इन्फरमेसन इज पावर’ (सूचना नै बल हो), हैन त ? कुनै रोग लाग्न सक्ने संकेत मिल्यो भने संयमता अपनाइन्छ । ईआरपी भनेको एकीकृत सूचना प्रणाली हो । यसको माध्यमबाट एकठाउँमा प्राप्त सूचना पुरै निगम प्रणालीमा पुग्छ ।

जस्तो कि भन्सार विन्दुमा बिल काटेपछि लेखामा जानकारी पुग्छ । हाल बीचका विभिन्न चरण पार गरेर प्राप्त हुने गरेको छ । ईआरपीले रियल टाइममा सूचना प्राप्त हुने व्यवस्था गर्छ ।

ईआरपी कुनै जादुको छडी भने होइन । हामीले सदुयोग गर्ने हो । हामीले कमजोरी कडी पत्ता लगाउने माध्यम हो । कुनै ट्यांकर १५ दिन अघि भारतमा लोड भयो । चार दिनमा काठमाडौं आउनुपर्ने आइपुगेन भने ईआरपीले जानकारी दिन्छ । हालको प्रणालीअनुसार १५ दिनसम्म नआएको जानकारी सुराकीले दिनुपर्छ ।

ईआरपीले किन ढिलो भयो, खोज्ने सूचना दिन सक्छ । यसले संस्थाको सबै स्रोतलाई प्लानिङ गर्छ । सूचनाका आधारमा हामीलाई एक्सन लिन सजिलो हुन्छ । यसले कामको डुप्लिकेसी हुन दिँदैन ।

अहिले मुन्सी छन् अर्थात् प्रणाली चुस्त बनाउने ठेल्ने औजार । मुन्सीले लागत बढाउँछन् । ईआरपीले यस्तो ठेल्ने औजार कम गर्छ ।

६ अर्ब रुपैयाँबराबरको पूर्वाधार निर्माणको काम गर्दा कतै रोकतोक, आर्थिक प्रलोभन, असहयोग पाउनु भएन ?
हामीले नियमकानुन अनुसार काम गर्ने हो । सार्वजनिक खरिद ऐन कडा छ, निगरानी प्रभावकारी छ ।

सबैको भावना समेटियो भने काम सहज हुने रहेछ । प्रतिस्पर्धामा असन्तुष्टलाई पनि हामीले पारदर्शी काम गरेको विश्वास दिलाउन सकियो भने अवरोध कही कतै हुँदैन रहेछ ।
हामीले कसैको ब्यागेज नबोक्ने हो ।

सुरेन्द्र पौडेल भनेपछि नेपाल आयल निगमको सुदृढ इतिहासको सुरुवातकर्ता भनेर चिनिन्छ । उपभोक्ता, व्यापारी, सरोकारवाला सबैमा तपाईको नेतृत्वले निगमको इतिहासमा नयाँ युग बनाएको छ भन्छन् । हिजो घाटामा रहेको संस्थालाई अर्बौं नाफा र २९ करोड चुक्तापुँजी भएको संस्थालाई ११ अर्बको सुदृढ संस्था कसरी बनाउनु सक्नुभयो ?
यो वित्तीय व्यवस्थापनको उपलब्धि हो । मुख्यतः निगम के हो ? यसको काम के हो ? निगमलाई पैसा किन चाहिन्छ ? भन्ने मैले बुझाउन सकें । लागत घट्ने, निक्षेपबाट ब्याज कमाउने कुरा आफ्नो ठाउँमा छ । प्राइसिङ प्रणाली पनि एडाप्टेबल र पारदर्शी छ ।

मलाई आयल निगमभन्दा उदयपुर सिमेन्टको नेतृत्व गर्ने निकै गाह्रो भएको हो । निगममा त व्यवस्थापन मात्र गर्न सके पनि सबैलाई बुझाउन सकियो ।

मूल्य बढाउने विषयमा मैले रिपोर्टिङ गर्ने स्थानमा, सञ्चारकर्मी साथीहरू, आमसर्वसाधारणलाई बुझाउन सकें । निगम सुधारको काम मेकानिकलभन्दा व्यवस्थापकीय बढी हो । हिजोको दिनमा यति बुझाउन सकिएको थिएन ।

निगमलाई नेपाल टेलिकमजस्तो पब्लिकमा लैजान सकिन्छ ? आईपीओ जारी गर्ने तयारी पनि छ ?
यो विषयमा म सकारात्मक छु । गृहकार्य पनि गरिरहेको छु । हेरौं, सरकारको नीतिको कुरा हो । आईपीओ जारी गर्दा संस्थालाई राम्रै हुने मेरो विश्वास छ । यसमा प्रारम्भिक अध्ययन भइरहेको छ । यसमा म आफ्नो धारणा छिट्टै राख्नेछु ।

भारतबाटै किनेर भारतमा भन्दा सस्तोमा तेल बेचिरहँदा सीमामा तेलको तस्करी नियन्त्रणबाहिर छ । सरकारी सेवाको लाभ नेपाली नागरिकले मात्र पाउने सुनिश्चितता गर्न के गर्ने ?
यो विषयमा मेरो बुझाइ फरक छ । म त बोर्डरछेउको मान्छे, सीमापारिको बजार जाँदा कपडा किनेर ल्याइन्छ । किनकि त्यहाँ सस्तो हुन्छ जस्तो लाग्छ ।

ड्रमका ड्रम तेल लाने फरक पाटो होला तर नेपाल घुम्न आउँदा बाइकमा तेल भरेर जाने, जन्त आउँदा गाडीमा तेल भरेर लानु त स्वभाविक हो । दुबई जाँदा एउटा थप औंठी नेपालीले पनि ल्याउँछन् । यस्तो कुरा राज्यको नीतिले अंगीकार गर्नु हुँदैन ।

ड्रमका ड्रम वा ट्यांकरका ट्यांकर तेल लैजान्छन् भने रोक्न पनि जरुरी छ ।

मूल्य अन्तर अलि बढी भएर हो कि ?
मूल्यअन्तर बढ्यो भन्दैमा स्थानीय बजारमा तेलको भाउ बढाउन मिल्दैन । हामीलाई नाफा धेरै चाहिएकै छैन ।
मूल्यअन्तर बढी हुनुको कारण भारतमा बढी कर लाग्ने भएकाले हो । हामी यही प्राइसिङ मेकानिज्ममा सन्तुष्ट छौं, सर्वसाधारणलाई पनि यसैमा फाइदा छ ।

तपाईं निगमलाई सेवामुखी संस्था भन्नुहुन्छ । तपाईंहरूका अधिकृत विक्रेता, ढुवानीकर्ता भने निगमको मोनोपोली भयो भनिरहन्छन् । मोनोपोली कसरी भयो ?
बुझाइ गलत भयो । हामीले व्यापार गरेकै होइन, निगम कन्सोलिडेटेड फन्ड हो । सरकारको पैसो हामीसँग बसेको हो । निगमले मोनोपोली गरेको हुँदै होइन । मोनोपोली गर्न मोनोपोलीका विषयलाई व्यक्ति वा संस्थाले परिचालन गर्न पाउनुपर्छ । राज्यको नीतिभित्र रहेर हामी काम गर्छौं । यसको कमाइ राज्यको सम्पत्ति हो, नागरिकको सम्पत्ति हो ।
निगमले व्यापार गरेकै होइन, तेलको आयात गरिदिएको मात्र हो । व्यवसाय त, निजी क्षेत्रकै साथीहरूले गर्नुभएको छ ।

निगमले गर्ने काम निजी क्षेत्रबाट हुन सक्छ र ?
नाफा प्रयोग गर्न पाउने काम व्यापार हो । निगमको बचत निगमले कहाँ प्रयोग गरेको छ र ? साढे २ खर्बको काम ५ सय कर्मचारीले गरेका छन् । प्रतिलिटर २०-२२ पैसा कर्मचारी खर्च छ । त्यो खर्च त अहिले बैंकहरूमा राखेको निक्षेपबाट प्राप्त ब्याजले बेहोरिएको छ । निगमले आयात गरेर बेच्ने व्यवस्था मिलाएको हो ।

यहाँ निगमको नाफा भनिन्छ । म त बचत भन्दै छु । लागत रिकभर मात्र गरेको हो । कस्ट रिकभरी त सरकारी अस्पतालले गर्छन् । आजको दिनमा संसारमा निःशुल्क केही पनि पाइँदैन । पानी त कत्ति भइसक्यो सित्तैमा नपाउने थालेको । निगमको नाफा भनेर रुवाबासी चल्छ, नाफा हुँदै होइन । बचत नै हो ।

तपाईंहरूको बचत देखेरै हो तपाईंहरूका विक्रेताले कमिसन बढाउनुपर्ने माग राखेका ?
त्यसो पनि होइन । हिजो त्यस्तो थियो होला ।

केही दिन अघिमात्र एउटा विषय टुंगिएको छ । त्यसबाट व्यवसायी साथीहरूले के पाउनुभयो त ? उहाँहरूको मागअनुसार नै ५० पैसाभन्दा घटी कमिसन बढाउँदा नाफै हुँदैन । उहाँहरूले सुशासनमा जोड गर्नुभएको थियो । सोहीअनुसार २९ पैसा डिजेलमा र पेट्रोलमा १२.५ पैसा कमिसन थपिएको छ ।

नोक्सानी वैज्ञानिक बनाउनुपर्ने माग उहाँहरूको थियो । अध्ययन गरौं भन्नुभयो । हामीले ‘तथ्यांकले जे भन्छ त्यही गरौं’ भन्यौं, उहाँहरूले मान्नुभयो ।

व्यवसायीहरू भनेको निगमकै पाटो हुन् । उहाँहरूले निगमको लोगोमुनि व्यापार गर्नुभएको छ । ‘नेपाल आयल निगमको अधिकृत विक्रेता’ भनिएको छ, अर्थात् हरेक व्यवसाय निगमको सम्पत्ति हो । अर्थात् व्यवसायी-व्यवसायी मिलेर निगम बनेको हो ।

म एउटा रमाइलो घटना सुनाउँछु । पोखरामा निगमका एकजना नयाँ कर्मचारी कार्यालय जान ट्याक्सी चढ्नुभएछ । ट्याक्सीवालाले उहाँलाई नजिकैको पेट्रोलपम्म लगेर छाडेछन् । अर्थात् आमसर्वसाधारणलाई पम्प भनेकै निगम हो भन्ने रहेछ ।

ट्यांकरमा पनि निगम लेखेको हुन्छ । ड्राइभरले फट्याहीँ गर्दा निगमको बदमासी बुझ्छन् । पम्प, ट्यांकर निगमकै सम्पत्ति हुन् । राज्यलाई केही बचत गरिदिनुपर्‍यो भनेर व्यवसायीहरू काम गरेका छन् । लगानीबाट प्रतिफल पाउनुपर्छ भन्ने उहाँहरूको माग जायज हो, र हामीले पनि दिनका लागि कन्जुस्याईं गर्नु हुँदैन ।

तपाईंहरू र विक्रेताबीच के सहमति भयो ?
हामीले बढी सुशासनमा जोड दियौं । २५ पैसा वा ५० पैसा कमिसन बढाउन हैन, के कति नोक्सान हुन्छ अध्ययन गरौं भन्यौं । सबैभन्दा विश्वासिलो अध्ययन संस्था अर्थात् विश्वविद्यालयलाई अध्ययन गर्न दिएका छौं, अध्ययनले जे भन्छ त्यहीअनुसार ‘लस' को हिसाब गरौंला भन्ने सहमति भएको छ ।

उहाँहरूका अनुसार आफूले तिरेकै पैसाबराबरको तेल परिमाण निगमबाट प्राप्त हुँदैन अर्थात् ट्यांकरले ल्याउँदैनन् । त्यो सुनिश्चित गर्नुपर्छ भन्ने जायज माग उहाँहरूको छ ।

अर्को कुरा के छ भने तीन वर्षअघि व्यवसायीले आफैं ५० पैसा जोडेर बेच्ने गर्थे । त्यो हटिसकेको छ ।

उहाँहरूको नोट अफ डिसेन्ट त छ नै, हाम्रो डाटा एकपक्षीय भयो भन्ने । त्यति हुँदा हँदै उहाँहरूले साथ दिनुभएको छ ।

विगतमा कर्मचारीलाई बोनस खुवाइएको विषय जहिल्यै आलोचना हुन्थ्यो । तर, यस वर्ष निगमले नाफा बटुलेरै कर्मचारीलाई बोनस बाँडेको हो ?
निगमले कर्मचारीलाई बोनस नखुवाएको लामो समय बितिसक्यो । पछिल्लो पाँच वर्ष हामी निरन्तर नाफामा छौं तैपनि कर्मचारीलाई बोनस दिएका छैनौं । पछिल्लो समयमा एकाधिकार प्राप्त संस्थाले नाफाको १ प्रतिशत बोनस कर्मचारीलाई बाँड्न पाउने व्यवस्था छ । वाणिज्य बैंक, नेपाल टेलिकम आदि संस्थाले त ६ प्रतिशत बोनस बाँड्छन् ।

हाम्रो नाफाबाट बाँडिने बोनस एउटा कर्मचारीले प्रतिवर्ष ४०-५० हजार रुपैयाँ मात्र हुँदो रहेछ । बोनसबारे धेरै कुरा बुझाइसकेका छौं । एउटा कर्मचारीले वार्षिक ४०-५० हजार बोनस खान्छ भने त्यसको विरोध गर्नुको आवश्यकता पनि छैन ।

कर्मचारीका लागि पनि प्रेरणाको विषय हो, काम गर्ने हौसला हो । बोनस कोषमा तीन अर्ब रुपैयाँ छ । हिजोको बुझाइ सबै बाँड्ने हो भन्ने हो । यथार्थ त्यसो होइन । पाँच वर्षको होइन, दुई वर्षको बोनस बाँड्ने गरी अर्थमा सहमतिका लागि पठाएका हौं ।

यसअर्थमा म यो कुरा स्पष्ट पार्न चाहन्छु कि निगमको नाफा कर्मचारीलाई बोनस खुवाउन होइन । भाउ बढाएर कर्मचारीलाई नाफा खुवाइएकै होइन । उल्लेखित बोनस रकम समकालीन सबै संस्थाको तुलनामा निकै कम हो ।

बदलिँदो राजनीतिक परिवेशले तेलको मूल्य प्रणाली प्रभावित पार्छ त ?
तेलको मूल्य स्वतः सञ्चालित मूल्य प्रणालीअनुसार कायम हुने हो । अन्तर्राष्ट्रिय बजारअनुसार तेलको मूल्य कायम हुन्छ । ६ वर्ष अघि प्रतिलिटर १४० रुपैयाँसम्म तेल बिक्री गरिएको हो, आजको दिनमा ११० रुपैयाँ मात्र छ ।
यो अवधिमा संसारमा एउटा मात्र उपभोग्य वस्तु सस्तो बनेको छ, त्यो हो पेट्रोलियम पदार्थ ।

तेलको मूल्य बढाउन नपर्दा राम्रो, निगमको अहिलेको सामर्थ्यले प्रतिलिटर १०-१५ रुपैयाँ घाटा सहन सक्दैन ।

अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य कम छ । बढ्दाखेरी अघि तपाईंले भने झैं बचतबाट व्यवस्थापन हुन्छ ?
हामीले धान्न सकुन्जेल त हो । गत वर्ष कमाएको १३ अर्ब रुपैयाँ हो । अहिले महिनामै एक अर्ब नोक्सान छ । यसरी नोक्सान हुँदै गयो भने एक वर्षमा त हामी ‘ब्रेकइभन’मा आइपुग्छौं । हामीसँग त्यत्रो ठूलो कोष नै छैन ।

हामीसँग एक खर्बको कोष भए मात्र सबै धान्न सक्छौं । एक खर्बको वर्षमा १० अर्ब रुपैयाँ ब्याज प्राप्त हुन्छ । अनि मासिक एक अर्ब घाटा बेहोर्न सकिन्छ । १०-१५ अर्बको कोष तयार भएको छ, यसले वार्षिक एक-डेढ अर्ब मात्र व्यवस्था गर्न सक्छ ।

तपाईंको कार्यकाल एक वर्षमा सकिँदै छ । बाँकी दिनमा तपाईंले सुरु गर्नुभएको निगम सुदृढीकरणको योजना गर्न भ्याउनुहुन्छ त ?
मैले गरेका काम विकासको क्रम हो । हिजोको नेतृत्वले पाइपलाइनको बिज रोपेको थियो र पो मैले सफल बनाउन पाएँ । जहिल्यै पनि सुरु गर्नु महत्त्वपूर्ण हुन्छ । मैले केही काम सुरु गरेको छु, अर्थात् सुदृढीकरणको बिजारोपण गरेको छु । त्यसलाई मलजल गर्न गाह्रो हुँदैन । घर बनाउँदा पनि जग हाल्नु सबैभन्दा गाह्रो काम हो ।

मैले सबल निगमको जग हालेको छु । आउने नेतृत्वले सफलतापूर्वक सम्पन्न गर्छ । यो काम मैलेभन्दा पनि हामीले गरेको हो । हाम्रो टिमले गरेको हो । क्याप्टेनले समन्वयकारी भूमिका खेल्ने त हो, जसमा अडिग हुन सकियो भने टिमले गेम जित्छ । नेतृत्वमै रहनुपर्छ भन्ने कुरा महत्त्वपूर्ण होइन ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३०, २०७७  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC