



काठमाडौं । त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र एपीएफका प्रिन्स दाहाल चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता २०७७ को राउन्ड अफ १६ मा पुगेका छन् ।
रत्नले नवलपरासीका रोशन कुमाललाई २१/१४, २१/१२ ले तथा प्रिन्सले सेनाका पविन लिनथेपलाई २१/५, २१/९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
रत्न र प्रिन्सले भोलि (शुक्रबार) हुने प्रि-क्वाटरमा जित निकाले क्वाटरफाइनलमा एक-अर्काको सामना गर्ने भएका छन् । रत्नमाथि लगातार दुई प्रतियोगितामा जित निकालेर उपाधि चुमेका प्रिन्स यस प्रतियोगितामा पनि उक्त विजयलाई निरन्तरता प्रदान गर्ने जोसका साथ कोर्टमा उत्रेका छन् ।
चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल घर्मदेवी स्मृति प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलको अन्तिम १६ मा स्थान बनाउनेमा एपीएफका दीपेश धामी, भोजपुरका विकास श्रेष्ठ र सेनाका नवीन श्रेष्ठ छन् ।

दीपेशले कैलालीका देवराज रानालाई २१/१६, २१/८ ले, विकासले सेनाका आयुष्मान नागरीलाई २१/१३, २१/९ले र नवीनले एनआरएनए दुबईका साहिल चन्दलाई २१/११, २१/१० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् ।
यसैगरी सेनाका हिमाल चन्द, एपीएफका प्रियान्सुसिंह क्षेत्री, साइनोका अभिषेक बोस, सेनाका प्रफुल महर्जन, बाँकेका इरफान अन्सारी, सुर्खेतका नरेन्द्र बम, सेनाका दिवश शंकर, धादिङका सुदीप सेढाई, सेनाका रुकेश महर्जन, एपीएफका गौतम कठायत, बुटवल ब्याडमिन्टनका सुशील गिरी पनि आजको प्रतियोगितामा जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेका छन् ।



