काठमाडौं । वीर गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह दोस्रो १० के रोड रेस चैत पहिलो साता हुने भएको छ । प्रतियोगिता चैत ७ गते हुने आयोजक कमिटीका संयोजक सन्जीव तुलाधरले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
रेस डाइरेक्टर सुशीलनरसिंह राणाले प्रतियोगितामा ४-५ सय खेलाडीको सहभागिता रहने जानकारी दिए । उनले एक हप्तापछि खेलाडी दर्ता प्रकृया सुरु हुने बताए । पुरुष/महिला दुवैमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ६० हजार, ३० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । छैटौंदेखि दसौं स्थान हात पार्नेलाई ४ हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । १० किलोमिटर दूरीको दौड दरबारमार्गस्थित शेर्पा मलबाट सुरु भइ पुनः त्यही आएर टुंगिनेछ ।
कोर्ष रेकर्ड ब्रेक गर्ने पुरुष/महिला खेलाडीलाई जनही १० हजार नगदबाट पुरस्कृत गरिनेछ । गोपीचन्द्र पार्कीको नाममा ३२ मिनेट ०१.२ सेकेन्ड तथा सन्तोषी श्रेष्ठको नाममा ३९ मिनेट १०.९८ सेकेन्डको कोर्ष रेकर्ड रहेको छ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेताद्वय पहिलो संस्करणका विजेता पनि हुन् ।