गोविन्द अधिकारी
रामभरोसे ठूलो मान्छे हुन नसकेर हो कि कुन्नि– आफू नेपाली भएकोमा निकै गर्व गर्छ । ठमेलको एउटा सलुनमा ऊ कपाल काट्ने काम गथ्र्यो । म त्यो पसलमा जुन दिन कपाल कटाउन पसेँ, रामभरोसेले नै मेरा कपालमा कैँची चलाएको थियो । उसको मधेसी लवजको नेपाली मलाई औधी मन पर्यो । त्यो दिनदेखि म कपाल कटाउन पर्यो त रामभरोसेले काम गर्ने सलुनमा जान्थेँ । ऊ भेटिएन भने कपालै नकाटी फर्किन्थें ।
रामभरोसे फरासिलो थियो । उसलाई पनि नेपालीमा बतियाउन मन पथ्र्यो । मीठो लवजमा कुरा गरिरहन्थ्यो । भन्थ्यो– मसँग उसको दोस्ती जमेको छ । ऊ बेलाबेला घरव्यवहारको कुरा गथ्र्यो । कहिले उसकी गौना गर्न बाँकी रहेकी दुलहीको बात गथ्र्यो त कहिलेकाहीँ नेपाल र भारतको सीमामा हुनुको पीडा पोख्थ्यो । उसका लागि नेपाल काठमाडौं हो भने भारत पटना हो । बाँकी त सबै उस्तै छ रे !
भन्थ्यो, काठमाडौंको जाडोबाहेक उसलाई अरू सबै मन पर्छ । तर, कसैले भारतीय भन्यो भनेचाहिँ चित्त पनि उत्तिकै दुख्दो रहेछ । काठमाडौं खाल्टामा जन्मे÷हुर्केकाहरू मधेसी अनुहार भएका सबैलाई भारतीय ठान्छन् । उसको गुनासो थियो तिनीहरूसँग– पढेलेखेकाले पनि कस्तो कुरा नबुझेका ? तैपनि, उसलाई नेपालीको गाली खाँदा धेरै नमजा लाग्दैन रे ! भन्थ्यो, “आफ्नो मान्छेले केही भन्छ त किन रिसाउनु ?”
बात गर्न थालेपछि भने उसले कुन बेला कैंची चलाउने, कुन बेला छुरा भन्ने नै बिर्सिन्थो । एउटा अवगुण यही छ उसको । तर, नराम्ररी नबिग्रँदै थाहा पाइहाल्थ्यो । अनि म कपाल बिग्रेको भए पनि थाहा पाउँदिनथेँ । यसैले होला– रामभरोसे र मेरो उमेर नमिले पनि दोस्ती जमेको !
एकदिन पसलमा रामभरोसे थिएन । मलाई अलि खल्लो लाग्यो । “आउनुस् हजुर, बस्नुस् यसमा,” अर्को केटाले भन्यो ।
उसले मलाई पहिले पनि त्यहाँ कपाल काट्न आएको देखेको हुनुपर्छ । मैले सोधेँ, “रामभरोसे खै त ? म त उसैसँग कपाल कटाउने ।”
उसले मेरो अनुहारमा एकटकले रसिला आँखाले हेर्दै भन्यो, “रामभरोसेलाई पुलिसले लगेको ७ दिन भइसक्यो । बेबकुफ छ हजुर ! पैसा दिइहाल र छुटेर आऊ भनेको मान्दै मान्दैन । सधैँ हामीलाई भन्थ्यो– आफ्नो नेपालमा अन्याय हुँदैन । अब बल्ल उसलाई थाहा लाग्यो होला कि हाम्रो आफ्नो यहाँ कोही छैन ।”
ऊ अझ केही भन्दै थियो, बीचैमा रोकेर मैले सोधेँ, “किन समातेको त पुलिसले उसलाई ?”
उसले बेलिबिस्तार लगायो, “डेरामा जहाँ बसेको छ नि, हो ऊ घर मालिककोमा चोरी भएछ एउटा रेडियोको । पुलिसले रामभरोसेको शंका ग¥यो र पक्रियो । तर, रामभरोसेले राम कसम दिएर भन्छ ऊ चोरेको छैन । जस दिन बिहान हरायो भनेको छ, उस दिन बिहानभर रामभरोसे यहीँ पसलमा काम गरेको छ ।”
कुन्नि किन मलाई नरमाइलो लाग्यो । आफन्त कोही अन्यायमा परेको जस्तै भयो । मनै मानेन । रामभरोसेलाई भेट्न सोह्रखुट्टे चौकी पुगें । पहिले त पुलिसले रामभरोसे भन्ने कसैलाई पक्रेकै छैन भन्यो । पछि मेरो अलिकति बिन्ती, अलिकति जिद्दीका सामु प्रहरी हवल्दार पनि गल्यो । उसले छिँडीतिर देखाउँदै भन्यो, “त्यहाँ छ क्यारे एउटा ... मधिसे !”
काठमाडौं चिसो सबैभन्दा मन नपर्ने रामभरोसे चिसो छिँडीको खोरमा राखिएको रहेछ । मलाई देख्नेबित्तिकै रामभरोसे रोयो । अनि मैले केही भन्न नपाउँदै भन्यो, “सत्ते हजुर ! म चोर छैन । घरवालाको छोरा आफैंले बेच्न लगेको मैले नै देखेको हो । तर, यिनीहरू मेरो कुरै सुन्दैनन् । मलाई यहाँबाट छुटाइदिनुस् । बरु बाँचुन्जेल काठमाडौं फर्किने पनि छैन ।”
एकै सासमा यति भन्यो र लामो सास फेरेर मलाई हेर्न थाल्यो ।
मुद्दा हेर्ने असईलाई खोज्दै गएर भेटेँ । उसले भन्यो, “खै के भन्ने, शंकालाग्दो यही छ । कसैलाई समातेन भने प्रहरीले कारबाही नै गरेन भन्छन् । यो कति ज्याद्रो छ भने जति मर्मत गरे पनि हो भन्दैन । बरु सम्झाइदिनुस् न मैले चोरेको हो भनिस् भने चाँडै छुट्छस् भनेर ।”
असईको गालामा एक झापु हानौं कि जस्तो झोँक चल्यो । रिस दबाएर भनें, “उसले चोरेकै हैन रे ! नचोरेका कुरा चोरेको हो भन्न कसरी लगाउने ? यसरी निर्दोष मानिसलाई फसाउने काम त गर्नु भएन नि !”
असईले पुलिसको स्वभावअनुसारको जर्कटो उत्तर दियो, “तपाईंले भन्दैमा कोही निर्दोष हुन्छ ? दोषी र निर्दोष त अदालतले छुट्याउँछ । म्याद कहिले सकिने हो, हेरेर फुर्सद मिलाएर अदालत पठाउँला । अहिले जानुस् ।”
दिक्क लाग्यो । मैले गर्नै सक्ने पो के थियो र ? मलाई टुलुटुलु हेर्दै गरेका रामभरोसेका आँखाले मुटुमै घोचेजस्तो चस्स भयो । उसलाई बोलाउने र सान्त्वना दिने आँट पनि आएन । घोसेमुन्टो लगाएर लुरुलुरु फर्कें ।
बाटामा मनमा रामभरोसेकै कुरा खेलिरह्यो । रेडियोमा समाचार आइरहेको थियो, “प्रसिद्ध उद्योगपति एवं व्यापारी राममल अग्रवाललाई कर्तव्य ज्यान मुद्दामा प्रहरीले २ दिनसम्म हिरासतमा राखेको विरोधमा व्यापारी समुदायबाट तीव्र विरोध भएपछि उनलाई आजै प्रहरीले अदालतमा पेस गर्ने भएको छ । उनलाई तत्काल रिहा नगरिएमा सरकार संकटमा पर्ने सम्भावना देखिएको छ ।”
२०४४ चैत १२