site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कताको भाषा बोल्छन् गृहमन्त्री बादल ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा विभाजित भएपछि दुवैतर्फका नेताहरू हतास, हतप्रभ देखिन्छन् । प्रश्नैप्रश्नबाट घेरिएकाले उनीहरूले के बोल्नुपर्ने हो र जनतालाई के भनेर आश्वस्त तुल्याउने हो भनेर भेउ पाउनसमेत छाडेको अनुभूति गर्न सकिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीमा पनि यो समस्या देखिन्छ । पुस ५ गतेको कदमको औचित्य पुष्टि गर्ने नाममा हिजोको सहधर्मी, सहकर्मीमाथि विदुषकको भूमिकामा प्रस्तुत भएका छन् । तल्लोस्तरको उखान, टुक्का र हाँसो–ठट्टाको सहारा लिइरहेका छन् ।

सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी ओलीलाईसमेत उछिनेका छन् । उनले कुन भाषा बोलिरहेका छन्, उनी कुन मनोदशामा बाँचिरहेका छन् भनेर मानिसहरूले अनुमानसमेत गर्न सकेका छैनन् ।

पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटनको सिफारिस गरेपछि नेकपा विभाजित भयो । विभाजित दुवै घटकले पुस ७ गते केन्द्रीय कमिटीको बैठक राखे । पुस ९ गते केन्द्रीय कमिटी बैठकको समापन भाषणमा गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमलाई अग्रगामीको संज्ञा दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

स्वयम् प्रधानमन्त्री छक्क पर्नेगरी गृहमन्त्री थापाले दिएको अभिव्यक्तिले नेकपाका अध्यक्ष प्रचण्डसमेत दिग्भ्रमित भएछन् ।

पुराना सहकर्मीका हिसाबले बादलको मनोविज्ञान नबुझ्ने कुरा भएन । एकतापछि त्यो पनि बुझ्न छाडेछन् प्रचण्डले । उनी व्यङ्ग्य कस्दै थिए, “यता गर्न राखेको भाषण पक्कै उता गरेको हुनुपर्छ । उहाँको कुरा सुन्दा त्यस्तै लाग्थ्यो ।” पार्टीमा विग्रह चुलिएयता बादल लामो समय तटस्थ बसे । पार्टी एकता कायम राख्न प्रयत्न पनि नगरेका होइनन् । तर, विग्रह बादलको काबुमा रहेन ।

Global Ime bank

विभाजनको आखिरी क्षणमा खुलेका बादलले बढी नै विश्वास जगाउन प्रधानमन्त्रीको कदमलाई छलाङ्को उपमा दिए होलान् भनेर अनुमान गर्ने पनि थिए । तर, बादल उस्तै मनोदशामा रहेको शुक्रबारको जनसभाले पुष्टि गर्‍यो । सरकारको गृहमन्त्रीको पदमा आसिन रहेका बादलले नारायणहिटीको पटाङ्गिनीबाट तेस्रो जनआन्दोलनको उद्घोष गरे । नेतृत्वको रक्षाका लागि सरकार र त्यसको नेतृत्व गरेको नेकपाको ओली समूहसँग तेस्रो जनआन्दोलन विकल्प बनेर उभिएको उनको निचोड थियो ।

यतिमात्र होइन । प्रचण्डहरूले मांसहारी आन्दोलनका लागि उक्साइरहेको सुनाउँदै कानुनको पालना गराउनुपर्ने दायित्व बोकेका गृहमन्त्री बादलले उनीहरूलाई चिडियाघरमा लगेर थुन्ने चेतावनी पनि दिए । मांसहारी आन्दोलनलाई संविधान–कानुनले निषेध गरेको उनको भनाइ थियो । त्यसो हुँदा उनले त्यस्ता आन्दोलन गर्नेलाई कानुन बमोजिम दण्डित गर्छु भन्नुपर्ने हो, तर उनले चिडियाघरतिर थुन्ने बताएपछि मानिसहरूले खित्का छाडे ।

प्रचण्ड– नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङ गृहमन्त्रीको अभिव्यक्तिको टिप्पणी गर्नुअघि सरकार सडकमा आउने विषय नै उल्टो भएको बताउँछन् । सत्तामा नरहेकाले सडकबाट आवाज बुलन्द गर्नुपर्ने भए पनि तानाशाही मुलुकमा जस्तैगरी ओलीले सडकको सहारा लिएको उनको निष्कर्ष छ ।

“तानाशाही मुलुकमा त सरकार नै सडकमा आएको देखिन्छ । हाम्रै सन्दर्भमा हेर्दा पञ्चायतमा पञ्चहरुले अरूलाई प्रतिबन्ध लगाएर पञ्च र्‍याली गर्थे । सरकार पक्ष प्रजातान्त्रिक मुलुकमा सडकमा आएको देखिँदैन । हाम्रोमा सत्ता सडकमा आउनुले निरंकुश र फासिँवादतिर गएको संकेत दिन्छ । योभन्दा बढी टिप्पणी आवश्य छैन,” उनले बाह्रखरीसँग भने ।

सत्तापक्ष सडकमा उत्रिएको भन्दै चौतर्फी आलोचना पनि भइरहेको छ । ओली समूहले पनि जुलुस, र्‍याली, सभा गर्दै आएको छ । 

राजनीतिक विश्लेषक मुमाराम खनाल सरकारले सडकबाट समर्थन खोज्ने नभइ सेवाप्रवाहबाट काम देखाउनुपर्ने निचोड सुनाउँछन् ।

“सरकारले सडकबाट हो कि सेवाप्रवाहबाट हो ? सेवाप्रवाहबाट गर्ने हो नि । सत्तापक्ष पनि सडकमा उत्रिएको छ । प्रधानमन्त्री स्वयम विद्रोही छन् । राज्य सत्ताको स्वामित्व लिने व्यक्ति नै भएन । लोकतन्त्रले स्वामित्व लिनुपर्थ्यो,” उनी घटनाक्रमको विश्लेषण सुनाउँदै भन्छन् ।

सरकारका गृहमन्त्री रहेका बादलको बोली सडकमा संघर्ष गरिरहेको पक्षको जस्तो सुनिन्छ । नेता गुरुङ बादल विवेक शुन्य भएर त्यस्तो विवादित अभिव्यक्ति दिएको टिप्पणी गर्छन् । 

“सरकार दिनानुदिन अकर्मण्य बन्दैछ । एकपछि अर्को विवादास्पद कुरा गरिरहेको छ । आन्दोलन त सरकारमा नरहेकाले उठान गर्ने हो नि,” पहिले बादलकै खेमामा रहेका र बादलसँगै एकता प्रक्रिया (तत्कालीन एमाओवादी) मा समाहित भएका गुरूङ भन्छन्, “पहिलो जन आन्दोलन २०४६–४७ सालमा सरकारमा नरहेका, पञ्च नरहेकाले गरे । सरकारमा बसेर त गरेको थिएन ।”

दोस्रो जन आन्दोलन ०६२–०६३ मा दलहरु सरकारमा रहेर आन्दोलन नगरेको बरु अरू नै तरिकाले प्रतिरक्षा गर्दै हिँडेको उनी बताउँछन् । “अहिले तेस्रो जनआन्दोलन उठान भयो भने पनि सरकार बाहिर रहेकाले गर्ने हो । सरकारले आन्दोलन गर्ने कुरा होइन यो कुरा कतै मेल खाँदैन,” उनी भन्छन् । 

चिडियाखानामा थुन्ने अभिव्यक्तिले मानिसलाई पशुजस्तो ठानेको र मालिकहरुले दासहरुलाई पशुबराबर मानेर खोरमा थुन्नेजस्तो तानाशाही शैलीको टिप्पणी गरेको उनी बताउँछन् ।

जता गए पनि भाषा एउटै ! 

पछिल्ला भाषणहरूमा गृहमन्त्री थापा बादलले प्रतिक्रियावादी, अवसरवादी, षड्यन्त्रकारी जस्ता ‘कम्युनिस्ट जार्गन’ छुटाउँदैनन् । बादलले तत्कालीन माओवादीमा रहँदा पनि आरोप लगाउँथे । त्यही शब्दहरु प्रयोग गर्ने गर्दथे । उनले बोल्दा विचार नपुर्‍याउने उनी निकट रहेर काम गरेकाहरु बताउँछन् ।  कतातिरको भाषा बोल्दैछन् त बादल ? भन्ने प्रश्नमा विगतमा उनकै खेमामा रहेकाहरू पनि अलमलमा छन् । बादलको चरित्र कुनामा बसेर, मौनताभित्र षड्यन्त्रको आँधि रच्ने किसिमको भएको बताउँछन् ।

“उहाँले बोल्दै आएको कतैको भाषा होइन । उहाँ धेरै नबोल्ने, भित्रै बसेर षड्यन्त्र गर्ने स्वभाव छ । जसलाई पनि षड्यन्त्रकारी प्रतिक्रियावादी भन्ने गरेको सुनिन्छ ।  हिजो माओवादीमा छँदा पनि त्यति शब्द जानेका थिए । त्यही कुरा दोहोर्‍याइरहेका छन् । को हो अवसरवादी, को हो प्रतिक्रियावादी, यो त अमूर्त कुरा भयो नि,” बादलको नजिकै रहेर काम गरेका एक नेताले भने ।

प्रचण्डसँग बदलाको भाव !

गृहमन्त्री बनेको केही समयपछि बादललाई प्रचण्डको साथ छोडेको आरोप लाग्यो । कित्ता क्लिएर गर्न घचघच्याउँदा उनी लामो समय बादल तटस्थ बसे । अन्ततः पार्टीले विभाजनबाटो समात्दा बादलले ओली समूहमा आफूलाई सुरक्षित देखे । प्रचण्डसँग बदलाको भावका कारण उनी ओली कित्तामा पुगेको विश्लेषण पनि हुने गरेको छ । 

२०५३ मा बादलमा सांस्कृतिक विचलन देखिएको भन्दै उनलाई कारबाही गरिएको तत्कालीन माओवादी नेताहरु बताउँछन् । सुरूमा बादलले त्यसलाई अस्वीकार गरे पनि पार्टीको अनुसन्धानबाट त्यो पुष्टि भएकासमेत उनीहरूको दाबी छ ।

त्यही कारण देखाउँदै उनलाई जिम्मेवारीमुक्त पनि गरिएको माओवादी केन्द्रका तत्कालीन नेताहरू बताउँछन् । पार्टीमा त्यतिबेला प्रचण्डले साथ नदिएकोले त्यो कुण्ठा अहिले कुनै न कुनै रूपमा मुखर भइरहेको उनीहरूको भनाइ छ ।

“पहिले पार्टीभित्रका हरेक षड्यन्त्रमा दुवैसँगै थिए । सांकृतिक विचलनको आरोपपछि उनको प्रचण्डसँगको सम्बन्ध बिग्रिएको हो । प्रचण्डसँग जहाँ पाए पनि बदला लिने भाव देखिन्छ । उनी कुण्ठा पनि देखिन्छ । प्रतिभाशाली भएर भन्दा पनि प्रचण्डको नजिक भएकाले उनी माथि आए । बादलका सहयात्री छुट्टिए,” स्रोत जिकिर गर्छ । 

त्यसो त बादलले निर्णायक संघर्षमा प्रचण्डको साथ छाड्दै आएका छन् । प्रचण्डको कोटामा गृहमन्त्री बनेका बादलले अहिले उनलाई अवसरवादी भन्नु गलत रहेको तर्क पनि गर्दै आएका छन् । 

“पहिले विद्रोह गर्नुपर्छ भनेर शान्ति प्रक्रियाको विरोध गरे । पार्टी फुटाउँदा विभिन्न ढङ्गले बार्गेनिङ गरे । रक्षामन्त्री भए, पछि मोहन वैद्य ‘किरण’तिर गए । र प्रचण्डसँगै फर्किए । प्रचण्डको कोटामा गएर गृहमन्त्री बनेका बादल अहिले ओलीको पक्षमा गएर प्रचण्डलाई अवसरवादी भन्दैछन् । यो शब्दले नै अर्थ गुमाइसक्यो,” पूर्वमाओवादी केन्द्र समूहका एक नेता बताउँछन् ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २६, २०७७  ०८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC