site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भैया !
Sarbottam CementSarbottam Cement

गोपीलाई आफ्नो गाउँ–ठाउँमा जीवन गुजारा गर्न गाह्रो हुन थाल्यो । ऊ निकै चिन्तित भयो । गाउँघरमा काम पाउन छाडिन थाल्यो । हतपत्ति कुनै काम पाइँदैन्थ्यो । यसो त गाउँघरमा त्यत्ति काम पनि हुँदैन । खेतीपाती र गाईवस्तुको काम त हो । खेतीपातीको मौसममा बाहेक अन्य मौसममा काम नै हुँदैन । हुन त गाउँघरमा पनि केही स–साना किराना आदिका पसलहरू हुने गर्दछन् । तर, त्यो पनि अलिक टाठा–बाठाहरूले नै गर्दछन् । पैसो नहुनेहरूका हातमा त अर्काको खेतमा ज्याला–मजदुरी गर्नुबाहेक अर्को कुनै उपाय नै हुँदैन । 

उसको गाउँमा रोपाइँ सकिसकेको थियो । खेतमा धानका बालाहरू झुलिरहेका थिए, पाक्नमा अलिक समय बाँकी थियो । गाउँका धनी र टाठा–बाठाहरूलाई त खासै कुनै चिन्ता थिएन । तर, जो गरिब थिए, जो दिनहुँ काम गरेपछि मात्र खान पाउँथे, उनीहरूको जीवन कहालीलाग्दो थियो । 

गोपी पनि कहालीलाग्दो जीवन बिताउनेहरूमा पर्दथ्यो । छजनाको परिवार थियो, उसको । आमाबुवा, ऊ आफै श्रीमान्–श्रीमती र दुई भाइ–बहिनीहरू । बुवापछि ऊ नै घरको सबैभन्दा ठूलो थियो । उसको बुवा घरको मुली भए पनि घरपरिवारका सारा व्यवहार उसले नै गर्नुपर्दथ्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

धेरै सोचविचार गरेपछि ऊ राजधानी छिर्याे । घरबाट निस्किने बेला उसकी आमाले आफ्नो मातृभाषामा भनेकी ‘मत जा बबुआ ! इहँवे गांवे में रह, केहू ना केहू तरे गुजारा त होइए जाता नू । काहे जाताड़ ? मत जा ! आँखि का साझा रहब, त हमनी के जिनगी आसान होई ।’ (न जाउ छोरा, यहीँ आफ्नै गाउँमा बस । जसो–तसो गुजारा त चलेकै छ नि ! आँखासामु रहन्छौ, हाम्रो जीवन सरल हुन्छ ।) 

तर, ऊ मानेको थिएन । उसले आफ्नी आमालाई सम्झाइबुझाइ राजधानी हिँडेको थियो । उसको बुवा त केही बोल्नै सक्नुभा’को थिएन । उसका भाइ र बहिनी दुःख र खुसीको मिश्रित भावमा थिए । दुःखी यस कारणले कि उनका दाजु केही समयका लागि बाहिर जाँदै थियो र खुसी यस कारणले कि उनका दाजुले उनीहरूका लागि केही न केही ल्याइदिने वाचा गरेको थियो । 

Global Ime bank

श्रीमतीले त केवल यति मात्र भनेर आफूलाई सम्झाउने प्रयत्न गरेकी थिइन्– ‘छिट्टै फर्किनुहोला । अर्को साल बहिनीको बिहे छ, त्यो पनि हेका गर्नुहोला ।’ 

गोपीले श्रीमतीको मुखबाट निस्केको शब्द ‘हेका’लाई आफ्नो मन–मस्तिष्कमा खेलाएको थियो । उसलाई राम्ररी थाहा थियो, जुन राम्रो खाने लाउने र आर्थिक रूपले सम्पन्न हुने उसको सपना थियो, त्यै सपना उसकी श्रीमतीको पनि थियो । फरक यति मात्र थियो कि ऊचाहिँ आफ्नो मनको कुरो खुलस्त भएर भनिहाल्थ्यो । जबकि, उसकी श्रीमतीले आफ्नो मनको कुरो मनभित्रै लुकाएर राख्ने गर्दथिइन् ।

राजधानी छिरेको एक महिना भइसकेको थियो । भदौमा आएको थियोे, आश्विन बितेर कार्तिक लागेको थियो । विस्तारै दसैँ पनि नजिकिँदै थियो । उसले घरबाट हिँड्दा काठमाडांैमा बसेर तरकारी बेच्ने आफ्नै गाउँको एकजनाको अतापता लिएर हिँडेको थियो । सुरुका दिनमा त्यही तरकारी बेच्ने गाउँलेले मद्दत गरेको थियो । त्यो तरकारी बेच्ने गाउँले कालीमाटीमा एउटा कोठा लिएर बसेको थियो । गोपीले काठमाडौंको भूमिमा पाइला टेक्दा सबैभन्दा पहिले आफ्नो त्यो गाउँलेलाई फोन गरेको थियो र ऊ आएपछि ऊसँग कालीमाटीमा रहेको उसको कोठामा गएको थियो । 

त्यहाँ पुग्दा गोपीको साइत गयो । त्यो एउटा कोठामा अरू पाँचजना थिए, जो नेपालको तराईका भिन्न–भिन्न ठाउँबाट आएका थिए, ऊजस्तै सपना बोकेर । एकैछिनको कुराकानीपछि गोपीले थाहा पायो कि त्यहाँ बस्ने पाँचैजनाले तरकारी बेच्ने काम गर्दछन् । 

यो अपरिचित ठाउँमा गोपीको त्यो गाउँलेबाहेक अरू कोही थिएन । ऊ कुनै न कुनै काम गरेर छिट्टै केही पैसा कमाउन चाहान्थ्यो । घरबाट हिँड्दा तपेसर काकासँग पाँच हजार उधारो लिएर आएको थियो । अँ, उसले एउटा अलिक पुरानो साइकल पनि बोकेर आएको थियो । त्यही गाउँले साथीले साइकल बोकेर आउनु भनेको थियो । 

गोपीले सहजै तरकारी बेच्ने काम समात्यो । अब ऊ एक्लो थिएन, उसका कम्तीमा पाँचजना साथी भएका थिए । यद्यपि, उनीहरूको मित्रतामा प्रतिस्पर्धा पनि थियो । आखिर सबैले एउटै काम गरेका थिए, तरकारी बेच्ने । 

तीन बजे उठ्थ्यो गोपी अनि कालीमाटी तरकारी बजार पुग्दथ्यो, साइकल लिएर । तराई वा पहाडबाट आएका हरियो तरकारी किन्थ्यो र डेरामा आउँथ्यो । फेरि, केही बेरपछि अर्थात दैनिक क्रियाकलापबाट निवृत्ति पाएपछि साइकलमा तरकारीको टोकरी राख्दथ्यो र टोल–टोल साइकल घिर्सादै... तरकारी... तरकारी... कराउँदै हिँड्थ्यो । टोलका रैथानेहरू ‘ओ भैया... ओ भैया...’ भनेर रोक्थे र आफूले मन पराएको तरकारी किन्थे । 

सुरु–सुरुमा ऊ रमायो पनि, यहाँका मान्छेहरूद्वारा आफूलाई ‘भैया’ सम्बोधन गरेर बोलाएकोमा । तर, पछि अलिक निराश भयो । पछि उसले थाहा पायो, यहाँका मान्छेले ‘भैया’ त भन्छन् । तर, भैया अर्थात दाजु मान्दैनन्, बल्कि विशुद्ध इन्डियन ठानेर त्यसरी भनिराखेका हुन्छन् । 

केही दिन ऊ खिन्न रह्यो । तर, पछि–पछि अभ्यस्त भयो । जब कोही ‘ओ भैया’ भनेर बोलाउँथे, ऊ केही नबोली चुपचाप बोलाउनेनिर पुगिहाल्थ्यो । ‘भैया’ भनेर बोलाउनेले इच्छानुसारको तरकारी किन्थे र ऊ बेच्थ्यो । कुनै दिन बिहानको नौ बज्दा नबज्दै उसको तरकारी सकिहाल्थ्यो भने कुनै दिन दिनभरि लाग्थ्यो । कहिलेकाहीँ त बिहान बेच्न भनेर लगेको तरकारी, बेलुका हुँदा त्यसै लिएर डेरा फर्किनुपर्थ्यो । बिक्री हुँदैन्थ्यो । ‘के गर्ने, यही त हो व्यापार... कहिले घाटा त कहिले नाफा... कहिले उदासी त कहिले निराशा ।’ सोचेर ऊ शान्त हुन्थ्यो । 

यसरी तराईको एउटा जवान केटो गोपी राजधानीमा ‘भैया’ बनेर तरकारी बेच्न थाल्यो ।

०००

एकपल्ट घर गएर राजधानी फर्केको थियो, गोपी । उसका आमाबुवा, श्रीमती, भाइबहिनी सबै खुसी नै थिए । ऊ घर जाँदा सबैका लागि केही न केही लगिदिएको थियो । तपेसर काकाको कर्जाको भार आधी गर्न सकेको थियो । अर्कोपल्ट आउँदा तपेसर काकाको बाँकी रहेको पैसो पनि तिरिदिउँला भनेर आफ्नो बुवालाई भन्न सकेको थियो । 

यसपालि राजधानी आउँदा उसले अन्तै बस्ने सोचेको थियो । घर जानुअघि उसले कालीमाटीमै, जहाँ ऊ आफ्ना साथीहरूसँग मिलेर बसेको थियो, त्यो घरभन्दा अलिक पर एउटा घरमा कोठा लिइसकेको थियो । पहिलाका साथीहरू उसको प्रतिद्वन्द्वी भइसकेका थिए । प्रतिद्वन्द्वी हुनु त ठिकै हो । तर, व्यापारमा । व्यवहारमा केको प्रतिद्वन्द्वी हुनु ? अरूको त कुरै छाडौँ, उसको गाउँले साथी पनि ऊसँग अलिक बढी नै ईष्र्या गर्न थालेको थियो । अलिक बढी नै ईष्र्यालु भइसकेको थियो । गोपीको कामधाम अलिक राम्रो चलेकोले होला । 

तर, यो जीवन हो । जीवन कसैको चाहनामा न त रुक्छ, न त हिँड्छ, न हाँस्छ, न त रुन्छ । जीवनको आफ्नै गति हुन्छ, आफ्नै यति हुन्छ । जीवनको यात्रामा हिँड्नेहरूको लियाकतमा भरपर्दछ कि ऊ हाँसेर जीवनको यात्रा तय गर्न चाहन्छ कि रोएर, ऊ रोकी–रोकी यात्रा गर्न चाहन्छ कि निरन्तर ! गोपी दोस्रो दर्जाको यात्री थियो । ऊ विस्तारै तर निरन्तर हिँडिरहने यात्री थियो, ऊ रुँदा–रुँदै हाँस्नसक्ने प्राणी थियो । अब जीवनको गोरेटोमा हिँडेपछि अनेकौँ प्रकारका घुम्ती, मोड, बाटो, दोबाटोका साथसाथै मित्र र शत्रु भेट्दा रहेछन् । गोपीको जीवनयात्रा पनि यी अवयवहरूबाट वञ्चित थिएन । तर, ऊ आफ्नो बाटो हिँडिरेहेको थियो... हिँडिरहेको थियो । 

एक दिन, दिन के भन्नु, राति नै । हो, तीन बजे राति ऊ उठ्यो र कालीमाटी तरकारी बजारमा तरकारी किन्न गयो । सिमी, काउली, भिन्डी, टमाटर, भन्टा, हरियो खुर्सानी, धनियाँ आदि लिएर डेरा फर्किरहेको थियो । कालीमाटी चोकदेखि ५०० मिटरपूर्वमा थियो, उसको डेरा । ऊ छिट्टोभन्दा छिट्टो आफ्नो डेरा पुग्न चाहन्थ्यो । किनभने, उसलाई दिसाले बेस्सरी च्यापेको थियो । ऊ हतार–हतार साइकल घिसार्दै डेरातिर गइरहेको थियो । अचानक दुई–चारजना केटाहरूले उसको साइकलको हैन्डिल समाते र भने– ‘ओ भैया ! कता हिँडेको ? कहाँबाट आएको ? इन्डियन हौ, होइन ?’

‘होइन, म इन्डियन होइन । म नेपाली हुँ । म मधेसी हुँ ।’

‘आहा ! भैया त नेपाली पनि बोल्दोरहेछ ।’ एकजनाले भन्यो ।

‘के को इन्डियन... केका मधेसी ? दुवै त एउटै हो नि ?’ अर्कोले गोपीको तरकारीको टोकरीबाट एउटा काउली झिक्दै तर्सायो ।

‘के गर्नुभा’को ? किन मेरो तरकारी यसरी लिनुभा’को ? चाहिन्छ भने पैसो तिरेर लिनुस् । म त बेच्नै हिँडेको नि !’ गोपीले डराउँदै भन्यो ।

‘पैसो चाहिन्छ, तँलाई ? ले पैसो !’ भनेर पहिलाको केटोले गोपीको तरकारीको टोकरी तल खसाल्यो । टोकरीमा रहेका सारा तरकारी बाटोमा छरपस्ट भए । 

गोपी कराउँदै रह्यो– ‘यो ठिक होइन, यो देश तपाईंहरूकै मात्र होइन, हाम्रो पनि हो ।’ तर, गोपी कराएको कसैलाई कुनै फरक परेन । त्यहीँ बाटोको पेटीमा एक पहाडी मूलको व्यक्ति चिया बेचिरहको थियो । ऊ दौडेर आयो र ‘ए, के गरेको तिमीहरूले ? गरिब छ भन्दैमा जे पनि गर्छौ ? यसको तरकारी किन फालेको ? सित्तै आउँछ तरकारी ?’ भन्यो । 

‘तपाईंलाई के भो ?’ ती चारजनामध्ये एकजनाले भन्यो– ‘तपाईं चुप लागेर आफ्नो काम गर्नुस्, किन हाम्रो बीचमा बोल्नुभा’को ?’ 

‘बढ्ता कुरा गर्छौ... तिमीहरू । यो नेपाली होस् वा इन्डियन, जब सरकारले यसलाई बस्न, खान र काम गर्न दिएको छ भने तिमीहरू को हौ यसलाई यसको बाँच्ने अधिकारबाट वञ्चित गर्ने ?’ चियावालाले अलिक झपार्दै भन्यो । 

चियावालाले गोपीको पक्ष लिएर कुरा गरेपछि उनीहरू अलिक डराए । किनभने, यो चियावाला अनुहार र पहिरनले नेपाली देखिन्थ्यो । गोपी नेपाली भए पनि उसको अनुहार, भाषा र पहिरनचाहिँ इन्डियनहरूसँग मिल्दोजुल्दो थियो । ती अल्लारे केटाहरू भागेपछि त्यो चियावालाले गोपीलाई बाटोमा छरपस्ट भएका तरकारी उठाउनमा मद्दत ग¥यो र त्यो दिन, त्यो क्षणबाट त्यो चियावाला र गोपीबीच मित्रता गाँसियो । गोपीले चियावालालाई धन्यवाद दिँदै भन्यो– ‘तपाईं आज नभएको भए मेरो सारा तरकारी बर्बाद त हुन्थ्यो हुन्थ्यो, मेरो के हालत हुन्थ्यो, त्यो पनि थाहा छैन ।’

‘डराउनु पर्दैन भैया ! यस्ता मान्छेहरू हरेक ठाउँमा भेटिन्छन् ।’ चियावालाले भन्यो– ‘अँ, साँच्ची, तपाईं यता कहाँ बस्नुहुन्छ ? अनि, तपाईंको घर कहाँ हो नि ?’

‘मेरो घर पर्सा जिल्ला । पर्सा जिल्ला थाहा छ नि ?’ गोपीले भन्यो ।

‘किन थाहा नहुनु, वीरगन्ज पर्सा जिल्लाको सदरमुकाम होइन ?’

‘हो । त्यही वीरगन्जदेखि बीस किलोमिटर पश्चिममा पोखरिया नगरपालिका छ, त्यही नगरपालिकाको बासिन्दा हुँ म । धेरै पढ्न सकिएन अनि यो तरकारी बेचेर आफ्नै देशमा विदेशी कहलाएर बाँच्नुप¥या छ ।’ गोपीले आफ्नो मनको पीडा पोख्यो ।

‘धेरै चिन्ता लिनु हुँदैन । यस्ता नकारात्मक सोच राख्ने मान्छेहरू जहाँतहीँ हुन्छन् । न कसैको बिराउनु न कोहीसँग डराउनु । तपाईंको नाउँ के हो ?’
‘मेरो नाउँ गोपी हो । मैले एसएलसीसम्म मात्र पढेको हुँ । धेरै पढ्न सकिएन । गाउँघरमा खेतीपाती बढी छैन । त्यसैले यस्तो काम गर्नुपरेको छ । अनि, तपाईंको के नाउँ हो ? तपाईंको घर कहाँ हो ?’

‘मेरो नाउँ कमल हो, कमल नेपाल ।’ त्यो चियावालाले हाँस्दै भन्यो– ‘नेपाल बुझ्नुहुन्छ नि ! देशको नाउँ होइन नि !’

‘था’छ मलाई । यति पनि नबुझ्नु ! मैले बुझेँ, तपाईंको थर हो ‘नेपाल’ । यसको अर्थ तपाईं बाहुन हो । मेरो पनि साथी थियो एकजना बाहुन, कक्षा आठमा । उसको नाउँ पनि कमल नै थियो । तर, उसको थरचाहिँ उपाध्याय थियो । म त कमली भन्थेँ । मलाई ऊ गोपी नै भन्थ्यो । पहाडमा कतै घर थियो, उसको । अचानक एक दिन स्कुलमा उसले भन्यो– ‘गोपी ! हामी त पहाड जाँदै छौँ । हजुरआमा बित्नु भा’छ ।’ त्यसपछि ऊ फर्केर आएन । अनि, तपाईंको घर कहाँ हो नि ?’ गोपीले सोध्यो ।

‘मेरो घर पनि पहाडमै हो । ल अब तपाईं तरकारी बेच्न जानुस् । आउँदै गर्नुहोला ।’ 

त्यसपछि गोपी तरकारी लिएर सिधै डेरामा गयो र नित्यकर्मबाट निवृत्त भएर तरकारी बेच्न टोल–टोलमा हिँड्यो । गोपी र कमल निकै मिल्ने साथी भए । एकार्काको डेरामा आउन–जान थाले । दोस्ती गाढिँदै गयो । दुवैजनाको आर्थिक र सामाजिकस्तरमा खासै अन्तर थिएन । एकजना तरकारी बेच्ने व्यक्ति थियो भने अर्को चिया बेच्ने । पछि थाहा भयो, कमलले त बीएसम्म पढेको रहेछ । तर, कुनै जागिर नपाएकोले बाध्य भएर चिया पसल थापेर गुजारा गर्न थालेको रहेछ ।

०००

धेरै कर गरेपछि तिहारमा गोपी कमलसँग उसको पहाडको घर गयो । पहाडमा कमलको आमाबुवा, काकाकाकी, भाइबहिनी पूरा परिवार थियो । गोपीलाई देखेर कमलको बुवाले सोधेका थिए, ‘गोपी ! तिमी त तराई–मधेसको मान्छे, पहाड चढ्न गाह्रो भएन ?’

गोपीले हाँस्दै भन्यो– ‘के भनूँ बुवा ? म आफ्नो व्यथा भन्नै सक्दिँन । मैले जीवनमा यत्ति पहाड चढेको छैन । यो त कमलले गर्दा हो र हजुरहरूसँग भेटने इच्छा भएर हो, म पहाड चढेर यहाँ आउन सकेँ ।’

साँझ भएपछि कमलकी आमाले सोधिन्– ‘बाबु ! तिमी त मधेसको केटो । के खान्छौ ? रोटी कि भुजा ?’ आश्चर्य, गोपीलाई पहाडमा भातलाई भुजा भनिन्छ भन्ने कुरो थाहा थिएन ! पहाडको बाटो हिँड्दा–हिँड्दै ऊ थाकिसकेको थियो । उसले मनमा सोच्यो– ‘के भुजा खाने ? हुन त मलाई रोटी पनि मन पर्दैन । तर, भुजाभन्दा त रोटी नै जाति ।’ अनि, भन्यो– ‘आमा ! म रोटी खान्छु ।’ कुरो के थियो भने उसले भुजालाई तराई–मधेसमा पाइने खाद्यपदार्थ ‘मुरही–लाई’ ठानेको थियो । तर, बेलुका खाना खाने बेलामा सबैको अगाडि दाल भात, तरकारी अचार र आफ्नो अगाडि रोटी, दाल, तरकारी र अचार देख्यो, ऊ त झसंग भयो ! उसको मुखबाट अचानक एउटा शब्द फुत्किहाल्यो– ‘कमल ! भुजा खोई ? तिमी त भात खाँदै छौ !’

कमलले हाँस्दै भन्यो– ‘यसैलाई ‘भैया’ भनिन्छ, साले !’ उनीहरूबीच मित्रता यति गहिरो भइसकेको थियो कि दुवै एकार्कालाई साले, तँ पनि भन्न थालिसकेका थिए । यसपटक भने गोपीलाई ‘भैया’ शब्द सुनेर आत्मीयताको बोध भयो । ऊ ट्वाल्ल परेर कमललाई हेर्न थाल्यो । कमलले फेरि भन्यो–‘मूर्ख ! यतातिर भातलाई भुजा भनिन्छ । बल्ल बुझेँ, तैँले भुजालाई आफ्नो तराई–मधेसको भुजा ठानेर मन पर्दा नपर्दै रोटी खान्छु भनिस्, हा... हा... । खा, मोरो रोटी !’

कमलले केही बोल्न सकेन । निरीह आँखाले कमलकी आमातिर हे¥यो । मुखबाट शब्द ननिस्के पनि आँखा भन्दै थियो– ‘आमा ! म पनि भुजा खान्छु ।’ कमलकी आमाले उसको भावना बुझिन् र कराउँदै भनिन्– ‘निशा ! गोपीको लागि भात ल्याऊ ।’ त्यसपछि निशाले एउटा थालमा भात लिएर आई । 

निशा कमलकी कान्छी बहिनी हुन् । त्यसपछि सबैले रमाइ–रमाइ खाना खाए र कुरैकुरामा कुन बेला रात बित्यो, चाल नै पाइएन । 

अर्को दिन भाइटीका थियो । घरमा खुसीको माहोल छाएको थियो । घरका सारा सदस्य प्रसन्न थिए । सबैभन्दा खुसी त निशा थिई । चार वर्षपछि उसले आफ्नो दाजु कमललाई टीका लगाउन पाएकी थिई । यसपालि त गोपीलाई पनि टीका लगाउने अवसर भेटियो । टीका लगाउने बेलामा निशाले सोधी– ‘गोपी दाजु ! हजुरतिर भाइटीका हुन्छ ?’

‘हुन्छ, नानी ।’ गोपीले हाँस्दै भन्यो– ‘फरक यत्ति हो कि त्यसलाई हामीतिर ‘भैयादूज’ भनिन्छ । कहीँ–कहीँ त्यसलाई ‘बजरी’ पनि भनिन्छ । जसरी तिमीले ओखलले यमराजलाई घे¥यौ नि, हो त्यसैगरी तराई–मधेसमा पनि दिदीबहिनीले ओखल र तेलले घेरा बनाएर यमराजलाई आउनबाट रोक्छन् । यति मात्र होइन, उतातिर त दिदीबहिनीले आफ्नो दाजुभाइलाई पहिला सराप्ने गर्छन्, मार्छन् अनि आफ्नै जिब्रोमा रेंगनीको काँट (एक प्रकारको काँढाले) घोच्छन्, मारेको दाजुभाइलाई पुनर्जीवित गर्छन् अनि बजरी खुवाउँछन्, मिठाइ खुवाउँछन् । त्यसपछि यतातिरको झँैँ उतातिरको दाजुभाइले आफ्नी दिदीबहिनीलाई उपहारस्वरूप लत्ता–कपडा, रुपैयाँ–पैसा, मिठाइ आदि दिन्छन् ।’

‘ए... त्यसो हो... ।’ यसपटक कमलकी आमाले भनिन्– ‘रीति त एउटै रहेछ, नाममा मात्र फरक रहेछ ।’

‘हो आमा ।’ गोपीले भन्यो ।

त्यसपछि गोपीले निशालाई एउटा राम्रो प्याकेट दियो । कमललाई पनि त्यसबारे थाहा थिएन । गोपीले निशाका लागि कुर्ता सलवार ल्याएको थियो । ‘निशा नाइँ... नाइँ भन्दै रही, गोपी मानेन । उसको हातमा दिँदै भन्यो–‘तिम्रो एउटा होइन, दुईवटा दाजु छन्, कमल र गोपी । आजदेखि तिमी जे–जे कुरा कमललाई भन्न सक्छौ, त्यो सबै मलाई पनि भन्नू र कमलले तिमीलाई जे–जे गर्न सक्छ, त्यो तिमीले मलाई पनि गर्ने अधिकार दिनू । मैले यो कहिल्यै बिर्सिने छैन कि मधेसमा मेरी एउटी बहिनी छे भने पहाडमा पनि मेरी एउटी बहिनी छे ।’ 

त्यसपछिका भावुक पलहरूलाई सबैले जतन गरेर राखे । एक सप्ताहको बसाइपछि कमल र गोपी राजधानी फर्किहाले ।

००० 

चार वर्षपछि कमल रातिको दुई बजे गोपीको डेरामा दौडिँदै आयो र जोर–जोरले ढोका ढकढकाउन थाल्यो । एकैछिनपछि ढोका खुल्यो । कमल ‘गोपी ! गोपी !’ कराउँदै भित्र पस्यो ।’ ढोका खोल्ने केटी गोपीकी बहिनी थिई । गोपीले आफ्नो बहिनीलाई पढाउनका निम्ति काठमाडौंमा राखेको थियो । यो कुरो कमललाई पनि थाहा थियो । 

‘के भो दाजु ? यो रातिमा हजुर यसरी किन... के भो ?’ गोपीकी बहिनी रिताले सोधी ।

‘गोपी कहाँ छ ?’ उठाऊ त्यसलाई ।’ यति भन्दै कमल गोपी सुतेको ओछ्याननिर पुग्यो । जोरले उठाउँदै भन्यो– ‘गोपी उठ् ! निशा... निशा... !’

‘के भो निशा दी’लाई ?’ रिताले कराउँदै सोधी । त्यसपछि कमल केही बोल्न सकेन, थचक्क गोपीको खाटनिर तल भुइँमा बस्यो । रुन थाल्यो... ‘मेरी निशा... मेरी बहिनी... !’

गोपी आफ्नो धेरै मिल्ने साथी कमलको यो हालत देखेर झसंग भयो । उसले कमललाई अँगालो हाल्दै सोध्यो– ‘कमल ! के भो ? के भो निशालाई ? किन यत्ति रोएको ? भन न !’ 

त्यसपछि गोपीले आफ्नी बहिनीलाई भन्यो– ‘रिता ! जल्दी से एक गिलास पानी ले आव !’ रिताले पानी ल्याएर कमललाई खुवाई । कमलले बडो मुस्किलले भन्न सक्यो– ‘गोपी ! ज्वाइँ... रहनु भएन !’

‘के भन्छ यो ? चुप लाग् । के नचाहिँदो कुरो भनिराख्या ?’ गोपीले डरले काम्दै भन्यो ।

‘हिजो राति अफिसबाट घर जाँदै हुनुहुन्थ्यो । सातदोबाटोमा उहाँको मोटरसाइकललाई एउटा टिपरले ठक्कर हान्यो । बीएनबी अस्पतालको इमरजेन्सीमा ज्वाइँ... रहनु भएन... ।’ कमलले जसो–तसो भन्यो । यो सुनेर गोपी पनि रुन थाल्यो... निशाको अनुहार झलझली आउन थाल्यो... आँखाअगाडि निशाको श्रीमान्को अनुहार झल्किन थाल्यो । निशाको श्रीमान् गोपीलाई पनि कमललाई झैँ सम्मान र आदर दिन्थे । रिता पनि रुन थाली । 

धेरै बेर रोएपछि कमलले विस्तारै भन्यो– ‘गोपी ! ध्यान दिएर सुन ।’ हाम्रो जाति र समाजमा चेलीबेटी यसरी विधुवी भएपछि माइतबाट बुवा वा दाजु कोही जानु हुँदैन । वर्षभरि चेलीबेटीलाई सेतो पहिरनमा हेर्नु हुँदैन भन्ने कडा नियम छ । यस्तोमा तिमी... ।’

‘कमल ! के भन्या तिमीले ? नजाने कुरो नै छैन । तर, यो कस्तो नियम हो ? यो कस्तो रीति हो... जुन बेला माइतवालाको निकै खाँचो हुन्छ, आवश्यकता हुन्छ, त्यस्तो बेला पनि कहीँ यस्तो हुन्छ ! यो नियममा सुधार गर्नुपर्छ कमल, यो नियममा सुधार गर्नुपर्छ ।’

‘अब यो सुधार गर्ने कुरो पछि गर्दै गरौँला । हिँड, अहिले मकहाँ हिँड ।’ कमलले भन्यो ।

‘तिमी कहाँ किन ?’ गोपीले भन्यो– ‘हिँड, पहिला अस्पताल जाऔँ ।’

‘पैसो... !’ कमलले भन्यो ।

‘छ मसँग पैसो ।’ गोपीले भन्यो– ‘ल, उठ । मैले एटीएम कार्ड बोकिसके । ल हिँड... अस्पताल हिँड ।’ रिता... तिमी भित्रबाट ढोका बन्द गर ।’

‘कमल दाजु, म पनि हिँड्छु ।’ रिताले भनी ।

‘ल, हिँड ।’ कमलले भन्यो । बहिनीलाई एक्लै न छाड, गोपी ।’

त्यसपछि गोपी, कमल र रिता तीनैजना अस्पतालका लागि हिँडे । अस्पतालमा पुग्दा उनीहरूले इमरजेन्सीअगाडि निशाको ससुरा, सासू र देवरलाई उभिएको देखे । लगभग सारा परिवार उपस्थित थियो । निशालाई उसकी आमाजूले समातिराखेकी थिइन् । कमलले निशालाई टाढाबाट हेर्यो । हेर्नासाथ ऊ जमिनमा लड्यो । निशाको हालत निकै खराब थियो ।

०००       

त्यस रातिदेखि गोपीले कमलको ठाउँ लियो । उसले कमलसँग एक पैसो पनि मागेन । कमलले दिन खोज्यो, उसले हप्कायो– ‘धेरै नकरा ! ऊ मेरी पनि बहिनी हो । त्यहाँ पु¥याउने जे–जे रीति, नियम वा सामानहरू हुन्छन्, त्यो भन् मात्रै ।’ 

कमलले यति मात्र भन्न सक्यो– ‘अरू केही चाहिँदैन । बस्, बहिनीलाई आड, भरोसा चाहिने हो । ऊ एकदम एक्ली भइसकेकी छे । यो खेल्ने, खाने, पिउने उमेरमा दैवको यो कस्तो बज्रपात भो, गोपी ! तिमी बहिनीकहाँ दिनहुँ जाऊ.... उसलाई आँट देऊ... हिम्मत देऊ... अरू म के भनूँ ?’

‘केही न भन । न रोऊ कमल... न रोऊ... अब हाम्रो भाग्यमा यही लेख्या थियो ।’

त्यसको भोलिपल्ट गोपी निशाको घर गयो । त्यहाँ मृत आत्माको शान्तिका लागि पूजापाठ भइरहेको थियो । आँगनमा टोल–छिमेकका महिला–पुरुष उपस्थित थिए । घरपरिवारका सदस्यहरूको उपस्थिति थियो । 

गोपी सरासर आँगनमा पुग्यो । भर्खर एक वर्ष मात्र बितेको थियो, निशाको बिहेको । त्यसैले उसको ससुरालीवालाहरूलाई गोपीका बारेमा धेरै थाहा थिएन । ज्वाइँलाई मात्र थाहा थियो । गोपीलाई सबैले अपरिचित आँखाले हेरे । एउटा कालो वर्णको मधेसी केटो, भाषा पनि मधेसी । वेशभूषा पनि मधेसी । त्यहाँका मान्छेहरूमध्ये कसैले सोध्यो– ‘हजुर !’ 

यत्तिकैमा भित्र सेतो पहिरनमा बसेकी निशाले गोपीलाई हेरिन् । त्यसपछि उनी भक्कानिँदै दौडिन् गोपीतिर । गोपी ठिङ्ग उभिएको थियो । निशा भक्कानिँदै गोपीको छातीमा टाँसिइन् । उनको आँखाबाट आँसुका धारा बगिरहेका थिए । मुखबाट एउटै शब्द हावामा गुन्जिरहेको थियो, –‘भैया ! गोपी भैया !’ 

गोपीले रुँदै भन्यो– “न रोऊ नानी ! न रोऊ ! तिम्रो भैया आयो... तिम्रो भैया आयो ।”

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ११:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC