काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको गत माघ १९ गते बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी महासचिवबाट विष्णु पौडेललाई हटाउने निर्णय गर्यो ।
त्योभन्दा अगाडिदेखि नै प्रचण्ड–नेपाल समूहभित्र पौडेललाई हटाएर अर्को महासचिव चयन गर्नुपर्ने बहस चलेको थियो ।
तर, आकाङ्क्षीहरू धेरै भएकाले महासचिव छान्न कठिन भएको प्रचण्ड–नेपाल समूहका एक नेताले बाह्रखरीलाई जानकारी दिए । उनका अनुसार अहिले महासचिव बन्ने दौडमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि थपिएका छन् । उनले पछिल्लो समय महासचिव आफैँले पाउनुपर्ने र प्रवक्ता स्थायी कमिटी सदस्यमध्ये कसैलाई तोक्नुपर्ने बताउन थालेका छन् ।
प्रचण्ड–नेपाल समूहमा महासचिव चयनका सन्दर्भमा तीनथरी मत देखिएको छ ।
पहिलो मत : विष्णु पौडेललाई समूहमा ल्याउने
विष्णु पौडेल अहिले ‘पर्ख र हेर’को अवस्थामा छन् । संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको र पार्टीको आधिकारिकताको प्रश्न पनि निर्वाचन आयोगले हल गर्न बाँकी रहेकाले उनी ‘बाध्यात्मक’रूपमा ओली समूहमा रहेको प्रचण्ड समूहको ‘रिडिङ’ छ ।
त्यसैले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गर्दा पौडेललाई महासचिवबाट मात्रै हटाइएको एक सचिवालय सदस्य बताउँछन् । त्यसो त पार्टीको आधिकारिकता–दाबीको पत्र बोकेर निर्वाचन आयोग पुगेका प्रचण्ड–नेपाल समूहका केही नेताले ‘विष्णु पौडेल आउन पनि त सक्नुहुन्छ नि’ भन्दै कारबाही नगर्नुको तात्पर्य खुलाएका थिए । मुक्ति प्रधान र राजेन्द्र पाण्डेले यसो भनिरहँदा स्थायी कमिटी सदस्य लिलाणि पोखरेलले ‘संसद् पुनःस्थापना भएपछि नआएर कता जानू’ भन्ने तर्क गरेका थिए ।
ओलीसँगको लिगेसी विष्णु पौडेलको लामो होइन । एमालेको बुटवल महाधिवेशनबाट ओली र पौडेलको सामीप्यता नजिकिएको हो । तर, एकतापछि भने विष्णु पौडेल धर्मराउँदै आएका छन् । अघिल्लो वर्ष पुस २३ गते ओलीविरुद्ध घेराबन्दी गर्दा पौडेल बहुचर्चित भैँसेपाटी गठबन्धनमा सामेल भएका थिए ।
तर, पार्टीभित्र चर्को गुटबन्दी र अन्तरसङ्घर्ष झाँगिदा उनी ओली पक्षमा थिग्रिए ।
तथापि पौडेल बहुमत समूहमा फर्कन सक्ने प्रचण्ड–नेपाल समूहको आकलन छ । त्यसैले महासचिव खाली राखिएको चर्चा पनि प्रचण्ड–नेपाल समूहभित्र नहुने होइन ।
दोस्रो मत : सुरेन्द्र पाण्डेलाई नै महासचिव बनाऔँ
प्रचण्ड–नेपाल समूहका महासविचका बलिया दाबेदार हुन् सुरेन्द्र पाण्डे । पाण्डेसँगै माधव नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, बेदुराम भुसाल दौडमा छन् । पूर्वमाओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा पनि आकाङ्क्षीको लाइनमा छन् ।
तर, नेता झलनाथखनालले पाण्डेलाई नै जोड लगाइरहेका छन् । माधव नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउन भूमिका खेलकाले र आफैँ प्रस्तावकसमेत भएकाले महासचिव आफूले भनेकै मानिसलाई बनाउनुपर्ने उनको जोड छ ।
पाण्डेका सन्दर्भमा नेता नेपाल पनि नकारात्मक छैनन् । नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग झीनो मतान्तर (६ मत)ले पराजित भएका पाण्डेलाई बनाउँदा अन्यथा नहुने अरू स्थायी कमिटी सदस्यहरूको पनि मत छ ।
नारायणकाजी श्रेष्ठको पनि आकाङ्क्षा
महासचिव छान्ने बहस पेचिलो बनिरहँदा आकाङ्क्षीको लाइनमा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि थपिएको अहिले प्रचण्ड–नेपाल समूहभित्र चर्चा छ । उनले कुरा पनि चुहाइसकेका छन् ।
“म नै महासचिव बन्न पाए हुन्थ्यो भन्ने नारायणकाजी श्रेष्ठको आकाङ्क्षा पनि देखिन्छ । अहिले हामीले आन्दोलनलाई कसरी सफल बनाउने, कसरी जनसमर्थन जुटाउने भन्नेमै केन्द्रित रहेकाले यसमा थप बहस, छलफल गरेका छैनौँ । निर्वाचन आयोगले आधिकारिकता निरुपण गरेपछि स्वाभाविकरूपमा महासचिव चयन गर्छौं,” एक सचिवालय सदस्यले बाह्रखरीसँग भने ।