गजल – १
अँध्यारोमा छुरा धस्तै गरेको घात बेग्लै हो ।
चिता जल्दा मलामीले दिएको साथ बेग्लै हो ।
शरदको पूर्णिमा जस्तै बदनको स्पर्शका निम्ति,
गगनको चाँदनी पागल बनेको रात बेग्लै हो ।
नजरको मादमा पग्ली अधर रसको रसोस्वादन,
गरेको एक घुट्कोले चढेको मात बेग्लै हो ।
कसैको सम्झना आई नयनमा उर्लिंदा बाढी,
बगेको आँशुको थोपा पुछेको हात बेग्लै हो ।
पुरानो घाउमा चस चस गरी दुख्ने व्यथा बिर्सी,
कलेटी ओंठले हाँसो छरेको बात बेग्लै हो ।
(बहर : सजग मुसम्मन सलिम)
० ० ०
गजल – २
जताततै छ अन्धकार भनी बलेर बाँच्छु म ।
सदैव धिप्धिपाउँदै त्यसै जलेर बाँच्छु म ।
म को थिएँ कहाँ थिएँ भनेर प्रश्न तेर्सिंदा,
दिमाग रन्थनाउँदै व्यथा सहेर बाँच्छु म ।
भरेर प्रेमको सुधा सुपात्रमा मुना सँगै,
प्रमादमा रमाउँदै मदन बनेर बाँच्छु म ।
रहेन बाँच्नुको मजा भनेर दम्भ बिर्संदै,
सहर्ष गुन्गुनाउँदै सधैँ रमेर बाँच्छु म ।
गरेर साधना सधैँ पवित्र भावमा डुबी,
मुसुक्क मुस्कुराउँदै स्वयम् मरेर बाँच्छु म ।
(बहर : हजज मुसम्मन मकबुज)
(इनरुवा, सुनसरी)