site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यमुनोत्रीतर्फ 
Ghorahi CementGhorahi Cement

राति कतिबेला निदाएँ, थाहै भएनँ । निद्रा खुल्दा झिसमिसे उज्यालो भइसकेको थियो । हामीसँगै आएका सबैजना अँध्यारै छँदा प्रातःकृयाबाट निवृत्त भइसकेका थिए । त्यसो त सबैको अनुमान थियो, सानो ठाउँ भएकोले शौचालयको सुविधा त्यति हुन्न होला ! अतः जसलाई जहाँ अनुकूल मिल्यो, त्यहीँ नै काम सक्याएका थिए ।

यमुनाजीको जल उसैगरी गतिमान भएर बगिरहेको थियो । जलबीचमा रहेको ठूला–ठूला शिलाखण्डहरूसँग जुध्दै जाँदा लहरको आवाजले एउटा अचम्मकोे साङ्गीतिक ध्वनी उत्पन्न गरिरहेको थियो ।

सूर्यले पहाडहरूको जङ्गलबीचबाट दृष्टि दिँदैगर्दा कुथनौरको चिया पसलहरू खुलिसकेको थियो र तिनमा मानिसहरू समूह–समूह बनाएर बसिसकेका थिए । बच्चा हुन् वा बूढा अथवा नौजवान, सबैको अनुहारमा एउटा अचम्मको कुतूहलता देखिइरहेको थियो । 

Agni Group

मेलाजस्तै वातावरण थियो । साँच्चै, सहरहरूको सुख–सुविधामा पहाडका यी उपत्यकाहरूजस्तो आनन्द कहाँ ! हिन्दुस्तानको लगभग सबै कुनाबाट आएका मानिस यहाँ जम्मा थिए । यहाँ न कोही गुजराती थियो, न कोही मराठी । न कोही पन्जाबी थियो न मद्रासी । सबै एउटै भाषा बोलिरहेका थिए । सबै एउटै अनुभव बटुलिरहेका थिए ।

हामी सबै यमुनाजीमा नुहाउनका लागि गयौँ । पानीको धार यति तीव्र थियो कि पानीभित्र जाने हिम्मत भएन । त्यसैले अम्खोराले पानी हाल्दै नुहाएँ । पानी यति चिसो, फ्रिजको पानीलाई समेत माथ खुवाउने ! हिमालयबाट निस्किएको यमुना–कति स्निग्ध, कति शीतल ! श्यामल जल !

Global Ime bank

सबैले जो पाइयो, त्यही खाए र पसलबाहिर राखिएको बेन्च र काठको फलेकहरूमा विराजीत भए । केटाकेटी एकापसमा खेल्नमा व्यस्त भए । सबैको आँखा दक्षिणतिरको सडकमा गइरहेको थियो, बुलडोजर आयो कि आएन भनेर । करिब आठ बजेतिर एउटा बुलडोजर मन्द गतिले आयो र माथितिर उक्लियो, जहाँ बस फँसेको थियो ।

“साहेब, तपार्इंहरू पैदल नै हिँडेर पुग्नुस् हनुमानचट्टीसम्म । २६ किलोमिटर मात्रै त छ । बाटो खुल्नासाथ म बस लिएर आउँछु ।” ड्राइभर बिष्टजीले भने । तिनलाई के थाहा हामी पूरा समथर क्षेत्रमा बसोबास गर्ने मानिस ! २६ किलोमिटर पहाडी बाटो तय गर्दैमा हाम्रो दिन बित्छ । र, फेरि त्यसभन्दा अगाडि १५ किलोमिटर अझै पनि जानु छ । हामीले हिम्मत गर्न सकेनौँ ।

एक–दुई लोकल बसहरू यताबाट उता गरिरहँदा मानिसहरू घेरेर सोध्थे, ‘भैया के भयो ? के बाटो खुल्यो ?’

अन्ततोगत्वा, करिब ११ बजेतिर खबर आयो, बाटो खुल्यो भनेर । हामी सबैजना फटाफट् पुग्यौँ बसतिर ।
 
बस सुस्तरी–सुस्तरी उकालो चढ्न थाल्यो र हनुमानचट्टी पुग्यो । हनुमानचट्टी हनुमान गंगा र यमुनाजीको संगममा अवस्थित छ । यसको उचाइ समुद्र सतहदेखि २१३४ मिटर रहेको छ । यो एउटा सानो बजार हुँदाहुँदै पनि खानपिन र बसोबासका लागि अनेक सुविधा उपलब्ध छ । यहीँदेखि यमुनोत्रीको उकालो सुरु हुन्छ । घोडावाला र पिठ्ठूवालाहरू यात्रीहरूसँग मोलमोलाई गरिरहेका थिए । हाम्रो टोलीमा कतिपय मानिस पैदल हिँड्न असमर्थ थिए, त्यसैले पनि केही मानिसले घोडा र केहीले पिठ्ठू भाडामा लिए । पैदल हिँड्न समर्थ मानिसचाहिँ पैदल नै अगाडि बढे । ‘पिठ्ठू’ टोकरीजस्तो हुन्छ, जसमा बसाएर कुली (भरिया)ले यात्रीहरूलाई आफ्नो पिठ्युँमा हालेर हिँड्छन् । नेपालीमा यसलाई ‘डोको’ भनिन्छ । 

बाटोमा ठाउँ–ठाउँमा चट्टी (पर्वतीय यात्रामा आराम गर्ने स्थल÷बिसौनी) भेटिन्थ्यो, जहाँ आराम गर्ने र चियासिया पिउनका लागि राम्रो सुविधा थियो । उल्लेखनीय के छ भने उत्तराखण्डमा चारै तीर्थको छेउछाउ तथा बाटोमा मद्यपान निषेध छ ।

फूलचट्टी पुग्दा नपुग्दै पानी पर्न सुरु भयो । हामीले बर्साती निकालेर ओढ्यौँ । यमुनोत्री जाने बाटो एकदमै खराब छ । साथै, यो बाटोको ठाउँ–ठाउँमा चिप्लो माटो अधिक भएका कारण त्यहाँ चिप्लिइन्थ्यो । सूर्यास्तपछि यो बाटोमा हिँड्नु मुस्किल त थियो नै, खतरनाक पनि मानिन्छ । ठाउँ–ठाउँमा जङ्गली जनावरसँग सावधान लेखिएको बोर्ड पनि भेटिन्थ्यो । सायद, भालुहरू होलान् ।

हामी ठाउँ–ठाउँमा आराम गर्दै, थकाइ मार्दै हिँड्दा पनि थकित भएर साँझको साढे ६ बजेतिर जानकी बाई चट्टीमा पुग्यौँ । मे महिनामा पनि हामी जाडोले काम्न लाग्यौँ ! जानकी बाई चट्टी समुद्र सतहदेखि २५७६ मिटरको उचाइमा अवस्थित छ ।

हामी सबै यहाँ पुग्नासाथ रात्रि विश्रामका लागि विश्रामस्थल खोज्ने काममा जुट्यौँ । त्यसो त यहाँ बिडला विश्रामगृहदेखि राम्रो सुविधायुक्त महँगा होटेलहरू पनि छन् । तर बिनापूर्वआरक्षण त्यहाँ ठाउँ पाउन गाह्रो थियो । अन्त्यमा एकजना ढाबावालाले दुईवटा कोठाको व्यवस्था त गरिदियो । तर, दुवै कोठाको रातभरको भाडा ६ सय रुपैयाँ र यसका अतिरिक्त डसना र सिरकको प्रतिव्यक्ति २० रुपैयाँका दरले बेग्लै भाडा लियो । 

राति खाना खाएर हामी सुत्यौँ । थाकेका त थियौँ नै, त्यो चिसोमा सिरकको गर्मीले हामीलाई निद्रा पनि चाँडै लगाइदियो ।

बिहान सूर्य उदाउनुअघि नै नित्यकर्मबाट निवृत्त भएर हामीहरू यमुनोत्रीतिर हिँड्यौँ । हामीले अझै पनि ६ किलोमिटरजतिको उकालो उक्लनु थियो । ठाउँ–ठाउँमा आराम गर्दै ‘राम राम’ भज्दै हामी ८ बजे यमुनोत्री पुग्यौँ । तातो–तातो चिया उदरस्थ गरेपछि हामी मन्दिरतिर लाग्यौँ । यमुनोत्रीको मन्दिर ३३२६ मिटरको उचाइमा रहेको छ ।

मन्दिरमुनि तातो कुण्ड छ । पर्वतीय क्षेत्रमा गन्धकको खानीहरूबाट पानी जब झरनाका रूपमा बग्छ, त्यस अवस्थामा रासायनिक प्रक्रियाद्वारा पानी तातो हुन जान्छ । यही तातो पानी ठाउँ–ठाउँमा ‘तप्त कुण्ड’का रूपमा विद्यमान रहेको छ । 

एकातिर तप्त कुण्ड र अर्कोतिर यमुनाजीको हिमानी जल ! श्रद्धालु मानिसहरू प्रकृत्तिको यो अनौठो र अदभूत आश्चर्यलाई हेर्दै हैरान हुँदै थिए । स्त्री–पुरुष, बच्चा, बूढा सबै तप्त कुण्डमा नुहाएर आत्मविभोर भइरहेका थिए । साँच्चै, जहाँ आस्था हुन्छ, श्रद्धा हुन्छ, त्यहाँ कुनै पनि किसिमको विज्ञान, तर्क वा शंकाको कुनै स्थान रहँदैन । र, यसैमा टिकेको छ, हाम्रो सामाजिक एकता । जुन यगौँयुगदेखि विदेशी आक्रमण तथा गुलामीले पनि खण्डित भएन । दलित, गलित भयो । तर, विचलिन भएन ।

यमुनाजीको भव्य मन्दिर धेरै पुरानो लाग्दथ्यो । मन्दिर प्यागोडा शैलीमा बनेको छ । मन्दिरको ठिक सामुन्ने हवन स्थल छ । यहाँ पनि सानो–सानो तप्त कुण्ड छ । कपडाको पोकोमा चामल बाँधेर यसमा दश मिनेट डुबाउँछन् । यहीँ पाकेको भात यहाँको प्रसाद हो । मानिस कपडामा चामल बाँधेर डुबाउँदै घर लैजानका लागि प्रसादको व्यवस्था गरिरहेका थिए ।

चारैतिर उत्तुङग पर्वत शिखर र अगाडि कलकल बगिरहेकी यमुनाको शीतल जल– श्रद्धालु यात्रीहरूको जमात, जय यमुनाको उच्च घोष र एउटा अभिलाषाको परिपूर्ति । 

मनमा एउटा अभूतपूर्व सन्तोष लिएर हामी फर्कियाैं– गङ्गोत्रीतिर ।

(श्रेष्ठको नियात्रासंग्रह ‘देश–देशान्तर’बाट अनुदित ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २४, २०७७  ०७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC