site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 अभिप्रेरित तर्क   

    के तपाईँ गलत हुँदाहुँदै पनि आफूलाई सही ठान्नुहुन्छ ? त्यसो हो भने तपार्इँ आफ्नो दृष्टिकोण नै सबैथोक हो भन्ने सोच्नुहोला विशेषगरी कसैका बारेमा धारणा बनाउँदा । यस्तो धारणा निर्माणका पछाडि ‘अभिप्रेरित तर्क’ (मोटिभेटेड रिजनिङ्ग) ले काम गरिरहेको हुनसक्छ । यस मूल विषय प्रवेश गर्नुअघि फ्रान्समा घटित उन्नाईसौं शताब्दीको एउटा चर्चित एवम् दारुण घटनाबाट सुरु गरौँ जसमा एक जना निर्दोष सैनिक अधिकारीलाई सैनिक अदालतले देशद्रोही ठहर गरेर सजाय दिएको थियो ।

    सन् १८९४ मा फ्रान्सेली सेनाको प्रधान कार्यालय (हेडक्वार्टर)मा कार्यरत ‘काउन्टर इन्टेलिजेन्स’ विभागका प्रमुख कर्नेल ज“ स्यान्धरलाई फ्रान्सको नयाँ आर्टिलरी हतियारबारे जर्मनीले गोप्य सूचना पाइरहेको जानकारी प्राप्त भयो । अनि, फ्रान्सेली ‘जनरल स्टाफ’ विभागका एक अधिकृतले कार्यालयको रद्दी टोकरीमा च्यातेर फालेको एक पाना कागज फेला पारे जसलाई जोडजाड पारेर हेर्दा त्यहाँ भित्रैबाट कसैले जर्मनीलाई सैनिक गुप्त सूचना बेचिरहेको पत्ता लाग्यो । छानबिन भयो र उनीहरुको ध्यान त्यहीँ कार्यरत आर्टीलरीका क्याप्टेन अल्फ्रेड ड्राइफसमाथि केन्द्रित भयो । 

    त्यहाँ कार्यरत अधिकृतमध्ये ड्राइफसमात्रै यहुदी थिए भने उनको विगतको रेकर्ड राम्रो थियो । उनले आफ्नो सेवाकालमा कुनै गल्ती गरेका थिएनन् । तर, त्यसताका फ्रान्सेली सेना उग्र सामी विरोधी (एन्टाई सिमेटिक) थियो । हस्तलेखनको आधारमा सैनिक टोलीले उक्त काम ड्राइफसले नै गरेको हो भन्ने निक्र्योल गरे । हुन त, बाहिरको पेसेवर हस्तलेखन विशेषज्ञले ड्राइफसको र उक्त पानामा भएको हस्तलेखनमा खासै समानता देखेका थिएनन् । तर, पनि सैनिक टोलीले त्यो मिलेको निष्कर्ष निकाल्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

    दुई सन्तानका बाबु ड्राइफस अध्ययनशील र मेहनती थिए । उनलाई योग्यताको आधारमा सन् १८९२ मा उच्च सैनिक विद्यालयमा तालिमको लागि छनौट गरिएको थियो । तालिममा राम्रो मेहनत गरेका हुनाले उनले अब्बल नतिजा ल्याउँछन भन्ने उनका साथीहरुले सोचेका थिए । तर, तालिम गराउनेमध्ये एकजना जनरल बोनफोन्डको पूर्वाग्रहको कारण उनलाई थोरै नम्बर दिएर ग्रेडिङ्गमा पछि पारियो । उनी नवौं बनाइए । यो अन्याय थाहा पाएर दुई अधिकृतले स्कूलका निर्देशक, जनरल लेवेलिनसामु विरोध पनि प्रकट गरे । तर उनले यसमा आफूले केही गर्न असमर्थ रहेको जनाए । यो विरोधका कारण पनि पछि ड्राइफसप्रति प्रतिशोध लिइएको देखियो । तालिमको नतिजा जे भए पनि, उनको क्षमता र दक्षताका कारण उनलाई तालिमपश्चात् फ्रान्सेली सेनाको ‘जनरल स्टाफ हेडक्वार्टर’मा नियुक्त गरिएको थियो । 

    सूचना बेचेको बारे शङ्का गरेपछि सैनिक अधिकारीहरु ड्राइफसको अपार्टमेन्टमा गएर उनका सबै दराज तथा फाइलहरुको जा“च पडताल गरे तर त्यस्तो सन्देहास्पद केही कुरा भेटेनन् । यसबाट उनीहरुले ड्राइफस देशद्रोहीमात्र होइन निकै चतुर पनि रहेछन् भन्ने निष्कर्ष निकाले । उनले आफ्ना सबै प्रमाणहरु खोजतलास हुनुअघि नै लुकाइसकेको ठानियो । त्यसपछि सेनाले ड्राइफसको सम्पूर्ण विगत खोजीनिती गर्दै जाने क्रममा उनका विद्यालयका शिक्षकहरुसँग बुझ्दा ड्राइफसले विद्यालय जीवनमा विदेशी भाषा सिकेको पाइयो । त्यसबाट ड्राइफसले भविष्यमा विदेशी सरकारसँग षड्यन्त्रपूर्ण साँठगाँठ गर्ने सोच बनाएको निष्कर्ष निकालियो । 
    उनका शिक्षकले ड्राइफसको स्मरणशक्ति राम्रो भएको पनि बताए । त्यसले उनीहरुको शंकालाई अझ मजबुत बनायो । किनभने, तीक्ष्ण बुद्धि जासुसीका लागि आवश्यक गुण मानिन्थ्यो । त्यसपछि ड्राइफसलाई बन्द सैनिक अदालतमा मुद्दा चलाइयो र उनलाई दोषी ठहर गरियो । उनलाई सजायस्वरुप त्यतिबेलाको सैनिक चलनअनुसार सार्वजनिक स्थानमा लगेर सैनिक र गैरसैनिक भीडका बीच अपमानपूर्वक उनको फुली खोसियो, चिन्दल (इन्सिग्निया) निकालियो र खड्ग भाँचियो । ड्राइफसले रुँदै भने – “म कसम खान्छु कि म निर्दोष छु । म सेनामा सेवा गर्न योग्य छु । फ्रान्स जिन्दावाद ! सेना जिन्दावाद !” तर, उनको एक्लो पुकार कसैले सुनेनन् । त्यसपछि उनलाई जन्मकैद गरियो । उनले कैद भित्रैबाट सरकारलाई धेरै याचना गरे तर त्यसको सुनुवाइ भएन । 

Global Ime bank

    यस्तो हुनुमा अभिप्रेरित तर्क (मोटिभेटेड रिजनिङ्ग) कारण रहेको लेखिका जुलिया गालेफले आफ्नो ‘टेड टक’ मा बताएकिछन् । गालेफले ‘तपार्इँ किन आफूलाई सही ठान्नुहुन्छ, भलै तपाई गलत हुनुहुन्छ’ (ह्वाई डु यु थिङ्क यु आर राइट, इभन इफ यु आर रङ्ग) शीर्षकको प्रवचनमा ‘सैनिक मानसिकता’ र ‘स्काउट मानसिकता’ को विश्लेषण गर्दै कसरी ती दुई भिन्नाभिन्नै प्रवृत्तिले प्राप्त सूचनालाई भिन्नाभिन्नै ढङ्गले प्रशोधन गर्छन् भनी बताएकी छन् । उनले आफ्नो खोजको व्याख्या गर्न माथिउल्लिखित ‘ड्राइफसको मानमर्दन’ (डिग्रेडेसन अफ ड्राइफस) का रुपमा चर्चित घटनाको विश्लेषण गरेकी छन् । उनी भन्छिन् – सैनिकहरु अभिप्रेरित–तर्कका कारण आफ्नो दृष्टिकोण कुनै पनि मूल्यमा प्रतिरक्षा गर्ने प्रवृत्तिका हुन्छन् । तर, स्काउटहरु भने जिज्ञासाबाट उत्प्रेरित हुन्छन् ।

    अभिप्रेरित तर्क भनेको आफूमा विद्यमान भित्री इच्छा र डरले सूचनालाई अथ्र्याउने अवचेतन तर्क हो । यस्तो तर्क दिँदा केही जानकारी वा कुरा मित्रवत् लाग्छन् र त्यसको प्रतिरक्षा गरिन्छ भने केही शत्रुवत् अनुभूत हुन्छन् । त्यसैले त्यसमाथि आक्रमण गरिन्छ । सैनिकहरु आफ्नो र आफ्नो पक्षको प्रतिरक्षा गर्न तथा दुस्मनलाई हराउन मनभित्र गढेर बसेको स्वचालित प्रणालीको अनायास परिचालन गर्छन् । स्काउटहरु भने त्यहाँ जमिनमा के छ भन्ने कुरा जतिसक्दो सही एवम् यथार्थरुपमा जान्न कोसिस गर्छन् । किनभने, उनीहरुको काम हमला गर्ने वा प्रतिरक्षा गर्ने होइन, तथ्य बुझ्ने हो । सेनामा यी दुवै प्रवृत्तिका मानिसको आवश्यकता हुन्छ तर त्यसभन्दा पनि महत्त्वपूर्ण यी दुई प्रवृत्तिलाई यहाँ मानसिकताका रुपमा बुझ्न जरुरी हुन्छ । सही फैसला र उचित निर्णय गर्ने कुरा व्यक्तिको मानसिकतामा भर पर्छ ।

    अभिप्रेरित तर्क सेनामा अत्यधिक देखिने भएकाले उनी त्यसलाई ‘सैनिक मानसिकता’ भन्छिन् । तर, यो मानसिकता सेनामा मात्र हुन्छ भन्ने छैन । यस्तो सोचले राजनीति, खेलकुद, अध्ययन अनुसन्धान, प्राज्ञिक आदि अरू क्षेत्रमा पनि काम गरिरहेको हुन्छ । खेलमा रेफरीले आफ्नो टिमलाई झेल गरेको ठहर गर्छ अनि उसले रेफरी किन गलत छ भनी अनेकौं तर्क खोज्न थाल्छ । तर, त्यही रेफरीले अर्को टीमलाई झेल गरेको ठहर गर्दा भने ऊ रेफरीले सही गर्यो भनी दङ्ग पर्छ । उही रेफरीको बारेमा यस्तो प्रवृत्ति दुवै टिममा देखिन्छ । राजनीतिमा आफ्नो विचार मिल्नेका गतिविधि समाजले पचाउन गाह्रो भए पनि ठीक लाग्ने तर विचार नमिल्ने समूहका गतिविधि जनताले स्वीकारे पनि गलत लाग्ने हुन्छ । त्यस्तै, बौद्धिक क्षेत्रमा कुनै अध्ययन प्रतिवेदनलाई वस्तुनिष्ठ ढङ्गले हेर्नुभन्दा आफूले सोचेजस्तो निष्कर्ष आयो भने त्यसको समर्थन र आफ्नो सोचविपरित भयो भने त्यसको खण्डन गर्ने पनि यही मानसिकताले गर्दा हो । ‘सैनिक मानसिकता’ को सबैभन्दा डरलाग्दो पक्ष भनेको यस्तो मानसिकता हुनेले आफूले स्वच्छ, नैतिक र निष्पक्ष मनले काम गरेको छु भन्ने सोचिरहेको हुन्छ तर उसको अवचेतन मनभित्रको अभिप्रेरित तर्कले गर्दा कुनै निर्दोष मानिसको जीवन बर्बाद गरिरहेको हुन्छ ।

    सन् १८९६ मा फ्रेन्च सैनिक हेडक्वार्टरको इन्टेलीजेन्स विभागका आएका नयाँ प्रमुख कर्नेल जर्ज पिकार्ट पनि ड्राइफस दोषी थिए भन्ने मान्यता राख्थे । तर, उनले केही समयपछि ‘हामी सबै ड्राइफसको बारेमा गलत भयौँ भने के होला’ भनी शङ्का गर्न थाले । उनको सन्देहको कारण ड्राइफसको स्वच्छ चरित्र तथा उनलाई कैद गरेपछि पनि जर्मनीलाई सूचना चुहाउने काम नरोकिनु थियो । त्यतिमात्र होइन, फ्रेन्च सेनामा भएका अर्का अधिकृतको हस्तलेखन पनि रद्दीको टोकरीमा फालिएको पानासँग मिल्दोजुल्दो पाइयो । पिकार्टले प्रमाणसहित आफ्नो हाकिमलाई उक्त घटनाको वास्तविक दोषी मेजर फर्डिनान्ड भएको रिपोर्ट गरे । तर, उनलाई त्यहाँबाट सरुवा गरी चुप रहन लगाइयो । 
    
    ड्राइफस निर्दोष भएको बारे संचार माध्यम र उनका समर्थकहरुले विरोध गरेपछि पुनः १८९९ मा सैनिक अदालत बस्यो तर उक्त अदालतले सबै प्रमाण ड्राइफसको पक्षमा हुँदाहुँदै उनलाई नै दोषी ठहर गर्यो । उक्त नयाँ प्रमाण हुँदाहुँदै फैसलामा ड्राइफसको हस्तलेखनको नक्कल गरी अरु कसैले जर्मनीलाई सूचना बेचिरहेको  भए पनि ड्राइफस दोषी नै रहेको तर्क गरियो । तर, पछि जनदबाब बढ्दैजाँदा सेनाको गल्ती ढाकछोप गर्न ड्राइफसलाई राष्ट्रपतिबाट क्षमादान दिलाइयो । मुक्तिपछि ड्राइफसले भने – “गणतान्त्रिक सरकारले मेरो स्वतन्त्रता फिर्ता दिएको छ । तर, मेरो गरिमाविना यो मुक्ति मेरा लागि केही पनि होइन ।” अन्ततोगत्वा, ड्राइफसलाई १२ जुलाई १९०६ मा आधिकासरिकरुपमा सबै आरोपहरुबाट सफाइ दिइयो । सफाइ दिइएको भोलिपल्ट पदोन्नति गरी उनलाई सैनिक सेवामा पुनः प्रवेश गराइयो । एक सातापछि उनलाई ‘लेजियोन अफ अनर’ को ‘नाइट’ बनाइयो र त्यसपछि उनले सेनामा विभिन्न युनिटहरु कमान्ड गरे ।

     अनेक कोसिस गर्दा पनि दस वर्षको प्रयासपछि मात्र पिकार्टले ड्राइफसलाई दोषमुक्त गर्न सके । वास्तवमा पिकार्ट पनि अरु फ्रान्सेली सैनिक अधिकारी सरहकै परिवेशमा हुर्केका र सामी विरोधी (एन्टाई सिमेटिक) थिए तर उनको सोच भने ‘सैनिक मानसिकता’ नभई ‘स्काउट मानसिकता’ को थियो । यो मानसिकता भएका व्यक्तिमा जित्ने वा हार्ने कुरामा जोड दिनुभन्दा पनि इमानदार र सहीरुपमा वास्तविकता के हो भन्ने जान्ने उत्सुकता हुन्छ भलै, त्यो तथ्य उसलाई अप्रिय वा असुविधाजनक नै किन नहोस् । ‘स्काउट मानसिकता’ पनि ‘सैनिक मानसिकता’ जस्तै भावावेश तथा भावना (इमोसन)मा आधारित हुन्छ । तर, त्यो जान्ने र रहस्य सुल्झाउने उत्सुकताको भावना हो । दार्शनिक बट्रेन्ड रस्सलले आफ्नो पुस्तक ‘एन आउटलाइन अफ फिलोसफी’मा भनेका छन् – “जब हामी जगतलाई बुझ्न खोज्छौ ‘इमोसन’ ले बाधा उत्पन्न गराउने देखिन्छ । त्यसले तर्कहीन विचार उत्पन्न गर्छ ।” 

    गालेफका अनुसार ‘स्काउट मानसिकता’ सद्गुणी चरित्रको उपज हो । यस्ता मानसिकता हुनेहरु उदार मनका हुन्छन् र तथ्य पत्ता लगाउने क्रममा आफ्नो पूर्वठम्याइलाई परिवर्तन गर्नु कमजोरी ठान्दैनन् । उनीहरु यथार्थवादी हुन्छन् र आफ्नो सोचभन्दा पृथक तथ्यपरक विचारलाई पनि सहजै स्वीकार गर्छन् । वास्तविकता पत्ता लगाउन आफ्नो गल्ती स्वीकार्न हिच्किचाउँदैनन् । यी दुवै मानसिकता कुनै व्यक्ति कति बुद्धिमान छ वा कति होसियार छ भन्ने कुराले निर्धारण गर्ने होइन । यी मानसिकता भनेका कुनै व्यक्तिले कस्तो सोच्छ र अनुभूति गर्छ भन्नेसँग सम्बन्धित छ । उनी अगाडि भन्छिन् – हामीले आफूले गरेको कुनै कुरा गलत भयो वा हुनलागेको थाहा पायौँ भने लघुताभास गर्नेभन्दा तथ्य पत्ता लागेकोमा गर्व गर्न सिक्नुपर्छ । आफ्नो धारणाभन्दा फरक सूचना आएमा प्रतिरक्षा गर्नेभन्दा किन त्यसो भयो भनी चासो दिन सिक्नुपर्छ । मूल प्रश्न भनेको हामी आफ्नै मनको विश्वासलाई प्रतिरक्षा गर्न उद्यत हुन्छौँ वा जगतलाई सम्भव भएसम्म स्पष्टरुपमा हेर्न र बुझ्न चाहन्छौँ भन्ने हो । 

     संयोग नै मान्नुपर्छ नेपालमा ड्राइफसको घटनाको पुनरावृत्ति भएको छ । तर, के नेपालमा कर्नेल पिकार्टजस्ता स्काउट मानसिकता भएका अधिकारी छन् जो आफूले सोचेको कुरा नै सही हुनुपर्छ भन्नेभन्दा पनि तथ्य के हो भन्ने पत्ता लगाउन जिज्ञासु र तत्पर रहन्छन्? छन् भने ती पिकार्ट सत्यतथ्य उधिन्न कहिले सफल होलान् ?
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC