काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली समूहले आयोजना गरेको सभाले सास्ती खेप्नुपरेको सर्वसाधारणले बताएका छन् । सभाका कारण यातायातका साधन प्रभावित हुँदा आफूहरुलाई समस्या परेको उनीहरुले बताएका हुन् ।
सिन्धुपाल्चोककी विनिता तामाङ चाबहिल चोकमा दैनिक तरकारी बेचेर गुजारा चलाउँछिन् । उनी आज तरकारी लिन कालिमाटी जाँदै गर्दा गौशालामा अलपत्र परिन् । उनले भनिन्, ‘‘बिहान–बेलुकाको रोजीरोटी खोसिएको छ हाम्रो । तरकारी बेचेर दैनिक गुजारा चलाउनुपर्छ । तर, तरकारी ल्याउने बाटो नै भएपछि कसरी बाँच्ने ।”
ओलीको सभाका कारण रत्नपार्क, बानेश्वरलगायतका स्थानस्थित कार्यालयमा काम गर्ने कर्मचारी पनि समस्यामा परे । सुन्धारास्थित एक फाइनान्समा काम गर्ने रामेछापकी कमला तामाङले कार्यालय जान भनेर हिँडेको तर बीच बाटोमा अलपत्र परेको बताइन् । ‘‘कार्यालयमा एक दिन नजाँदा तलब काटिन्छ । काठमाडौंजस्तो ठाउँमा खर्च धान्न गाह्रो भएको छ ।”
ओली समूहले आज दरबारमार्गमा सभा आयोजना गरेको छ ।