काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहलाई वार्तामा ल्याउने भए पहिले प्रतिबन्ध फुकुवा गर्नुपर्ने बताएका छन् ।
शुक्रबार ललितपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले विप्लव वार्तामा आउने भए आफूहरुको समर्थन रहने बताए । “अहिले केपीजीले वार्ता भनेर चिट्ठी पठाउनु भयो रे, पठाउँदै हुनुहुन्छ रे भन्ने सुनिएको छ । ठिकै छ, उहाँले गर्नुस् । साँच्चै वार्ताप्रति इमानदारितापूर्वक ढंगले विप्लवलाई पनि ल्याउन चाहनुभएको भए सबैभन्दा पहिले प्रतिबन्ध हटाउनुपर्यो । प्रतिबन्ध पनि राखिराख्ने वार्ता पनि गर्ने भन्ने त अन्तरविरोधी कुरा हुन्छ । आउने हो वार्तामा भने हाम्रो समर्थन छ,’’ प्रचण्डले भने ।
विप्लवलाई प्रतिबन्ध लगाउने बेलामा पार्टीमा र आफूसँग पनि छलफल नगरेको गुनासो उनले गरे । “विप्लवसँग भित्रै वार्ताको कुरा । भित्र र बाहिर केही पनि छैन । हाम्रै पार्टीको कुरा गर्नुहुन्छ भने माधव नेपालले त विप्लवलाई प्रतिबन्ध लगाउनुभन्दा वार्तामा ल्याए राम्रो भनेर भन्नुभएको थियो । हामीले पनि भनेका थियौँ,’’ प्रचण्डले भने, “पार्टीमा र मसँग एक शब्द नसोधी क्याबिनेटबाट प्रतिबन्ध लगाएको घोषणा गरियो । एकैपटैक प्रतिबन्ध लगाउँदा राम्रो हुँदैन कि भनेर हामीले आवाज उठायौँ ।’’