प्रजातान्त्रिक बाटो त्यागेर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ चाल सुरुगरेका छन् । लोकतान्त्रिक संविधानलाई समेत भाँचकुँच पारेर स्वेच्छाचारी शासक बन्ने ओलीको सत्तालिप्साको कारण मुलुक पुनः द्वन्द्वमा धसिने अवस्था देखिँदैछ । सत्ताको मोहनीले लठ्ठिएका ओलीको नियति अन्ततः भस्मासुरको हुने निश्चित छ । अहिले त्यो बेलाको पर्खाइमात्र हो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी ओली सरकारको अवैध कदमको फेहरिस्त ‘शिशुपालको अपराध’ शृंखलाको तहमा पुग्दैछ । उनको राजनीतिक ‘अपराध’प्रति समाजमा व्यापक आक्रोश बढेको छ । त्यसको सूचना सरकारी भजनेहरुको कानेखुसीले उनको मगजसम्म पुग्न छेकेजस्तो छ । प्रधानमन्त्री ओलीको असंवैधानिक क्रियाकलाप दुनियाँसामु छरपस्ट भएकाले धेरै लेख्नु परोइन ।
हान्स एन्डर्सनको ‘बादशाहको नयाँ पोसाक’ कथाको परिहास प्रशंसकको हुलबीच बादशाह नाङ्गै देखिएको एक बालकले रहस्योद्घाटन गरेको छ । त्यस बादशाहले बालकको कुरा सुनेको र आफ्नो नग्नता बुझेको छ । नेपालको ‘नयाँ बादशाह’ बन्ने चाहनाका ‘सत्ता केन्द्रित’ कम्युनिस्ट ओलीले भने चौतर्फी गुन्जिएको ‘नग्नता’ बोध अझै गरेका रहेनछन् ।
संविधान, विधि, कानुन र लोकतान्त्रिक जनभावना सबैलाई कुल्चिएर हिँडेका ‘नेकपा ओली’ अध्यक्ष खड्गप्रसाद (केपी) ओलीले प्रजातान्त्रिक विषयलाई सत्ता स्वार्थमा तिलाञ्जलि दिएका छन् । मुलुकलाई अराजक, अस्थिर र नयाँ द्वन्द्वतिर घिसारेका छन् ।
डेढदुई वर्षअघिसम्म लोकतन्त्रका लागि चौध वर्ष जेल बसेको बताउने कम्युनिस्ट ओलीले लोकतन्त्रको सबै मान्यतालाई निमोठेपछि हाल लोकतन्त्र शब्द उच्चारण गर्नसमेत अरुचि प्रकट गरेका छन् । लोकतन्त्र दाबा गर्ने चरित्र स्वयंको अवैध कदमले गुमाइसकेको स्वीकारोक्तिमा होला उनको बोलीबाट लोकतन्त्र शब्द गायब हँुदैछ ।
प्रधानमन्त्री ओलीको बोलीमा अहिले मुख्यरूपमा चार विषयले ठाउँ ओगटेको सुनिन्छ – पहिलो निर्वाचन, दोस्रो विकास, तेस्रो राष्ट्रवाद र चौथो स्थिरता । यी चारवटै दाबा जहाँतहीँका तानाशाह शासकले आफ्नो औचित्य साबित गर्न गरिरहने खोत्रा दाबा हुन् ।
हालै जननिर्वाचित प्रतिनिधिलाई बन्दी बनाउने म्यानमार (बर्मा) को सैनिक तानाशाहले पनि यिनै नारा भट््याएको सुनिरहेका छौँ । नेपालका कम्युनिस्ट ओलीले त धर्मलाई समेत राजनीतिक शक्ति आर्जनको थप कुत्सित माध्यम बनाएका छन् । तानाशाहहरु निर्वाचन त भन्छन् तर लोकतन्त्र भन्दैनन् । कथं भने पनि त्यो बाटो किमार्थ हिँड्दैनन् । नेकपा अध्यक्ष ओली यस्तै साबित हँुदैछन् ।
चितवन पुगेर प्रधानमन्त्री ओलीले धर्म अर्थात् राम मन्दिरलाई राष्ट्रवादको व्याख्या (अपव्याख्या) दिने प्रयत्न गरे । आफूले भव्य राम मन्दिर बनाउन लागेको तर यही क्षेत्रबाट निवार्चित सांसद (पुष्पकमल दाहाल) ले मन्दिरबारे किन चुक्क नबोलेको ? राष्ट्रवादी दाबा गर्ने उन (दाहाल) ले कसको डरले राम मन्दिरबारे नबोलेको ? भन्ने प्रश्न गरे । हिन्दु सांस्कृतिक पहिचानको राम मन्दिरलाई राष्ट्रवादसँग जोड्ने नेकपा ओलीको नयाँ चाल हिन्दु जनमनको धार्मिक भावलाई शोषण गर्र्ने वा झुक्याउने अर्को धूर्त अस्त्र हो । राष्ट्रवादको खोक्रो खोलको छ्याङ्ग जालोले कति लाज ढाक्ने होला ? ‘चुनरी’ राष्ट्रवादमा धार्मिक राष्ट्रवादको ‘अपव्याख्या’ झुक्किनेहरुका लागि नयाँ चारा हो । सबै धर्मको समुच्चा प्रतिमा राज्य वा देश हो । यही भावमा देशभक्ति फक्रने तथ्यलाई तोडेर सत्ता स्वार्थमा हिन्दु धार्मिक अहंलाई उपयोग गर्न चाहनु घातक द्वन्द्वलाई आमन्त्रण दिनु हो । अधिनायकवादी सत्ता चिन्तक ओली यस्तै घातक चरित्र नायक बन्दैछन् ।
पहिले नै बने, बनिएका भौतिक संरचनाको शिलान्यास र उद्घाटन गर्दै हिँडेका प्रधानमन्त्री ओलीले नेपाली नागरिकलाई बेवकुफ ठानेका हुन् कि आफूलाई विकासवादी देखाएका हुन् ? वा ‘भजन मण्डली’ले ‘भाँग्राको टोपीमा गुँएलीको फूल’ जस्तो दिएको लोकप्रिय धूनमा ‘नरो वा कुञ्जरो...’ कोलाहलमा विश्वसनीय चरित्र संस्कारको मृत्यु नै थाहा नपाएका हुन् उनले ? उनै ओली जानून् !
असंवैधानिक नियुक्ति दिइएकाबाट शक्ति आर्जन हुने दिवा स्वप्नदर्शी ओलीको मनपरीतन्त्रको राष्ट्रपति सम्बल बन्नुले गणतन्त्र र राष्ट्रपतीय मर्यादा एन्डर्सनको बादशाहजस्तै परिधानहीन भएको छ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई यस्तो चरित्रको चित्रणमा ‘एकं लज्जा परित्याज्य सर्वत्र विजयी भवेत्’ संस्कृतको यो उक्ति बारम्बार भनेको सुनिनुहुन्थ्यो । नेपाली एक झर्रो टुक्का छ नि ‘नङ्गा नाचे हजार दाउ’ !
जननिर्वाचित प्रतिनिधि सभाको हत्या गरेर खनेको मसानघाटे स्थिरताको नारा दिने ओली संस्कारमा नागरिकको महत्त्व रत्ती पनि छैन भन्ने पुष्टि संसद्को हत्याबाटै हुन्छ । द्वन्द्वको खेती गरेर स्थिरताको आकाशे फसल देखाउनु तानाशाही तानाबानाको सूत्र हो । प्रधामन्त्री र राष्ट्रपतिको मिलेमलोमा एकपछि अर्को लगातारका अवैध कदमले मुलुक आम हडतालको चरणमा प्रवेश गरेको छ ।
नेकपाले बेइमानी, बदमासी गर्ने दुःख नेपालीले भोग्नुपर्ने ? पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल तीन पूर्व प्रधानमन्त्रीहरुको नेकपाले आम हडताल आह्वान गरेको हो । के यो स्थिरताको प्रतिविम्ब हो ? जबाफ भने नेकपाको अर्को समूहका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दिनुपर्छ । निर्वाचित सबै सांसद्को जनप्रतिनिधि हैसियत खोसेर आफू चाहिँ विघटित नभएको ठान्ने ओली नै यो स्थितिको प्रमुख कारक हुन् ।
कम्युनिस्टहरुको सिद्धान्तहीनताको पुष्टि नेकपा अध्यक्ष ओलीले पुनः गरिदिएका मात्रै हुन् । सत्तास्वार्थका लागि जति पनि गतिछाडा हुनसक्ने कम्युनिस्ट प्रवृत्ति उनले उदांगो पारिदिएका छन् । अर्कैको प्वाँख सिउरेर नयाँ मुजुर हुन खोजेका प्रधानमन्त्री ओलीले लगाएको कम्युनिस्ट र लोकतन्त्रको दुवै प्वाँख झरेपछि धर्म र अपराधीबाट शक्ति आर्जन गर्ने नयाँ चाल चलेका छन् ।
न्यायालयले ठहर गरेको अपराधकर्मीलाई ‘पवित्र’ फूलमाला पहिर्याएर आफूमा भित्र्याएका छन्, रुपान्तरणको नाम दिएर । ओली संगठन आफू पनि त रुपान्तरण भएकै हो नि ! रुपान्तरण हुन पाइन्छ तर प्रजातन्त्रको मर्म र मार्ग छोडेर किन यस्तो कर्ममा यतिबेलै लागे प्रधानमन्त्री ओली ? उत्तर हो – प्रजातन्त्र छोडेकैले यस्तो कर्म, धर्ममा लाग्ने वाध्यतामा पुगे उनी ।
स्वयंको दम्भी कर्मले जनप्रतिनिधिको शक्ति गुमाएका नेकपा ओली अध्यक्ष केपीले यसपछि जेजस्तो चाल गरिरहेछन् ती हतासाको परिचायक हुन् । पार्टीको ठूलो हिस्सा अन्तै वा विरोधमा छ । संसद्को सहयोग शक्ति स्वयं गुमाए । सरकारको अवैध कामप्रति विवेकी नागरिक समाज र सबै क्षेत्र विरोधमा छ । संयुक्त आन्दोलनको उभार आउने मेसोमेलो पनि देखिन थालेको छ ।
जति चर्को स्वरमा औंला तेस्र्याए पनि ओली सरकारको तारणहारमा राष्ट्रपति, धर्म, विकास र राष्ट्रवादको नारा बाँकी रहेको अनुभूति हुन्छ । केही समय निर्वाचन मितिको कोप्रे लठ्ठी टेकिएला जुन हुनेछैन । झेली राजनीति पार लगाउन सधैँ यी यस्ता तारण हुने होइनन् अन्ततः ‘हार’ चाहिँ हुन्छ । राजाकै पालामा नेपालले यो सब भोगेको हो ।
राजनीति जनबलमै टिक्ने हो, हुने हो । जनबल गुमाएको सत्ता दमनको सहाराले धेरै टिक्ने होइन । ‘आफू मरे जो सुकै राजा’ भन्ने पश्चपदगामीलाई के राजनीतिज्ञ भन्नु र ? असहाय हतासाले नेकपा ओली धर्मको शरणमा पुगे । विकास, राष्ट्रवाद वा निर्वाचनलाई उनले विश्वासिलो आधार दिन सकेनन् र नयाँ चालमा थपे विप्लवी नेकपा नेत्रविक्रम चन्द(विप्लव) सँग वार्ताको शरण ।
प्रधानमन्त्रीले थपेका छन् – पुराना माओवादी सशस्त्र जत्थाको सहयोग जुटाउने उपाय । उपाय देशको सीमाबाहिर पनि पुगेको हुनुपर्छ । जबजको बाटो हिँड्ने मदन भण्डारीका स्वघोषित उत्तराधिकारी कम्युनिस्ट नेता ओलीको राजॉवादी’सँग पनि साठगाँठ मिलेको छ रे !
प्रजातन्त्रको विषय त्यागले भएको असहाय अनुभूतिको छटपटाहटले प्रधानमन्त्री ओली यी र यस्ता सबै भाउँतो चाल गर्न उद्यत भएका हुनुपर्छ । अध्यक्ष ओलीले त छोडे तर नेकपाको विद्रोही घटकमा यतिबेला संविधान, लोकतन्त्र र जनमत घोकाइ खुबै मुखर सुनिन्छ । प्रजातन्त्रको मुद्दा र मार्ग त्यागेका अध्यक्ष ओलीको हरिबिजोग हैसियतको हुर्मत लिन उद्यत यो घटकको राजनीतिक निष्कर्षको बैठान लोकतन्त्र नै हो भने ठीकै दिशामा छन् भन्ने मान्नुपर्छ ।
आफैँ सडक आन्दोलनकारी बनेका कामचलाउ प्रधानमन्त्री ओलीले नैतिकहीन स्वेच्छाचारी निर्णय गर्दैछन् । राजनीतिक शक्ति जोडजाम गर्न समय खर्चेका नेकपा प्रधानमन्त्री ओलीले विप्लवलाई शान्ति र खुला राजनीतिमा ल्याउन सके राम्रै हो । राज्य संयन्त्र र स्रोत दुरुपयोगबाट तानाशाही शक्ति आर्जनको लागि यस्तो सबै मिहिनेत गरेका हुन् भने थप अनर्थ मच्चिने नै छ ।
सबैभन्दा पहिले कम्युनिस्ट प्रधानमन्त्री ओलीले बुझ्नुपर्छ –प्रजातन्त्रको मुद्दा त्यागेपछि आइलागेको भाउँतो र हिँड्नु परेको ‘अनर्थ’चालहरुको प।िणम हुनेछ अन्ततः देशले भोग्ने दुष्परिणाम ।