site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सर्वोच्च अदालतका ‘श्रीमान्’ले पढ्ने पनि त्यही संविधान हो 

प्रतिनिधिसभा विघटनलाई कांग्रेसले असंवैधानिक मात्र होइन, प्रतिगामी कदम भनिरहेको छ । हाम्रो संविधानमा संसद् विघटन गर्न पाउने व्यवस्था नराख्दा नराख्दै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यही संविधानमा छ भनेर संसद् विघटन गर्नुभएको छ । आजको यो अवस्था सदर भयो भने, आजको यो अवस्था मान्य भयो भने त्योसँगसँगै यो संविधान अमान्य हुने कुरा पनि त्यहीँबाट प्रारम्भ हुन्छ । त्यसैले आज तपाईं संसद् विघटनको पक्षमा हो कि चुनावको पक्षमा ? भन्ने प्रश्नै गलत छ । तपाईं नेपालको संविधानको पक्षमा हो कि होइन ? अहिलेको प्रश्न यति मात्र हो । संविधानको पक्षमा उभिनु भनेको यो व्यवस्थाको पक्षमा उभिनु हो । व्यवस्थाको पक्षमा उभिनु न्यायको पक्षमा उभिनु हो । न्यायको पक्षमा स्थायित्वको पक्षमा, नेपालको भविष्यको पक्षमा उभिनु हो ।

प्रधानमन्त्रीले आज जनताको ठूलो अपमान गर्नुभएको छ । देशभरिको पार्टी प्यालेसमा प्रधानमन्त्री हिँड्नुभएको छ । राति घर पुगेपछि आजभोलि तपाईंहरु हास्यव्यंग्यको कार्यक्रम हेर्न हुन्न, प्रधानमन्त्रीले कहाँ के बोल्नुभयो भनेर खोजेर हेर्नुहुन्छ । कतिपय थपडी बजाएर हाँस्नु पनि भएको होला  । प्रधानमन्त्रीको व्यंग्यमा हाँस्दै गर्दा एकपटक सम्झनुहोला, प्रधानमन्त्रीले हँसाउनुभएको होइन, हेप्नुभएको हो । तपाईंलाई हेपेको, सिंगो देशलाई र जनमतलाई हेपेको हो ।

प्रधानमन्त्रीले संसद् विघटनको सिफारिसमा के लेख्नुभएको छ ? कोरोनाको संक्रमणको बीचमा काम गर्न अप्ठ्यारो परेकाले दुईतिहाइ चाहियो, त्यसैका लागि मैले संसद् भंग गरेको हुँ भन्नुभएको छ । जतिखेर लकडाउन भनेर तपाईं, हामीलाई सरकारले घरमा थुनेर राखेको थियो, त्यति बेला प्रधानमन्त्रीका सेनामेना सांसद् अपहरण गर्न जनकपुर गएका थिए । प्रधानमन्त्री ९ महिनासम्म सिंहदरबार टेक्नु पनि भएन । मास्क लगाएर भन्नुभयो, म अस्वस्थ छु, म आउन सक्दिनँ । तर, संसद् भंग गरेपछि प्रधानमन्त्रीलाई भ्याइनभ्याइ छ ।

Prabhu Bank
Agni Group
NIC Asia

हिजो केपी ओली र मैले संसद्मा शपथ खाँदा मैले ईश्वरको नाममा शपथ खाएँ । मैले मेरो ईश्वर सम्झिएँ । प्रत्येक आ—आफ्नो भगवान् सम्झने हो । तर, प्रधानमन्त्रीले भगवान्को नाममा शपथ खान मान्नु भएन । आज पशुपतिनाथको मन्दिरभित्र छिरेर तपाईं र मेरो भावनासँग खेल्न खोज्ने ? कहिले तपाईं र मेरो देशभक्तिको भावनासँग खेल्न खोज्ने । कहिले तपाईं र मेरो भगवान्सँगको आस्थामाथि खेल्न खोज्ने । तपाईं र म खेलिने अनि हाँसेर बस्ने ? थपडी बजाएर बस्ने ? तपाईं, हाम्रो मतको अपमान गर्दैगर्दा हामी हाँसेर बस्यौँ भने जो प्रधानमन्त्रीको व्यंग्यमा हाँसेर बस्छ, उसलाई इतिहासले धिक्कार्छ । म यो कुरामा प्रष्ट छु, भोलि नेपालको इतिहास पुस्तक लेखिँदै गर्दा जब पुराना शासकहरुको नाम लेखिन्छ ।

कुनै पाना, जसमा नेपालमा जनताको पक्षमा लडेको शासकको नाम लेखिएको हुन्छ, त्यो पानामा न माथि न तल, कहीँ पनि केपी ओलीको नामका लागि ठाउँ रहने छैन । मलाई चिन्ता त्यहाँको होइन । चिन्ता गर्नुपर्ने आफ्नै बारेमा हो । हामी नेपाली कांग्रेस पार्टीका सदस्यहरु हौँ । नेपालको स्वाधीनता, स्वाधीन नेपालभित्र नेपालीको स्वतन्त्रता, उसले प्राप्त गर्ने समान अवसर र उसको सम्मान । यसकै लागि हाम्रो पार्टी बनेको हो । यसका लागि जनताको शासन चाहिन्छ । जनताको शासनका लागि संविधानको शासन चाहिन्छ । संविधानको शासनभित्र रहेर हामीले जनताको ती अधिकार स्थापित गर्नुपर्छ भन्ने मान्यताका आधारमा कांग्रेस पार्टी बनेको हो । एउटा पार्टीको जीवनमा चुनाव आउँछ । कहिले हारिन्छ, कहिले जितिन्छ । तर, चुनाव मात्र सबै कुरा हो, सिंहदरबार, शीतलनिवास, बालुवाटार जाने मात्र सबै कुरा हो भने यो पार्टीका संस्थापक नेताले कांग्रेस पार्टी खोल्नु हुन्नथ्यो ।

Global Ime bank

कांग्रेसको प्रष्ट कुरा छ, प्रतिनिधिसभा विघटन असंवैधानिक कदम हो । अब अदालतले के गर्छ ? अदालतले जान्ने कुरा हो । तर, यति कुरा कांग्रेसले प्रष्ट भन्न पाउँछ । हामीले पढ्ने संविधान र ‘श्रीमान्’ले पढ्ने संविधान एउटै संविधान हो । जुन संविधान हामीले लेख्यौँ, त्यो संविधान पढेर प्रधानमन्त्रीले गर्नुभएको यो कदम असंवैधानिक हो भनेर भन्यौँ । हामीलाई विश्वास छ, सर्वोच्च अदालतको श्रीमान्ले पढ्ने पनि त्यही संविधान हो ।

नेपालमा केपी ओलीले भन्नुभएकोजस्तो सेटिङको शासन छैन । संविधानको शासन छ । संविधानको शासन भएको ठाउँमा श्रीमान्हरुले पनि दायाँबायाँ केही गर्न पाउनु हुन्न, गर्नु हुन्न भन्ने हाम्रो विश्वास हो । अदालत स्वतन्त्र छ, अदालत स्वछन्द छैन । अदालत स्वेच्छाचारी हुन पाउँदैन । अदालतले सर्वोच्च भन्ने पद प्राप्त गरेको संविधानमा लेखेर होइन, आफ्नो भूमिकाबाट हो । पञ्चायतको कालरात्रिमा पनि सर्वोच्च अदालत जनताको पक्षमा उभियो । हाम्रै नेता शेरबहादुर देउवा, प्रकाशमान सिंहलाई थुन्न राजाले शाही आयोग बनाउँदै गर्दा यही सर्वोच्च अदालत हो, जसले शाही आयोग खारेज गरेर राजाको मुखमा राजाको निर्णय फर्काइदिएको हो । यो सर्वोच्च अदालतबाट आज हामी त्यही कुराको अपेक्षा गरिरहेका छौँ ।

सर्वोच्च अदालतले त्यो सर्वोच्च हुने कुराको मान, प्रतिष्ठा राख्छ । प्रधानमन्त्रीलाई साथ दिनुभएको राष्ट्रपतिले आफ्नो संस्थाको मर्यादा राख्नसक्नु भएन । आज हामी कसको मन दुखेको छैन ? हामी कसैलाई पनि राष्ट्रपतिका बारेमा यसरी चर्चा गर्ने रहर होइन । राष्ट्रपति प्रथम नागरिक हो । राष्ट्रपति कुनै पार्टी, समूहको हुँदैन । राष्ट्रपतिले संस्थाको मर्यादा राख्न नसक्दा आज गणतन्त्रका लागि लडेका हामीलाई दुःख लागेको छ । शिर निहुरिएको छ । हामी अदालतको सर्वोच्चताका लागि लडेका मानिसहरु अदालतको मानका बारेमा चिन्तित छौँ । 

जुन दिन उहाँहरुले नेकपा भन्ने पार्टी बनाउनुभयो । त्यही दिनबाट नेपालमा ओलीतन्त्रको जग हालिएको हो । हामी यत्रो संसद्मा लड्यौँ । राष्ट्रपतिका बारेमा चर्चा भएको छ । राष्ट्रपतिले एकपछि अर्को संविधानका धाराहरुको उल्लंघन गर्नुभयो । राष्ट्रपति रानी बन्न खोज्नुभयो । हामी कतिपटक बोल्यौँ । तपाईंहरु (माधव नेपाल–प्रचण्ड) कहाँ हुनुहुन्थ्यो ? संसद्मा सभामुख मात्र हुनुहुन्छ ।

उपसभामुख अर्को पार्टीको रोज्नुपर्ने संविधानको व्यवस्था छ । तपाईंहरुले ढाकछोप नगर्नुस् । तपाईंहरुको पार्टी एक भइसक्यो, उपसभामुख छोड्नुस् भन्दै गर्दा तपाईंहरुले कति रकमी कुरा गर्नुभयो ? हिजो अदालत नचाउनुस् भनेको होइन ? आज अदालतले के गर्ला भनेर रुनुपरेको छ । हिजो निर्वाचन आयोगमा पार्टीको कार्यकर्ता नियुक्त नगरौँ भनेको होइन ? बोल्नुभयो तपाईं ? आज मसँग बहुमत हुँदै गर्दा पनि निर्वाचन आयोगले मेरो कुरा सुनेन भनेर रुँदै बस्नुपरेको छ । हामीले यी कुरा भन्दै गर्दा पुष्पकमल दाहाल तपाईं कहाँ हुनुहुन्थ्यो ? मनको लड्डु खाएर बस्नुभएको थियो ।

किनकि यो दुईवटा पाइलट भएको प्लेन केही समयपछि म एक्लैले चलाउने हो भन्ने लागेको थियो । कामरेड माधव नेपाललाई के लागिरहेको थियो ? अब यस्तो समय आउनेछ, जुन बेला सबै पूर्वएमाले एक ठाउँमा आउनेछन् र त्यसपछि यो पार्टी मेरो हुनेछ । तपाईंहरुको त्यही लालचले साढे दुई वर्षसम्म कांग्रेस एक्लै लड्यो ।

संसद्मा लड्यो, सडकमा लड्यो । कांग्रेसले त वैशाख १७ गते निष्कर्ष निकालेर प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिकता गुमाइसकेका छन् भनेर बोलेको हो । उहाँलाई फेर्नुस् भनेको । मैले त तीन वर्षअघि संसद्को रोष्ट्रममा उभिएर भनेको प्रधानमन्त्री ओलीलाई चेक गर्नुहोला । प्रधानमन्त्री ओलीभित्र तानाशाह बन्ने महत्वाकांक्षा छ भनेर मैले भन्दै गर्दा संसद्मा मलाई उडाएको सम्झन्छु । संसद्मा प्रधानमन्त्रीले भर्खर एउटा ‘नानी सांसद्’ले आएर मेराबारेमा धेरै कुरा भन्नुभयो, घर गएर राम्रोसँग सुत्नुस्, चिन्ता गर्नुपर्दैन भन्दै गर्दा टेबल ठोक्ने बेलामा को को हुनुहुन्थ्यो ? स्मरण गर्नुस् । यो हाम्रो विषय होइन । मैले प्रसंगवश मात्र कोट्याएँ ।

यो बेलामा संविधान मिचिएको छ । ठिक ठाउँमा ल्याउने हाम्रो विषय हो । संविधानलाई ठिक ठाउँमा ल्याउने भनेको संसद् पुनःस्थापना गर्ने हो । संसद् पुनःस्थापित भएपछि त्यसले जाने फेरि चुनावमै हो । चिन्ता नगर्नुस्, जाने चुनावमै हो । चुनाव आउँछ । तर, सही बाटोबाट आउँछ । प्रत्येक कांग्रेस कार्यकर्ताले चुनावको तयारी नगर्ने भनेको होइन, गर्नुस् ।

सही तरिकाबाट आउने चुनावको प्रतीक्षा गर्नुस् । जनतामा गएर भन्नुस्, देश भड्खालोमा जाने अवस्थामा नेपाल कम्युनिस्ट पार्टीले पु¥याएको छ । तर, कांग्रेस जिउँदै छ, कांग्रेसले सम्हाल्छ । संविधानलाई ट्रयाकमा ल्याउँछौँ । संसद् पुनःस्थापना गर्छौं । त्यो संसद्बाट सम्हालेर देशलाई चुनावमा लैजान्छौँ । चुनाव जितेर आउँछौँ । जितेर आएपछि आम जनताको सवाल छ, बेरोजगारी, स्वास्थ्य, शिक्षा यी तमाम मुद्दा छन् ।

त्यसको हल लिएर कांग्रेस आउँछ भनेर जनतालाई आश्वस्त गर्नुस् । सूर्य चुनाव चिह्न कता जान्छ, चिन्ता नगर्नुस् । एकातिर सूर्य ढाक्न बादल उभिनुभएको छ, अर्कोतिर प्रचण्ड गर्मी पहिल्यै भएको ठाउँमा सूर्य जाँदै गर्दा गर्मी झन् बढ्नेवाला छ । जता सूर्य गए पनि जनता दौडेर योपटक रुखको छहारीमा आउने हो । तर, हामी ठिक ठाउँमा उभिएर सही निर्णय गरेर बस्नुपर्छ ।

जनतालाई भरोसा दिएर बस्यौँ भने त्यही तागतले भोलिको मत पनि आर्जन गर्छ । यही नै आजको आवश्यकता हो । 
(कांग्रेसले शनिबार मेलम्चीमा आयोजना गरेको कार्यक्रममा थापाले व्यक्त गरेको विचारको अंश)
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC