site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गुमनाम सुवर्ण शमशेर

तीन महिनाअघिको कुरा हो । पूर्वराज्यमन्त्री उदयशमशेर राणाले फोनमा भने – जगत जी कोभिडको उपयोग गरेर तपाईंको पुस्तक ‘पहिलो संसद् बीपी महेन्द्र टकराव’ पढ्ने मौका पाएँ । अंग्रेजी पढ्न सहज लाग्छ । नेपालीमा भएकाले तपाईंको किताब पल्टाएको थिइन । अहिले पढेँ । रोचक लाग्यो । पहिलो संसद्मा विपक्षी दलको नेता रहनुभएका मेरा ठूलो बुवा भरतशमशेरका धेरै सूचना तपाईंले पाउनु भएन छ । त्यति बेलाको राजनीतिका जानकार अर्का ठूला बा जगदीश शमशेर जीवित रहनु भएन । हाम्रो परिवारका त्यो पुस्तामा मेरो बुवा सागर शमशेरमात्र बाँकी हुनुहुन्छ, उहाँको अन्तर्वार्ता गर्नुस् । 

उदय जीसँगको यही संवाद पछि सानेपास्थित राणा निवास गएर सागर शमशेरसँग लामो अन्तर्वार्ता लिएँ । 

राणाले रोचक ढंगले सुनाए – हामी बबर महलमा बस्थ्यौँ । मेरो हजुरबुवा बबरशमशेर २००७ ताका प्रधानमन्त्रीको रोलक्रममा हुनुहुन्थ्यो । त्यही बेला नेपाली कांग्रेसको नेतृत्वमा राणा विरोधी आन्दोलन सुरु भयो । हामी बबर महलमा थियाैँ । केटाकेटी भएकाले सिंहदरबार जानु पर्दैनथ्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

राणा परिवारका केटाकेटीले १६ वर्ष पुगेपछि मात्र पाउमा दाम राखेर सिंहदरबारभित्र श्री ३ को दर्शन पाउँथे । घरमा बाजे र बुवाहरुबीच खासखुस कुरा हुन्थ्यो । कांग्रेसको शक्ति कति छ भन्ने विषयमा चर्चा चल्थ्यो । हामी केटाकेटी भएकाले हजुरबा र बाहरु कांग्रेस र उसको आन्दोलन बारे हाम्राअघि खुलेर कुरा गर्दैनथे । तिनताका राणा परिवारमा कांग्रेसीलाई दानव भनेर चिनिन्थ्यो । 

 

Global Ime bank

 

यो त्यही समयको कुरा हो जति बेला कांग्रेसको मुक्ति सेनाले  वीरगन्ज, विराटनगरलगायत देशका प्रमुख भागमा सशस्त्र आक्रमण गरेपछि सागरले हेर्दाहेर्दै राणा वंशको जहानियाँ शासन सत्ता गयो । अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरको अध्यक्षतामा कांग्रेससहितको संयुक्त सरकार बन्यो । सागरका हजुरबा बबर शमशेर रक्षामन्त्री भए । संयुक्त सरकार भएकाले राणाबाट प्रधानमन्त्री भएपछि कांग्रेसका नेता गृहमन्त्री विश्वेश्वरप्रसाद कोइराला स्वाभाविकरुपमा दोस्रो वरीयताको मन्त्रीका दाबेदार थिए । तर प्रधानमन्त्रीको रोलक्रममा रहेका बबरशमशेरलाई बीपीपछिको मर्यादाक्रममा बस्न सकस भयो ।  

अनि मन्त्रिपरिषद्को एउटा बैठकमा भाग लिएर राजीनामा दिने सर्तमा उनी दोस्रो वरीयताको मन्त्री बने । एउटा चार्टर विमानमा सामान र परिवारका सबै सदस्यलाई राखेर बबर शमशेरले देश छोडिदिए । 

सागरले सुनाए – मलाई अझै याद छ हामी जहाजको भुइँमा बसेर उडेका थियौँ । अनि भारतमै बस्न थाल्याैँ । 

त्यसको केही समयपछि गृहमन्त्री बीपी बम्बै आए सागरका हजुरबा बबर शमशेरलाई भेट्न । बीपीलाई आक्रमण (खुकुरी दल काण्ड) गरेको आरोपमा सागरका दाजु भरतशमशेर जेलमा थिए । त्यति बेलासम्म बीपी मानिस हैन राक्षस हो भन्ने परेको थियो सागरसहित राणा परिवारका केटाकेटीलाई । सागरले लेखकलाई सुनाए – नेपाली कांग्रेस र त्यसका नेता कोइराला भनेपछि त हामी उनी कुनै राक्षसको रुप हो कि हाउ गुजी हो भन्ने सोच्थ्याैँ । उनलाई सशरीर त कहिल्यै देखेको पनि होइन ।

सागरले भने – मलाई त्यो दिन अझै याद छ बीपी टकटक हिडेरै हाम्रो घरको ठूलो हलमा छिर्नुभयो । बाजे माथि हुनुहुन्थ्यो । भित्र पस्दा उहाँको हसिलो अनुहार अझै सम्झन्छु । आमा हामी थियाैँ । एकातिर पुरुष, अर्कोतिर महिला । बीपी भित्र पस्नुभयो । पातलो अग्लो, कस्तो आकर्षक व्यक्तित्व बीपीको । म त अचम्मै भए । त्यस्तो राम्रो गोरो । हिसी भएको । यता हेरेर हाँस्ने । उता हेरेर हाँस्ने । राक्षस भनेको मान्छे त ? बीपीले मेरो आमालाई भन्नुभयो – रानी साहेब नमस्ते, अहिले तपाईंको छोरा जेलमा हुनुहुन्छ । राजनीतिमा यस्तो हुँदो रहेछ । तर, हजुरले चिन्ता गर्नु पर्दैन । म हुँदासम्म तपाईंका छोरालाई राम्रोसँग राख्छु । त्यसपछि बाजेलाई भेट्नुभयो । त्यसै दिनदेखि बीपीसँग म प्रभावित भएँ । पछि कांग्रेसमा लागेपछि मेरो आदर्श उहाँ नै हो । 

यसरी भारत गएका बबर शमशेर त्यसपछि यतै बस्ने गरी नेपाल फर्किएनन् ।

सागर शमशेरसँगको लामो अन्तर्वार्ता सकिएपछि उदयले भने – जगत जी तपाईंको किताबमा २०१५ सालको चुनाव गराउने प्रमुख निर्वाचन आयुक्त सुवर्ण शमशेरका बारेमा पनि अलिकति कम सूचना भएजस्तो लाग्यो । उहाँकी छोरी ज्योत्सना राणा थापा हुनुहुन्छ, भेट्नुस् केही नयाँ कुरा थाहा पाउनु हुन्छ कि ? 

हाम्रो टोली थापाको महाराजगन्ज बाँसबारीस्थित घरमा पुग्यो । तर, उनलाई पनि आफ्ना पिता बारेमा खासै जानकारी रहेनछ । थापाले भनिन् – म सानै थिएँ । त्यस बेलाका घटना खासै थाहा छैन । मेरा दाइलाई थाहा छ कि बोलाउँछु ।

एक घन्टा जति कुरेपछि उनका दाइ आइपुगे । धेरैजसो भारतमै बस्ने उनी भर्खरै काठमाडौं आएका रहेछन् । तर, तिनलाई पनि आफ्ना बुबाको बारेमा देशकै पहिलो संसदीय चुनाव गराउने प्रमुख निर्वाचन आयुक्त भन्नेबाहेक खासै थाहा रहेनछ ।  धेरैतिर फोन लगाएपछि उनले भने गृष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको राजनीतिक दर्पण’ पढ्नुस् बुबाका बारेमा थाहा हुन्छ । मैले भने – त्यसमा भएको देखिबाहेक अरु थप जानकारी पाइएला कि भन्ने अपेक्षा लिएर म यहाँ आएको हुँ । 

दिनभरको प्रयासमा सुवर्ण शमशेरको वैयक्तिक विवरण (बायोडाटा) र केही तस्बिरबाहेक सूचना पाउन सकिन । बेलुका घर आएपछि सामाजिक सञ्जालमा एउटा तस्बिर पोस्ट गरेँ । त्यसमा लेखेको थिएँ – यी मान्छे को होलान् ? खोजी गर्दै छु । कृपया यिनका बारेमा जानकारी भए पाऊँ । आभारी हुनेछु । 

 

 

साँझ त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र विभागका एक प्राध्यापकले सोधे – हैन तपाईंले राखेको तस्बिर कसको हो ? मैले भने – सुवर्णशमशेर राणाको । मैले सोधेँ – चिन्नुहुन्छ ? उनले तत्काल जवाफ दिए – किन नचिन्नु ? मैले पढाइ रहेको छु । सुवर्ण उनै व्यक्ति हुन् जसले २००७ सालको क्रान्तिका लागि आफ्नो धेरै सम्पत्ति खर्चिए । नेपाली कांग्रेसका संस्थापक नेता, उनैको अध्यक्षतामा गठित सरकारले २०१५ सालमा पहिलो संसदीय चुनाव गरायो । दुई तिहाइबढी बहुमत पाएर बीपी पहिलो जननिर्वाचित प्रधानमन्त्री हुनुभयो । सुवर्ण आफैँ तीन तीन क्षेत्रमा विजयी भए । सुवर्ण प्रमुख निर्वाचन आयुक्त र त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति समेत थिए । 

ती प्राध्यापकको कुरा सुनेर चकित भएँ । उनी भन्दै थिए – वर्षौंदेखि म सुवर्ण बारे पढाइ रहेको छु ।

मैले भने – गुरु तपाईँले त गलत पढाइरहनु भएको रहेछ नि । यी दुवै सुवर्ण शमशेर एउटै कालखण्डका ऐतिहासिक जिम्मेवारी वहन गरेका तर अलगअलग व्यक्ति हुन् । एक जना कांग्रेस नेता, चुनाव गराउने सरकारमा प्रमुख, त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति हुन् भने अर्का चाहिँ प्रमुख निर्वाचन आयुक्त । नेपालमा प्रजातन्त्रको जग बलियो बनाउन दुवै सुवर्णको ऐतिहासिक भूमिका छ । 

कांग्रेस नेता सुवर्ण भीम शमशेरका सन्तान हुन् भने प्रथम प्रमुख निर्वाचन आयुक्त सुवर्ण वीरशमशेरका ।

मैले यति भनेपछि ती प्राध्यापकले भने – लौन गुरु यो कुरा त तपाईँले कहीँ न कहीँ लेखिदिनु पर्‍यो । अहिले सच्याउन सकिएन भने इतिहास मरेर जानेछ । हामीजस्तो मास्टरले गलत पढाइरहने छौँ । 

भोलिपल्ट एमए प्रथम सेमेस्टरमा पोलिटिकल कम्युनिकेसन पढ्ने विद्यार्थीलाई अनलाइन कक्षामा मैले सोधेँ – तिमीहरुले पढिरहेको त्रिभुवन विश्वविद्यालयका पहिलो उपकुलपति को हुन् भन त । धेरैले थाहा नभएको बताए । केहीले कुनै नाम लिए । अनि मैले भने – ल गुगल गरेर भन । तिनले पत्ता लगाउनै सकेनन् । 

देशकै ठूलो विश्वविद्यालयमा एमए पढ्ने विद्यार्थीले गुगल गर्दासमेत आफ्ना प्रथम उपकुलपति बारे थाहा नपाउनु र त्यही विश्वविद्यालयका प्राध्यापकले समेत अर्का सुवर्ण शमशेर बारे वर्षाैँसम्म गलत पढाइरहनु विडम्बना नै हो । 

यस घटनाले डेढ वर्षअघि क्यालिफोर्निया युनिभर्सिटी बर्कलेका प्राध्यापक अङ्गना चटर्जीले भनेको कुरा सम्झायो । हामी स्टान्डफर्ड विश्वविद्यालयको डिजिटल लाईब्रेरी (संसारकै ठूलो)मा थियाैँ । त्यहाँ हामीलाई विश्वको डिजिटल नक्सा देखाइयो । तर, भारत र चीनको सीमामा जति जुम गर्दा पनि नेपाल भने देखिएन । हामीले चकित भएर सोधेका थियाैँ – खै त हाम्रो देश नेपाल ? सुरुमा त उनीहरु पनि छक्क परे । पछि प्राध्यापक चटर्जीले भनिन् – हेर यो भौगोलिक नक्सा होइन । प्राज्ञिक नक्सा हो । हाम्रो विश्वविद्यालयको जानकारीमा तिम्रो देशले अध्ययन अनुसन्धानको कामलाई प्राथमिकतामा राखेको भन्ने देखिएन । त्यसैले नेपालको नक्सा यसमा नपरेको हो ।

तिमीहरु अनुसन्धान गर्दै जाऊ । हामी नेपालको नक्सा समावेश गर्छौँ । सुवर्णको प्रसंगले महसुस गराएको छ – अनुसन्धानका क्षेत्रमा हामी कहाँ रहेछौँ ? 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १८, २०७७  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC