विराटनगर । साँघुरा सडक फराकिला बनेका छन् । केही सडक पूरा भई सञ्चालनमा आइसकेका छन् । कतिपय निर्माणकै चरणमा छन् । टिनका छानाले बनेका दोमल्ले घरको ठाउँमा बजारभित्र अग्ला पक्की घर ठडिँदै छन् । बैंक तथा वित्तीय संस्थाका नयाँ कार्यालय खुलिरहेका छन् । व्यापारिक चहलपहल पनि उत्तिकै बाक्लिँदो छ ।
बहुप्रतिक्षित हुलाकी मार्गअन्तर्गतको चारलेन सडक विस्तारको कामले गति लिएको छ । भित्री बस्तीसम्म पुग्ने सडकको काम पनि धमाधम अघि बढेको छ । भारत सीमाबाट उत्तर पर्ने पूर्वपश्चिम राजमार्गको कानेपोखरी जोड्ने लिंकरोड कालोपत्रे भएर सञ्चालनमा आइसकेको छ । चोप्राहा भन्सार नाकाको स्तरोन्नति र जिल्ला अस्पताल प्रदेश सरकारले जिम्मा लिने विषयले स्थानीयमा झनै उत्साह थपिएको छ ।
वर्तमानको समग्र वस्तुस्थिति झल्काउने अरु थुप्रै दीर्घकालीन महत्त्वका परियोजनाले मोरङको रंगेली पुनर्निर्माण हुँदै छ भन्ने प्रस्ट संकेत दिएको छ । सय वर्षअघि रंगेलीबाट विराटनगर जिल्ला सदरमुकाम सरेपछि यहाँको चमक हराएको थियो । तर, सय वर्षपछि फेरि रंगेली उठ्ने र पहिलेकै अवस्थामा फर्कने जमर्को गर्दै छ ।
स्थानीय व्यवसायी मनोज अग्रवालका अनुसार सडकहरू हाइवेसँग जोडिँदै छन् । चोप्राहा भन्सार ‘अपग्रेड’ गर्ने सरकारको तयारी छ । यसले पनि रंगेलीको विकास थप टेवा पुग्ने देखिएको छ । “उद्योग कलकारखानाको माग र आवश्यकतासँगै रोजगारी सिर्जना हुने सम्भावन चुलिए गएको छ,” अग्रवाल भन्छन्, “अब रंगेली पुनर्निर्माणको चरणमा पुगेको छ । हिजो उडेका रंगेलीका रंगहरू फेरि जोडिँदै छन् ।” रंगेली कुनै बेला झापा, मोरङ र सुनसरीको केन्द्र थियो । तर, राजनीतिक फेरबदलले बजार खस्किन सुरु भयो । जिल्ला सदरमुकाम विराटनगर सारिएपछि बसाइँ हिंड्ने बढे । पूर्वपश्चिम राजमार्ग बनेपछि त रंगेलीको नूर नै गिर्यो । उद्योग उठे । व्यापार र व्यवसाय पनि मास्तिरै सरे । खस्किने क्रमले रंगेली बजार सुनसान र निर्जन जस्तै बन्न पुग्यो ।
स्थानीय बुद्धिजीवी अभिषेक अधिकारी हिजोको त्यो साख फेरि फर्कने क्रम सुरु भएको विश्लेषण गर्दै भन्छन्, “कुनैबेला सदरमुकाम रहेको ठाउँ यतिसारो हेपिएला भन्ने सायदै कसैले कल्पना गरेको हुँदो हो । केही समय पुरानो र अपहेलित रुपमै रहन गयो । व्यापार व्यवसाय उठेर गयो । मानिस उठेर गए । चरम निराशा छायो । तर, अब त्यो दौर सकिएको छ । रंगेली फेरि उठ्दै छ ।” अधिकारीको बुझाइमा नयाँ संविधान घोषणा र नयाँ शासन व्यवस्थाको थिति बसेसँगै मालपोत फर्केर आयो अहिले कारोबार गर्न मानिसहरू आउन थालेका छन् । चहलपहल सुरु भएको छ । रंगेली कानेपोखरीको बाटो पूरा हुनसाथ बाहिरी सुन्दरता नभएको रंगेलीमा नयाँ निर्माण सुरु भएको छ ।
“ए ! अब रंगेली बन्न-बन्न थालेछ भन्ने सन्देश गएको छ । गाउँबस्तीबाट विराटनगर र पथरी बसाइँ सरेर जानेहरू यतै रोकिएका छन्,” अधिकारी भन्छन्, “अब केही प्रादेशिक कार्यालय रंगेली आइदिए हुने थियो भन्ने नगरवासीको चाहना छ । सडक सन्जाल पूरा भए पहाडी क्षेत्रका मानिस आउन सहज हुनेछ । बाटोघाटोले अब प्रदेश राजधानीनजिकै भएको छ । भारतीय सीमानाबाट पूर्वपश्चिम राजमार्ग पनि नजिकिएको छ ।”
स्थानीय राजनीतिकर्मी देवमणि कटुवाल स्थानीय निकायको चुनाव भएपछि रंगेलीलाई हेर्ने दृष्टिकोण फेरिएको र विकास निर्माणमा पनि परिवर्तन आएको देख्छन् । स्थानीय विकासको आवश्यकता जहाँ चाहिएको हो त्यहींबाट पूरा हुने अवस्था आएको विश्लेषण गर्दै कटुवालले भने, “फड्को मराई हिजोकै अवस्थामा पुग्ने गरी गति लिएको छ । अब केही गरौं, व्यापार थालौं भन्ने पनि बढ्न थालेका छन् । यतै केही गरे गरिखान सकिन्छ भन्नेका लागि सम्भावना थपिने क्रम छ ।”
महानगर, नगरपालिका र ग्रामीण क्षेत्र जोड्ने बजार भएकाले पनि अब रंगेली फेरि जुर्मुराउने देखिएको र स्थानीय रुपमा रंगेलीले विगतमा गुमाएको पहिचान फेरि आउने सम्भावना बढेकोकटुवालले बताए ।
राजनीतिकर्मी मोदराज घिमिरेले रंगेली राजनीतिक र बहुसांस्कृतिक रुपले पनि महत्त्वको क्षेत्र भएको बताउँदै भन्छन्, “अब रंगेलीले फेरि नयाँ पहिचान स्थापित गरेर अघि बढ्ने सम्भावना देखिएको छ ।” रंगेलीका मेयर दिलीप अग्रवाल स्थानीय रुपमा चालिएका विकासका गतिविधिले यो ठाउँको कायाकल्प फेरिन पुगेको दाबी गर्छन् । भन्छन्, “स्थानीय र केन्द्र सरकारसमेत प्रयासमा नयाँ रंगेली बनाउन सुरु गरिएको छ ।” कोरोना महामारीका बेला देशमै पहिलोपटक स्थानीय तहल आफैंले आइसोलेसन सञ्चालन गर्ने उदाहारणसमेत रंगेलीले पेस गरेको अग्रवालले बताए ।