





टोकियो । जापानमा ‘कोठा छोड्नुपर्ने डर’ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको शनिबार स्थानीय सञ्चारमाध्यमहरूले बताएका छन् ।
आफ्नी आमाको मृत्यु भएको थाहा भएपछि आफूले घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएकी छन् ।
प्रहरीले एएफपीसँग भन्यो, ‘‘४८ वर्षीया युमि योशिनोलाई आफ्नी आमाको मृत शरीरलाई अन्तिम संस्कार गरी व्यवस्थापन गर्नुको सट्टा फ्रिजमा लुकाएर राखेको र पछिल्लो केही समय त्यहाँबाट भागेको आरोपमा पक्राउ गरिएको छ ।’’
महिलाको दाबीअनुसार त्यो मृत शरीर एक दशक पहिलेदेखि टोकियोको एक अपार्टमेन्टमा फ्रिजभित्र राखिएको थियो । योशिनोलाई शुक्रबार टोकियोनजिकैको चिबा सहरको एउटा होटलमा पक्राउ गरिएको बताइएको छ ।
प्रहरी स्रोतलाई उद्धृत गरी जापानी सञ्चारमाध्यमहरूले लेखेका छन्, ‘‘योशिमोले आफ्नो बयानमा फ्रिजमा महिलालाई राखेको र उनी आफ्नै आमा भएको बताएकी छन् । आफ्नी आमालाई १० वर्षपहिले मरेको भेटेपछि उनले लासलाई फ्रिजभित्र लुकाइन् । किनकि, उनले यो घटना बाहिर ल्याएर आफू बसिरहेको घर छोड्न चाहँदैनथिन् ।’’

मृत्यु हुँदा ती महिलाको उमेर ६० वर्ष रहेको हुनसक्ने र महानगरीय ‘हाउजिङ कम्प्लेक्स’मा उनकै नाममा कोठाहरू भाडामा लिएको पाइएको क्योदो न्यूज एजेन्सीले समाचारमा लेखेको छ । शव फ्रिजरमा फिट गर्न झुकाइएको अवस्थामा राखिएको अवस्थामा एक कोठामा भेटिएको प्रहरीलाई उद्धृत गरी जीजी प्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ ।
समाचारहरूमा जनाइएअनुसार योशिनोलाई भाडा भुक्तानी नगरेपछि जनवरीको मध्यतिर अपार्टमेन्ट छोड्न भनिएको थियो । त्यसपछि कोठाको सरसफाई गर्ने एक व्यक्तिले ती महिलाको कोठामा फ्रिजभित्र लुकाइएको शव फेला पारेका थिए ।
शवको परीक्षण (अटोप्सी)बाट महिलाको मृत्युको कारण र मृत्यु भएको समय पत्ता नलागेको तर ती महिलाको शरीरमा देखिनेखालको चोटहरू नभेटिएको उल्लेख गरिएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस/एएफपी
तस्बिरः एएफपी/गेट्टी इमेजेज् ।





