ज्योतिषले उसको कुण्डली हेर्दै भन्यो– “तपाईंको ठूलो राजयोग रहेछ । अलिकति जपतप गर्नु भयो भने यो देशको प्रधानमन्त्री बन्न सक्नुहुनेछ ।”
ज्योतिषको कुरा सुनेर ऊ दङ्ग पर्दै घर फर्कियो र रातभरी सोच्न थाल्यो । श्रीमान् छट्पटिएको देखेर श्रीमतीले जिज्ञासापूर्वक सोधिन्– “होइन तपाईंलाई के भयो ? यता कोल्टे उता कोल्टे फेर्दै रात छिप्पिइसक्यो । न निदाएर !”
श्रीमानले ज्योतिषीले भनेको कुरा श्रीमतीलाई सुनायो ।
श्रीमतीले भनिन्, “मर्ने बेलामा हरियो काँक्रो ! के गर्नु प्रधानमन्त्री भएर । यत्रो सम्पत्ति जोडिसक्नुभएको छ । बेकारको टाउको किन दुखाउनुहुन्छ । भो...भो..., सुत्नुस् । मलाई विश्वास लाग्दैन ।”
बिहान उठेर ऊ जप ध्यान गर्दै रेडियो सुन्दै थियो । रेडियोबाट एउटा विज्ञापन बजिरहेको थियो–
“कान्तिपुर नगरीमा एकजना योग्य प्रधानमन्त्रीको आवश्यक भएको हुनाले इच्छुक उमेदवारले प्रतियोगितामा भाग लिन सहभागी हुनुहोला ।”
उसको अनुहारमा अथाह खुसी चम्कियो । ऊ हतार–हतार दौरा, सुरुवाल र टोपी लगाएर प्रतियोगिता स्थलतर्फ हान्नियो ।
त्यहाँ ऊजस्तै धेरै वृद्धहरू प्रतियोगितामा सहभागी हुन आएको देखेर दंग पर्यो ।
त्यहाँ एउटा गजबको प्रधानमन्त्री बस्ने कुर्सी राखिएको थियो । तर त्यहाँ लेखिएको थियो– “जो इमानदार, नैतिकवान् छैनन्, जो भ्रष्ट आचरणबाट गुज्रिएका छन्, तिनीहरू कुर्सीमा बस्नेबित्तिकै त्यसको तापले जल्नेछन् ।”
ऊ नराम्रोसँग झस्कियो ! सोच्न थाल्यो– ओहो ! यो त अग्निपरीक्षा पो रहेछ । जिन्दगीलाई नै दाउमा राखेर भो चाहिँदैन कुर्सी । बरु तीर्थतिर गएर पाप पखालेर आउँछु । यति सोच्दै ऊ घरतिर फर्कियो !