काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (शनिबार) उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले प्रतिस्पर्धा गर्दै छन् ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल ९ बजे सुरु हुनेछ । आजको खेलमा दुबै टोली उपाधिका लागि मैदान उत्रनेछन् ।
चौथोपटक फाइनलमा पुगेको आर्मी क्लब योपटक भने उपाधि आफ्नो पक्षमा पार्ने योजनामा छ । आर्मीले पहिलो सिजन नेपाल पुलिस क्लबसँग उपाधि बाँडेको थियो । वर्षाका कारण खेल स्थगित हुँदा आर्मीले उपाधि पुलिससँग बाँडेको थियो ।
फाइनलअघि शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा दुवै टिमका कप्तानले उपाधिका लागि खेल्ने बताए । एपीएफ यो सिजनको प्रतियोगितामा अपराजित टोली हो । समूह चरणको चार खेल र एक सेमिफाइनलको खेलमा एपीएफ अपराजित रह्यो ।
सेमिफाइनलमा विभागीय टोली एपीएपm नेपाल पुलिसलाई पराजित गर्दै एपीएफले फाइनमा स्थान बनाएको थियो । यता, आर्मीले भने सेमिफाइनलमा वाग्मती प्रदेशलाई पाराजित गरेको थियो । एपीएफका कप्तान शरद भेषावकर र आर्मीका कप्तान विनोद भण्डारी दुवै उपाधि जित्नेमा आफूलाई विश्वस्त राख्दछन् । आर्मीका कप्तान विनोदले चौथोपटक उपाधिका लागि फाइनलमा मैदान प्रवेश गर्दा आफूहरूको नजर उपाधिमा रहेको बताए ।
“यसपटक पनि फाइनलमा प्रवेश गरेका छौं । उपाधिका लागि हामीले सकेसम्मको मिहिनेत गर्नेछौं । विभागीय टोली भएकाले उपाधिका लागि धेरै चुनौती त हुन्छ नै । योपटकको उपाधिलाई भने हातबाट जान दिने छैनौं,” आर्मीका कप्तान विनोदले भने ।
यता एपीएफका कप्तान शरद भेषावकरले पनि आफूहरूले सकेसम्म राम्रो प्रदर्शन गर्ने बताए । उपाधिका लागिभन्दा पनि खेल कुन तरिकाले गर्दा राम्रो बनाउन सकिन्छ भन्ने कुरा आफूहरूको पहिलो प्रथामिकताको विषय रहेको बताए ।
“फाइनल पुग्नु सबै टोलीका लागि राम्रो कुरा हो । हामी पनि खुसी छौं । फाइनलमा आफूहरूलाई उत्कृष्ट बनाउने योजना रहेको छ । राम्रो खेल प्रदर्शन गर्न सकेमा हामी सफल अवश्य हुनेछौं । अहिले टिमका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् त्यसैमा हाम्रो लागि राम्रो कुरा हो,” शरदले भने ।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ । त्यस्तै उपविजेता टोलीले पाँच लाख पाउनेछ । प्रतियोगिताको प्लेयर अफ दि सिरिजले ५० हजार प्राप्त गर्नेछ ।