site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कहाँ चुक्यो कांग्रेस ?

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको परिणाम करिब करिब आइसकेको छ । परिणामअनुसार नेकपा (एमाले) सबैभन्दा ठूलो दलका रूपमा स्थानीय तहमा स्थापित भएको छ । नेपाली कांग्रेसले यो परिणामलाई स्वीकार गरे पनि अनपेक्षित परिणामका रुपमा लिएको देखिन्छ । नेपाली कांग्रेसले किन अप्रत्याशित पराजय भोग्यो भन्ने प्रश्नको जवाफ हुन्छ – कम मत पाएर । कांग्रेसले अब यही बिन्दुबाट आफ्नो समीक्षा थाल्नु पर्छ । किन कांग्रेसलाई कम मत आयो ?
 

कुनै पनि घटनाक्रमलाई बिश्लेषण गर्दा ऐतिहासिक आधारमा समेत हेर्नुपर्ने हुन्छ । कांग्रेसको पराजयको कारण हेर्ने हो भने एक प्रकारले स्वाभाविक पनि देखिन्छ । किनभने नेपालको सबै निर्वाचनमा निराशाको मत निर्णायक हुने गरेको छ । अझ यसलाई सजिलोसँग बुझ्नका लागि हेरौ, २०१५ सालमा दुईतिहाइ बहुमत ल्याएको कांग्रेसको सत्तामात्र हैन व्यबस्था नै १८ महिनापछि अपदस्थ हुँदा पनि नागरिक स्तरबाट त्यसको खासै प्रतिबाद भएन ।

विसं २०३७ सालको जनमत संग्रहमा राजाले पञ्चायत नजोगिने देखेर ‘सुधारिएको पञ्चायत’को पक्षमा आफूलाई उभ्याए । विसं ०४८ र ०४९ मा कांग्रेस अत्यधिक ठूलो दल रहेको अबस्थामा २०५१ को मध्यावधिमा दोस्रो हुन पुग्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछि नेकपा (एमाले)ले सरकार चालायो । अहिलेसम्म चुनावी नारा बनाएको वृद्धभत्ता बाँढ्ने एमालेको सरकार ९ महिनामा ढल्यो तर ऊसमेतको संयुक्त सरकारले २०५६ मा चुनाव गरायो । वृद्धभत्ताको नारा भजेन र कांग्रेसले संसद्मा स्पष्ट बहुमत ल्यायो । दलहरुप्रति अविश्वास बढिरहेको समयमा उदाएका राजा पनि टिक्न सकेनन् । उनको राजसंस्था जोगाइदिन कोही पनि सडकमा आएन । संसदको एउटा घोषणाले उनी नारायणहिटी छाड्न बाध्य भए । विसं २०६४को चुनावपछि अब कांग्रेस र एमालेले आफ्नो साख जोगाउन वर्षौ कुर्नुपर्छ भन्ने चर्चा चल्यो । तर २०७० मा माओवादी पहिलोबाट तेस्रो भयो, कांग्रेसको दिन फक्र्यो । त्यस्तैै अहिले २०७४ मा एमाले उदाएको हो । 
 

उल्लेखित घटनाक्रमले के देखाउँछ भने नेपाली मतदाताले चाडो परिवर्तन चाहँदा रहेछन् । रोग, भोक, गरिबी, अशिक्षामा केही सुधार आए पनि नयाँ समस्याका रुपमा थपिएका बेरोजगारी, अस्तव्यस्तता, राज्यको व्यबस्थापकीय क्षमतामा देखिने ह्रास, भ्रष्टाचार, आत्मीयतामा प्रहार, भौगोलिक, जातीय साम्प्रदायिक भावनाको विकासजस्ता कुरावाट जनता दिक्क छन् । ‘अब अर्को दलवाट केही हुन्छ कि ?’ भन्ने सोंच मतदातामा सधै आइरहन्छ ।

Global Ime bank

तर, सुधारका लागि चमत्कारी नेतृत्वको उदय हुन सकिरहेको छैन । त्यसैले मतदाताले प्रत्येक चुनावमा विकल्पमा रोज्ने मानसिकता बोकेका हुनुपर्छ । यो नेपाली मतदाताको एउटा चरित्र झै बन्न पुगेको छ । विसं २०७० मा राम्रो जनमत पाएको कांग्रेसको फेरि विकल्प खोजे जनताले यो स्थानीय निर्वाचनमार्फत् । 
 

मतदाताको यसप्रकारको भावनालाई कांग्रेसले बुझ्न सकेन । कांग्रेसको हारको पहिलो कारण यही हो । उम्मेदवार चयन गर्दा कांग्रेसले जनताले बिकल्प भेटाएको, संभावना भएको नेतृत्व पाएको अनुभूति हुने प्रकारका पात्रलाई अगाडि उभ्याउन सकेन । जनस्तरमा एक प्रकारको बिश्वास जितेका पात्र प्रशस्तै नभएका होइनन्, तर गुटगत प्रतिस्पर्धाको मिचाइमा ती सबै संभावना च्यापिएको कांग्रेसले पत्तै पाएन ।

काठमाडौंमा विवेकशील र साझा पार्टीले पाएको मत उनीहरुप्रतिको आकर्षणभन्दा पनि मतदाताको विकल्पको खोजी थियो भन्ने कांग्रेसले बुझ्न चाहेन । भर्खरै सत्तारोहण गरेको कांग्रेसले सत्तामा जाने पात्रको छनोटका क्रममा पनि जनताले खोजेको विकल्पलाई सम्बोधन गर्न सकेन । कांग्रेसको विकल्प कांग्रेस नै हो अथवा कांग्रेसको विकल्प कांग्रेसभित्रैबाट संभव छ भन्ने भावनाको विकास गर्ने रणनीति कांग्रेसले अख्तियार गर्न चाहेन । त्यसैले ०७० सालमा आफैँले ठूलो बनाएको पार्टीलाई जनताले ०७४ सम्म आइपुग्दा फेरि सबक सिकाए । 
नेपाली कांग्रेसले सर्वप्रथम यो कुरालाई मनन् गरेरमात्र आफ्नो पराजयका अन्य आन्तरिक कारण खोज्न आबश्यक छ । ती कारणलाई बुँदागत रुपमा हेरौ :

 

१. उम्मेदवार छनोटमा ढिलाइ गरिँदा स्थानीय चुनाव लड्ने उमेदवारले मतदातालाई मुख देखाउनसमेत घरघर जान पाएनन् ।
 

२. लोकप्रिययता नाप्ने गलत आधार तयार गरियो । कांग्रेसभित्र हैन गुटभित्र लोकप्रिय खोजियो । पार्टीभित्रका इमानदार, गुटको साहाराविना नै व्यक्तित्व निर्माण गरेका पात्रहरुले टिकट वितरण प्रक्रियामा न्यायको अनुभूति गर्न सकेनन् । पार्टीले न्याय दिन नसक्ने हो त ? भन्ने एउटा डरलाग्दो भावनाको जागत हुनपुग्यो । त्यस्ले निराशा बढायो । निराश सिपाहीले युद्ध जित्न असंभव हुन्छ ।
 

३. रणनीति र कार्यक्रम रहित चुनावको सामना गर्नु पनि अर्को हारको कारण हो । यो स्थानीय चुनावको लागि पार्टीको कुनै पनि रणनीति देखिएन ।

त्यस्तै निर्वाचन परिचालन समितिले आयोजना गरेका प्रदेश स्तरीय सभाबाहेक पार्टीले कुनै पनि निर्वाचन केन्द्रित कार्यक्रम दिन सकेन । विसं २०७० सालको चुनावअगाडि गाँउ जागरण अभियान, प्रशिक्षण कार्यक्रम र विकास क्षेत्र स्तरीय सभा गरी चुनावी वातावरण बनाइएको थियो । गाँउ जागरण अभियानले हरेक सक्रिय सदस्यलाई क्रियाशील बनाएकोे थियो । यस पाली पार्टीले कार्यकर्ता परिचालन गर्ने कुनै पनि कार्यक्रम दिन सकेन । कुनै पनि भातृसंगठन चुनाव केन्द्रित अभियानका साथ परिचालित हुन सकेनन् ।  
 

४. सन्तुलनको अभाव पनि अर्को समस्या बन्यो । कांग्रेस पार्टीभित्र गुटका नाममा शक्ति केन्द्रहरु छन् भन्ने सर्वविदितै छ । चुनावमा होमिदा ती शक्तिकेन्द्रबीचमा सन्तुलन कायम गर्नुपर्ने थियो । त्यसो हुन सकेन । पेलेर आफ्ना मान्छे स्थापित गर्ने प्रतिस्पर्धामा गुटका नाइकेहरु लागे । कहीँ कसैले पेले, कहीँ कसैले । कतै पनि सन्तुलन भएन ।
 

५. उमेदवारका दावेदार बनेकालाई टिकट नपाएको अबस्थामा परिचालित गर्ने रणनीति बनाउन कांग्रेस देशभर विफल भयो । पराजयका पछाडि यो पनि महत्वपूर्ण कारण हो । 
 

६. पार्टीभित्र विकास हुँदैआएको बदलाको भावना पनि पराजयको महत्वपूर्ण कारण हो । आफूले टिकट नपाएपछि अर्कालाई किन हुन दिने ? भन्ने चरित्र बलियो बन्यो । नेतृत्वले यो चरित्रलाई  चिर्न सकेन । अनि त्यो बदलाको भावना अन्तरघातमा परिणत भयो । यही अन्तरघातका कारण कांग्रेसका गढ भनेर चिनिने जिल्ला र क्षेत्रसमेत ध्वस्त हुन पुगे । 
 

७. टिकटलाई नै पद मान्ने संस्कारले पनि कांग्रेस कार्यकर्ता ग्रसित छन् । पार्टीवाट टिकट लिने भनेको एकैपटक पदमा पुग्नु हो भन्ने सोचेको पाइन्छ ।

बिपक्षीसंँग चुनाव लड्नुपर्छ, त्यसका लागि आफूलाई सम्पूर्ण रुपमा तयार गर्नुपर्छ भन्ने कुरालाई महत्व नदिएरै टिकटको आकांक्षा राख्ने प्रवृत्तिले आकांक्षी धेरै हुनेगर्छन् । धेरै आकांक्षी हुने र एउटाले मात्र अवसर पाउने अबस्थामा हुनु पनि समस्या हो । 

कांग्रेसले पार्टी निर्णयभन्दा बाहिर जानेलाई कारबाही गर्ने कुरामा आफूलाई उदाररुपमा प्रस्तुत गर्दै आएको छ । यही कारण पार्टी अनुशासन विहीनहरुको भिडजस्तो पनि देखिन्छ । यही कारणले पार्टीको वचाउ गर्दै पार्टीले गरेका राम्रा कामको प्रचारसमेत गर्न सक्तैन । पार्टीको अर्को नेताको अस्तित्व स्वीकार गर्न पनि यही कारणले गाह्रो मान्ने गरेको देखिन्छ ।

उदाहरणको लागि हेर्न सक्छौ, एमालेले बृद्धभत्तालाई ०५१ सालदेखि भजाउँदै छ तर गएको सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मापाएको कांग्रेसले निःशुल्क स्वास्थ्य बिमा, निःशुल्क मुटुको उपचारजस्ता नागरिक स्वास्थ्यसँग जोडिएका बिषयलाई उठाउन सकेन । यो कुरा उठाउदा गगन थापाको प्रचार हुन्छ भन्ने मानसिकता कांग्रेसमा देखियो । यो सबै मानसिकता अराजनीतिक र व्यक्तिवादी प्रवृत्ति व्याप्त भएका कारण विकास भएको हो ।

यस्ता पवृत्तिको अन्त्य गर्न पार्टी निर्णयबाहिर जानेलाई पहिचान गरी अनुदार भएर कारबाही गर्ने आँट अब कांग्रेसले देखाउनै पर्छ । यही बिन्दूबाट आफूभित्रको सूक्ष्म व्यवस्थापन गर्दै सुधारको बाटामा हिँड्न विलम्ब गर्नु हुँदैन । यस मार्गमा हिँडेको परिणाम अर्को चुनावमा देखिनेछ । 


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २३, २०७४  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC