site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वामदेवको नियति– हरि पराजुलीबाहेक मञ्चमा बोलाउने केन्द्रीय सदस्य पनि पाएनन्
Sarbottam CementSarbottam Cement

काठमाडौँ । २०५४ सालमा एमालेबाट अलग भएको धार मालेको जगजगी थियो । एमालेको बहूल हिस्सा महाकाली सन्धिको पक्षपाती भएकाले ऊ (तत्कालीन माले) सँग ‘बेच्न’ लायक मुद्दा थियो । जाज्ज्वल्यमान, उदीयमान नेतृत्व पंक्ति भएकाले राष्ट्रव्यापी बन्न कठिन थिएन ।  त्यही तागतमा ऊ देशभरि विस्तारित भएको थियो ।
तर, २०५६ सालको आम निर्वाचन परिणाम सोचेभन्दा भिन्न आयो ।

२ सय ५ निर्वाचन क्षेत्रमा एक सिट पनि जित्न सकेन । शून्य सिटमै समेटियो ।

त्यसको ३ वर्षपछि पुरानै घर फर्कंदै गर्दा पनि वामदेवसँग आशा लाग्दा युवा अनुहारहरू थिए । तर, समयक्रममा ती सबै छाडिदै गए । आठौँ महाधिवेशनमा झलनाथ खनाललाई समर्थन गर्दा घनश्याम भुसाललगायत नेताहरू उतै छाडिए । नवौँ महाधिवेशनमा ओलीतिर लाग्दा आठौँ महाधिवेशनमा खनाललाई साथ दिएको ठूलो पंक्ति माधवकुमार नेपालको पक्षमा उभियो । किरण गुरूङलगायतको पंक्ति केपी ओली पक्षतिर खुलेका थिए । उनीहरू पनि पछि फर्किएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

ललितपुरको सिद्धार्थ कटेजमा बुधबार रिक्तताको निरन्तरता प्रष्टै देखिन्थ्यो । विभाजित नेकपामा कतै नखुलेका र एकताको पक्षमा भन्दै तटस्थ रहेका उपाध्यक्ष वामदेव गौतमसँग केन्द्रीय कमिटी सदस्य हरि पराजुली मात्रै देखिए । लामो समयदेखि साथ दिँदै आएका केशवलाल श्रेष्ठ, बलराम बास्कोटालगायत सबैजसो केन्द्रीय सदस्यहरू ‘प्रतिगमनलाई फाइदा पुग्नेगरी तटस्थ बस्न नहुने’ भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल खेमामा खुल्दा वामदेव एक्लो प्रतीत हुन्थ्यो ।

नेकपा फुटले कानुनी मान्यता पाउनुअगावै एकीकरणको प्रवाहमा फर्काउन आयोजना गरिएको राष्ट्रिय अभियानमै उपाध्यक्ष गौतमले दुःखमनाउ गरे । गौतमले आफू एक्लो रहेको र हरि पराजुलीबाहेक मञ्चमा बोलाउने मानिससमेत नरहेको आत्मस्वीकारोक्ति राम्रैसँग अभिव्यक्त गरे । गौतम सदाभन्दा बढी नै खुलेका थिए ।

Global Ime bank

“मसँगै रहेका, मलाई साथ दिने साथीहरूलाई बोलाएँ । उहाँहरू चार–पाँच दिन मसँग रहनुभयो । छैठौँ दिनमा उहाँहरूले पिठ (पिठ्युँ) फर्काएर जानुभयो,” उनले दुःखमनाउ गर्दै भने, “कोही उत्तरतिर (केपी ओली) जानुभयो । कोही दक्षिणतिर (पुष्पकमल दाहाल प्रचण्ड) जानुभयो । एउटामात्रै केन्द्रीय कमिटीको सदस्य  हरि पराजुली उहाँले भन्नुभयो– यसपल्ट मैले निर्णय गरेँ, वामदेव सफल भए म पनि सफल, वामदेव असफल भए म पनि असफल । योबीचमा मर्नै परेछ भने सँगै मर्ने सङ्कल्प गरेर तपाईंको साथमा छु । मैले एउटा साथीचाहिँ पाएको छु । मलाई के विश्वास छ भने सर्वोच्चमा पुगेको मुद्दा फैसला हुनेबित्तिकै केपी ओलीको समूहबाट पनि मिसिन आइपुग्नुहुनेछ । प्रचण्डको समूहमा रहेका साथीहरू पनि एकता अभियानमा मिसिन आइपुग्नुहुनेछ ।”

वामदेवको निष्कर्ष– प्रचण्डले आलोपालो त्याग्नु नै विभाजनको विन्दु

नेकपा विग्रहको केन्द्रमा वामदेव गौतम रहँदै आएका छन् । खासगरी बर्दियामा चुनाव हार्नेबित्तिकै ओलीसँग असन्तुष्ट रहँदै आएका गौतमले पार्टीको अन्तरविरोधमा निर्णायक भूमिका खेले । र, सधैँ लाभ पोल्टामा पार्दै आए । पार्टी एकतापूर्व नै राष्ट्रिय विकास प्राधिकरण गठन गर्ने र त्यसको नेतृत्व गर्ने उनको अभिप्सा थियो ।

त्यो पूरा नभएपछि उनले प्रतिनिधिसभाको उपचुनाव लडेर संसद् छिर्ने बाटो खोजे । त्यो पनि पूरा नभएपछि उनले पार्टीमा भूमिका खोजे । भूमिका नपाएपछि २०७५ मङ्सिर २९ गतेदेखि पुस १३ गतेसम्म बसेको स्थायी कमिटी बैठकमा उनले २७ बुँदे प्रस्ताव पेस गरेका थिए ।

खासगरी नेकपाभित्रको अन्तरविरोध संस्थागतरूपमा प्रवेश गरेको परिघटना त्यही थियो । २७ बुँदे असहमतिमा उनले ‘एक व्यक्ति एक मुख्य जिम्मेवारी’को प्रसङ्ग उठाउँदै केपी ओलीलाई दुईमध्ये एक पद छाड्न प्रस्ताव गरेका थिए । ओलीबाट दुवै पद चल्न नसकेको उनको निष्कर्ष थियो ।

तर, गौतमले बुधबार अभियानको घोषणा गर्दै प्रचण्डले आलोपालोको सहमति त्याग गर्दा ओलीको अहमता झाँगिएको र पार्टी विभाजनको रेखा कोरिएको जिकिर गरे ।

“एउटा घटना घट्यो हाम्रो पार्टी सचिवालयमा, हामीले धेरै लडाइँ लड्दैलड्दै प्रचण्डको अध्यक्षताको अगाडि कार्यकारी भनेर थपेका थियौँ । हाम्रो लडाइँको विजय थियो त्यो । ठूलो संघर्षमार्फत् हामीले प्राप्त गरेको सफलता पनि थियो त्यो । त्यसबेला प्रचण्ड खुसी हुनुभयो । उहाँ यति खुसी हुनुभयो हामी सबै छक्क पर्‍यौँ । केहीबेरमा माहौल स्तब्ध पनि भयो । प्रचण्डले भन्नुभयो– केपी ओलीजी म दुईपटक प्रधानमन्त्री भइसकेको छु । मलाई फेरि प्रधानमन्त्री चाहिएको छैन । मैले कार्यकारी भएर काम गर्न पाउने भएँ । यो पाएपछि एकताका बेलामा भएको आलोपालो सरकार चलाउने समझदारी मैले परित्याग गरेँ । आलोपालोको समझदारीअनुसार मैले आधा कार्यकाल सरकारको नेतृत्व गर्ने कुरा पनि मैले तपार्ईंलाई दिएँ भनेर भन्नुभयो,” गौतमले २०७५ मङ्सिर ४ गतेको सचिवालय बैठक सम्झिए, “अरू दिन त बहस नोट टिपेर पछि निर्णय लेखिन्थ्यो । त्यसबेला ओलीले महासचिवलाई त्यो पनि निर्णय गरिहाल्नुस् भन्नुभयो । आजको विभाजनको सुरुआत त्यसैबेला भयो । हाम्रो पार्टी एकताको महत्त्वपूर्ण पक्ष आलोपालो नै थियो । त्यो नगरुञ्जेल एकता नै भएन । हुँदै भएन । कमरेड प्रचण्डले छाड्नुभयो । हामी सबै खुट्टा कमाएर त्यहीँ बसिरहेका थियौँ । लडाइँ हामीले लडेका थियौँ । कार्यकारी हामीले ल्याएका थियौँ । उहाँले छाडिदिनुभयो ।”

पार्टी खोल्दिनँ, संसद् पुनःस्थापना हुने विश्वासमा छु

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति हीराबहादुर महर्जन, कीर्तिपुर नगरपालिकामा मेयर रमेश महर्जन र जिल्ला तहका नेता–कार्यकर्ता भेला गराएर पार्टी एकता अभियानको घोषणा गरेका उपाध्यक्ष गौतमले अलग्गै पार्टी खोल्न लागेको भनेर बदनामित गर्ने कोसिस भइरहेको बताए । त्यसमा कुनै सत्यता नरहेको पनि जिकिर गरे । बर्दियामा गएर माधव नेपालले वामदेव गौतमले बीचमा बसेजस्तो गरेर ओलीलाई सहयोग पुर्‍याइरहेको भन्ने अभिव्यक्ति दिएकोप्रति पनि गौतमले चित्त दुखाए । उनले नवलपरासीदेखि कञ्चनपुरसम्म र मुगुदेखि दार्चुलासम्म सङ्गठन विस्तार गरेको स्मरण पनि गरे ।

१३ वर्ष लगाएर गरेको पार्टी एकता विग्रह व्यवस्थापन गर्न नसक्दा तीनवर्षमै धुलिसात भएको उदाहरण दिँदै कम्युनिस्ट आन्दोलनले यो असाधारण उपलब्धि आगामी तीस वर्षमा पनि हासिल गर्न नसक्ने चिन्ता पनि गौतमले व्यक्त गरे ।

“एमाले र माओवादी केन्द्र पार्टी एकताबद्ध गर्न १३ वर्ष लगातार मिहिनेत गर्नुप¥यो । तर, विभाजन तीनवर्ष पनि नपुग्दै भइदियो । निर्माण गर्न कति ठूलो समय लाग्दो रहेछ र बिगार्न कति थोरै समय लाग्दो रहेछ, हामी सबैले बुझ्नुपर्ने विषय यो हो,” उनले भने, “सधैँभरि निर्माण जुटेर हुन्छ । ध्वंस फुटेर हुन्छ । जुट्नुभन्दा ठूलो निर्माणको शक्ति अर्को हुन सक्दैन । हाम्रो पार्टीका नेताहरूले बुझ्नुभएको छैन ? बुझ्दाबुझ्दै पनि यो किन गरिरहनुभएको छ ? हामी सबैले घोत्लिन आवश्यक छ ।”

उनले पटकपटक विभाजनको पीडा झेलेकाले बाँच्दासम्म कम्युनिस्ट आन्दोललाई एकताबद्ध गराइ छाड्ने उद्घोष पनि गरे । “मेरै जीवनमा समाजवादको सानो विरुवा भए पनि लगाउँछु । यति भयो भने शान्तिपूर्वक सास बिसाउनेछु । पुस पाँच गतेदेखि पार्टी विभाजन सुरु भयो । मेरो घरमा ५० जना कहिले १० जना कहिले एकजना दुवैतर्फका हेडक्वार्टरबाट मानिसहरू आउँछन् । फकाउँछन् । नमानेपछि गाली गर्छन्,” उनले भने, “उत्तरतिरका आएर जनताको बहुदलीय जनवाद यता छ, उता किन जानुहुन्छ भन्छन् । दक्षिणतिरका आएर तपाईंको जीवनमा यत्रो अत्याचार भइरहेको छ । हामीतिर नआउनुको अर्थ ओलीतिरै जानु हो भन्छन् । मैले भनेको छु–अर्को तेस्रो बाटो छ । उत्तर र दक्षिणको बाटो मात्रै छैन । पूर्व, पश्चिम जाने बाटो पनि छ । म अहिले कतैतिर नगइ बीचमा उभिएको छु । पार्टीलाई एकताबद्ध गर्ने अभियान सुरू गर्दैछु । म सफल हुन्छु । संसारको अगाडि शान्तिपूर्ण, वैधानिक बाटोबाट राजतन्त्र समाप्त गर्ने, निर्वाचनको माध्यमबाट समाजवाद हासिल गर्ने लक्ष्य लिएका थियौँ । त्यो बाटो तपाईंहरूले ध्वस्त गर्नुभएको छ । फेरि त्यो बाटोलाई पिच गरेर राम्रोसँग हिँड्न सक्ने बनाउँछु । सकेँभने पार्टी पुनः एकीकरण गरिएला, सकिएन भने पनि कम्युनिस्ट पार्टीलाई छिन्नभिन्न पार्ने शक्तिका पछि नलाग्न जनतालाई आह्वान गर्छु ।”

उपाध्यक्ष गौतमले केपी ओली र प्रचण्ड समूहलेजस्तो अदालतमा विचाराधीन विषयमा आफूले टिप्पणी नगर्ने बताए । पार्टी एकताले जनताको जनवाद स्वीकार गरिसकेको अवस्थामा पनि जनताको बहुदलीय जनवादको वकालत गरेका नेता गौतमले जबजले संविधानको सर्वोच्चता आत्मसात गरेको पनि अर्थ्याउन भ्याए ।

उनले भने, “जनताको बहुदलीय जनवादको सिद्धान्तमा हामीले एउटा विषय राखेका छौँ–संविधानको सर्वोच्चता । संविधानको सर्वोच्चता भनेको संविधानको व्याख्या गर्ने अधिकार संवैधानिक इजलासलाई दिएका छौँ । त्यसमा सबै विषयहरू पुगेका छन् । त्यसले जे निष्कर्ष निकाल्छ, त्यो संविधानसम्मत छ भनेर हामीले बुझ्नुपर्छ ।

त्यसले गरेको व्याख्या कसैले उल्लङ्घन गर्न पनि पाउँदैन, विरोध गर्न पनि पाउँदैन । संविधानले नै त्यो अधिकार दिएको छ । भन्न त हाम्रा साथीहरूले संवैधानिक इजलासले निर्णय गरेन भने सडकबाट प्रतिनिधिसभा पुनःस्थापित गर्छौं भनिरहेका छन् । तर, त्यो हामीले भन्दैनौँ । त्यो निर्णय हामी शिरोधार्य गर्छौं । किनकि, हामी जनताको बहुदलीय जनवादलाई मान्छौँ ।”

उनले सर्वोच्च अदालतले जे निर्णय गरे पनि त्यसलाई मान्नुपर्ने नभए हामीले बनाएको संविधान हो भन्नुको औचित्य नरहने र संविधानको संरक्षण गर्न पनि नसकेको ठहरिने उनको बुझाइ थियो ।

“जे निर्णय हुन्छ त्यो हामीले मान्नैपर्छ । मेरो भित्री धारणा पार्टी एकता गराउने रहेकाले पुनःस्थापना भइदिए हुन्थ्यो भन्ने छ,” उनले भने । 

नेता गौतमले नेकपा एकता चाहने सबै शक्ति संसद् पुनःस्थापनाको पक्षमा रहेको विश्वास पनि व्यक्त गरे । उनले बाँचुञ्जेल कुरेर भए पनि पार्टी एकता गराइ छाड्ने प्रतिबद्धता दोहोर्‍याए । संसद् पुनःस्थापना भए दुईवर्ष समय पाइने कथम् नभए र निर्वाचन घोषणा कार्यान्वयनमा आए दुवै समूहका इमान्दार पार्टी एकताका पक्षमा उभिनेलाई भोट हाल्नेसम्म भन्न भ्याए । प्रचण्ड र ओलीतिर सेनापति मात्रै बाँकी रहने र सेनाहरू पार्टी एकताको अभियन्ता बनिसक्ने उनको जिकिर थियो ।

जब वामदेवले एमाले विभाजन सम्झिए...

एमाले विभाजनको आरोप खेप्दै आएका उपाध्यक्ष गौतम यसपटक बढी नै सजग देखिन्छन् । उनको अभिव्यक्तिले फुटको कलङ्क बोक्न इन्कार गरिरहेझैँ प्रतीत हुन्थ्यो ।

छिटो निर्णय गर्ने बानी परेका वामदेवले यसपटक कित्ता छुट्टयाउन गरेको ढिलाइले मानिसहरू आश्चर्यमा परेको पनि सुनाए । सबैभन्दा रोचक त उनले एमाले विभाजन गर्दा तत्कालीन कांग्रेस नेता रामचन्द्र पौडेल र शेरबहादुर देउवाले सम्झाएको क्षण पनि सम्झिए ।

“नेकपा विभाजन भइसकेको थिएन । बालुवाटारमा सर्वदलीय बैठक थियो । त्यो बैठकमा विजय गच्छदारले केपी ओलीमाथि लगाइएको आरोपपत्र र त्यो आरोपपत्र खण्डन गरिएको प्रत्यारोपपत्र हातमा लिएर भनेँ– तपाईंहरू के गरिरहनुभएको छ हेर्नुहोस् । हामीलाई त घोषणापत्र नै नचाहिने भयो । जहाँजहाँ तपाईंहरू जानुहुन्छ, त्यहाँत्यहाँ हामी यो देखाइदिन्छौँ । यति भएपछि हामीलाई निकै मजा भयो । तपाईंहरू यस्तो गर्नुहुन्छ । उहाँले प्रतीकात्मकरूपमा भन्नुभयो– तपाईंहरूले गल्ती गर्नुभयो,” गौतमले भने, “मैले पार्टी फुटाउँदा रामचन्द्र पौडेल सभामुख हुनुहुन्थ्यो । उहाँले मलाई तीनपटक आफ्नो कोठामा बोलाउनुभयो । उहाँले भन्नुभयो– सङ्ख्या पुगिसकेको छ । तपार्ईंले पार्टी फुटाउनुहुन्छ । हामीलाई त राम्रै होला । तर तपाईं मेरो जेलको साथी । तपाईंले पार्टी नफुटाउनुहोस् । ६–७ महिनापछि पार्टीमा तपाईं मुख्य भूमिकामा आउँदै हुनुहुन्छ । पार्टी महासचिव, प्रधानमन्त्री तपाईं नै बन्ने स्थिति देखिँदैछ । दोस्रोपटक पनि नमस्कार कमरेड पार्टी नफुटाउनुहोस् भन्नुभयो । तेस्रोपटक पनि त्यसै भन्नुभयो ।”

उनले शेरबहादुरले सम्झाएको पनि स्मरण गरे । “पार्टी फुटाउँदा शेरबहादुरजी डडेलधुरा हुनुहुँदो रहेछ । उहाँले त्यहीँबाट फोन गरेर भन्नुभयो– हे कामरेड के गरेको ? तपाईंको बुद्धि कहाँ गएको हो ? पार्टीमा तपाईं नै प्रमुख बन्दै हुनुहुन्छ त ? सबै मिल्दै आइरहेको छ  त भन्नुभयो । केही वर्षपछि त उहाँले आफैँ पार्टी फुटाउनुभयो । सँगै बस्न नसकेपछि के गर्नु !”

नेकपा फुट्ने तहमा पुगेकोमा कोही पनि खुसी नभएको वामदेव गौतमको जिकिर थियो । आम मानिस–कार्यकर्ता पंक्तिमा छाएको निराशा, दुःख सम्झिएर एकताको पक्षमा उभिनुपर्ने उनको जोड थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC