अभिनेत्री कीर्ति कुल्हारीले हरेकपटक आफूले निर्वाह गरेको पात्रको माध्यमबाट महिला सशक्तीकरणको आवाज उठाइरहेकी छन् । चाहे त्यो ‘पिंक’मार्फत होस्, ‘मिसन मंगल’मार्फत होस् वा वेब सिरिज ‘फोर मोर सट्स प्लिज’ नै किन नहोस् । कीर्तिले हाल प्रसारणमा रहेको वेब सिरिज ‘क्रिमिनल जस्टिस : बिहाइन्ड क्लोज्ड डोर्स’मा वैवाहिक बलात्कारजस्तो गम्भीर मुद्दाको पीडा वर्णन गरिरहेकी छन् । यिनै विषयमा नवभारत टाइम्ससँगको विशेष कुराकानीमा कीर्तिले म्यारिटल रेप (वैवाहिक बलात्कार) समाजको विशेष वर्गको नभई सामाजिक अवस्थाको समस्या भएको बताएकी छन् ।
सिरिजमा तपाईं निर्वाह गरेको पात्र (अनु चन्द्र) शिक्षित भएर पनि वर्षौँसम्म श्रीमान्को जबर्जस्ती सहिरहेको देखिन्छ । अर्को एउटा पात्रले पनि विवाहमा सम्झौताको कुरा गरिरहेकी हुन्छिन् । यसमा तपाईंको धारणा के छ ?
यो हाम्रो समाजको तितो सत्य हो । त्यसैले म यो सिरिज गर्न चाहन्थेँ । महिलाहरूमाथि शारीरिक मात्र नभई मानसिक र भावनात्मक दुव्र्यवहार पनि हुने गर्दछ । तर, उनीहरू प्रतिकार नगरी सहेर बस्छन् । किनकि, उनीहरूलाई समाजले सिकाएको पाठ भनेकै चुप बस्नु हो । हाम्रोमा वैवाहिक बलात्कार (म्यारिटल रेप) सानो वर्ग वा अशिक्षित व्यक्तिहरूमा मात्रै हुन्छ भन्ने मानसिकता छ । जबकि, यो कुनै वर्ग वा शिक्षाको कुरा नभई हाम्रो सामाजिक अवस्था हो ।
केटीहरूलाई, विवाह र सम्बन्धको डोरी महिलाहरूले नै जोगाइराख्ने हो भन्ने सिकाइएको हुन्छ । यसलाई बचाउन महिला आफैँले सम्झौता गर्नुपर्छ भन्ने सिकाइएको हुन्छ । तर, कतिसम्म सहने हो भनेर कसैले सिकाएको हुँदैन । जुन निकै खतरानाक कुरा हो । अनु लामो समयसम्म बलात्कृत भइरहेकी हुन्छिन् । किनभने, हामी यो स्वीकार्न तयार नै छैनौँ कि विवाहपछि पनि एक–अर्काको अनुमति, इच्छा आवश्यक हुन्छ । हामी त विवाह हुनु भनेको तपाईं एक–अर्काको सम्पत्ति हो भन्ने कुरामा विश्वास गर्छौँ । तर, बन्द कोठामा पनि पति–पत्नीबीच अनुमति चाहिन्छ ।
तपाईंको विचारमा सम्झौता वा सहनशक्तिको हद कहाँसम्म हुनुपर्छ ?
यो हरेक व्यक्तिका लागि फरक हुन्छ । तपाईं कतिसम्म सहन सक्नुहुन्छ त्यसको सीमा तपाईं आफैँले कोर्नुपर्छ । तपाईंले थप्पड हानुन्जेलसम्म कुर्नुपर्छ भन्ने होइन ! यसको कुनै क्राइटएरिया छैन । तर, केही कुरा सही हुन्न । एक–अर्कालाई पिट्नु, यातना दिनु वा दुव्र्यवहार गर्नु ठीक होइन । एक–अर्काको अपमान गर्नु ठीक होइन । मेरो विचारमा सम्मानले मायाभन्दा धेरै महत्त्व राख्छ ।
त्यो सम्मान सबैभन्दा पहिला तपाईंले स्वयंलाई दिनुपर्छ । त्यसपछि मात्र अर्को व्यक्तिले तपाईंलाई सम्मान गर्नेछ । जहाँ सम्मान हुँदैन, त्यहाँ केही पनि ठीक हुँदैन । तपाईंलाई थाहा हुनुपर्छ, तपाईंले कति बेला पछि हट्नुपर्छ ।
तपाईं पात्रहरूमार्फत महिला सशक्तीकरणको मार्गमा हुनुहुन्छ । तपाईंको हिसाबमा महिला सशक्तीकरण के हो ? कुन मुद्दालेतपाईंलाई सबैभन्दा बढी तनाव दिइरहेको हुन्छ ?
म एउटा मात्रै मुद्दा भन्नै सक्दिनँ । तपाईं मेरो काम हेर्नुहोस्, त्यसमा जुन मुद्दा उठाइन्छ, म त्यसमा कनेक्ट हुन्छु । त्यसैले आफ्नो काममार्फत उनीहरूको आवाज उठाउँछु । मेरा लागि मेरो समय, अभिनय क्षमता, ऊर्जा र पसिना कहाँ बगाइरहेकी छु भन्ने कुराले निकै महत्त्व राख्छ । यति धेरै गर्नुको केही मतलब पनि हुनुपर्छ ।
मलाई लाग्छ कि मैले समाजका लागि केही गर्ने माध्यम भनेकै अभिनय हो । तसर्थ, कलाकार हुनुको फाइदा उठाएर त्यस्तो चिज छान्छु, जसमा म विश्वास गर्दछु र त्यसविरुद्ध बोल्न चाहन्छु । जस्तै, यसमा वैवाहिक बलात्कार र दुव्र्यवहारको विषय र फोर मोर सट्समा अन्य धेरै विषयमा आवाज उठाएकी छु, आफ्नो पात्र र भूमिकामार्फत ।
मेरो विचारमा सही सशक्तीकरण तब उत्पन्न हुन्छ, जब तपाईं दोस्रो व्यक्तिलाई दोष दिन छोड्नुहुन्छ । जब तपाईं आफ्नो जीवनको डोरी आफ्नो नियन्त्रणमा लिनुहुन्छ । आफ्ना लागि आफैँ निर्णय लिनुहुन्छ । चाहे त्यो सही होस् वा गलत, तपाईंले त्यसको जिम्मेवारी लिनुहुन्छ ।
वैवाहिक बलात्कारलाई कानुनी अपराध बनाउने पक्षमा बहस भइरहेको छ । यसबारे तपाईंको विचार के छ ?
यस्तो पक्कै हुनुपर्छ । यसमा दुईमत नै छैन । वैवाहिक बलात्कारलाई आपराधिक दायरामा ल्याएर कानुनी दन्ड निर्माण गर्ने समय आइसकेको छ ।
अनु चन्द्र निकै जटिल चरित्र हो । त्यसको पीडालाई बुझ्न तपाईंले के कस्तो अनुसन्धान वा तयारी गर्नुभयो ?
मैले यसका लागि धेरै तयारी गरेँ । यस्तो यातना भोगिरहेकी महिलालाई बुझ्न र त्यो पात्रलाई निर्वाह गर्न निकै गाह्रो भयो । म यो भूमिका निभाउन चाहन्थेँ । साथै, मलाई थाहा थियो कि मैले यो भूमिकाका लागि हुन्छ भनेर आफ्नै खुट्टामा बन्चरो हानिरहेकी थिएँ । त्यसैले मैले केही मनोचिकित्सकहरूसँग भेटेँ र यो समस्याको दायरा कति फराकिलो छ भन्ने कुरा बुझ्ने प्रयास गरेँ ।