site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
विद्यालय प्रयोगशाला होइनन् !

विद्यालय खुल्ने सूचना पाएर विद्यार्थीहरू फुरुङ्ग भएका छन् । भौतिकरूपमा कक्षा कोठामा उपस्थित भएर, साथीहरूसँगै बसेर अनि शिक्षकहरूसँग प्रत्यक्ष कक्षा लिन पाउने आशामा उमङ्गित उनीहरू वर्ष दिनअघि थन्क्याएका आफ्ना विद्यालय पोसाक झिकेर नापिरहेका छन् । बिर्सिसकेका जुत्ता खोजेर खुट्टा घुसार्दै ठिक्क हुन्छन् कि साँघुरा भए भनेर जाँच्नमा व्यस्त देखिएका छन् । कतिपयलाई आफ्ना पोसाक र जुत्ता साना भएकाले नयाँ तयार गर्ने चटारो छ । विद्यालय जान आवश्यक पर्ने सबै सामग्री खोज्ने, जतनसाथ राख्ने गर्दै उनीहरू अबको विद्यालय खुल्ने दिन पर्खेर बसेका छन् । 

बालबालिको विद्यालय, लगभग एक वर्षदेखि भेट नभएका साथी अनि उनीहरूसँगको रमाइलो हाँसखेल सम्झेर कतिबेला विद्यालय पुगँु भन्दै हतारिइरहेका होलान् । यसैगरी अभिभावक पनि चिसो कोठामा दिनभर बसेर मोबाइल र ल्यापटपमा घोत्लिइरहेका छोराछोरीले त्यसबाट छुटकारा पाएर घाम ताप्दै खुला परिवेशमा किताब पढ्न पाउने भए भन्दै मख्ख भइरहेका छन् । दुवैथरीको उत्सुकता र उमङ्ग अस्वाभाविक छैन । किनभने कोरोना महामारीका कारण शैक्षिक गरिविधि अन्योलग्रस्त थियो । केही बालबालिकाले अनलाइन कक्षाको अवसर प्राप्त गरे पनि कतिपय भने त्यसबाट वञ्चित थिए । त्यसैले विद्यालय खुल्ने निर्णयलाई सकारात्मक सङ्केतका रूपमा लिइएको हुनुपर्छ । 

यो सकारात्मक सङ्केतभित्रका गहन चुनौतीलाई सायद हामीले बिर्सेका छौँ । विद्यालय अत्यन्त संवेदनशील क्षेत्र हो । यहाँ सामान्य लापरबाही भयो भने असङ्ख्य बालबालिकामा नकरात्मक असर पर्छ । विद्यालयले भौतिकरूपमा कक्षा सञ्चालनका लागि सूचना सम्प्रेषित गर्दा मख्ख परेका हामी अभिभावक आफ्ना नानीहरूका विद्यालय पुगेर त्यहाँ कक्षा सञ्चालनका लागि केकस्तो सुरक्षा व्यवस्था गरेको छ त्यसको अनुगमन गरेका छौँ कि छैनौँ ? अहिले पहिलाकै अवस्थामा कक्षा सञ्चालन गरिनु जोखिमपूर्ण हुन्छ । विद्यालय प्रशासनले दाबा गरेजस्तो भौतिक दूरी कायम गर्नु त्यति सजिलो पक्कै छैन । सिट क्षमताभन्दा निकै बढी सङ्ख्यामा विद्यार्थी चढाएर लैजाने स्कुल बसहरूको व्यवस्थापन कसरी गरिँदैछ ? पहिलो जिज्ञासा यहीँबाट आरम्भ हुनुपर्छ । 

Agni Group

विद्यालय परिसरमा प्रवेश गर्नासाथ विद्यार्थीहरूबीच भौतिक दूरी कायम गर्न विद्यालयले केकति जनशक्तिको व्यवस्था गरेको छ ? साबिकको जनशक्ति हालको अवस्थामा पर्याप्त हुन सक्दैन । कक्षा कोठामा विद्यार्थीहरूबीच भौतिक दूरी कसरी कायम गरिँदैछ ? केहीबाहेक अधिकांश निजी विद्यालयहरूले ससाना कोठामा टनाटन विद्यार्थी राखेर पढाउने गरेकोमा अतिरिक्त कक्षाकोठा र सोहीअनुसार शिक्षकहरूको व्यवस्था गर्नु पनि तिनका लागि त्यति सहज देखिँदैन । यसैगरी शौचालय तथा धारा, पानीको व्यवस्था कसरी गरिएको छ ? विद्यार्थीहरूबीच भौतिक दूरी बनाउन सर्वाधिक कठिनाइ शौचालय तथा धारा पानीको प्रयोगमा नै देखिनेछ । किनभने छोटो समयको विश्राममा उनीहरूले यसको प्रयोग गरिसक्नुपर्ने हुन्छ । सदाझैँ ठेलमठेल गर्दै जाने उनीहरूलाई नियन्त्रण कसले गर्ने ? त्यसपछिको समस्या चमेनागृह र खेलमैदानमा देखिनेछ । अधिकांश विद्यालयहरूमा खुला चौर तथा व्यवस्थित चमेनागृह छैन । विद्यार्थीहरूले खाजा कहाँ र कसरी खान्छन् सोको निरीक्षणका लागि पनि अतिरिक्त जनशक्तिकै आवश्यकता पर्नेछ ।

यतिमात्र कहाँ हो र ? लगभग वर्षदिनपछि भेटिएका साथीहरूलाई तीन मिटरको दूरीबाट हेरेर बालबालिकाले चित्त बुझाउलान् ? या उनीहरू मौका पाउनासाथ हातेमालो गर्दै भ्mयाम्मिन पुग्लान् ? त्यसको अनुगमन पनि कसले गर्ने ? घरमा अभिभावकलाई आफ्ना एकदुई नानीहरू तह लगाउन त सजिलो हुँदैन भने विद्यालयमा धेरै बालबालिकालाई नियन्त्रणमा राख्नु सामान्य चुनौतीको विषय होइन । भौतिक दूरी कायम गरेर बालबालिकालाई पढाउनु पनि सोचेजस्तो सहज देखिँदैन । किनभने, टाढाबाट शिक्षकले बोलेको भरमा मात्र उनीहरूको पठनपाठन प्रभावकारी बन्न पनि सक्दैन ! यी र यस्ता धेरै कठिनाइको आकलनविना विद्यालय सञ्चालन गरिनु जोखिममुक्त देखिँदैन । भर्चुअल प्रविधिबाट कक्षा सञ्चालन हुन नसकेको ठाउँमा शैक्षिक सत्र खेर गएको छ । यसप्रकारले जोखिमका साथ कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता भए पनि भर्चुअल कक्षा सञ्चालन भइरहेको अवस्थामा भौतिकरूपमा कक्षा सञ्चालनको हतार नगरेको भए हुनेथियो । सबै अभिभावकका लागि आफ्ना बालबालिकाको पहिलो प्राथमिकता उनीहरूको स्वास्थ्य हो । किनभने, उनीहरू स्वस्थ रहे भने शिक्षा त ढिलोचाँडो हासिल गर्न सकिहाल्छन् । 

Global Ime bank

यतिबेला विद्यालय खोल्ने निर्णयलाई एउटा प्रयोगका रूपमा लिइँदैछ । विद्यालय खोल्ने र कुनै कठिनाइ आएमा वा बालबालिका संक्रमित भएमा पुनः बन्द गर्ने ! तर, मननीय के छ भने – विद्यालय प्रयोगशाला होइनन् । एउटा विद्यालयमा असङ्ख्य बालबालिका हुने हुँदा एकदुई जना संक्रमित भए पनि विद्यालयलाई खासै असर नपर्ला । तर, अभिभावकका लागि त तिनै एकदुई बालबालिका नै सम्पूर्ण हुन् ! उनीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्न गयो भने त्यसको जिम्मेवारी वा उपचारको व्यवस्था कसले गर्ने ? के यससम्बन्धमा विद्यालय प्रशासन र अभिभावकहरूबीच समझदारी भएको छ ? आज एउटा प्रयोग गर्ने नतिजा सोचेजस्तो नआए भोलि अर्को प्रयोग गर्दै जाने प्रयोगशालाका रूपमा विद्यालयलाई हेरिनुले महामारीको जोखिम नियन्त्रित भइनसकेको अवस्थामा थप जोखिम निम्त्याउन सक्छ ।

हालको विषम परिस्थितिमा विद्यालयलाई प्रयोगशालाका रूपमा सञ्चालन गर्ने निर्णयका पछाडि केही कारणहरू छन् । पहिलो कारण सरकारले निजी विद्यालयबाट गर्ने कर असुली रोकिएकाले सोही प्रयोजनका लागि विद्यालय खोल्ने अनुमति दिएको देखिन्छ । यसैगरी विद्यालयहरूले शैक्षिक सत्र आरम्भदेखि शुल्क उठाउन नसकेको हुँदा वर्षभरिको शुल्क उठाउने उद्देश्यले हतारमा विद्यालय सञ्चालनको तयारी गरिरहेका छन् । अनलाइन कक्षाद्वारा सम्पूर्ण शुल्क असुली गर्न नसकिएको हुनाले विद्यालय व्यवस्थापनले भौतिक रूपमा विद्यालय सञ्चालन तथा परीक्षाका बहानामा साबिकजस्तै सम्पूर्ण शीर्षकमा शुल्क उठाउने उद्देश्य राखेका छन् । यसरी आफ्नो आर्थिक उद्देश्य पूरा भएपछि परिस्थितिमा जटिलता आएको खण्डमा पुनः बन्द गर्ने संभावना त छँदैछ !

विद्यालय व्यवस्थापन र सरकारको आर्थिक स्वार्थका कारण त्यहाँ कार्यरत शिक्षक–शिक्षिकाले समेत विभिन्न कठिनाइ सहनुपर्ने देखिन्छ । यद्यपि, हालको अवस्थामा अधिकांश निजी विद्यालयका शिक्षक आर्थिक समस्यामा देखिएका छन् भने कतिपय त बेरोजगारजस्तै भएका पनि छन् । यसरी हेर्दा विद्यालय खोल्दा र नखोल्दा दुवैतिर समस्या देखिए पनि हतारमा गरिएको विद्यालय खोल्ने निर्णय नै बढी जोखिमपूर्ण देखिन्छ ।

महामारी नियन्त्रणको अनिश्चितताका कारण ढिलोचाँडो शैक्षिक क्षेत्र सुचारु त गर्नैपर्ने हुन्छ । त्यसैले तत्कालका लागि विश्वविद्यालय, कलेज तथा एघार–बाह्र कक्षाहरू सञ्चालन गर्दै गएर फागुनको अन्तिम साताबाट माथिल्ला कक्षाहरूबाट विद्यालय सञ्चालन गरिँदै जानु प्रभावकारी हुनेथियो । अहिलेको चिसो, दिन तथा साँझ–बिहान देखिएको असन्तुलित तापक्रम स्वास्थ्यका दृष्टिले प्रतिकूल मानिन्छ । बालबालिका विद्यालयबाट फर्केपछि नुहाउनेधुने कार्य पनि हाल सहज देखिँदैन । संक्रमणबाट जोगिनका लागि गर्नुपर्ने सरसफाइ प्रभावकारी बनाउन पनि कठिन देखिन्छ । यसप्रकारका जटिलताहरूप्रति आँखा चिम्लेर सरकारले कर उठाउन, विद्यालयले शुल्क उठाउन तथा केही अभिभावकहरूले आफ्ना बालबालिकालाई नियन्त्रण गर्न नसकेका कारण तत्कालै विद्यालय खोल्न गरिएको निर्णय व्यावहारिक देखिँदैन । आवश्यक सम्पूर्ण तयारीबिना विद्यालय सञ्चालन गरिनु बालबालिकाहरूको स्वास्थ्यमाथि प्रयोग गर्नका लागि विद्यालयलाई प्रयोगशाला बनाइनु हो । त्यसैले सबै जिम्मेवार पक्षबाट मनन गरिनुपर्छ –विद्यालय प्रयोगशाला होइनन् !
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ७, २०७७  १०:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC