बीबीसी । शक्तिशाली भूमिकाहरुमा महिला प्रतिनिधित्व निरन्तर बढिरहे पनि आश्चर्यजनक सङ्ख्यामा विश्वभरका मानिसले अझै पनि महिला लिडरको प्रभावकारितामा विश्वास नगर्ने गरेको पाइएको छ । यस किसिमको अविश्वास र पक्षपातपूर्ण भावना परम्परागत रुपमा जरा गाडेर बसेको हुँदा परिवर्तन ल्याउन पनि अत्यन्तै कठिन हुने देखिन्छ ।
२०२० नोभेम्बरमा माइआ सन्दुले मोलदोभाको पहिलो महिला राष्ट्रपति बनेर ऐतिहासिक सफलता हासिल गरिन् । यसरी वर्षौंसम्म महिला र पुरुष दुवैबाट उत्तिकै विभेदपूर्ण आक्रमण झेल्दै आएकै सन्दुसहित दुनियाँभरका महिलाका लागि यो ठूलो जित साबित भयो जहाँ महिलाहरु उच्च पदमा पुगिरहेका छन् । त्यही महिना अमेरिकी नागरिकले पनि पहिलो महिला उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसलाई चयन गरेका हुन् । पहिलो अश्वेत, अफ्रिकी–एसीयाली मूलकी उपराष्ट्रपति ह्यारिस अमेरिकी इतिहासकै सबैभन्दा उच्च पद ग्रहण गर्ने महिला बन्नेछिन् ।
तर यति भएर पनि अझै मानिसहरुमा महिला नेतृत्वकर्मीप्रति अविश्वासको चलन भने कम हुन सकेको छैन । हालैको एक अध्ययनले के देखाउँछ भने महिला प्रमुखको लामो इतिहास बोकेका देशहरु : जर्मनीदेखि भारतमा समेत मानिसहरुको सोचमा परिवर्तन आउन सकेको छैन । ती देशमा पनि महिलाहरुले लैंगिक विभेदसम्बन्धी भनाइ खाँदै अघि बढ्नुपर्ने बाध्यता छ । उच्च पदमा पुग्दै जाँदा र विश्वव्यापी सफलता हासिल गरिरहँदा, जस्तै न्युजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा एडर्नको नेतृत्वमा कोभिड महामारीको सफल नियन्त्रणका बावजुद अझै मानिसहरुले महिला प्रमुखको काम गर्ने तरिकामा शंका व्यक्त गर्ने गरेका छन् ।
‘रेकजेभिक इन्डेक्स’ ले यसमा जी-सेभेन (क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत, अमेरिका) साथै केन्या, नाइजेरिया र भारतमा महिला नेतृत्वकर्मीप्रतिको धारणासम्बन्धी २० हजारभन्दा बढी वयस्कमा गरेको सर्वेक्षणमा अत्यन्तै आश्चर्यजनक र दुःखद् नतिजा प्राप्त भएको हो ।
सर्वेक्षणको परिणामअनुसार जापानमा केबल ३८ प्रतिशत मात्र सरकारको प्रमुखमा या ठूलो कम्पनीको प्रमुख कार्यकारीका रुपमा महिला हुँदा सहज महसुस गर्ने बताए । उता नाइजेरिया र केन्यामा पनि सरकार र राजनीतिमा महिलालाई प्रमुख राख्ने विषयमा ५६ स्कोर प्राप्त भएको थियो जुन १०० भन्दा धेरै टाढाको अंक हो । यसमा १०० को अर्थ लिडरको पदमा महिला र पुरुषलाई समान रुपमा योग्य ठानिने भन्ने बुझिन्छ ।
त्यस्तै जर्मनीमा केबल ४१ प्रतिशत मानिसले मात्र उनीहरु महिलालाई सरकारको प्रमुखका रुपमा देख्न चाहेको बताएका हुन् जबकि एन्जेला मर्केल लामो समयदेखि राष्ट्रप्रमुखको भूमिका निर्वाह गरिरहेकी छन् । सो सर्वेक्षणकी पब्लिक डिभिजन प्रमुख मिसेल हेरिसन भन्छिन्, “एउटा महिला नेतृत्वकर्मीले समाज बदल्न सक्ने कुरा मिथ्या मात्र हो ।” उनका अनुसार एक महिला देशको लिडर हुँदैमा लैंगिक भूमिकामा ठूलो परिवर्तन ल्याउने अपेक्षा राख्नु अव्यवहारिक कुरा हो ।
त्यस्तै सर्वेक्षणकै क्रममा अर्को के पत्ता लागेको हो भने विशेषगरी युवा पुरुषहरुमा महिला नेतृत्वकर्मीहरुलाई समर्थन गर्ने सम्भावना कम हुन्छ । यसमा आश्चर्यजनक के छ भने युवा पुस्तालाई हामीले प्रगतिशील पिँढी मान्दै आएका छौं तर उनीहरुमा पनि त्यही पुरानै मानसिकता रहेको पाइएको हो ।
वास्तवमा मानिसहरुले समाजमा व्याप्त परम्परागत विश्वास र चलनहरु अचेत रुपमा छाड्न नसकिरहेका हुन्छन् जसकारण नै प्रगतिशील ठानिने युवा वर्गमा समेत त्यस किसिमको भाव देखाएको हो । त्यस्तै युवाहरु धेरै कुरामा गलत हुने गरेको पनि पाइएको छ र अहिले नयाँ अनि पुराना पिँढीमाझ सही तथ्यबीचको अन्तर बढ्दै गएको समेत देखिएको छ ।
‘वासेन्दा युनिटर्सिटी’ टोकियो की राजनीतिकविद् योशिकोनो ओनोको विश्लेषणअनुसार युवाहरुमा पुरुष मतदाताहरुले महिलाहरु पहिले नै राजनीतिमा बढी प्रतिनिधित्व गरिरहेका छन् भन्ने सोच्छन् किनकि स्कुल, युनिभर्सिटी आदिमा उनीहरुले धेरै महिला देखिरहेका हुन्छन् । त्यसैले सामान्य सोचाइमा हामीले समाजमा लैंगिक सन्तुलन छ भन्ने ठानिसकेका छौं भने हामीलाई महिला नेतृत्वकर्मी चयन गर्न महत्त्वपूर्ण छ जस्तो लग्दैन ।
रेकजेभिक इन्डेक्सका अनुसन्धानकर्ताहरुले सर्वेक्षणका क्रममा प्रत्येक सहभागीलाई विभिन्न क्षेत्रको नाम दिँदै महिला या पुरुष कसलाई त्यसको नेतृत्व गर्न दिँदा ठीक होला भन्ने प्रश्न गरेका थिए । तर यसमा महिला लिडरविरुद्धका मान्यतासम्बन्धी उनीहरुसँग सीधा प्रश्न गर्दा अधिकांश सहभागीले आफ्नो विभेदपूर्ण सोचाइ अस्वीकार गरेका हुन् । यस्तो किन हुन्छ भने कोही पनि मान्छे सामाजिक रुपमा अस्वीकार्य किसिमका विश्वासहरु खुला रुपमा अपनाउन चाहँदैनन् ।
उदाहरणका लागि २००८ मा हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपतिका लागि आफ्नो पहिलो अभियान सुरु गर्दा त्यसमा पनि केही रोचक तथ्य पत्ता लागेको थियो जसले महिलाप्रति समाजले लुकाउँदै आएका पक्षपातपूर्ण भावबारे खुलासा भएको हो । त्यस समयको अनुसन्धानमा एकचौथाइ भन्दा धेरै सहभागीले महिला राष्ट्रपति भएमा, त्यसप्रति आफूलाई आक्रोश र दुःख महसुस हुने स्वीकार गरेका हुन् ।
यसमा विश्वभरका प्रायः मानिसहरुमा व्याप्त सबैभन्दा प्रचलित विश्वास भनेको, महिलाहरु सिंगो मुलुकलाई सञ्चालन गर्न धेरै नाजुक हुन्छन् भन्ने रहेको छ । र मध्यपूर्व अनि उत्तर अफ्रिकामा वास्तवमै यो सोचले धेरै ठूलो प्रभाव पारिरहेको छ जहाँ महिलाको नेतृत्व गर्ने क्षमताबारे जनधारणाले नै कार्यालयमा उनीहरुले कत्तिको शक्तिशाली पद पाउँछन् भन्ने निर्धारण गर्दछ ।
त्यस्तै कतिपय मानिसहरु जो आफूले महिला पुरुषबीच कुनै भेदभाव नगर्ने बताउँछन् उनीहरु पनि त्यस किसिमका भनाइमा विश्वास गर्छन् किनकि उनीहरु बाँकी दुनियाँले महिलालाई समान रुपमा हेर्दैन भन्ने ठान्छन् जसकारण महिला लिडर कमजोर हुन्छन् भन्ने तिनको मानसिकतामा रहिरहने गर्छ । लस एन्जलसमा बस्ने ३३ वर्षीया सिन नुयेनले आफू ‘सेक्सिस्ट’ नभएको बताए । तर पनि इमानदारपूर्वक भन्नुपर्दा आफ्नो कम्पनी महिलाभन्दा पुरुषले सञ्चालन गरोस् भन्ने चाहेको बताएका हुन् ।
महिलाहरु साना हुन्छन्, उनीहरुको आवाज चर्को हुँदैन, उनीहरुमा कुशल निर्णायक र आधिकारवादी क्षमता हुँदैनन् भन्ने परम्परागत मान्यताका कारण नै पुरुषहरुलाई लिडरसँग जोडिने गरिएको छ । यसरी कुनै पनि नेतृत्वसम्बन्धी विषयलाई पुरुषत्वसँग जोड्ने चलन व्याप्त रहँदै आएको छ ।
तर यस किसिमका भेदभावपूर्ण विश्वासहरु अन्य समूहमा पनि लागु हुन्छन् जस्तै विविध समाजमा, अश्वेत महिलालाई प्रायः क्रूर ठानिन्छ भने एसियाली महिलाहरुलाई आवश्यकताभन्दा बढी नै नम्र भएकाले लिडर बन्न नसक्ने बताइन्छ । र दुर्भाग्यवश महामारीले महिलाहरुलाई झन् पछाडि पार्ने जोखिम बढाएको छ । यसका कारण उत्पन्न आर्थिक संकटबाट महिलाहरु सबैभन्दा बढी प्रभावित भएका छन् जो जागिर गुमाउनेमा सबैभन्दा धेरै छन् । त्यस्तै कोभिडसम्बन्धी वैज्ञानिक र नीतिगत समितिहरुमा महिलाको उपस्थित पनि अत्यन्तै कम छ ।
उता कोभिडको समयमा उचित नेतृत्व गरी महामारी नियन्त्रण गर्नमा भने महिला प्रमुखहरुको अधिक प्रशंसा भएको छ । यसमा न्युजिल्यान्डकी जेकिन्डा एडर्न, ताइवानकी साइ इङ वेनसहित अमेरिकामा समेत महिला गर्भनर भएका स्टेटहरुमा कोभिड मृत्युदर कम रहेको पाइएको छ । तर महिला लिडरहरुको बलियो प्रस्तुतिले पनि जनमानसको विश्वासमा धेरै ठूलो सुधार ल्याउन नसकेको देखिन्छ । कन्तरको पछिल्लो तीन वर्षको सर्वेक्षण हेर्दा न ‘मिटू’ न कोभिड, कुनैले पनि महिला लिडरप्रतिको धारणामा उल्लेख्य प्रभाव पार्न नसकेको तथ्यांकले देखाउँछ ।
त्यसैले पनि यो विषयमा सबैभन्दा पहिले व्यक्तिगत परिवर्तन आउन जरुरी भएको बताइन्छ । जस्तै कुनै परिवारमा बाबुआमाले छोराछोरीमा सानैदेखि तिनको परम्परागत भूमिका, जस्तै छोरीलाई रेखदेख, हेरविचार, सरसफाइजस्ता काम सुम्पिने र निर्णय लिनेजस्ता कुरामा छोरालाई मात्र सहभागी गराउने हो भने महिला लिडरसम्बन्धी पुराना मान्यताहरु यसैगरी सधैंभरि व्याप्त रहिरहनेछन् ।