site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
जनताको नजर सर्वाेच्चतिर 

नेपाली जनताको आँखा यतिबेला सर्वोच्च अदालततिर सोझिएका छन् । उत्सुकता  र आशंका भरिएको नेपाली जनताको नजरमा सर्वोच्च अदालत परीक्षा दिने विद्यार्थीजस्तो अवस्थामा छ । प्रधानमन्त्रीले सिफारिस गरेको केही बेरमा नै राष्ट्रपतिले आँखा चिम्लेर स्वीकार गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक निर्णय संवैधानिक छ या छैन भन्ने मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । मुद्दाको पक्ष विपक्षमा कानुन व्यवसायीहरुले आआफ्ना तर्क वितर्क प्रस्तुत गरिरहेका छन् । तर, प्रधानमन्त्री र उहाँका साथमा रहेकाहरुबाहेक सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम र जनसाधारण भने प्रतिनिधि सभाको विघटन संविधानविपरीत र षड्यन्त्रमूलक भएको निष्कर्षमा पुगिसकेका छन् । नेपालको संविधान कुनै दुर्बोध्य ग्रन्थ होइन जसलाई सामान्य नागरिकले बुझ्नै नसकुन् । सामान्य नागरिक र माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी पनि प्रतिनिधि सभा विघटनबारे संविधानमा के लेखेको छ भनेर चिया पसल, चौतारो, विद्यालय र सडकमा छलफल गरेर सजिलै निष्कर्षमा पुग्न सक्छन् । संविधानले  विगतमा जस्तो प्रतिनिधि सभा विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएको छैन । यो विषयमा संविधानमा स्पष्टसँग उल्लेख छ । अब देशमा राजनीतिक स्थिरता कायम हुन्छ र प्रतिनिधि सभाको चुनाव पाँच वर्षमा एकपटकमात्र हुन्छ भनेर सबैजसो प्रमुख नेता, संविधान सभाका अध्यक्ष, मन्त्री र संविधानविद्हरुले सयौं पटक बोलेको जनताले बिर्सेका छैनन् । 

तर सर्वोच्च अदालतले कतै संविधान नहेरेर फैसला पो गर्ने हो कि ? संविधान सभाले बनाएको संविधानलाई असफल बनाउने देशभित्र र देशबाहिरका दक्षिणपन्थीहरुको षड्यन्त्रमूलक खेलमा सर्वोच्च अदालत पर्ने पो हो कि ? 

सर्वोच्च अदालतको फैसलाले संसद्मा पुग्नुपर्ने राजनीति सडकमा द्वन्द्वको विषय पो बन्ने हो कि ? शक्ति राष्ट्रहरुले आफ्नो शक्तिको खेल मैदान नेपाललाई बनाउने दाउपेचलाई सर्वोच्च अदालतले संविधानको अक्षर र मर्मविपरीत फैसला गरेर सघाउने पो हो कि ? भन्नजस्तो आशंका सबैतिर व्याप्त छ । जसरी राष्ट्रपतिबाट संविधान हेर्नुको सट्टा प्रधानमन्त्रीको मुख हेरेर विघटनको सिफारिस स्वीकार गर्ने  काम भयो कतै त्यसरी नै प्रधान न्यायाधीशले पनि संविधान हेर्नुको सट्टा प्रधानमन्त्रीको मुखतिर हेर्ने त होइनन् भन्ने आशंका र अनुमान सर्वत्र व्याप्त छ श। सो आशंकालाई झुटो साबित गर्नुपर्ने चुनौती  यतिबेला सर्वोच्च अदालत सामु छ । 

Prabhu Bank
Agni Group
NIC Asia

न्यायपालिका राज्यको अंग हो । सरकारको अंग होइन । कार्यपालिकाका गलत निर्णयहरुलाई विद्यमान कानुन र संविधान रोके र विधिको शासन स्थापित गर्ने मूल दायित्व न्यायपालिकाकै हो । सर्वोच्चकै हो । तर, केही समयदेखि हाम्रो न्यायपालिका यो कर्ममा चुक्दै आएको र कार्यपालिका प्रमुखसँग मिलेर अवाञ्छित भागबण्डा र शक्ति प्रयोग गर्ने तानाबानामा लागेको त होइन भन्ने प्रश्न ज्वलन्तरुपमा खडा भएको छ । म यहाँनिर विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले ‘अनलाइन खबर डटकम’लाई दिएको अन्तर्वार्तामा भनेका छन् –प्रधानमन्त्री निवासमा प्रधान न्यायाधीशले सल्लाह गरेको कुरा मिडियामा आएका छन् । र, त्यसको कसैले खण्डन गरेको छैन् । 

‘बाघ कराउनु, बाख्रा पनि हराउनु’ भनेजस्तै त्यहीबीचमा सवैधानिक परिषद्मा प्रधानमन्त्री र प्रधान न्याययाधीश बसेको देखियो । यद्यपि, प्रधामन्त्रीले अध्यादेश फिर्ता लिएको, नियुक्ति पनि नगरिएको बताउनुभएको थियो । तर, प्रतिनिधि सभा विघटन भएसँगै संवैधानिक निकायमा नियुक्ति गरिएको सार्वजनिक भयो । त्यो नियुक्ति प्रधान न्याधीशको समेत संलग्नतामा भयो तर उहाँ बोल्नुभएन । त्यो त न्यायपालिका प्रमुखले गर्ने कुरा होइन नि !  उहाँले त नियुक्ति भइसकेको छ भन्नुपर्थ्यो ।

Global Ime bank

यस घटनाले प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच  अस्वाभाविक निकटता देखायो ।  त्यही कारणले पनि बाहिर शंका पैदा भएको हो । 

इमानदार न्यायाधीशको छवि भएका गौरीबहादुर कार्कीको उक्त कथनले प्रधान न्याधीशको भूमिकामाथि शंका उत्पन्न गराएको छ । न्यायपालिकाको प्रमुख, कार्यपालिका प्रमुखको छाँयाजस्तो भएको देखाउँछ । प्रधानमन्त्रीले साँच्चै अध्यादेश फिर्ता लिएको भए प्रधान न्यायाधीशसमेत सामेल भएर गरिएको नियुक्ति के हुन्थ्यो ? यो नियुक्ति प्रधानमन्त्री, प्रधान न्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको सेटिङअनुसार भएको चर्चा जसरी चलेको छ त्यसलाई यससम्बन्धी मुद्दा सर्वोच्च अदालतमा हल्लाएर बल पुर्याउने काम भएको छ । 

यो नियुक्तिसम्बन्धी विवाद जस्तोरुपमा देखापरेको छ नेपालमा त्यसैगरी अरु विकसित लोकतान्त्रिक मुलुकमा देिखएको भए जनतासँग झुटो बोलेको र जनतालाई सत्य जानकारी नदिएका कारणले ती देशका प्रधानमन्त्री र प्रधान न्यायाधीशले राजीनामा गरिसकेका हुन्थे । 

प्रधान न्याधीश र न्यायपालिका साम न्यायपालिकाकै नेतृत्व गरिसकेका व्यक्तिहरुले समेत बारम्बार प्रश्न उठाउने परिस्थिति देखापर्नु दु:खद हो । यस्तो अवस्था रहनुहुँदैन । 

कार्यपालिकासँग नियुक्ति र शक्ति बाँडफाँटमा न्यायपालिका लोभिन र फस्न थाल्यो भने कार्यपालिकाविरुद्ध फैसला दिन न्यायपालिका लड्खडाउन थाल्छ र जनता न्यायपालिकाप्रति समेत आक्रोशित हुन थाल्छन् । अहिले आफ्नो भूमिकाप्रति जनमानसमा व्याप्त आशंकालाई व्यवहारद्वारा स्पष्ट पार्ने मौका प्रधान न्यायाधीश सामु छ ।
स्वतन्त्र न्यायपालिकाको पक्षमा र न्यायाधीशहरुको मानसम्मानको पक्षमा समेत उभिँदै र निरन्तर आवाज उठाउँदै आएको मजस्ता नागरिकहरु आज सर्वोच्च अदालत र प्रधान न्यायधीशको भूमिकाबारे जनमानस र सञ्चार माध्यममा उठेका आशंका देख्दा आहत भएका छन् । 

स्वयं वरिष्ठ अधिवक्ता र सभामुखसमेत भएका दमननाथ ढुंगानाले गत पुष २३ गते नागरिक अगुवाहरुसँगको कार्यक्रममा आफूले बोलेपछि आफ्नै हातले लेखेर एउटा प्रस्ताव सभाले पारित गरोस् भनेर वाचन गर्न लगाउनुभयो । उक्त प्रस्तावमा लेखिएको छ – “प्रधानमन्त्री केपी शर्मा ओलीलगायत कार्यकारी पदाधिकारीहरुले स्वतन्त्र न्यायालयका न्यायाधीशहरुलाई बारम्बार धम्क्याउने कार्य निन्दनीय भएकाले यस्तो कार्य तत्काल बन्द  गरियोस् भनी यो सभा माग गर्दछ ।” यो प्रस्ताव सर्वसम्मतिबाट पारित भयो । कार्यक्रममा बोल्दा उहाँले न्यायपालिकामा दबाब परेको आशंका व्यक्त गर्नुभएको थियो । 

त्यसको चार दिनपछि पुष २७ मा संविधान सभा सदस्य मञ्चले आयोजना गरेको कार्यक्रममा असी वर्ष हाराहारीका ढुंगानाले चर्को स्वरमा भन्नुभयो – “प्रतिनिधि सभा पुनःस्थापित नहुने हो भने अदालत नाङ्गिने छ । यो धम्की होइन् । संविधानमा विघटन गर्न पाइँदैन भनेको छ । त्यसकारण सर्वोच्च अदालतले प्रतिनिधि सभा ब्युझाउँदैन भने सर्वोच्च अदालतबारे जनताले के सोच्ने ? ”

उहाँले त्यसपछि भन्नुभयो – “...अदालतको जवाफदेही छ, न्यायाधीशले संविधान नाघेर फैसला गर्न सक्दैनन् । उनीहरुको पदीय सुरक्षाको कुरा छ । सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्छ, हामीले संसारमा देखेका छौँ । फिलिपिन्समा पुगेको बेला त्यस्तो भएको छ ।”

अदालतमै वर्षौं वर्ष बहस गरेर सबैले सम्मान गर्ने वरिष्ठ अधिवक्ता बनेका मानिसहरु आज किन ? अदालतबारे आशंका व्यक्त गर्ने ठाउँमा आइपुगेका छन् । सर्वोच्च अदालतले कार्यपालिका सामु औँला ठड्याएर यहाँनिर तिमीले गल्ती गर्यौ, त्यसैले यो भएन भनेर भन्न सक्ने नैतिक आधार र तेज के न्यायालयले गुमाएकै हो ?
दमननाथ ढुंगाना, गौरीबहादुर कार्की र चारजना पूर्व प्रधान न्यायाधीशहरु, सर्वोच्च अदालतका पूर्व न्यायाधीश र संविधानविदहरु जसरी बोलिरहेका छन् त्यसरी नै तीनले बोल्नुपर्ने अवस्था किन उत्पन्न भयो ? कसका कारणले कसरी भयो ? यसको जवाफ जनतालाई चाहिन्छ । 

हाम्रो संविधानले शक्तिशाली र स्वतन्त्र न्यायपालिका निर्माणको आधार स्वेच्छाचारिता र जे मन लायो त्यही फैसला गर्न वा कार्यपालिका प्रमुखसँग आफूलाई मन परेका व्यक्तिहरुको नियुक्तिको लेनदेन गर्न बनाएको होइन । स्वतन्त्र न्यायपालिका संविधानसम्मत फैसला गर्न र जनतालाई न्याय दिन बनेको हो । संविधानले देखाएको बाटोमा निर्बाधरुपले हिँड्न न्यायपालिका अनकनायो भने त्यसले देश र राजनीतिक प्रणालीमा नै गडबढी उत्पन्न गर्छ । 

यतिबेला सर्वोच्च अदालत र न्यायाधीशमार्फत् देशभित्र करोडौं आँखाले सतर्कताका साथ हेरिरहेका छन् । अन्तर्राष्ट्रिय समुदाय पनि हाम्रो संविधानको अंग्रेजी अनुवाद च्यापेर के फैसला हुँदोरहेछ हेरौँ न भनेर बसिरहेको छ । तसर्थ “...प्रधानमन्त्री र प्रधान न्यायाधीशबीच आवश्यकताभन्दा बढी निकटता देखियो” भन्ने भनाइलाई प्रधान न्यायाधीशको व्यवहारले खण्डन गरेर देखाउन सक्नुपर्छ । अपेक्षा र विश्वास गरौँ सर्वोच्च अदालत र प्रधान न्याधीश आफ्ना बारेमा उठाइएका आशंकाहरुलाई परास्त गर्दै संविधान र स्वतन्त्र न्यायपालिकाको रक्षा गर्न समर्थ हुनेछन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  १०:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC