site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अविवाहिता
Sarbottam CementSarbottam Cement

यो मेरो शरीर नै आफ्नो नहुने भन्नासाथ मलाई बिहेसँग घृणा लागेर आउँछ । कसैले बिहेको कुरा गर्नासाथ मेरी बालसखा पिङ्कीको सम्झना आइहाल्छ । कस्ती हक्की केटी ! कलेजमा त केटाहरूलाई तह लगाइदिएकी थिई । बाटो ढुकेर छेड हान्नेहरू लाखापाखा लाग्थे, सिंहिनीको सुइँको पाएपछि । नाम पनि त सुहाउने किसिमकै दिएका हुन् उसलाई ‘तिमी रुन्ची भुन्टी भनेजस्तै पिङ्की होइन, सिंहिनी हौ’ । ताजै लाग्छ, रामलाल सरले ९ कक्षामा पढ्दा दिएको उपनाम । कति डन पल्टेकाहरूका कठालो समातेर थुरेकी थिई कलेजमा । तर, हिजोको फेसबुक स्टाटसले विस्तारिँदै गएको बिहेको सोचलाई फेरि उल्झाइदियो :
जिउज्यान उस्तै
मुस्कान पनि उस्तै
आँखामा झल्किने शूरता कलेज पढ्दाकै जस्तै 
तर, फिस्टेले अँगालो हालेको छ अनि लेख्छ : ‘मेरा लागि यस धर्तीमा पाइला टेकेकी मेरी प्यारीलाई जन्मदिनको शुभकामना !’

०००

तीन कक्षामा पढ्दा सदर चिडियाखाना जाँदाको विस्मृतिमा भएको दृश्य फेसबुकको भित्तामा जीवन्त भएर आयो । मोबाइलमा होम बटन नथिच्दै स्कृन धमिलो हुँदै गयो अनि चिडियाखानाको दृश्य जुम हुँदै आयो । येमानको हात्ती, माउतेका इसारामा घुमिरहेको छ । केटाकेटीले दिएको पैसा टपक्क टिपेर माउतेलाई दाखिल गर्दछ । ‘बैठ’ भन्नासाथ सरीसृपजस्तै सत्रङ्गै हुन्छ जमिनमा । ढाडमा मान्छेका भार थपिन्छन् । माउतेले तालुमा बन्चरो चलाएपछि फेरि गति लिन्छ । आक्रोश, अटेर केही छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

मान्छे पैसा दिन्छन् : खुरुक्क टिप्छ र थपक्क माउतेका हाथमा थमाउँछ ।
मान्छे ढोग्न खोज्छन् : सुँड पसारिदिन्छ ।
मान्छे जम्मा हुन्छन् : फेरि ढाड थापिदिन्छ ।
अजङ्गको ज्यान, अथाह शक्ति तर फिस्टे माउतेका जन्जिरविहीन पासमा उनिएको छ, हात्ती ।

विस्तारै मोबाइलका फोटोहरू छर्लङ्ग हुँदै आए । त्यहाँ हात्ती थिएन । होओस् पनि कसरी ! म तीन कक्षामा पढ्दा क्यामेरा लिएर चिडियाखाना जाने कुरै भएन ! सङ्गीता मिसले ३६औँ फोटो हो, हेरौँ आइहाल्छ कि भनेर खिचिदिनुभएको हाम्रो ग्रुप फोटो धुलाउन पठाउँदा फोटो बनेर हामीसामु आएन, रिल डढेछ ! कोडाकको राम्रो रिल, विश्वसनीय छ भनेर धेरै पैसा हालेको रे मिसले ! नडढेको भए आज डिजिटलाइज्ड गरेर कति सेयर गरिन्थ्यो !

Global Ime bank

मोबाइलमा बूढाको स्टाटस र पिङ्कीको फोटो हेर्दाहेर्दै कसरी तीन कक्षा पढ्दाको दृश्य देखँे ? यो हुन सक्दैन । त्यतिखेर डिजिटल क्यामेरा थिएन । अनि, भर्खरको दृश्य ? मेरो बहुलठ्ठीपन ! नत्र कसरी सम्भव छ त ? खिच्दै नखिचेको भिडियो मोबाइलमा भर्खर देखेँ । कतै हालुसिनेसन र डिल्युजन हुँदै म आफैँ स्किजोफेर्नियाबाट ग्रसित त भइनँ ! डर लाग्यो, यताउता हेरेँ, मेरा असामान्य व्यवहार कसैले देख्न त देखेन ? एन्जाइटी बढ्दै गएजस्तो छ । घर गएर औषधि लिनुपर्छ... ।

बीए नसक्दै मलाई माग्न आएका थिए । मस्ती गर्ने बेलामा पराइको घरमा ठिँगुरिने कुराले मलाई आहत पारेको थियो, त्यतिखेर । त्यसैले त भनिदिएकी थिएँ, ‘आमा ! चिन्ता नमान्नुस् के ! तपाईं किन सधैँ गनगन गर्नुहुन्छ ? मेरो बिहेको चिन्ता लिनै पर्दैन । तपाईंको बेलाजस्तो जमाना छैन अहिले । म पढेलेखेकी छु । आफ्नो ज्यान पाल्न सक्छु । हतारमा बिहे गरेर फुर्सदमा पछुताउनु त भएन नि !’ 

‘तैँले भनेको त ठिक हो । तर, तेरा बाबा गएदेखि काकाहरूले हामीलाई राम्रो दृष्टिले हेरेनन् । जोरीपारी पनि आगो बलेको बेला मात्र साथ हुने रहेछन् । हामीलाई पर्दा कसैले हेरेनन् । टुहुराको भाग्य फिर्छ त भन्छन् । तर, छोरी ! उमेर ढल्केपछि गाह्रो हुन्छ कि । कुरा काट्नेको मुख थुन्न सकिन्न, विचार गर है ।’ 

आमा जहिले पनि घुमाइफिराइ बिहेका कुरा गरिहाल्नुहुन्थ्यो । एकपटक त अति भएर आमासँग मुख लागेकी थिएँ, ‘मैले के बिगारेकी छु र ? म हाँसीखुसी घरमा बसेको त देख्नै नसक्ने ! केको डाहा होला यी आमालाई पनि ! मलाई पठाएर कस्तो मस्ती गर्न खोजेकी होलिन् यिनले ?’ 

‘हुन्छ छोरी, तिम्रो मर्जी गर । जवानी सधैँ रहन्न । कर्कलाको पानी भन्छन् । पढेलेखेकी छौ । समयमा जिम्मा लगाइदिन पाए यसलाई शान्ति मिल्थ्यो भनेर हो ।’ आमाका आँखामा टलपलटलपल आँसु छचल्किन लागेको थियो । तर पनि सधैँको गनगन कति तन्काउने भनेर मैले वास्तै गरिनँ ।

एमए पढ्ने बेला भेटिएको रत्नसिंह खासै रुपौलो त थिएन । तर, किनकिन उसको हाउभाउ र बोलीचाली मलाई प्रिय लाग्न थालेको थियो । जिस्किँदै कुरा गर्ने, नोटबुक आदानप्रदान गर्दा मेरा कापीमा सायरी लेखिदिने गरेपछि एकपटक गाली पनि गरेकी थिएँ उसलाई, ‘सरी त्यसो नभन न, तिम्रो कापी भेटेपछि म आफूलाई नियन्त्रण गर्नै सक्दिनँ, के लेख्छु के ? सरी है ।’ उसका अनुहारमा निर्दोषिता र आग्रहमिश्रित कारुणिकता झल्कन्थ्यो ।

धेरैपछि मात्र एकान्तमा घाम ताप्दै बदाम खाँदा रत्नसिंहले मसँग मनको कुरा खोलेको थियो । उसको कारुणिक अवस्थाले मलाई उसबाट टाढा बनाएन । बरु, आफ्नै मान्छेजस्तो लाग्न थाल्यो ऊ । 

‘रश्मी तिमीलाई अप्ठेरो लाग्दैन भने म केही कुरा भन्छु, सुन्छ्यौ’, मैले स्वीकृतिको टाउको हल्लाउनासाथ ऊ पोखिन थाल्यो, ‘म सानै छँदा आमा बित्नुभयो । म र बहिनी जुम्ल्याहा जन्मेका रे ! हुन त बहिनी भन्ने कि दिदी आखिर नौ महिना गर्भमा त सँगै बसेका थियौँ । तर पनि दैवको खेल म अलि स्वस्थ रहेछु, ऊ बिचरी राम्ररी सपे्रकी पनि थिइन । त्यसैले गर्भबाट बाहिर निस्कँदा मैले उछिनेछु उसलाई । बाबाले औषधि गर्न कति ठाउँ पु¥याउनुभयो । तर, आंशिक सुधारबाहेक केही भएन । ऊ र म त गर्भदेखिकै साथी । तर, दैवले १० वर्षको उमेरमा हामीलाई विछोड गराइदियो । घरमा बाबा र मबाहेक कोही भएनौँ । साँच्चि भन्ने हो भने महिलाको कोमलता मैले चलचित्र र साहित्यमा मात्र अनुभव गर्न पाएँ । बाबाले पछि छिमेककै विधुर भाउजू पर्ने काकीसँग घरबास गर्नुभयो । तर, म उहाँसँग कहिल्यै नजिक हुन पाइनँ । कारण, बाबाले विवाहभन्दा अघि नै मलाई होस्टेलमा राखिदिनुभएको थियो । बिदामा मामा लिन आउनुहुन्थ्यो । मामाघरमै बसेर बिदा बिताउँथे । मामाघरमा पनि बहिनी त थिइन् तर कुन्नि किन हो, बहिनी पनि मेरा सामुन्ने पर्दिनथिन् । आफ्नै बहिनीको मृत्युले सायद मेरो भावुकता र संवेदनशीलता मारिदिएको थियो होला । कुनै पनि केटीसँग कहिल्यै निकट भइनँ । तर, यो उमेरमा आएपछि किन किन तिमीसँग बोलचाल गर्न अलि सहज महसुस गर्दछु । तिमीबाट टाढा हुँदा मेरी बहिनीको बिम्ब तिमीमा देख्न थाल्दछु । त्यसैले कतिपटक तिम्रा कापीमा केके लेखिदिएँ, माफ गर ल । मेरो शुष्क मानसपटलमा तिमी साक्षात् सरिता बनेकी छ्यौ ।’ उसले आफ्नो गुह्य अतीत कोट्याउँदा कैयौँपटक म पनि भावुक बनेकी थिएँ । यसैले उससँग विपरीत लिङ्गी आकर्षणभन्दा सहानुभूतिपूर्ण प्रेम बढ्न थालेको थियो । उसप्रति प्रेमभन्दा पनि दयाभाव राखेकी छु जस्तो लाग्दथ्यो मलाई । यसैले त कहिलेकाहीँ जिस्काइदिन्थेँ मैले नै उसलाई एक किसिमको डोमिनेसन मेरै भएकाले ।

‘रश्मी ! हेर त मैले मोटरसाइकल किनेँ नि । तिमीले उद्घाटन गरिदेऊ ल ।’ सहकारीमा जागिर गरेपछि किनेको मोटरसाइकल देखाउँदै उसले भनेको थियो । ‘खै कैँची र रिबन, ल्याऊ न त म काटिदिन्छु नि ।’ मैले भनेँ । ‘त्यस्तो कहाँ हो र लाटी ! जे कामको चिज हो, त्यही काम सुरु गरेर पो उद्घाटन गरिन्छ त । आऊ तिमी पछाडि बस म कुदाउँछु अनि त उद्घाटन भैहाल्यो नि ।’ उसको मन राखिदिन म बाइकको पछाडि बसिदिएँ । ‘आज म चढ्ने बाइकको उद्घाटन तिमीले गरिदियौ, प्रमुख अतिथि बनेर । तिम्रो जीवनको यस्तै खुसी मैले उद्घाटन गरिदिन पाए कति मजा हुन्थ्यो ।’ अभिधा अर्थबोध गरेर फिस्स हाँसिदिएँ म ।

उसँग फाट्टफुट्ट बाइकमा हिँड्डुल गर्दा उसको ढाड र मेरो वक्षस्थलबीच घर्षण हुन्थ्यो । त्यतिखेर खासै केही नभए पनि उसँग छुट्टिएपछि भने त्यहीँ स्मृतिले मभित्र कुरकुरे बैँस चढ्न थालेको हो किजस्तो लाग्दथ्यो । अनि, सम्झन्थेँ आमालाई, सायद यही भोक निवारण गर्न छोरी यत्रतत्र बरालिन्छे कि भनेर मलाई सम्झएकी थिइन् होला । तर, म त्यस्ती नकच्चरी कहाँ छु र ! आफूलाई नियन्त्रणमा राखेर बस्ने भद्र र शिक्षित नारी पो हुँ त । म आफैँलाई बलियो बनाउँथेँ भित्रैदेखि ।

कलेजमा छुट्टिने बेला भएपछि मात्र म झसङ्ग हुन्थेँ कति छिटो बित्यो दिन भनेर । कताकता उप्रति म आसक्त भएकी थिएँ कि, तर लैङ्गिक विषमतासिर्जित आकर्षण भने थिएन नै ।

दिन बित्दै गए । ‘कस्तो बोर लागेको छ, कतै घुम्न जाऔँ न रत्न !’ अनायास मेरा मुखबाट झरेका थिए यी वाक्य । के खोज्छस्... आँखो, किन पछाडि पथ्र्याे र ऊ । दमित पुरुष कुण्ठाले मलाई भोग्या पो देखेछ क्यारे ! नगरकोटको योजना बनाइहाल्यो । ‘एकैछिन मात्र घुम्ने कुरा गरेकी हुँ । म त्यति टाढा त नजाने भो’ मैले भन्दा ‘फर्किहालौँला नि’ उसले जवाफ दिएको थियो । 

आवश्यक नपरेको ठाउँमा समेत ब्रेक लगाउँदै मलाई नगरकोट पु¥यायो । अरू दिनभन्दा ऊ बढी नै फुर्तिलो देखिन्थ्यो त्यस दिन । नगरकोट पुगेर केहीबेर घुमफिर ग¥यौँ । मैले ‘अब ढिला नगरौँ, घर फर्कन ढिलो भयो’ भनेँ । तर, उसले चालै गरेन । होटेल बुक गरेको रहेछ । त्यसैले त फर्कने कुरा गर्दा पटक्कै मानेको थिएन उसले । मैले फर्कन कर गर्दा सोझै भन्यो, ‘आफैँले अफर गर्ने अनि आफैँ विथ ड्र ? धामी र झाँक्री दुवै आफैँ ? आज फर्किन सकिन्न, भोलि कलेज जाऔँला यतैबाट ।’

एकाएक मेरो ढुकढुकी बढ्यो, छातीमा नौ रेक्टरको भूकम्प महसुस भयो । आफैँले खनेको खाल्डोमा फसेको आभास भयो । तर, मेरो उद्धार गर्न कोही आउनेवाला थिएन । कोठाको साँचो लिने क्रममा देखेको होटेलको रेकर्ड विवरणले त झनै छाँगाबाट झरे सरी बनायो मलाई ।

कोठा नं. : ६९ 
नाम : रत्नसिंह
ठेगाना : काठमाडौँ
परिचय खुल्ने प्रमाणपत्र : नागरिकता
आगन्तुक सङ्ख्या : २
सँगै बस्नेको नाम (यदि भएमा) : रश्मी
ठेगाना : ऐजन
सम्बन्ध : लोग्नेस्वास्नी

एउटा मात्र बेड भएको रुम बुक गरेकोमा पनि आपत्ति गरिनँ मैले । किनकि, जालबाट मुक्ति पाउने आधार समाप्त भइसकेको थियो । ‘आऊ डार्लिङ हल्का ड्रिङ्ग्स गरौँ ।’ उसले प्रस्ताव राख्यो । अस्वीकृतिको टाउको हल्लाएँ । बलि दिन लागेका बोकाका कानमा पानी हालिदिएपछि मुन्टो हल्लाउँछ नै बिचरा ! तर, बोकाले बलि चढ्न स्वीकृति दिएकोे अर्थ लगाउँछन् पाखण्डीहरू । मेरो अस्वीकृति उसलाई झन् राम्रो बहाना पो भयो । ड्रिङ्ग्स गरेको निहुँमा लाजको सीमा मिचेर मलाई च्याप्प समातेर मुसार्न थाल्यो । अनायास मेरा निजी क्षेत्रमा समेत कब्जा जमाउन पुग्यो । ‘त्यति कोमल, निरीह, टिठलाग्दो र सरल व्यवहार गर्ने केटो आज कतिविघ्न हिंस्रक बन्न सकेको होला !’ मनमा तर्कना आइरहेको थियो । 

‘अहिले रमाइलो गराैँ, जीवनसँगै बिताउँला, उद्घाटन म गर्ने कि तिमी ?’ मेरा आँखाभरि होटेलको एन्ट्री बुकको चित्र नाचिरहेको थियो, म केही बोलिनँ । उसले मेरो मौनतालाई स्वीकृति नै अथ्र्यायो ।

नौ कक्षामा पढ्दै गर्दा व्यभिचारमा परेकी समीक्षालाई सम्झेँ । ऊ त बिचरी अनाडी नै थिई र शोषणमा परी । ट्युसनको बहानामा बिचरीको सर्वस्व खोसिदिएछ उसकै साथीको बाबु भनाउँदो नरपिशाचले । छ महिनाको भ्रूणहत्या गर्न विवश भएकी थिई । कलिली र कच्चा बुद्धिकी बिचरीलाई दबाब र प्रभावमा पार्ने ट्युसन टिचरलाई समाजले दोषी देखेन । बिचरीलाई नै अपराधी मान्दै छिःछिः दुरदुर गर्न थाल्यो । आफ्नै छोरीसमानकी चेलीको हुर्मत लिनेले माफी पाउने भएरै होला जतिसुकै सबला भए पनि नारीलाई अबलाको संज्ञा दिने गरेका !

अचेतन मनमा भएका यिनै कुरा मनमा खेल्न थालेकाले रातभर निद्रा लागेन । मैले बिहे गर्न आलटाल गर्दा आमाको छटपटी किन बढेको रहेछ बल्ल बुझ्न सक्ने हुन थालेकी थिएँ । बिहानपख मात्र आँखा लागेछन् । निद्राले छोड्दा निकै झस्केँ । एक युवकसँगै सर्वाङ्ग नग्न अवस्थामा आफूलाई भेट्दा को झस्किन्नथ्यो होला र ? अझ म त अविवाहिता ! मौन भएरै हामी फर्कने सुरसार गरिरहेका थियौँ मानौँ कुनै मेसिनका पाटपुर्जा, जसले अर्काको कुनै वास्ता नगरी आफ्ना काम निरन्तररूपमा गरिरहेका हुन्छन् ।

कैयौँ विषय थिए कुराकानीका, अझ म त बढी नै वाचाल थिएँ । तर, बिहान नौ बजेसम्म एकापसमा दोहोरो कुराकानी केही भएन । झैझगडा नभए पनि हाम्रा मुख खुल्नै मानिरहेका थिएनन् । आखिर नबोलेरै पनि त धेरै कामहरू हुनसक्दा रहेछन् नि । अन्डा र ब्रेडसहितको ब्रेकफास्ट गरेर होटेलबाट निस्कियौँ हामी । मैले उसँग आँखा जुधाउनै सकिनँ । होटेलवाली साहुनीले कुन्नि किन हो, हामी होटेलबाट निस्केर परसम्म पुगुन्जेल एकटकले हेरिरहेकी थिइन् । हिजोदेखि नै कता कता परिचित अनुहार लागेको थियो मलाई । यसैले त मैले मास्क खोल्दै खोलिनँ । तर पनि खानाखाने बेलामा मसँग कुरा गर्न खोजेजस्तो गरिरहेकी थिइन्, म आफैँ टाढिएर उनलाई मौका नै दिइनँ । किन होला उनका आँखामा मैले मेरी आमाका अनुहारको झझल्को महसुस गरेँ । मलाई ग्राहकसँग होटेल चहार्ने केटी ठानेर व्यापारका लागि पो हेरेकी हुन् कि वा मेरो अव्यक्त आर्तनाद सुनेर बन्धकी बन्न लागेको अस्मिता जोगाइदिन आएकी देवदूत पो थिइन् कि ! मलाई पश्चात्ताप महसुस भयो, उनीसँग कुरा नगरेकोमा । हिजो साँझ तिनै महिलाको सहयोग मागेर आफू सुरक्षित बस्न प्रयास गरेको भए आज यो पश्चात्ताप र म आफू डराउनुपर्ने अवस्था आउने नै थिएन भन्ने बुद्धि पछि मात्रै आयो । समयमा विचार गर्न नसक्दा आफैँ समस्याको भुमरीमा फसिँदो रहेछ भन्ने सबक सिकियो । तर, सबै कुरा मबाट गुमिसकेको थियो ।

बाटोमा केही नबोली उससँगै मोटरसाइकलमा हुत्तिएकी थिएँ । बीचबीचमा अनावश्यक ब्रेक लगाएर मलाई आफूतिर हुत्याइरहेकाले मनमा उद्विग्न चोट परिरहेको थियो । ‘रातभर आसुरीनृत्य गरेर पनि अझ धित मरेन र के गर्न खोजेको’ मैले भनेँ । मौनता साँधेर ममाथि विजय हासिल ग¥यो उसले । मेरो मौनता सधैँ पराजय र अवलापनको सङ्केत भइरहँदा उसको मौनता भने उसैलाई झन् पुरुषार्थी र शक्तिशाली बनाउने अस्त्र बनेको देख्दा आफैँमाथि दया लाग्यो अनि हीनताबोधको आभाष पनि सँगसँगै भयो । 

सूर्यविनायक पुगेपछि उसले मोटरसाइकल रोक्यो । नजिकै रहेको फार्मेसीबाट खै के हो कुन्नि लिएर आयो । म आफ्नै तनावमा थिएँ, केही चासो राखिनँ । कौशलटार आइपुगेपछि मात्रै चियापसलमा चिया खान रोकियौँ हामी यन्त्रवत् । मेरो मन हिजोका घटनाबाट भिन्न हुन सकेको थिएन । दिउँसो कलेजमा आफूले यतै नजिकै कतै घुम्ने उद्देश्यले घुम्न जाऊँ भनेर गरेको आग्रह यति भयानकरूपमा उपस्थित होला भन्ने कल्पनासम्म गरेकी थिइनँ । 

‘अर्को समोसा पनि खाऊ न’, रत्नका आवाजले मलाई झस्कायो । उसले चिया–समोसा थपेर खायो । सायद, उसलाई यो घटना सामान्य लागेको होला । मजस्तै अनेक केटीहरूसँग नगरकोट पुग्न अभ्यस्त हुनुपर्छ ऊ । मलाई भने आकाश नै खसेजस्तै लागेको छ । मस्तिष्कमा बलात् उनै दृश्य तथा हिजोकै घटना र परिवेशले चक्कर लगाइरहेको थियो । चिया खाइसकेर बाहिर निस्किन थाल्दा मेरो हातमा एउटा पिल्स राखिदिँदै खान भन्यो । आज्ञाकारी अनुचरलेझैँ उसले जे भन्छ मैले त्यहीँ गरेँ ।

जीवनमा धेरै कामहरू पहिलोपटक मात्र कठिन हुँदा रहेछन् । अनुशासन भङ्ग गर्न पनि बानी परेपछि त सहज नै हुने रहेछ । सुरुमा कोक खाँदा घाँटी टट्याएर कम्ती आपत् परेको थिएन । तर, अहिले जाडो महिनामा पनि कोक पिउन मन लाग्छ । नौ कक्षामा पढ्दा पिङ्कीसँग एक दिन कक्षा बङ्क गरेर चलचित्र हेर्न जाँदा मुटु भुक्क फुलेको थियो । तर, कलेज पढ्दा कक्षा बङ्क गर्न कत्ति अप्ठेरो महसुस भएन । आमाले भनेको अटेरी गर्दा कति गाह्रो हुन्थ्यो केटाकेटी अवस्थामा, कहिलेकाहीँ आमालाई कडा जवाफ दिएँ भने पश्चात्तापले एक्लैएक्लै रोएर बस्थेँ । आज घरबाट बरालिएर अर्कै युवकसँग रात बिताउँदै हिँड्दा कठिन लागे पनि के थाहा कुनै दिन यही जीवनशैली सामान्य लाग्न पनि सक्ला । 

यस्तै कुराको सोचमा मन घोत्लिइरह्यो दुई–तीन महिनासम्म । नभन्दै तीन वर्षको अन्तरालमा उपत्यकाका काँठमा कैयौँ नाइट स्टे सेन्टरमा रात बिताइएछ । प्रोजेक्ट वर्क भएकाले घर आउन पाउन्न भनेपछि चुप लाग्थिन् बिचरी मेरी आमा !

०००

‘हेर न मलाई घरबाट प्रेसर आयो आफ्नै नातामा बिहे गर्ने संस्कार छ हाम्रो । मामाकी छोरीसँग बिहे नगरे म घरपरिवारबाट एक्लिनु पर्छ । मेरी बहिनीको मृत्यु भएपछि जोतिसीले मलाई पनि मर्छ भनेको थियो रे । अनि, ग्रहशान्तिका लागि दुई वर्षकी मामाकी छोरीसँग बिहे गरिदिएका थिए रे मेरो । हेर न म ठूलो समस्यामा परेँ । यता, तिमीलाई छोड्न सक्दिनँ । उता, बाल्यकालमै बिहे भइसकेको रहेछ, त्यसलाई नि भञ्जन गर्ने सामथ्र्य छैन । म निकै अभागी रहेछु, मरिदिन्छु टन्टै सखाप । बहिनी बेलैमा मरिन् म बाँचेर कति यातना सहनु ।’ एकै श्वासमा विवशता र निरीहता देखायो मसँग । तिमी धोकेबाजलाई म त्यत्तिकै छोड्दिनँ भनी गलहत्याउने विचार पनि आएको थियो । तर, किनकिन उसका अगाडि आफू कमजोर देखिनुहुन्न भन्ने सोचले जितेकाले म होटेलमा जस्तो मौन बसिनँ, साहसका साथ भनेँ, ‘हुन्छ, मलाई धोका दिएर तिम्रो फलिफाप हुन्छ भने गर, तर मर्ने कुरा नगर ।’ 

औपचारिकरूपमै बिछोडिएपछि उससँग बिताएका घटनाले क्षणक्षणमा रोमाञ्चित बनाए पनि त्यसभन्दा बढी हरेक दिन ग्लानि र पीडाबोध हुन थाल्यो । साथीसंगातीका हुर्कँदै गरेका छोराछोरी देख्दा माया लागेर आउँथ्यो । एउटा रहरले मनमा डेरा गर्न खोज्दथ्यो । तर, आफ्नै कारण मेरो जीवन सरलताबाट जटिलतम् पथमा गुडिरहेको थियो, जसले कल्कलाउँदा रहरका टुसालाई अकालमै समूल अन्त्य गरिदिन्थ्यो । 

जीवनको एउटा क्षण त्यस्तो आउँदो रहेछ, जहाँ समवयीसँग अज्ञातरूपमै आफ्नो अवस्थाको तुलना गरेर आफैँलाई निरीह ठम्याइँँदो रहेछ । सायद, यस्तै बेलामा होला कैयौँ मानिसहरूले जीवनलाई दुर्घटनामा धकेल्ने ! स्वपीडक भावले उग्ररूप लिँदै जाँदा आफ्नै बेइज्जती गर्नसमेत मनलाग्दो रहेछ । तर, समयले मलाई यस साेँचबाट छिट्टै अर्को किनारामा हुत्यायो जहाँ दया, माया करुणाभन्दा अरूलाई पीडा दिँदा आनन्दानुभूति हुने रहेछ । सोझासिधा केटाहरूलाई भ्रममा पारेर आफूअनुकूल नचाउँदा मनमा परेको पीडाको उन्मुक्ति र विरेचन हुँदो रहेछ । अनि त के छोराछोरीका बाउ के अफिसका किशोरहरू सबैसँग कत्ति नहिच्किचाई पालैपालो रमाउने बानी परेछ ! रत्नले दिएजस्तै धोका मन्जिल र सुवर्णलाई दिएँ मैले पनि । मैले छोडिदिएपछि बिचरा सुवर्ण त पाटन अस्पतालमा छ भन्ने सुनेथेँ । तर पनि उसप्रति पटक्कै करुणा पलाएन । रत्न र ध्रुवजस्ता पिपासुहरूले चुस्दाचुस्दै मभित्रको कोमलता खर्लप्पै रित्याइदिएछन् क्यारे ! अरूलाई तड्पाउन पाउँदा आत्मसन्तोष मिल्दछ । चालिस पुग्न लाग्दा पनि कलिला केटाहरू पछि लाग्न खोज्दछन्, आफूमा रहेको चुम्बकीय गुण सम्झँदा आफैँ मक्ख पर्दछु । तर, आशा मारेर हो वा सम्भावना टरेर हो विवाहको हुटहुटी लगाउनेहरू कताकता क्षितिजमा विलिन हुँदै गएको पाउँछु । मलाई त खासै केही भएको थिएन, आखिर विवाह गरेपछिको त्यस्तो कुनै कुतूहलता र उत्सुकता पनि बाँकी थिएन । तर बूढी आमाका आँखामा असन्तोषको ज्वाला आँखाका ढक्कनलाई बलजफ्ती धकेल्दै असरल्ल परेकोे देख्दछु । १५ वर्षअघि निकै कर गर्थिन् बिचरी, तर कुन्नि किन हो, अहिले बिहेको कुरै निकाल्दिनन् !

०००

‘रामलाल सर हिजो बित्नुभयो । भोलि शोकसभा गर्ने रे । हजुरलाई निम्तो छ ।’ चिठी थमाएर जाने १४—१५ वर्षका दुवै किशोरलाई च्याप समातेर रत्नसिंहले आफूलाई नगरकोटमा राखेझैँ बन्दी बनाउने राक्षसी सोचले खग्रास पा¥यो मेरो मनलाई । धन्न फुच्चेहरू चिठी दिएपछि हिँडिहालेछन् । बाहिर निस्केर हेरेँ कतै देखिएनन् । आज फेरि पोखिन लागेको कुण्ठा प्रकट हुनुभन्दा अगाडि आफैँले नियन्त्रणमा राख्न सकेँ मैले ।
रामलाल सरलाई श्रद्धाञ्जलि दिने कार्यक्रममा मानिसहरूको भव्य उपस्थिति देख्दा यस्तै नामी बनेर मर्ने रहर लाग्यो मलाई पनि । तर, नाम कमाउने साधनहरू यताउता छामछुम गरेँ, केही भेटिनँ । जीवनप्रतिको नश्वरताबोध भयो पहिलोपटक आज । सायद, ‘एज फ्याक्टर’ले पनि सपोर्ट गरेको हुनुपर्दछ यस्तो फिलिङ््स् आउनका लागि । 

कस्तो संयोग ! घरमा पनि सभा चलेको रहेछ । हठात् सहभागी हुन पुगेँ । सन्दर्भ, प्रसङ्ग केही छैन अकस्मात् अपरिचितका मुखबाट फुटेका कर्कस ध्वनि मेरा कानमा मात्र होइन मथिङ्गलमै रोपिए, ‘दुईवटै बच्चाहरू हुर्किसके, अमेरिकामा पढ्दै छन् । बाबा तपार्इंलाई एक्लै बस्दा गाह्रो हुन्छ, हामी पनि नेपाल फर्कन्छौँ वा फर्कन्नौँ ठेगान छैन । फर्के पनि हजुरलाई समय दिन सक्दैनौँ । समयमै सोच्नुस् है भनेकाले मात्र हो ।’ अपरिचितका कुराले झनक्क रिस उठ्यो । आफूमा बढ्दै आएको बुढ्यौली, कानपछाडि सुनिँदै आएको बूढीकन्याको उपाधिलगायतका सबै कुरालाई पचाइरहेकी थिएँ । चालिस टेकेपछि उत्कर्षमा पुगेको कुरकुरे बैँस र आधी उमेर कान्छा केटाहरूले पछ्याउँदा साँच्चै सोह्रवर्षे युवतीका रूपमा आफ्नो छवि पनि देखाउने गर्दथेँ । तुरुन्तै रत्न, मञ्जिल, ध्रुव र सुवर्णलाई सम्झिएँ । आफ्ना समवयी सबै साथीहरूका सन्तान हुर्किसकेको कुराको स्मृतिले आफू पनि जीवनको उत्तरार्धमा पुगेको महसुस भयो । अनि, आफ्नो जवानीसँग खेल्ने केटाहरूले ममाथि अन्याय र शोषण गरेकामा निरीहता बोध पनि भयो । किनकिन घरमा उपस्थित विधुरप्रति दया लाग्यो । तर, विधुरसँगको बिहे स्वीकार गर्न मनले मानेन । पुरानै अस्त्र प्रयोग गरी बसेँ, मौन अस्त्र ।

मौनताको अर्थ ?
उही त हो ।
अरू के लगाउँथे र ?
बलि दिन लागेको बोकाको जस्तै । 
माने मान, नमाने पनि मान ।

‘धेरै रमझम गर्ने मन छैन, दिन तय गर्न पाए छोराछोरीलाई पनि झिकाउन हुन्थ्यो ।’ त्यही अनुहारले मेरो घरलाई पुनः पछ्यायो । मैले स्वीकृति अस्वीकृति केही दिएकी छैन । तर, उसले बिहेकै तयारी थालेछ । किरा लागेको दाँत कोट्याउँदाको जस्तो आनन्दमिश्रित पीडा अनुभव भइरहेको थियो मलाई । 

पिङ्कीको बूढो मलाई माग्न आएको रे ! कोरोनाका कारण पिङ्कीले देहत्याग गरेपछि मेरो पालो फिरेको ? च्व च्व च्व...।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC