site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
झाँकी
Sarbottam CementSarbottam Cement

अनन्त वायुवेगले उडेको मन कोरोना कहरको प्रकम्पित अतिशय हेमन्तकालीन मीनपचासले उधिनेको छ । कोरोनाको अज्ञात विलापले मनको अन्तरकुन्तर खण्डित छ । कोरोना कहरले विश्व त्राहिमाम भएको यस घडीमा धन्न लेकाली हावापानीको कृपाले केही भएको छैन । यस मानेमा भय र आतङ्कले शोकाकुल मन किञ्चित् खुसी छ ।

यति बेला साथीहरूसँगको भेटमा एकार्कालाई हाई हेल्लोमा प्रसन्नताको जलप लगाउनुपर्ने तथाकथित दिन आएको छ । यस्तो दुर्दशा यो युगकै अवाञ्छित क्रिया हुन गएको छ । वास्तविक मन बेचैन छ ।

कहिलेकाहीँ मन बेहदरुपमा बेचैन हुने गर्छ । बेचैनी आफैँ गानाबजाना लिएर पक्कै आउँदैन । यो भैपरि आउने जीवनका आकस्मिक परिघटनाका किस्सा नै हुन् । यस्ता अनगिन्ती बेचैनीसँगको जुधाइमा जीवनको चार दशक बितेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कहिले बेचैनीले मेरो जीवन घानमा पिसियो । कहिले बेचैनीको कठालो समाएर अघि बढियो । यसरी नै अधमरा जीवनका दिन बित्दा छन् ।
१८ माघ, २०७५ तदनुसार फेब्रुअरी १ तारिख २०१९ मा लेखिएको ‘बेचैनी मन’ शीर्षकको कविता फेसबुकको वालमा पुनः देखियो । एकछिन आफ्नै कवितामा घोत्लिएँ–
बेचैनी मन छट्पटी प्रकृतिमा एक्लै कराएसरि
भौँतारिन्छ सदा दुखेर तन यो आत्मा हराएसरि
यस्तो राग विराग भाव नहुने कस्तो कहानी भयो ?
आधा मर्नु भने जसो हृदयमा जल्दै जवानी ढल्यो ।।

कौवाको पछि कान खोज्न जसरी दौडेँ विनाअर्थ म
बत्तीमा पुतली भएर म जलेँ, खस्दै झरेँ हेर न
अन्धो लाभ रहेछ दर्द मनमा लाखौँ उमारी दिने
अज्ञानी हुनु पापतुल्य तनमा रोगी बिमारी हुने ।।

Global Ime bank

कैयौँ वर्ष मरेर बाँच्नु त झनै गाह्रो हुने आसमा
साह्रै नै विकराल जीवन सहेँ मैले कुनै सालमा
भित्री ज्ञान समस्त जागृत भई उर्लेर सौगन्धमा
आओस् हुन्छ सदा सुवासित मनै उन्मुक्ति आनन्दमा ।।

चिन्ताको गहिराइमा मन डुबे बाँच्दैन यो जिन्दगी
साँच्चै जीवन कष्टमा अब नहोस् सोच्दैछ यो जिन्दगी
आत्मा तृप्त हुने सुधा प्रकृतिमा बाँकी कतै भैदिए
ए, ज्ञानी ! अब प्राप्त गर्न म सकूँ आसन्न मौका भए ।।

चिर्दै व्याप्त अगम्य रात जगको हाँस्दै उदाए रवि
पीडामा पनि आश हुन्छ विजयी भै प्राप्ति होला छवि
ईष्र्यामा दिनरात जल्नु पनि त्यो होला अहंकार नै
फ्याँक्नै पर्छ समस्त कल्मष अझै छिप्दै बसेका सबै ।।

यो कविता पढ्दापढ्दै साह्रै बेचैनी भएको शरद्कालीन चिस्यानको एउटा यादगार मिति मेरो मथिङ्गलको किनारामा तैरियो । गाउँघरका नानीला, सालम्बो, सिँगारु, ख्याली, झ्लोल्ला, डिग्रे, पैसेरु, गरुवा आदि गानाबजाना र नाचको बेलैमा पुस्तान्तरण गर्न नसकिएकोमा निकै थक्थकी लागेको गरमागरम दिन थियो । त्यही मनको बेचैनीपनाले झट्ट निकास पाउने एउटा उदीयमान दिनको जन्म हुने तरखर थियो । अर्थात् २२ गते कात्तिक २०७७ तद्नुसार ७ अक्टोबर २०२० । शनिबारको दिन ।

यो दिन मनको एकान्तिक केन्द्रविन्दुमा उत्सर्जित भएको कला चेतनको अहम् प्रामाणिक रहन गएको दिन थियो । लामो समयको परिकल्पनाले आकार लिन थालेको सबुत थियो । यसले गर्दा मनको एक माना खुसी भरिएको थियो । चुलिएको थियो । मेरो निर्देशनमा र बसबहादुर पुनको संयोजकत्वमा लोकसंस्कृतिकर्मीहरूको परिषद् गठन भयो । जसको नाम ‘मईंनाम सांस्कृतिक परिषद्’ प्रस्तावित गरेँ । यसको छोटकरी नाम ‘मसाप’ रहन गयो । सोमबारे पुन अध्यक्षमा प्रस्तावित भए । उनलाई बसबहादुर पुनले नै अध्यक्षको लागि प्रस्ताव गरेका थिए । यसमा उपस्थित कसैको विमति रहेन । सोमबारे परिषद्को अध्यक्षमा र उपाध्यक्षमा तुल पुन चुनिए ।

लामो समयको आन्तरिक बेपर्वाहको बेफाइदास्वरूप लथालिङ्ग हुन लागेको सांस्कृतिक परिवेशलाई पुनः ब्युँताउने कामको सुरुआती थालनी यथासक्य हुने भयो । यो परिषद् आफ्नो सांस्कृतिक इतिहास जोगाउनुको चिन्ताले गठन गरिएको हो ।

यद्यपि, बोलाइएका अधिकांश संस्कृतिकर्मीहरू आ–आफ्ना घरायसी कामले उपस्थित थिएनन् । जहाँ नयाँ अनुहारको बाहुल्यता मनग्ये थियो । सबैमा एउटा आशा पलाएको थियो । अझै पनि जागरूक हुनुपर्ने कुरामा उति चासो नदेखाएको कुराले मनको आशामा नजानिदो पीडा छल्कियो ।

उपस्थित सबका अघि परिषद्को महासचिवमा बिर्जमान पुनलाई मैले प्रस्ताव गरेँ । सचिवमा तीर्थफल नेपाली छानिए । कोषाध्यक्षमा कर्मराज पुन र सह–कोषाध्यक्षमा हस्तप्रसाद पुन चुनिए । सदस्यमा पुनिराज पुन, अदिराम पुन, भक्तिराज पुन, कबल पुन र बाँकी पछि थप हुने गरी अपुरो परिषद्ले आफ्नो सुरुआती आकार लिन सक्षम भयो । कमसेकम यति गर्न सकेकोमा पनि मनमा एउटा महान् सुखानुभूति ज्याज्वल्यमान भयो ।

कोरोना कहरको लघुआतङ्कमुनि गाउँमा सांस्कृतिक झाँकीमार्फत सहयोग जुटाउने मेरो प्रस्तावमा सबैको सहमति भयो । जसमा मादलको अभाव रहेको आवाज उठ्यो ।

मादलको लागि कि घर्तीगाउँ रोल्पा जानुपर्ने कि रुकुम पश्चिम जानुपर्ने दुईवटा कुरा निस्किए । मैले जाङ्गतिर पनि पाइने कुरा गरेँ । परन्तु यता उति चासो भएन । खलङ्गामा बस्ने मेरो भतिजो देविन घर्ती मगरलाई कल गरेर सोधेँ । उनले मादल किन्नेदेखि गाडीमा पठाउनेसम्मको काम आफूबाट हुने बताए ।

यसपालिको भाइटीका र मंसिरे मेलासँगै परेको थियो । मंसिर नजिकिन लागेको अवस्था थियो । महासचिव बिर्जमान र सचिव तीर्थफलको रोहबरमा देविनलाई बीस हजार रुपैयाँ आईएमई गरियो ।

देविनले मादल किनेको कुरा बताए । उनले पूर्वी पश्चिमको जीपमा नयाँ बजारसम्म पठाउने मेसो मिलाए । करिब सोह्र सयजति मादलमा बचत भएको जानकारी गरे । त्यो उनलाई खाजा खर्च बनाउनू भनेँ । यता, सचिव तीर्थफल आफ्ना खच्चड लिएर नयाँ बजार जाँदै थिए । मादल उनले लिने भए । सह–कोषाध्यक्षमार्फत पाँच सय रुपैयाँ खाजा खर्च दिइयो ।

कात्तिक मसान्तसम्म मादल ल्याई पु¥याउनुपर्ने थियो । मसान्तकै बिहान सात बजे खच्चड सामान लिएर आए । तीर्थफल र अर्को ग्वालाले मादल बजाएको आवाज सुनेर म घरबाहिर निस्किएँ । मादल पनि समयमा आएको हुँदा अब मंसिरको एक गतेको तयारी गर्नुपर्ने थियो ।

मंसिर १ :
मध्याह्नदेखि सांस्कृतिक टोलीको मादल बज्न थाल्यो । यसपालिको हाम्रो गोलभिजनमा केही आशाका मुना पलाए ।

यसोउसो गर्दा साँझ पर्न लाग्यो । अरुण पुनले ‘मईंनाम सांस्कृतिक परिषद्’को तुल, ब्यानर लेखिदिए । झाँकी टिमले तीन–चार नृत्य गरेपछि गन्तव्यको सुरुआती प्रस्थान पाइला चाल्नुपर्ने भयो । कहाँबाट सुरुआत गर्ने भनेर संयोजक बसबहादुर पुनले परामर्श लिए । वडाध्यक्षको घर टाढा भएको, कार्यवाहक अध्यक्ष मगबहादुर बिक जुनाङको घर गएको हुँदा स्थानीय सरकार प्रतिनिधि भएको नाताले पहिलो सांस्कृतिक झाँकी वडा सदस्य भोकमाया नेपालीको घरबाट सुरू हुने जानकारी गरेँ । 

रात परेको थियो । सुरुआत बेला निकै कम उपस्थित हुँदा खल्लोपन होला कि भन्ने डर प्रबल थियो । परन्तु, यतिखेर शुभचिन्तक सबको उपस्थितिले झाँकी टोलीमा ऊर्जा थपियो ।

भोकमायाले आफ्नो तर्फबाट ५१० रुपैयाँ ‘मसाप’लाई सुरुआती सहयोग गरिन् । त्यसपछि लगत्तै हामी पुनिप्रसाद पुनको घरमा गयौँ । उनको घरबाट एक हजार रुपैयाँ सहयोग आयो । त्यसपछि हामी पुथा हिमालय माविका अध्यक्ष बमबहादुर शाहीको घर गयौँ । यतिखेर हाम्रो टोलीमा रत्नप्रसाद पुन आएका थिए । उनले उद्घोष गर्न भरपुर सहयोग गरे ।

झाँकी टिम गोलघेरामा फन्कामारी रहे । बमबहादुर शाहीले ‘मसाप’लाई ३,१८५ रुपैयाँ प्रदान गरे । व्यवसायी ढकाल विक, व्यवसायी अभिषेक विकले पनि सहयोग गरे । उद्योग वाणिज्य संघ मैकोटका वीरेन्द्र बुढा, व्यवसायी ज्ञानु गुरुङ, व्यवसायी अमरधन पुन, उद्योग वाणिज्य संघ रुकुम पूर्वका जिल्ला सदस्य माइतराज घर्ती मगर र होटेल व्यवसायी पूर्णिमा पुनत्रयबाट पनि सहयोग प्राप्त भयो ।

मंसिर १ गतेको सुरुवाती प्रयासमा यस सहयोगले निकै हौसला थप्यो । रात पर्न लागेकोले पहिलो घरदैलो झाँकी अभियानको बिट मार्ने कुरामा सहमति भयो ।

एकाधजनाले सब भोकाएको हुँदा मेस चलाउनुपर्ने प्रस्ताव राखे । मेस चलाएर अनावश्यक खर्च गर्ने भए यस घरदैलो झाँकी अभियानको कुनै अर्थ नरहेको बताएँ । मेरो कुरामा कसैको विमति रहेन । कसै–कसैलाई नमिठो पक्कै लागेको थियो ।

मंसिर २ :
यो दिन हामी ३ः३० बजे धारागाउँ सवार भयौँ । धारागाउँको एक घरको छतमा झाँकी सुरुआत भयो । धाराटोलका सबैले सहयोग दिएर हाम्रो झाँकी टिमलाई ऊर्जा प्रदान गरे । कमर पुनको घरबाट सुरु भएको यस कार्यका लागि टिमलाई सबैको घरबाट आ–आफ्नो गच्छेअनुसारका धेरथोर सहयोग प्राप्त भयो । हामी अब धारागाउँबाट माथि उक्लिने बेला मसापका उपाध्यक्ष तुल पुनको घर जाने भनेँ । फर्की तल झ¥र्यौं । उनका लागि पनि एक–दुई नाँच राखेपश्चात् रु. १००० सहयोग प्रदान गरे ।

हामी नन्दजित पुनको घर गयौँ । उनी यस सांस्कृतिक टिमका सहकर्मी पनि थिए । उनको घरबाट रु. १,२२५ सहयोग प्राप्त भयो । उनका जेठा छोरा रामबहादुर पुनको घरबाट रु. ९६० प्राप्त भयो ।

धारागाउँबाट काल्दुङको लागि प्रस्थान गरियो ।

काल्दुङमा कुलभाइको तर्फबाट ५ हजार दिए । यतिले अलि मन खुस भएन । रात पर्न लागेको थियो । काल्दुङमा जे जस्तो भए पनि धर्मशालादेखि उता घरघर पस्ने जानकारी गरेँ । सहयोगी दाताहरूले पैसा मात्र दिँदैन थिए । सानो पेप्सी बोतलमा रक्सी पनि दिन्थे । थोरथोरै पिउने क्रममा टोलीमा अधिकांश मातेका हुन्थे । मातेका मान्छेलाई एकत्रित गर्नु बडो कठिनको कुरा हुन्थ्यो ।

हामी कर्ण बुढाको घरमा गयौँ । उनले दिलखुस भएर १,६०० प्रदान गरे । लगत्तै पुथा माविका लेखापाल अदिबर पुनको घरमा गयौँ । उनले सही काम गर्नेलाई आफूबाट सहयोगको कन्जुस्याइँ नहुने बताए र २ हजार सहयोग गरे । नजिकै डेरा बसेका दयाप्रसाद पुनले पनि दिए ।

मसापको झाँकी टोली टेकबहादुर गुरुङको मेडिकलमा उक्लियो । उनको मेडिकल वडा कार्यालयसँग जोडिएको थियो । उनले २१ सय सहयोग गरे । अब हामी सांसद् कमला रोकाका स्वकीय सचिव मरिचमान पुनको घरमा गयौँ । उनले २,१५० दिएर सहयोग गरे । यतिखेर रात परिसकेको थियो । अन्य घरबाट प्राप्त खुद्रा सहयोगहरूका साथ दुई गतेको बिट मारियो ।

छुट्टिने क्रममा प्रायःजसो मातेर आफ्नो देह वशमा राख्न नसक्ने अवस्थामा थिए । परन्तु, मेसमा पकाएर खाने माग यथावत् थियो । सब घरघरमा गएर खाने कुरा गरियो । नास्ता खाने कुरा गरे । दाताहरूले दिएको रक्सी दुई गाग्री छ, त्यही खानू भनियो । हामी सब घरघर गयौँ ।

चिसोले गर्दा निदाउन सकिरहेको थिइनँ । बुद्धिमान नेपाली उति बेला परिषद्को सदस्य थिएन । उनी ढोका ढक्ढकाउन आए ।
‘पर जाने हो रे !’ भने ।
‘किन ?’
‘पर सब जम्मा भएका छन् । खाना, नास्ता पनि छैन । हरहिसाब पनि गर्ने भन्छन् ।’
‘को को छन् ?’

‘सबै छन् ।’

‘हिसाब मातेका मान्छेको अगाडि हुँदैन । खानाको व्यवस्था कसैलाई छैन । खाजा दुई गाग्रो रक्सी छ । त्यही खाऊन् ।’

उनी गए । उनको कुराले शान्त मन खजमजियो । तुरुन्त महासचिव बिर्जमानलाई कल गरेँ ।

‘मलाई यसबारे केही थाहा भएन । म आफ्नो घरमा छु ।’ उनले भने ।    

लगत्तै सह–कोषाध्यक्ष हस्तप्रसाद पुनलाई कल गरेँ ।

‘म यहीँ छु । केटाहरू दिमाग भोर गरिरहेछन् ।’ हस्तप्रसादले भने । उनीसँग कुरा हुँदै गर्दा पृष्ठभूमिमा होहल्ला सुनियो । भक्तिराज पुनको आवाज प्रस्ट सुनियो– ‘खानाखाजा पनि छैन । आयव्यय पनि छैन ।’

पृष्ठभूमिका कुरालाई ओझेलमा छोडेर मैले हस्तप्रसादलाई भनेँ– ‘भैगो, मसँग जम्मा रहेको सहयोगको पैसा तुरुन्तै लिन आउनू ! मैले यस परिषद्को गठन गरे पनि आज उपरान्त कुनै काम गर्ने छैन ।’ यति भनेर कल काटेँ । महासचिव बिर्जमान पुनलाई कल डायल गरेँ ।

‘यो केटाहरू किन यसरी व्यर्थमा कराएका होलान् ? त्यो बुद्धिमानलाई पनि कसले पठाएछ तपाईंकहाँ ?’

मंसिर ३ गते :
म स्कुल गएँ । कात्तिक महिनाको अन्तिम हप्ता ६ दिन पुथा मावि मैकोटमा खेताला शिक्षक भएको थिएँ । मंसिर ३ गते बुधबार स्कुल खुलेको हुँदा म पनि हाजिर थिएँ । यसो भएको हुँदा म मसापको सांस्कृतिक झाँकीमा दिउँसो सामेल हुन पाइनँ ।

म सांस्कृतिक झाँकीमा सामेल नभएको देखेर धेरैजसोले म अघिल्लो रातको घटनाले रिसाएर नआएको आशंका गरेछन् । यही लघुआशंकाको सेरोफेरोमा रत्नप्रसाद पुनले कल गरेर भने– ‘तपाईं छिटो आउनुप¥यो । असहमति र बेमेल कुराको पछि छलफल गरौँला । तपाईंबिना यहाँ अप्ठ्यारो हुने भयो ।’

मैले रत्नप्रसाद पुनलाई ४ बजेपछि आउने कुरा बताएँ ।

४ बजे म खेताला शिक्षणबाट घर आएँ । सांस्कृतिक झाँकी कान्छाबारा टोलमा गइसकेको थियो । म त्यहीँ गएँ । मलाई देखेर मसापका साथीहरू उज्यालिए । जहाँ सह–कोषाध्यक्ष हस्तप्रसाद पुनले बारगर समाज, हस्तिमान पुन, महादेश घर्ती मगर, माया घर्ती मगरलगायतले गच्छेनुसारको सहयोग गरेको सुनाए । 

सांस्कृतिक टोलीले केही खुद्रा डिग्रे नाँच्दै गरे । कान्छाबाराले एकमुष्ट २,५२० दिए । व्यक्तिगतरुपमा पनि विभिन्न महानुभावबाट सहयोग प्राप्त हुँदै गयो ।

साँझ पर्न लागेपछि हामी चौतारा गयौँ । जहाँ छकरुजी पुन, हस्तप्रसाद पुन, बिर्जमान पुन, इच्छाराज पुन, पुनिराज पुन, रत्नप्रसाद पुन, भोगेराज पुनलगायतबाट प्राप्त सहयोग सम्मानयोग्य रह्यो ।

धेरै गुनासो आयो भनेर एउटा बोइलर कुखुरा काटेर त्यो दिन मेस तयार पारिएको रहेछ । सबैले खाए । मचाहिँ अर्को ठाउँमा खाना पाकेको हुँदा उतै गएँ ।

मंसिर ४ गते :
मसापका सांस्कृतिक झाँकी स्युरुम लागेको थियो । यो कुरा सह–कोषाध्यक्ष हस्तप्रसाद पुनले जानकारी गरे । म स्कुलबाट घर आएँ । स्युरुम असाध्यै जाडो हुने ठाउँ हो भनेर लुगा प्लस गर्न आएको थिएँ । सन्ध्या हुन लागेको थियो । म स्युरुम पुग्दा ठूलो गोलघेरा लाएर नृत्य हुँदै थियो । छेउमा आगो ताप्न बालिएको थियो । आगो दन्किरह्यो । कठ्याङ्ग्र्रिएका जति सब आगाको छेउ सेकिन जान्थे ।

स्युरुमका विभिन्न घरबाट हार्दिकताका साथ सहयोह प्राप्त हुन लागे । प्रेम गुरुङ, तारा गुरुङ, हितकुमार बुढा, राजन बुढालगायतबाट सहयोग प्राप्त भयो ।

सातो खाने चिस्यानले सबै कायल थिए । मोबाइलका लाइट बालिए । हामी स्युरुमबाट हाप्र्या प्रस्थान गर्यौं ।

हाप्र्यामा पनि सहयोग राशि प्राप्त भयो । हामी हेमन्तकालीन चिस्यानले सेकिएका सब मेसमा तयार खाना खान गयौँ । त्यो दिन टाढा यात्रा गर्नुपर्ने भएर अध्यक्ष र महासचिवले राँगाको मासु लिएर पकाउन पठाएका रहेछन् ।

मंसिर ५ गते :
मेरो कुलभाइको पुर्बदा खान म हार्दिबाङ्ग गएँ । त्यो दिनको झाँकीमा म उपस्थित हुन सकिनँ । मंसिर ५ गतेको सहयोग संकलन हस्तप्रसादले मलाई टिपाए । 

मंसिर ६ गते :
झाँकी टिमको घरदैलो कार्यक्रम सकिएको थियो । त्यो दिन देवी उठाउने कुरा संयोजक बसबहादुर पुनले गरे ।

दिन ढल्किन लागेको बेला प्रत्येक घरबाट धहा र धूप लिएर झाँकी टोली अघि बढ्यो । टाढाका धजा र धूप जोगी खप्पर लगाएका जोगीहरूले लिनुपर्ने रहेछ । गाउँघरका रुघाखोकी, व्यथा मन्साएर फाल्न जानुपर्ने रहेछ । धजापोलामा गएर सिँगारु फुकाउने काम भयो । ग्रहदशाजति जाओस् भनेर संकलित धजाधूप व्यवस्थित गरेर पोला पारी सजाए । संस्कारअनुसार त्यो दिन बोका काटेर खानुपर्ने रहेछ ।

‘सब एक ठाउँमा जम्मा भएर खानुपर्छ है !’ सबैलाई सुनाइयो ।
साँझ धारा काल्दुङका सब जाडो खप्न नसकी गइसकेछन् । बाँकी हामीहरू भने कोही मासु पकाउनमा व्यस्त थियौँ । कोही सामान्यरुपमा समीक्षात्मक गफ गरिरह्यौँ ।

रत्नप्रसाद पुनको आग्रहमा धारा काल्दुङका साथीहरूलाई मासु भाग राखेर बाँकी उपस्थित सबैलाई बाँडियो । त्यो दिन झ्होल्ला टोलीलाई उपाध्यक्ष तुल पुनले मसापको तर्फबाट निमन्त्रणा दिएका थिए । उनीहरूलाई पनि मासु र झोलको व्यवस्था गरियो ।

योबीचमा डिग्रेमा मादल बसबहादुर पुन र तुल पुनले पालैपालो बजाए । भक्तिराज पुन, वर्तमान पुन, सुविधन पुन र रामलाल कामीले पालो गरेर डूँडी बजाए । अन्य बेला अरुण पुन र धनीप्रसाद नेपालीले जोर मादल बजाएर झाँकीलाई रमणीय बनाए । जित पुन, सोमबारे पुन, रथ पुन, अदिराम पुन, तीर्थजान पुन, बिर्जमान पुन, रत्नप्रसाद पुन, तीर्थफल नेपाली, बरुण पुन, लक्षिणटेक पुन, बुद्धिराज नेपाली, हस्तप्रसाद पुन, पविनकुमार पुन, कर्मराज पुन, नन्दसिं पुन, जयप्रसाद पुनलगायतले डिग्रे नाचेर झाँकी अवधिभर खटे ।

मंसिरे पूर्णिमा
मंसिर १५ गतेको पूर्णिमामा देहान्त भएका आफन्तहरूको पितर मिसाउनुपर्ने थियो । अब उपरान्त मृतात्मा देवतासरि भए भनेर कुल पितर मिसाइन्छ । अर्थात् पितृ पूजा गरिन्छ । त्यो दिन अध्यक्ष सोमबारे, उपाध्यक्ष तुल, महासचिव बिर्जमान, सदस्यहरू जित पुन, वर्तमानलगायतको टोली पुषरको निमन्त्रणा पाएर डूँडी मादल लिएर उतै गए । उनीहरूले १२ हजार लिएर आए ।

घरदैलो कार्यक्रममा सहभागी हुने क्रममा वर्तमान पुन लडेर नाडीको एउटा हड्डी भाँचिएको थियो । मसापको तर्फबाट उनलाई उपचार सहयोग ५ हजार महासचिवमार्फत बुझाइयो । जोगी हुने क्रममा भङ्गमा खसेर घुडामा चोट पु¥याएका कबलराज पुनको लागि पनि उपचार खर्च दिइयो ।

झाँकी टोलीको समग्र रकम १ लाख १५ हजार ४७० उठेकोमध्ये खर्चहरू बाहेक रु. ९४००० बचत रह्यो ।

मंसिर २७ गते शनिबारको दिनमा मलाई मसाप गठन गरेर ठिकै गरिएछ भन्ने लागेको छ । झाँकीको सफलताले मसापमा केही ऊर्जा थपिएको छ । सामान्य कमी–कमजोरी त जीवनका सानिध्यमा रहने साथीजस्तै हुन् । यसले जीवनमा केही अनुभूतिजन्य पाठहरू पढाउँछ पनि । जे होस् मसापको घरदैलो झाँकीले सदा अर्काको मुख ताक्नुपर्ने र आश्वासनमा बाँच्नुपर्ने तथाकथित दिनको भर नपर्ने पाठ सबैले सिकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०८:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC