२१.१.२०१०
निद्रा पूर्णतः सिद्ध नै थियो । बस्, एउटा सानो सपनाले हल्का हलचल मच्चाइदियो । सिद्ध हुन खोज्दाखोज्दै थन्कियो निद्रा । यदि, सपनामा सत्यको बीउ लुकेको हुन्छ भने यो पनि निश्चित छ कि आउने समय मेरा लागि त्यति सहज हुने छैन ।
बाल्यकालमा बुर्का लगाएका महिलाहरू देख्दा नै पनि शरीरमा परकम्प छुट्थ्यो । खै कसले दिमागमा त्यसलाई लिएर अथाह डर भरिदिएका थिए कुन्नि, यी महिला आफ्नो बुर्कामा बच्चालाई लुकाउँछन् रे ! म तिनलाई देख्नासाथै कुनै घरमा लुक्न जान्थेँ । कुनैकुनै बेला रूखको आडमा लुक्थेँ । र, ऊँटले झैँ आफ्नो गर्दनलाई उचालीउचाली हेर्थेँ, ती बुर्कावाली गइसकिन् कि गएकी छैनन् भनेर ।
खै कतिबेला खत्तम भयो यो डर ?
सायद त्यसैबेला सकियो, जुन बेला सकिएको थियो होला बाल्यकालीन जादू ।
आज ती बुर्कावालीको डर तीनवटा कोटमा परिवर्तित भइसकेको छ । मेरो मामा भन्नुहुन्थ्यो, ‘जीवनमा कालो कोट, सेतो कोट र खैरो कोट..., यी तीन कोटबाट हमेसा बाँच्नू, पृथक रहनू । कालो कोट अर्थात् वकिल, सेतो कोट अर्थात् डाक्टर र खैरो कोट अर्थात् पुलिस ।’ भाग्य हेर्नुस्, यी तीनैवटा कोटहरूसँग सामना भइरहेको छ ! डर छ, कति बेला पुलिस आइपुग्ने हुन् र मलाई धक्का दिँदै मेरा सामानहरू बाहिर फ्याँकिदिने हुन् ! किनभने, वकिलको अनुग्रहबाट मैले त्यो कुरा धेरैपछि मात्रै थाहा पाएँ कि कोर्टको अर्डर आइसकेको छ फ्ल्याट खाली गराउनका लागि ।
वकिलले भ्रममा राख्दै मलाई भनेका थिए कोर्टले मलाई ६ महिनाको समय दिनेछ, यस्तो कुनै काम गर्नुभन्दा अगाडि । ‘सब ठीक भैहाल्छ नि’ सोच्ने मेरो मध्यमवर्गीय मन । र, यति बेला उसले जानीजानी साता दिनपहिले मात्र यो शुभ सूचना दिए । जसले तनावको प्रेसर प्वाइन्ट अधिकतम जान सकोस् र मोटो रकम मसँग असुल गर्न सकियोस्, कोर्टबाट स्टे–अर्डर लिनका लागि !
घर साहुनी उता तम्तयार थिइन्, मलाई कसरी ध्वस्त पार्न सकिन्छ र पुलिसलाई खर्चवर्च नगरेरै मलाई धपाउनमा सफलता मिलोस् । त्यसैले हरेक दिन नयाँनयाँ प्रयोग हुँदै आइरहेको थियो । दिनका साराका सारा प्रयोग बेकार भयो । पानी बन्द, मूलढोका बन्द, लेटर बक्स गायब..., सबै गरेर, हेरेर उनले नयाँ प्रयोगका लागि रातको समय चुनिन् । किनकि, डरका लागि सबैभन्दा मनासिब समय यही नै हुन्छ । डर रातिको समयमा नै मानव आकारको हुन्छ । स्त्री विमर्शवालाहरूले एकपटक मेरो घर मालिक्नीलाई हेरुन् त तिनले आफ्नो राय नै फेर्न सक्छन् ! ती महिला हैनन् मात्र चक्कु, छुरी र दाँत हुन् !
आधा रात, गहिरो निद्रा, सुनसान फ्ल्याट, साँयसाँय आवाज सुनिने शून्यता र त्यसै बेला कलबेलको कर्कश घण्टी । घण्टीमाथि घण्टी । पहिलो सोच यही आयो कि कसैले आक्रमण गर्दै छ, या कुनै दुश्मन अथवा कतैबाट कसैको निधनको समाचार पो आयो । मस्तिष्कका सारा कोषिकाहरुमाथि हथौडा बज्रिएजस्तो घण्टीको आवाज ! अचेल हरेक रात यस्तो कथा चल्दै आएको छ । एक्लो जीव, भुतहा घर, न छिमेकी, न पाले । स्वप्न र अनिँदो अवस्थाको सन्धिस्थलमा एउटा कविता अनिद्रित चेतनामा रातभर आउजाउ गरिरहे-
‘जब जब शून्य लाग्छ जीवन आफ्नो
तिमीले मलाई बोलाउनु
म गुञ्जन बनेर आउनेछु ।’
को आउँछ गुञ्जन बनेर ? ५५ वर्षको जीवनको यही प्राप्ति रह्यो– खाली गुँड । सारा अनुहारहरूको धुलो पुछिएर गयो । सानो मनले ठूलो काम हुँदैन । म ठूलो बन्न सकिनँ । सायद यही भनिरहेको छ, मध्यरातको यो एक्लोपना ।
१२.३.१०
छोराको पहिलो पोस्टिङ चेन्नई, आज पाइएको छ खबर ।
मन आशंकित..., कसरी बसुँ ? कोलकाताले मलाई टोकिरहेको छ । र, भनिँदै आइएको छ, जसलाई यो सहरले टोक्छ त्यसपछि ऊ कहिँ पनि बस्न सक्दैन । के भुल्न सक्छु र कोलकातालाई ? मनको आकाशमा भय, आशंका, एक्लोपन र कोलाकाता बिजुलीजस्तै चम्किरहेको छ । कोलाकाता, जहाँ खुलेको हो मेरो सोचका झ्यालहरू । जहाँ बगिरहेको जीवनले सिकाएको थियो मलाई जिन्दगी र संघर्षसँगको नाता । जसले देखाएको थियो मलाई मानिसद्वारा गरिएको मानिसमाथिकोे शोषण !
राम्रो कुरो के भयो भने केही निमन्त्रणा पाइएको छ, जसले यो दुःखको घाँटी थिचिदिएको छ ।
जम्मू युनिभर्सिटीको आमन्त्रण । दिल्लीबाट श्री राम सेन्टरको पनि आमन्त्रण छ । मेरो कथा ‘बस दो चम्मच औरत’ को नाट्य रूपान्तरण । अरू पनि केही लेखकहरूको कथाहरूको नाट्य रूपान्तरण । उदय प्रकाशको कथा ‘राम सञ्जीवन की प्रेमकहानी’ को पनि ।
उच्चाट मनलाई सम्हाल्नका लागि फेरि घुमफिरको सहारा लिइयो । सोच्दै छु, दिल्लीमा कथाको नाट्य रूपान्तरण पनि हेरेर आउँ र दुई तीन दिन मन्नूजीकहाँ पनि बसुँ । एकदम इच्छा छ मन्नूजीलाई नजिकबाट हेर्ने, कसरी रच्दछ एउटा लेखकले आफूलाई ? आफ्नो एकान्तलाई ?
(हिन्दी समयबाट अनूदित तथा सम्पादित ।)