सापटी माग मसँग मेरो पुरानो पेटिकोट
च्यात र बनाऊ एउटा लामो टालो
गुटमुट्याऊ तिम्रा गनाउने सर्तहरू त्यसमा
र,
फालिदेऊ कुनै बग्दै गरेको नदीमा
साला !
अझै याद दिलाउँछ आफ्ना सर्तहरू
बिहेको यज्ञमा
पुरोहितले पढेका मन्त्रहरूको अर्थ
पत्नीको कर्तव्य
पतिव्रताको गाथा
सतित्वको महत्त्व
साला !
आफू भने
सधैं पस्थ्यो
फुल्लन लोहारकी छोरी
फुलरियासँगै
के–के दिउँला भनी फकाउँदै
उखुबारीभित्र
मलेसिया जानुअघि
अब ऊ जमाना नैखे बा रे वीरेन्द्रके बाबा
हँ तुहै हौ वीरेन्द्रके बाबा
सुरेंदरौ तोहोरे पुतर ह
यी जानलिह
बाँकी जानकीबारे ना कह सकिला
यीहो बुझलिह
काहेन भेज्ल खर्चा विदेश से ?
बचलाके खातिर चाउर त किनेके रहे न ?
साला
दोकानके पण्डितवा ना दिहलस उधार
बाँकी हमार पेटीकोट उघर्ला आतुर रहे हरामी के
का करती हम ?
तोहोरा दुनो सन्तानके खियावेके रहल
स्कुल पढ़ावे के रहल
का करति हम ? मजबुरीमे का न होला ?
बोल न हे बिरेंदरके बाबा,
लाज लाग्दैन तिमीलाई ?
सोध्छौ ‘भन कसकी छोरी हो यो ?’
मलेसिया जानुअघि राति सुतेनौ तिमी मसँग ?
कति महिनापछि फर्क्यौ तिमी गन्ती छ ?
कति महिनामा निस्कन्छन् बच्चा आमाको गर्भबाट
ज्ञान छ ?
कति वर्षकी भइन् यी छोरी जान्न चाहन्नौ ?
आँगनमा पुग्नासाथ सोध्छौ ‘भन कसकी छोरी हो यो ?’
लाज पचाएको अर्धनग्न मान्छे !
भनम् कसकी छोरी हो ?
मेरो नाठाकी छोरी हो
चामल किन्न पैसा दिनेकी छोरी हो
तिम्रा बच्चाको स्कुल फी,
किताप, कापी, कलम किन्दिनेकी छोरी हो ।
भनम् कसकी छोरी हो ?
तिम्रा छोराहरूको आँगमा झुन्डिएका
लुगाहरू किन्दिनेकी छोरी हो ।
अझ भनम् कसकी छोरी हो ?
त्यो रात झमझम पानी परिरहेको थियो
वीरेन्द्रलाई १०४ को जरो थियो
अस्पताल लानु थियो
धेरैलाई गुहारेँ कसैले सुनेनन्
बाटोमा उभिएर हेरेँ
धेरै गाडी आए गए कसैले रोकेनन्
अन्ततः एउटा चिल्लो गाडी रोकियो
दुवै हात जोड़ेँ, गुहारेँ, वेदना भनेँ
त्यो गाडीको चालकले पनि केही मन्त्र पढ्यो
हाम्रो बिहेमा त्यो पुरोहितले पढेको मन्त्र सम्झेँ
पुरोहितले पढेको मन्त्रको अर्थभन्दा
तो चिल्लो गाडीको मान्छेको मन्त्र अर्थपूर्ण थियो
हुनसक्छ जानकी त्यसैकी छोरी हो
तर जानकी छोरी हो
ऊ ममता हो, करुणा हो,
होली ऊ हाम्रो समाजको विवशता
तर छाती ठोकेर भन्छु
तिम्री आमाजस्तै, बहिनीजस्तै, मजस्तै
ऊ यो पृथ्वीकी छोरी हो
ऊ एउटा सिँगो नारी हो ।
कसरी भनुँ म तिम्लाई
जानकी कस्की छोरी हो
सुन्न चाहन्छौ साँच्चै
ऊ कस्की छोरी हो ?
जानकी कुरूप समयकी
सुन्दर छोरी हो !
का करबौ जानके
यी जानकी केकर लडकी ह ?
अरे यी लडकी ह
एगो जान ह
हमरा अउर तोहोरा जैसन
चलेले, बोलेले, पढेले
काल्ह ऊहो महतारी बनी
ऊहो एगो सिरजना बनी
का कईल जाव ए वीरेंदर के बाबु
यी संसारके गति हमनिये न देली जा !!
(शीर्षकको अर्थ : यो संसारलाई गति हामी नै त दिन्छौं)
(कविडाँडा)