site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चुनावको ललिपपमा फस्दै छ कांग्रेस : ओलीको बोलीमा लोली मिलाउँदै देउवा
Ghorahi CementGhorahi Cement

कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि गिरिजाप्रसाद कोइरालासम्म संगत गरेका पुरञ्जन आचार्य अहिले भने कांग्रेसको राजनीतिमा कतै पनि संलग्न छैनन् । कांग्रेसका बेथिति र विसंगतिमा तिखो रुपमा बोलिरहेका आचार्य अहिले राजनीतिक विश्लेषकको पहिचानमा छन् । पछिल्लो समय कांग्रेसभित्रै वर्तमानको राजनीतिले इतिहासको रक्षा र वर्तमानसँगै भविष्यको सुरक्षा गर्न सक्छ कि सक्दैन भन्ने बहस कांग्रेस वृत्तमै भयरहेको छ । यस्तो बेला आफ्नो संगत, अनुभव, अध्ययनका आधारमा कांग्रेसको अवस्था र भविष्य कस्तो छ भनेर हामीले विश्लेषक पुरञ्जन आचार्यसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, आचार्यसँग बाह्रखरीका रमेश वाग्लेले गरेको अन्तर्वार्ता ।

कांग्रेसले अहिले लिएको बाटो ठीक छ ?
कांग्रेसले लिएको कुन बाटो ? एउटा बाटो छ पार्टी सभापतिको, त्यो बाटो चाहिँ के छ भन्दाखेरी ‘एता न उता’ सभापति देउवाले नै भन्नुभएको छ । भन्नुको मतलब म आन्दोलनमा पनि छैन, पुनःस्थापनाको पक्षमा पनि छैन । सर्वोच्च अदातले जे भन्छ, त्यही गर्छु भन्ने छ । एउटा बाटो त्यो हो ।

अर्को बाटो रामचन्द्र पौडेलको छ । उनी वरिष्ठ नेता हुन् र एउटा ग्रुपलाई कमान्ड गर्छन् । उनको बाटो भनेको चाहिँ अहिलेको प्रधानमन्त्रीले संसद् विघटन गर्ने प्रावधान संविधनमा छैन । संविधान मिचिएिको छ । संधिानको चीरहरण भएको छ । पहिला यसलाई जोगाऊँ । चुनाव हुने कुरा हुन्छ, कसैले रोक्न सक्दैन चुनाव । यो उनको संघर्षको लाइन हो । अझ उनले सबै पार्टीलाई साथमा लिएर जाऊँ भन्ने छ । 

Agni Group

तेस्रो लाइन पनि छ कांग्रेसमा, जसलाई धेरैले नोटिस गरेका छैनन् । त्यो कांग्रेस महामन्त्री शशांक कोइरालाको धार हो । यो पार्टी सभापति र वरिष्ठ नेता रामचन्द्र पौडेलभन्दा यस्तै गज्याङमज्याङमा यो संविधान नै तुहिने र यसलाई मासेर २०४७ सालको जस्तै अर्को संविधान जारी गर्ने । एउटा राइटिस्ट समझबाट राजा पनि ल्याउने, हिन्दुराज्य पनि राख्ने । त्यसका लागि यो संविधानमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट भइरहेको चीरहरण छ, यही कनटन्कनठ अघि बढेर विधि मास्ने, संघीयतालाई पनि रिजेक्ट गर्ने र एउटा नयाँ संविधान रि राचईट गर्ने्, जुन ०४७ सालको जस्तो संविधान र व्यवस्था बनाउने । उनको विटूविन द लाइन त्यो देखिन्छ ।

उनले नेपालमा हिन्दुराष्ट्रका लागि जनमतसंग्रह भने पनि राजा पनि एकताको प्रतीक उनीनिकटहरुबाट आइ नै रहेको छ । उनको होल परिवार, विराटनगरको कोइरालाला परिवार, जो हिजोका दिनमा प्रोग्रेसिभ परिवार भनेर चिनिन्थ्यो । अहिले राइटिस्ट कोर्षमा लागेको देखिन्छ –शेखर कोइरालाबाहेक ।

Global Ime bank

कांग्रेसको यो तीनवटा लाइनले कांग्रेसलाई प्रतिनिधित्व गर्छन् त ?
यो राजनीतिक लाइन मात्र होइन, यसका अन्य आयामहरु पनि छन् । शेरबहादुरजीका ओलीजीको जस्तै हो लाइन । दुवैले सत्ता र आफूकेन्द्रित राजनीति गर्छन् –नेपालको राजनीतिमा । दुवैले आफ्नो पार्टीलाई कमान्ड गर्न सकेका छैनन् । शेरबहादुरजीले पार्टीभित्र एकखालको वातावरण निर्माण गर्न सक्नुभएको छैन । प्रधानमन्त्री ओलीले पनि पार्टी त विभाजित गरिनै हाल्नुभयो । पार्टी मात्र नभएर संविधानलाई पनि तोडफोड गरिदिनुभयो । संविधानलाई त रेप नै गर्नुभयो भन्छु म । ओली र देउवाका दुई प्रवृत्ति किन एक ठाउँ आए भने यी दुवैजना उस्तै उस्तै चरित्रका भए । दुवैले पार्टीलाई पनि वास्ता गरेका छैनन् र जनतालाई पनि वास्ता गरेका छैनन् । दुवैले आफूलाई सेन्टरमा राखेर राजनीतिलाई अघि बढाएका हुन् । अहिलेको यो परिस्थितिमा पनि उनीहरु एक ठाउँमै देखिए ।

अनि, रामचन्द्रको लाइनले परिणाम ल्याउँछ त ?
रामचन्द्रमा अलिक अनौठो प्रवृत्ति देखिएको छ । यसपटक उनी संसद्मा छैनन् । पार्टीमा पनि कुनै पदमा छैनन्, एउटा मानार्थ पद मात्र उनीसँग छ । तर पनि उनीचाहिँ अहिले संविधानको रक्षक बन्नुपर्छ भनेर संसद् पुनःस्थापनाको लाइनमा अडिग भएर आफ्नो ढंगले अघि आएका छन् ।

तनहुँमा एउटा पुल उद्घाटन गर्न जाँदाखेरी उनीमाथि नै जुन ढंगको हातपात भयो, त्यसपछि कांग्रेसभित्र सुसूप्त अवस्थामा रहेको सुतिसकेको कांग्रेस त्यस बेला जुर्मुरायो । त्यसै बेला कांग्रेसले ७७ जिल्लामा विरोधका कार्यक्रम गर्न बाध्य भयो । हामीले पाएको इन्फर्मेसनमा निर्वाचनपछिको तीन वर्षमा पहिलोपटक कांग्रेसको आह्वानमा ३ देखि साढे ३ लाख मान्छे सडकमा निस्किएछन् देशभरमा । यो सामान्य अवस्थाबाट ऐतिहासिक घटना घट्यो ।

त्यो रामचन्द्र पौडेलजीलाई हातपातले भन्दा पनि सरकारप्रतिको असन्तुष्टिले काम गर्‍यो । त्यसमा निमित्त नायक रामचन्द्रजी नै हुनुभयो । एउटा ‘स्पार्क’ क्रियट गर्नुभयो । त्यो उमेरमा पनि लड्दै भिड्दै त्यहाँ पुगेर भोलिपल्ट पुल उद्घाटन पनि गर्नुभयो ।

यो सब त भयो तर कांग्रेस कहाँ छ भनेर खोजियो भने कहाँ देख्नुहुन्छ त ?
कांग्रेसको न्यारेटिभचाहिँ कसरी तयार हुन्छ भन्दा राइटिस्ष्ट फोर्स छ । भन्नै परेन हिजो सबभन्दा प्रोग्रेसिभ फन्टमा बसेको कोइराला परिवार नै अहिले त्यो फोर्सलाई प्रतिनिधित्व गर्छ र कांग्रेस महामन्त्री कोइरालले त्यसलाई नेतृत्व गरिरहनुभएको छ ।

अलिकति सेन्टर टु लेफ्ट भनेको चाहिँ अहिलेको संविधान नै सेन्टर टु लेफ्ट छ । त्यसमा शंका छैन । त्यसलाई प्रोटेक्ट गर्नका लागि बाहिर निस्कएको देखिएको रामचन्द्र पौडेललले नेतृत्व गरेको टिम हो । सेन्टर टु राइटमा एक्स्ट्रिम राइट्चाहिँ शशांक कोइरालाले प्रतिनिधित्व गरेका छन् भने सेन्टर टु टिल टु राइटचाहिँ शेरबहादुर देउवा नै छन् । संघीयताविरोधी, गणतन्त्रविरोधी लाइनमा प्रधानमन्त्री छन् र उनको निकटमा देउवा छन् ।

सैद्धान्तिकरुपमा तीनवटा धार नेपाली कांग्रेसभित्र छन् । मानिसहरु भन्छन्, यिनीहरुको कुनैपनि वैचारिक धार छैन । सबै सत्ताको झगडा हो । तर, कांग्रेसमा त्यस्तो छैन । कांग्रेसमा अहिले तीनवटा धार देखिए ।

यसले के गर्‍यो भने नेपालको संविधान झन्डैझन्डै अहिले अफिसियल बसिरहेका पार्टी अध्यक्ष भनेर दाबी गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पनि र प्रधानमन्त्री पनि रहेका ओलीले संविधानको स्वामित्व नलिएको जस्तो देखिन्छ । पार्टी अध्यक्ष भएर चारपटकसम्म प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले पनि संविधानको स्वामित्व नलिएको देखिँदै छ । शशांक कोइरालाले पार्टी महामन्त्री र संसद्मा भएर पनि संविधानलाई नबोकेको देखिन्छ । या कोइराला परिवार (माइनस शेखर) अहिले पनि शशांक कोइराला मात्र होइन, प्रकाश कोइराला, मनीषा कोइरालाहरुले पनि कांग्रेसको राजनीतिलाई प्रभावित पारेको देखिन्छ । किनभने, कोइराला परिवारको उतारचढाव मैले नजिकबाट देखेको छु । म पनि कोइराला परिवारको छेउकिनाराको मानिस नै हुँ । त्यहाँ आवतजावत बाक्लै देखिन्छ कांग्रेसहरुको । राष्ट्रिय झन्डा बोकेर मण्डलामा भाषण गर्ने र राजालाई राष्ट्रिय एकताको प्रतीक बनाउने विपिन कोइरालादेखि देवेन्द्र नेपालीसम्मका समूहको पृष्ठभूमिमा कहीँ न कहीँ कोइराला परिवार छ ।

कांग्रेसभित्र फरक–फरक चरित्रचाहिँ किन देखिँदै छन् ?
यसमा के देखिन्छ भने शेरबहादुरजी ०४६ को आन्दोलनमा नेपालमा हुनुहुन्नथ्यो । त्योभन्दा पहिले उहाँले धेरै ठूलो राजनीतिक त्याग, तपस्या गर्नुभएको छ । ०६२/६३ को जनआन्दोलनमा पनि शेरबहादुरजीको कुनै रोल छैन । बरु, आन्दोलन गर्नुपर्ने अवस्था निर्माणमा भूमिका छ । खाली उहाँ आफैँले विघटन गरेको संसद् पुनःस्थापनाको अन्दोलनमा अन्त्यमा जोडिन आइपुग्नुभएको हो ।

यहाँचाहिँ के जोड्नुपर्छ भने ठ्याक्कै यही अवस्था प्रधानमन्त्री केपी ओलीको छ । ४२/४३ सालमा उहाँ जेलबाट छुट्नुभयो । तर, ०४६ को आन्दोलनमा उहाँको कुनै भूमिका देखिँदैन । त्यस्तै, ०६२÷६३ को जनआन्दोलनलाई त उहाँले ‘कन्डेम’ नै गर्नुभयो । यहाँ के भन्न खोजेको भने यी दुवै व्यक्तिले परिवर्तनका लागि कुनै भूमिका खेलेका छैनन् ।

त्यही अवस्था हो, कांग्रेस महामन्त्रीको पनि । उहाँको परिवारको नेपालको राजनीतिक आन्दोलनमा धेरै ठूलो रोल छ । प्रजातान्त्रिक आन्दोनलको पृष्ठभूमि विश्वेश्वर कोइराला र उनका परिवारले तयार पार्नेदेखि कष्ट सहन गर्नेसम्म धेरै ठूलो भूमिका छ । तर, शशांक कोइरालाको नेपालको राजनीतिक आन्दोलनमा कुनै पनि भूमिका छैन । त्यसै कारण आन्दोलनबाट आएको संविधान, जनताको पीडा उनलाई थाहा छैन । नेपालमा दक्षिण एसियामै अभूतपूर्व संघर्ष भएका छन् । नेपालको लोकतान्त्रिक संघर्षमा लाखौँ परिवारले जेल–नेल भोगेका छन् । शशांक कोइरालाको परिवार सबभन्दा धेरै कष्ट भोग्नेमा पर्छ । तर, शशांक कोइराला त्यसमा सहभागी छैनन् । बीपीले प्रस्टैसँग भन्नुभएको छ । मपछिका कोइरालाहरुले राजनीतिक आन्दोलनलाई अघि बढाउँदैनन्, यिनबाट आन्दोलन हुँदैन । दुःख पनि यिनीहरुले सहन गर्दैनन् भनेर भन्नुभएको थियो ।

मैले पनि पटक–पटक भन्दै आएको छु । बीपी कोइरालाको छोरा त प्रकाश, श्रीहर्ष, शशांक होलान् । तर, राजनीतिक सन्तान त लाखौँ छन् ।

तपाईंले त सैद्धान्तिकरुपमै कांग्रेसको समूहरुलाई पर्गेल्नु हुँदै छ । यसबाट भोलिको कांग्रेस कस्तो बन्ला त अब ?
भोलिको कांग्रेस पनि यिनै तीनवटा विचारको अस्तित्व नेपाली कांग्रेसको भविष्य निर्धारित हुने हो । अब तलबाट एउटा पुस्ताको कडा प्रतिरोध पनि छ  ।  वंशसत्ताको निरन्तरता खोज्ने एउटा कांग्रेस छ – शशांक, शेखर, प्रकाशमान सिंह, विमलेन्द्र निधिहरु छन् । त्यसमध्ये पनि संघर्षबाट आएका छन् विमलेन्द्र निधि, प्रकाशमान सिंहहरु । कोइराला परिवार मात्रै हो, जहाँ दोस्रो पुस्ता संघर्षबाट आएन । निधि परिवार या सिंह परिवार संघर्षबाटै आएको छ । कांग्रेसभित्र एउटा परिवारिक राजनीति नै बोकेर आएको पुस्ता छ, जसले चाहिँ यसमा कोइराला परिवार पनि परिहाल्छ ।

अर्को फाइल बढुवा कांग्रेस छ । संघर्षमा भाग लिएको, जेल–नेल भोगेको रामचन्द्र पौडेल, शेरबहादुर देउवासहितको । रामचन्द्रजी यसमा देउवासँग मिसाएर बोल्दा प्रतिरोधमा उत्रनुहुन्छ । मैसँग पनि कैयनपटक उहाँका विमति छन् । तर, २०२०/२२ सालबाट उहाँ यो आन्दोलन र संघर्षमा हुनुहुन्छ र इमानदारीपूर्वक नै आन्दोलनमा लाग्नुभएको पनि हो । खाली उहाँ के कारणले पछि पर्नुभयो, त्यो उहाँको जिम्मा भयो । किनभने, राजनीतिमा चतुर्‍याईं पनि चाहिन्छ, पैसा पनि चाहिन्छ, बाहुबल पनि चाहिन्छ, पछिल्लो समयमा ती सबै कुराका लागि उहाँ स्मार्ट हुनु भएन । कांग्रेसको भविष्यचाहिँ कता छ भन्दा कांग्रेसभित्र जबर्जस्त यी तीनवटा धार छ ।

यी तीनवटै धारलाई छुट्टै किसिमको फाइल बढुवा पनि नभएको, वंशसत्ताभन्दा बाहिरको जबर्जस्त युवाहरुको गुट आएको छ । त्यसले कांग्रेसलाई नयाँ ढंगले सोच्दछ र नयाँ ढंगले बुझ्दछ । बौद्धिक पनि छ र आफ्ना अन्य वैकल्पिक क्यारियरलाई त्याग गरेर राजनीतिमा जोडिएको छ र सूचना प्रविधिसँग पनि अभ्यस्त छ । जनतासँग संवाद पनि गर्छ सक्छ, जनताकै भाषामा । त्यो हो गगन एन्ड कम्पनी । गगन थापा, प्रदीप पौडेलसहितका युवाहरु यिनीहरुले कांग्रेसभित्र समानान्तर सत्ता तीनवटै समूहलाई च्यालेन्ज गरेर नयाँ धार स्थापित गर्दै छन् । देशव्यापीरुपमा छन् यिनीहरु ।

तर, कांग्रेस पार्टी यिनीहरुको हो कि होइन, त्यो भने विचारणीय प्रश्न छ । कांग्रेस पार्टी बूढाहरुको पार्टी हो । उमेरका कारणले होइन, संस्कारका कारण बूढाहरुको पार्टी भएको छ । संस्कारका हिसाबले एउटा यस्तो महलजस्तो भएको छ कांग्रेस पार्टी, जहाँ ६० वर्ष पुग्दाखेरी पनि त्यो घरको बाउ–हजुरबाउ बाँचेका छन् भने १०० वर्षको हजुरबाउ नै त्यो घरको नेतृत्वदायी भूमिकामा रहेको हुन्छ ।

त्यसै कारणले गगनहरु जबसम्म बूढा हुँदैनन्, तबसम्म उनीहरु कांग्रेसले पत्याउने पात्र नबन्न सक्छन् । जसरी संयुक्त परिवारमा ६० वर्षको छोरोले पनि भूमिका पाउँदैन, खटनपटनमा हिँड्नुपर्छ, आफ्नी श्रीमतीसँग घरबाहिर निस्कन पनि धेरैपटक सोच्नुपर्छ । त्यसरी नै कांग्रेस कैयन कुराहरुमा अहिले पनि त्यही ज्वाइन्ट फेमिली जस्तो छ ।

देशव्यापीरुपमै गगनलाई फुच्चे कांग्रेस भनिन्छ । जबकि, ४५ वर्ष भएको मानिसलाई ६५ काटेका ८० वर्षसम्मकाले मसँग गगनलाई पार्टी हस्तान्तरण गर्नुपर्छ त भन्नुहुन्छ, ऊ त फुच्चे कांग्रेस भएन भन्नुहुन्छ । बीपी कोइरालाले ३२/३३ वर्षमा क्रान्ति गरेर नेता भइसक्नुभएको थियो । त्यसैले कांग्रेसले मानसिकरुपमा बूढाहरुको र शारीरिकरुपमा मात्र युवाहरुको पार्टी हो । यो कुरा गगन पुस्ताले बुझ्न आवश्यक छ
कांग्रेसमा तीन प्रकारका बूढाहरु छन् । एउटा त फाइल बढुवा समूह भइहाल्यो । अर्को, ०६४ पछि निरन्तररुपमा कांग्रेसको नीति निर्माणमा बसेर, राज्यको पनि नीति निर्माणमा बसेर यहाँ ल्याइपुर्‍याएको एउटा सशक्त समूह छ । कांग्रेसको नीति निर्माणमा तिनीहरुले ठिक गरे र बेठिक गरे । तर, आजको नेपाल तिनीहरुकै देन हो । त्यो भनेको रामशरण महत, महेश आचार्य, विमलेन्द्र निधि, नरहरि आचार्य हुन्, गोविन्दराज जोशी, रामचन्द्र पौडेल पनि हुन् ।

०४६ सालको परिवर्तनपछि ६/७ जनाको टोली छ । गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई वा शेरबहादुर देउवालाई सहयोग गर्ने करिब हाफ दर्जन मान्छे एउटै छन् । जसले नेपालको आर्थिक नीति, जसले नेपालको शिक्षा नीति, जसले नेपालको सामाजिक नीति निर्माण गरेको छ । यो समूह आफैँचाहिँ कहिल्यै पनि नेता हुँदैन ।

निधिले त गर्दै हुनुहुन्छ नि ?
विमलेन्द्र निधि पनि पार्टीसत्ता र राज्यसत्ताको नेतृत्वमा कहिल्यै पनि रहनु भएन । उहाँको कांग्रेसको नीतिका केही अंशमा बाहेक प्रभावित गर्नुभएको छैन । चाहे उदारीकरण भनौँ, पार्टीभित्र निर्वाचनमा जाने कुरा, सबै केन्द्रीय सदस्य निर्वाचित हुने कुरा उहाँको भन्दा अरुको धेरै छ । निधिको भूमिका कहाँनेर छ भने मधेसलाई हेर्ने कुरा र पार्टीका विधानमा त्यसलाई हाल्ने कुरामा छ । पार्टीलाई समावेशी बनाउने कुरामा पनि उहाँको भूमिका छ । तर, पार्टीसत्ता र राज्यसत्ता भनेका दुईवटा सत्ता हुन् । नेपालमा राज्यसत्ताभन्दा ठूलो शक्तिशाली पार्टीसत्ता हुन्छ । नेपालमा त्यही कारण पार्टीसत्ताका लागि बढी लुछाचुँडी हुने गर्छ । प्रधानमन्त्रीले पार्टी सत्ता छोड्न नचाहनुको कारण पनि त्यही नै हो । पार्टीसत्ता छोड्यो भने प्रधानमन्त्रीबाट हटाइहाल्छन् भन्ने डर ओलीलाई छ, इतिहासले त्यो कुरा स्थापित पनि गरिसकेको छ । गिरिजाप्रसाद कोइरालादेखि हेर्दै आउँदा हुन्छ । पार्टीको सभापति भएपछि प्रधानमन्त्री पद आइहाल्छ ।

फेरि इन्डियाको वा संसारकै संसदीय व्यवस्थामा अन्यत्र यस्तो छैन । भारतम बीजेपीको पार्टी सभापति को छ धेरै मानिसलाई मतलब नै छैन । सबैले नरेन्द्र मोदीलाई चिन्छन् । बरु, गृहमन्त्री अमित साहलाई चिन्छन् । किनभने, उनले पार्टीको अध्यक्ष छोडेर गृहमन्त्री बनेका छन् । नेपालमा त्यस्तो कल्पना गर्न सकिन्छ ? पार्टी अध्यक्ष यहाँ प्राइम मिनिस्टर नै बन्नुपर्छ भन्ने छ, सुरुदेखि नै ।

कांग्रेसमा यस्ता ब्लकहरु छन् । एउटा ब्लकले अर्को ब्लकलाई रिकग्नाइज गर्दैन । यस्ता ब्लकहरु विश्वभरकै लोकतान्त्रिक अभ्यासमा यस्ता अभ्यास छन्, हुन्छन् । अलिकति तीक्ष्ण, संसारका बारेमा ज्ञान भएका, कलम पनि धारिलो भएका मानिसहरुको कमी नै हुन्छ । त्यसैले यस्ता ब्लकहरु बनेका हुन्छन् । यी सबै कुरामा चल्नेहरुले आफूलाई नेताका रुपमा स्थापित भने गरेका हुँदैनन् । यिनीहरु जीवनमा रिस्क उठाउन सक्दैनन् । जस्तो, नरहरिले रिस्क उठाएर सभापतिमा चुनाव त लडे । तर, गिरिजा, शेरबहादुर, सुशील सबैसँग उनले मिलेर काम गरे ।

गगनले अलिकति रिस्क उठाए । उनलाई पनि उठ्न दिएका छैनन् । चक्र बास्तोलाले मसँग भन्नुभएको थियो, कांग्रेसको डीएनएचाहिँ के हो भन्नुहुन्थ्यो ? मैले यो पार्टीको डीएनए भनेको ओल्डएज हो भन्ने गरेको थिएँ । सभापतिका उम्मेदवारहरु शेरबहादुर, रामचन्द्र, सिटौला, इभन शेखर कोइराला पनि ७० आसपासमा छन् । गगनको पुस्तालाई अहिले पनि कांग्रेसभित्र विद्यार्थी नेताका रुपमा उभ्याउने गर्छन् । गगनले पनि राष्ट्रिय नेताको रुपमा आफूलाई प्रस्तुत गर्नका लागि कहीँ न कहीँ चुकिरहेको जस्तो लाग्छ । उसको संगत पनि राष्ट्रियरुपमा पार्टीको र्‍याङ्क एन्ड फाइलमा जुन किसिमले हुनुपर्ने त्यस्तो देखिँदैन । या त उसको एक्सेप्टेन्सी नै छैन । विमलेन्द्र निधि, महेश आचार्य, रामशरण महतले यसलाई हामी सभापति मानेर कम्युनिस्टसँग लडौँ भन्ने दिन आउला त अहिले ? यी सबैलाई बरु रामचन्द्र र शेरबहादुरकै मुन्तिर ओत लाग्न पाए हुन्थ्यो भन्ने छ । त्यसो गर्दा कमान्ड पनि आफ्नो हातमा हुने, यी नेताहरु सोझा भएकाले राजकाज पनि पार्टी पनि ताक्न पाइने । त्यसैले पनि एक्सेप्ट गर्दैनन् नि ।

गगन भयो भने त आफैँ ड्राइभ गर्छ । आफैँ ड्राइभ गर्नसक्नेलाई कांग्रेसमा नेता हुन हत्तपत्त दिइँदैन । कांग्रेसभित्र बीपीबाहेक अरु त्यस्तो आफैँ ड्राइभ गर्ने नेता अहिलेसम्म छैन । बीपीको कलम पनि चल्थ्योे, जनतासँगको कम्युनिकेसन पनि राम्रो थियो । वर्करुहरुसँग पनि थियो । पोलेसी लेबलमा पनि उहाँपछि अहिलेसम्म नेपालको कसैले परिवर्तन गर्ने र मापदण्ड बनाउन सकेको छैन ।

उहाँले कृषि नीति कस्तो हुने भन्ने कुरा बनाउनुभयो । अर्थनीति के हुने भन्दा १५ वर्षमा सबै नेपालीलाई आफूजस्तै मध्यम वर्गीय परिवार बनाउन गर्नुपर्ने तयारी यसरी हुनुपर्छ भन्ने थियो । उहाँसँग आफैँ त्यो थियो । डेमोक्रेसी कस्तो हुनुपर्छ भने सम्बन्धमा पनि राजा आफ्नो सीमामा बस्नुपर्छ, निर्वाचित व्यक्तिबाट शासन सञ्चालन गर्नुपर्छ भन्ने थियो । मोहनशमशेरका पालादेखि बीपीको न्यारेटिभ्स नै आजको कांग्रेसको इतिहास हो । धर्मको बारेमा पनि तपाईंका के धारणा छ भन्दा उहाँ स्पष्ट हुनुहुन्थ्यो, राज्यको धर्म हुँदैन भन्नुहुन्थ्यो । धर्ममा खासै मेरो रुचि छैन भन्नुहुन्थ्यो । हरेक कुरामा उहाँले एउटा प्रोग्रेसिभ र फ्युचरिस्टिक आइडियामा आफूलाई अब्बलरुपमा प्रस्तुत गर्नुभएको छ र प्रोग्रेसिभ बाटोमा हिँडेको नेपालको परिकल्पना गर्नुभएको छ । नेपाललाई हिन्दुराष्ट्र भन्नु झेली खेल हो भनेर लेखेरै जानुभएको छ ।
उहाँले म भाग्यवादमा विश्वास गर्दिनँ, मान्छेको मिहिनेत र विज्ञानमा विश्वास गर्छु भन्नुभएको छ । तर, उहाँकै परिवार आज राइटिस्ट मुभमेन्टमा जाँदै छ  । इतिहास यसरी उल्टिदो रहेछ । ती सबै कुराहरुको चाहिँ ती कुरालाई बोकेर अहिलेको नेपाललाई भविष्यसम्म लैजाने नेता चाहिँ को छ त ? पुराना पुस्तासँग त्यो क्षमतै छैन । उनीहरुलाई रेस्पेक्ट गर्दै नयाँ पुस्ता नयाँ ढंगले आएका छन् । जसले डेमोक्र्याटिक भ्याल्यु, लिवरलिजम, युथ इम्प्वाइमेन्ट, आईटीको प्रयोग पनि बुझेको छ ।

अनि, ती युवाले नेतृत्व गरे भयो नि त हैन, लोकतन्त्रमा त करिस्मेटिक लिडरसिप हुन्छ हैन र ?
तर, कांग्रेसभित्र यिनीहरुलाई कांग्रेस नै मानिँदैन । कांग्रेस युवाहरुको पार्टी नै होइन । कांग्रेसभित्रका हजारौँ अभिभावकका सन्तान अहिले या त कांग्रेसमा छैन या त कांग्रेसविरोधी छ, देशव्यापीरुपमा । 
युवामा कांग्रेस कसरी छैन भन्ने कुराको केही उदाहरण पनि मसँग छ । सात सालको क्रान्तिपछि कांग्रेसको सबभन्दा ठूलो तागत भनेको दुईवटा थियो । एउटा नेपालको जनजाति, अर्को मधेसी । पूवी पहाड खर्लप्पै कांंग्रेस थियो । ओखलढुंगा, भोजपुर, संखुवासभा, तेह्रथुम, पाँचथर, ताप्लेजुुङ, इलाम कांग्रेसको थियो । धनकुटासहित कहीँ कहीँ राजावादीहरुको होल्ड थियो । राष्ट्रिय प्रजापरिषद् थियो । कम्युनिस्ट कतै पनि थिएन । मधेसमा पूरै कांग्रेसले बढारेको थियो । मिडिल क्लासबाट सबैभन्दा धेरै कांग्रेसको लिडरसिपमा आएको थियो । सुवर्णशमशेर, गणेशमानहरु कांग्रेसको हाइयर क्लासबाट थिए । पछि के भयो भने पूर्वी पहाडका यी सबै जनजातिहरुबाट कांग्रेस डिट्याच हुँदै छ । गण्डकी प्रदशेका जनजातिहरु पनि डिट्याच हुन थाले । किन त भन्दा त्यहाँ वल्र्ड एजवालाहरुको कांग्रेससँग भावनात्मक सम्बत्रन्ध मात्र रह्यो । युथहरुले नयाँ ढंगको राजनीतिक न्यारेटिभ्स कम्युनिस्टहरुबाट पाए । मधेका युथ जसका बाउबाजे कांग्रेस थिए –उनीहरुले पहिचान, अवसरका नाममा र मधेसी अधिकारका नाममा क्षेत्रीय दलहरुबाट आकर्षित भए । त्यसपछि कांग्रेसको सपोर्ट बेस स्वाट्टै खुम्चियो । त्यसलाई बुझेर नेपालमा नेपाली कांग्रेसलाई नचाहेको उदाहरण अघिल्लो निर्वाचन पनि हो । मोरङजस्तो ठाउँ, जहाँको ५० प्रंतिशत जनसंख्या, मधेसी, थारु राजवंशीहरुको छ । त्यहाँ एउटा पनि सिट त्यो जातिले पाएन । गण्डकी प्रदेशमा एउटा पनि सिट गुरुङले पाएन । गत चुनावमा सघंतर्फ चुनावमा भ्याली छोडेर नेपालका पूर्वदेखि पश्चिमसम्मको पहाडमा दुई सिटबाहेक कांग्रेसले सम्पूर्ण ठाउँ हारेको छ । रसुवामा एकजना ठेकेदार आचार्यले जितेका छन् । अनि, डडेलधुरामा शेरबहादुर देउवाले जितेका छन् । बाँकी मेची, महाकाली सबै हारेको छ पहाडमा । यसमा सबै ओलीको राष्ट्रवादले मात्र काम गरेको होइन ।

कांग्रेसले सुरुमा पूवी पहाडको बेस गुमाएको छ । छिन्ताङकान्डदेखि नक्सलवादीकान्ड झापामा भयो । त्यसपछि मध्यपश्चिममा पनि भयो । सुदूरपश्मिमा कांग्रेसको बेस थियो, जहाँको सोसाइटी पनि अलिकति ब्याकवार्ड थियो । पछिसम्म स्ट्रङ बेस रहेको ठाउँ गण्डकी प्रदेश हो । अन्तिममा कांग्रेसले त्यो बेस पनि गुमाएको छ । जुन ठाउँलाई नेपाली सभ्यताको उद्गमस्थल पनि भनिन्छ । अहिलेका सभ्यताहरु गण्डकी आसपासबाटै फैलिएको मानिन्छ । त्यो प्रदेशमा संघतर्फ कांग्रेसले एक सिट पनि जितेन । कांग्रेस राजनीतिकरुपले कम्युनिस्टहरुको र्‍याडिकल नाराका कारण डिट्याच हुँदैछ । सामाजिकरुपमा पनि डिट्याच हुँदैछ । खाली काठमाडौं भ्यालीमा जितेको छ, यसको पनि खास कारण छ ।

कांग्रेसको सभापति भएपछि अहिलेसम्मको अवस्थाले अब कांग्रेसको भविष्य उहाँ नै हो अथवा विकल्प आवश्यक छ ?
उहाँ सभापति भइसकेपछि नेपालमा राष्ट्रिय निर्वाचन भयो । प्रदेश र स्थानीय तहको निर्वाचन पनि सम्पन्न भयो । ७५३ स्थानीय तहमा कांग्रेसले एकतिहाई पनि जितेको छैन । अरु अधिकांश ठाउँमा कम्युनिस्ट छन्, कहीँ कहीँ मधेसका ठाउँमा क्षेत्रीय पार्टीले जितेका छन् । शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले स्थानीय तह निर्वाचन हार्‍यो । संघीय निर्वाचनको त कुरै छैन, २३ सिट जितेको छ । प्रदेशमा पनि सातवटै प्रदेशमा नराम्रोसँग चुनाव हारेको छ । यस्तो सभापतिलाई पनि कांग्रेस केन्द्रीय समितिले सामूहिक जिम्मेवारी लिएर आममाफी दिएको छ अथवा रेस्क्यु गरेको छ । यसरी चुनाव हारिसकेपछि संसारको लोकतान्त्रिक राजनीतिमा राजीनामा दिन्छन्, पार्टी नेतृत्वको रुपमा र अर्कोलाई पालो दिइन्छ विशेष महाधिवेशनबाट । तर, त्यो बाटो कांग्रेसले लिएन । शेरबहादुरजीले खाली चुनावी नेतृत्वमा मात्र हारेको होइन । उहाँको नीति र रणनीति पनि हार्‍यो । नीति कहाँ हार्‍यो भने कम्युनिस्टले जिते भने निरंकुशता आउँछ भन्नुभयो, त्यो कुरा जनताले पत्याउँदै पत्याएनन् । कम्युनिष्टले नै जिते, उहाँको पोलिटिकल न्यारेटिभ्स त्यस बेला नै रङ निस्कियो ।

रणनीति पनि किन हार्‍यो भने उहाँले कहीँ बाबुरामलाई छोड्नुभयो, कहीँ महन्थ ठाकुरलाई जिताउनुभयो । कहीँ प्रचण्डलाई सहयोग गर्नुभयो । कांग्रेसले छोडेको ठाउँमा उनीहरुले जिते । तर, कांग्रेसलाई कसैले पनि सहयोग गरिदिएनन् । उदाहरण, राजेन्द्र महतो नै विमलेन्द्रलाई हराउन जनकपुर पुगेर लडे । एकातिर चुनावमा उहाँ मधेसवादीसँग साठगाँठमा हुनुहुन्थ्यो, अर्कातिर उहाँ कांग्रेसलाई पनि सरकारको पनि नेतृत्व गरिरहनुभएको थियो । सरकारमा बसिबसिकन माओवादीले तत्कालीन एमालेसँग गठबन्धन गर्‍यो ।

स्थानीय तहमा भरतपुरमा प्रचण्डकी छोरी रेणु दाहाललाई जिताउन लाग्दा त्यति धेरै बदनामी सहेर जिताउनुभयो । तर, त्यसबाट उहाँलाई त्यसको परिणाम नकारात्मक मात्र हात लाग्यो । त्यसकारण शेरबहादुरजी नेतृत्वमा फेल, नीतिमा फेल, रणनीतिमा पनि कम्लिट फेल तैपनि उहाँको सौभाग्य र नेपालको लोकतान्त्रिक आन्दोलनको दुर्भाग्यले उहाँ नै पार्टी सभापति हुनुहुन्छ ।

भोलि के होला भन्ने तपाईंका प्रश्न छ । सरकारका यी तमाम असफलताहरुका बीचमा पनि अहिलेका प्रधानमन्त्री केपी ओली र शेरबहादुर देउवामध्येलाई प्रधानमन्त्रीको रुपमा छान्नुपर्‍यो भने मेरो आफ्नो अनुमानमा अहिले पनि जनताले ओलीलाई नै छान्छन्, देउवालाई छान्दैनन् । किनभने, उहाँले नागरिकसँग संवाद नै गर्न सक्नु हुन्न । न उहाँ संसद्मा प्रतिपक्षी दलको नेताका रुपमा प्रस्तुत हुन सक्नुभयो, न उहाँले पार्टी सभापतिको हैसियतमा ऊर्जा दिन सक्नुभएको छ । न उहाँले युवा पुस्ता भविष्यको नेपाललाई कांग्रेससँग जोड्न कुनै प्रयत्न नै गर्नुभएको छ । त्यसकारण मैले के देखिरहेको छु भने शेरबहादुरजी हिजो पनि कांग्रेस सभापति भएर फेल हुनुभएको छ । अब आउने निर्वाचनमा पनि शेरबहादुरजीलाई देखाएर नेपालको डेमोक्र्याटिक मुभमेन्ट र कांग्रेस पार्टीको भविष्य सुरक्षित देखिँदैन । कम्युनिस्टहरु १० टुक्रा हुँदा यसै पनि कांग्रेसले भोट पर्सेन्टेज बढाउनै पर्दैन, तालुमा आलु फलिहाल्छ । नभए शेरबहादुरजीले मोटिभेसन गरेर, क्याम्पियन गरेर, नेपालको डेमोक्रेसी म जोगाउँछु मलाई भोट दिनुस् भनेर कांग्रेसले बहुमत पाउँछ भन्ने कुरा बहुसंख्यक नेपालीले पत्याउँदैनन् भन्ने लाग्छ ।

तपाईं शेरबहादुर देउवालाई एक प्रकारको ‘आउटडेटेड’ नेताका रुपमा प्रस्तुत गर्दै हुुनुहुन्छ तर उनकै वरिपरि धेरै नेताहरु छन्, विश्वप्रकाश जस्ता युवा पनि छन् । उनीहरु नबुझेर त्यहाँ उभिएका हुन् त ?
यो ढंगको खुला राजनीतिमा पार्टीका नेता–कार्यकर्ता सबैले समानरुपले अवस पाउँदैनन् । मानिसहरु अवसरका लागि पनि नेताको पछि लाग्ने गर्छन् । अवसरहरु प्रशस्तै हुन्छन् नेतासँग । राजनीतिक सुरक्षाका लागि पनि नेताको पछि लाग्ने गर्छन् । शेरबहादुरको राजनीति प्राक्टिकल शैलीको छ । त्यसलाई एक अर्थमा कहीँ न कहीँ गिरिजाबाबुसँग शेरबहादुरको यो एउटा लाइन मिल्छ । बीपी कोइराला थेउरिटीकल लिडर हुनुभयो । जसले समग्र देशलाई रुपान्तरित गर्छु भन्नुभयो । तर, देउवा व्यावहारिक राजनीतिज्ञ बन्नुभयो, जसले आफ्नो पार्टीभित्रका गुट र अनुयायीहरुलाई यी तीनवटै सुरक्षा दिएको छ । राजनीतिक अवसरको सुरक्षा, राजनीतिमा अघि बढ्नेलाई पदको अवसर दिनुभएको छ, जुन अवसर गिरिजाप्रसादबाट नपाउँदा त्यहाँ पुगेको अवस्था हो । प्रकाशमान सिंह, विमलेन्द्र निधि त्यता पुग्नुको कारण नै त्यही हो । खुमबहादुर खड्का, अहिलेका रमेश लेखक पनि त्यही हो । एनपी साउददेखि हिजोका नेविसंघको नेतृत्वमा रहेकाहरु अधिकांश उहाँतिरै छन् । राजनीतिमा आर्थिक सुरक्षा पनि ठूलो कारण बन्दोरहेछ । राजनीति मात्र गर्छु भन्ने मान्छेहरुको जीवन आर्थिकरुपमा कस्टदायक नै हुन्छ । शेरबहादुरजी विभिन्न किसिमले देशव्यापीरुपमा राजनीतिक, आर्थिक र समाजिक सुरक्षा प्रदान गरिरहनुभएको छ । सामाजिक सुरक्षा भनेको चाहीँ आफूसँग लागेको परिवारका सदस्यहरुलाई पढाइदिने वा स्कोलरसिपमा विदेश पठाइदिने । डाक्टर, इन्जिनियर बनाइदिने । यस्तो मात्र राजनीति गरेर पनि नेपालमा पार्टीको नेतृत्वसम्म पुग्न सक्छन् । त्यही मानिसहरु देशव्यापीरुपमा आउने हुनाले देशभरबाट आउनेहरुले शेरबहादुरजीलाई भोट हाल्छन् ।

डाइरेक्ट भोटमार्फत् सभापति छान्ने हो भने वा कांग्रेसका क्रियाशील सदस्यहरुले प्रत्यक्ष भोटबाट छान्ने हो भने शेरबहादुरलाई गगन थपाले जित्न सक्छन् । उहाँले यही अवसर र सुरक्षा दिन्छु भनेर कोइराला परिवारबाट अवसर नपाएकाहरु शेरबहादुरकोमा गोलबद्ध भएका हुन् । अहिले उहाँसँग अवसर र सुरक्षाका आशले पनि धेरैजना छन् ।

त्यसो भए विधि, सिद्धान्त, राष्ट्र निर्माणको मुद्दा यी कुराको कांग्रेसमा कुनै ठाउँ छैन अब ?
माइक्रो लेभलमा पार्टीभित्र भएका र आफूसँग लोयल (लोयलबाहेकलाई नहेर्ने) प्राक्टिकल पोलिटिक्समा शेरबहादुर देउवा छन् । प्राक्टिकल पोलिटिक्समा एउटा स्टाटस बनाएको नेता गिरिजाप्रसाद कोइराला हो । कृष्णप्रसाद भट्टराई र गणेशमानभन्दा उहाँ प्राक्टिकल नेता हो । पार्टीभित्र नेता हुनलाई अर्को एउटा फन्डामेन्टल कुरा क्षमता चाहिन्छ, फन्ड रेज गर्ने । चाहे त्यो अमेरिकी राष्ट्रपति बन्ने व्यक्तिमा होस्, चाहे भारतको राजनीतिमा स्थापित भएका मोदीमा होस् । यो क्षमता अनिवार्य नै छ । राजनीति गर्न त पैसा चाहिन्छ, नेपालमा उपलब्ध स्रोत र साधनका आधारमा त्यो पैसा जम्मा गर्न सक्ने क्षमता चाहिँ कांग्रेस पार्टीमा अहिले सबैभन्दा बढी शेरबहादुर देउवासँग छ । रामचन्द्र पौडेलसँग त्यो क्षमता भइदिएको भए धेरै पहिले नै सभापति बनिसक्नुहुन्थ्यो । हिजो गिरिजाबाबुसँग सबैभन्दा धेरै त्यो क्षमता थियो । किसुनजीलाई एकपटक गणेशमानजीले प्रस्ताव गरेर प्रधामन्त्री बनाइदिनुभयो, अर्कोपटक गिरिजाप्रसादले नै उहाँ भावी प्रधानमन्त्री भनेर बनाइदिनुभयो । नत्र त उहाँमा त्यो क्षमता नै बन्दैनथ्यो । उहाँले यहाँ म रहेकै क्षेत्रबाट दुईपटक हार्नुभएको थियो ।

त्यसैले शेरबहादुर देउवाले एउटा कार्यकर्ताको सुरक्षा, अर्को नेपालजस्तो देशमा फन्ड रेज गर्ने क्षमता देखाउनुभएको छ । अलिकति इन्टरनेसनल एक्सपोजरले पनि काम गर्छ । शेरबहादुर देउवा त ५१ सालमै प्रधानमन्त्री बनेर इन्टरनेसलन एक्सपोजर बन्यो । २६ वर्ष भयो उहाँको, आजसम्म रामचन्द्र पौडेलको त्यो एक्सपोजर बन्न सकेको छैन । कांग्रेसभित्र भूपू भने पनि प्रधानमन्त्री त शेरबहादुरजी मात्र हो । गिरिजाबाबु पनि हुनुहुन्न । इन्टरनेसनल कम्युनिटीले पनि शेरबहादुरजीलाई नै चिन्छ । अस्ति चाइनाबाट आएका मान्छेहरु सभापति भएर मात्र शेरबहादुरजीलाई भेटेका होइनन्, एक्स प्राइम मिनिस्टर पनि भएर भेटेका हुन् । रामचन्द्रजीले त त्यो अवसर पाउनु हुन्न । बाबुराम भट्टराई पनि एक्स प्राइम मिनिस्टर भएर भेटे । यस्तो कुराले पनि कार्यकर्ता र जनताको कनेक्सन त्यता जान्छ, ए यो त अन्तर्राष्ट्रिय भइसक्यो ।

तेस्रो विश्वका कैयन देशमा यस्ता कुराको महत्व हुन्छ । तपाईं, हामीले नेतालाई कति महत्व दिन्छौँ, त्यसको महत्व चाहिँ आम जनतामा अलिक कम हुन्छ । त्योभन्दा भारतले, अमेरिकाले, चीनले र अन्य देशले कति महत्व दिन्छन्, त्यसको इम्प्याक्ट बढी परेको हुन्छ । अहिले शेरबहादुरजीलाई यी सबै बेनेफिट छन् । फन्ड रेज गर्ने क्यापासिटी छ । गुटमा काम गर्ने कार्यकर्ता छन् । इन्टरनेसनल कनेक्सन र एक्स्पोजर पनि उहाँसँगै छ । नेपालमा स्टाब्लिस पावर छ । पुलिस, आर्मी, न्यायालयमा पनि उहाँकै चल्छ । त्यसैले त उहाँ अहिलेको प्रधानमन्त्रीसँग अख्तियारमा मेरो मान्छे राखिदे, निर्वाचन आयोगमा मेरो मान्छे राख भन्नुहुन्छ । राख्नुहुन्छ । उहाँ यस्ता स्थापित ठाउँहरुमा मान्छे राखेर, फन्ड रेज गर्नेदेखि राजकाज चलाउने अनुभव भएको मान्छे हुनुभयो । अरुले जेसुकै भनून्, बेपर्वाह उहाँ पार्टी अफिसभन्दा बढी बालुवाटार जानुभयो । देखेर जानुभयो, नदेखेर धेरै जानुभयो । किनभने, उहाँ त्यहाँ गएर निर्वाचन आयोगमा, अख्तियारमा, महालेखामा, अन्य संवैधानिक आयोग र राजदूतहरु यो राख्ने भन्नुहुन्थ्यो । त्यो सबैको मतलब के हो भने त्यहाँ गएका आफूप्रति लोयन मान्छेले उहाँलाई सहयोग गर्छन् । जस्तो, जयबहादुर चन्द नै किन चहियो त  ? हिजो आईजीपी पनि जयबहादुरलाई नै छान्न चाहनुभयो । आज अख्तियारमा पनि त्यही मान्छे किन चाहियो त उहाँलाई ? किनभने, जयबहादुर चन्द भन्ने मानिस उहाँसँग लोयल छन्, त्यो उहाँलाई लाग्छ । जयबहादुर कोप्रति लोयल छन्, जयबहादुरजीलाई नै छोडिदिउँ । शेरबहादुरजीलाई के लाग्छ भने सुदूरपश्चिमको बनाएँ भनेर उहाँको रिजनल पोलिटिक्स पनि बच्ने भयो ।

यसरी प्राक्टिकल पोलिटिक्समा गइसेकपछि मेरिटमा पनि सम्झौता गर्नुपर्ने हुन्छ । आफ्नो पािर्टीभित्रकै प्रतिस्पर्धीलाई पनि डाउन साइज गर्न सकिन्छ । अर्को, म राजकाजमा छु, तिमीहरुको राजनीतिक, सामाजिक र आर्थिक सुरक्षा मैले मात्र गर्न सक्छु भन्ने कुरा पनि म्यासेज दिनसक्छ । यी सबै कुराबाट शेरबहादुरजी बेनेफिटेड हुनुहुन्छ ।

यस्तो राजनीतिले मूल्यको रक्षा, सिद्धान्तअनुरुप देशको भविष्य निर्धारण, जनताको भविष्यका लागि नीतिगत सुधारजस्ता कुरा हुँदैनन् । जसले प्रत्यक्ष लाभ लिने वर्गबाहेकलाई त्यो व्यक्तिसँग मात्र होइन, त्यो पार्टीसँगबाटै टाढा धकेल्छ, जुन कांग्रेसको अहिलेको अवस्थाले स्पष्ट पारिरहेको छ ।

अवसरको यो काम गगन थापाले त गर्न सक्दैन । ओलीलाई भेटेर मेरो मान्छे अख्तियारमा राखिदे भन्न सक्दैन । गगन हुनुपर्छ भनेर आम पिपुलले भन्छ । तर, गगनले शेरबहादुरले जस्तो कार्यकर्ताको सुरक्षाका लागि मूल्यमा सम्झौता गर्न त सक्दैनन् । शेरबहादुरको उहाँको गुटमा उहाँलाई कसैले च्यालेन्ज गर्न सकेको पनि देखिँदैन । भर्खरै विमलेन्द्र निधिजीले म पनि उठ्छु भने । तर, उनले शेरबहादुरले ओलीसँग मिसाएको बोलीमा लोली मिलाएका छन् । सर्वोच्च अदालतले गरे गर्छ नत्र चुनावमा जानुपर्छ भन्दै छन् । उनको स्वार्थ पनि होला, दुई वर्ष किन कुर्ने अहिले नै चुनाव जित्छु भन्ने पनि होला । या शेरबहादुरजीसँग र्‍याङठ्याङ मिलाउँदा शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउँदा सभापति पाइहाल्छु कि भन्ने पनि होला । अहिले कांग्रेसभित्र इन्डिभिजुवलहरुको इन्ट्रेष्ट पनि सर्भ हुँदैछ । स्पेसहरु क्रियट हुँदैछन् ।

कांग्रेसलाई आम मानिसले त यसले विधिको रक्षा गर्छ, व्यक्तिमाथि पनि राज्य वा अन्य शक्तिको दुरुपयोगविरुद्ध बोल्छ, निजी सम्पत्तिको रक्षा गरिदिन्छ, मासलाई हेरेर नीति बनाउँछ यस्तै आधारमा समर्थन र विश्वास गरेका हुन् नि ! तपाईंका तर्कका आधारमा अब त्यो अवस्था समाप्त भयो ?
त्यो विश्वास हराउँछ, समाप्त हुन्छ कि भन्ने चिन्ता एउटा नागरिकको रुपमा मलाई पनि छ । अहिले म कांग्रेको छेउकिनारामा कतै छैन । तर, मेरो ब्यागराउन्डले त कांग्रेस नै भन्छ । कांग्रेस अब जतिसुकै सत्ताकेन्द्रित भए पनि शेरबहादुरमै पनि न्यूनतम संविधान रक्षा र लोकतन्त्र रक्षाको गुण त हुनैपर्छ भन्ने मेरो मान्यता हो । त्यो आम मानिसमा रहन्छ नै । कांग्रेसको मूल्य पद्धति नै के हो भने कांग्रेसलाई हेर्दा लोकतन्त्रको ठाउँमा यसले तानाशाह ल्याउँछ भनेर कसैले पत्याउँदैनन् । किनभने, यो पार्टीको इतिहमा यसका पूर्वजले गरेको त्याग र यसको दर्शनले कांग्रेसलाई शंकारहितरुपमा यो पार्टीले लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वास छ । तर, कम्युनिस्टहरुमाथि नागरिकको सधैँभरि शंका छ । यिनीहरुले सधैँ डेमोक्रेसी खान्छन् कि भन्ने चिन्ता छ ।

केही दिनअघि रामचन्द्र पौडेलले भनेजस्तो ओलीजी डेमोक्रेसीका लागि त जेलमा बसेको होइन, उहाँ त वान पार्टी सिस्टमका लागि (डेमोक्रेसीको विरुद्ध) जेल बस्नुभएको हो । सबै कम्युनिस्टहरुको ट्रेनिङ अन्तर्राष्ट्रियरुपमा त्यही ढंगले नै भएको छ । अहिले जबज आयो होला, नौलो जनवाद आयो होला । रूपान्तरण भयो होला । तर, कांग्रेस पार्टीलाई अहिले यतिखेर इतिहासले मात्र चाहिँ डेमोक्रेसी जोगाउँछ कि यो संविधानले जोगाउनुपर्छ ?

यदि, यो संविधानले डेमोक्रेसी जोगाउँछ भने यो संविधान जोगाउनुपर्छ कि पर्दैन ? हामी कानुनको विद्यार्थी नभए पनि के देख्छौ भने सन् २००० सुरु हुने समयदेखि अहिलेसम्म दुई दर्जनभन्दा बढी तानाशाहहरु चुनावबाटै निर्वाचित भएर आएका छन् । उनीहरुले आर्मी ‘कू’ मार्फत् पनि डिक्टेटर लागू भएको छैन, कम्युनिस्ट रेजिम पनि लागू भइरहेको छैन । तर, इलेक्टेल प्रधानमन्त्री र राष्ट्रपतिले विस्तार–विस्तार डिक्टेटरसिपतिर मुलुकलाई लगेका छन् । जिम्बाब्वे पनि त्यही होला, चिलीमा पनि त्यही होला । अहिलेको ब्राजिल, हंगेरी, टर्की पनि त्यही हुँदै छन् । रुसमा पनि त्यही अवस्था हो । झन्डै–झन्डै त्यही बाटोमा जाँदै थियो, केही दिनअघिको क्यापिटल हिलको घटना हामीले हेर्‍यौँ । निर्वाचनको परिणाम स्वीकार नगरी डिक्टेटरसिपमा प्रवेश प्रयास भएको थियो । त्यो अहिले रोकियो ।

नेपालमा पनि अहिले निर्वाचित प्रधानमन्त्री भए ओली । उहाँले संविधानको जुन चीरहरण गर्नुभएको छ, त्यसलाई म त्यही डिक्टेटरसिपको बाटोका कडीको रपमा लिन्छु । थाइल्यान्ड, मलेसिया त्यही बाटोमा छन् । हिटलर पनि इलेक्सनबाटै आएको हो ।

अहिलेको ग्लोबल पोलिटिक्समा पनि एउटा कन्टेस्ट के आएको छ भने आर्मी ‘कू’ वा पब्लिक ‘कू’ भन्दा पनि धेरै ठूलो खत्रा निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिहरुबाट नै भइरहेको छ । चुनाव पनि भइरहने त, कतिखेरचाहिँ नेपालमा सबै कुरा सेन्सर हुने हो, विस्तार–विस्तार ज्ञानेन्द्रको पालामा जस्तो अवस्थातिर मुलुक जान्छ कि भन्ने चिन्ता बढिरहेको छ ।

अनि, दुनियाँले विश्वास गर्ने तपाईंले दर्शन, इतिहासले कांग्रेस रक्षक बन्छ भन्दै हुनुहुन्थ्यो, तर रक्षा गर्दैन ?
कांग्रेसलाई शंकारहितरुपमा लिगल भ्यालुको रक्षक भनिन्छ नेपालमा । यतिखेर शेरबहादुरजीको ओलीसँग लोली मिलाएको बोली मिलेको हुनाले कहीँ न कहीँ शेरबहादुरजीले मूल्य पद्धतिमाथि नै घात गरेको छ कि भन्ने खतरा महसुस कांग्रेसभित्रकै अर्को समूहले गर्दै छ ।

त्यो शंका पार्टीको फरक मत राख्नेमा मात्र छ कि तपाईंसहित नागरिकस्तरमै परेको हो ?
नागरिकस्तरमै पुगेका कारण अहिले छटपटी सुरु भएको छ । देख्दै हुनुहुन्छ नि नागरिक आन्दोलन । ०६३/६३ देखि थन्किएर बसेका कृष्ण पहाडीदेखि कृष्ण खनालहरु सबै बाहिर निस्कएका छन् । ०६२/०६३ को आन्दोलनमा ज्ञानेन्द्रका निरंकुशतामा जसरी निस्किए त्योभन्दा पनि बढी अहिले नागरिक समाजका मानिसहरु बाहिर निस्किएका छन् । यतिखेर त पार्टीहरुसँग धेरै फ्रस्टेसन भएर धेरैजना रिजर्भ बसेका थिए । अहिले त्योभन्दा पनि वियोन्ड भएर मानिसहरु बाहिर निस्किएका छन् । चारजना पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति नै आयो । कांग्रेस व्यावहारिक राजनीतिमा अघि बढ्दा–बढ्दै शेरबहादुरजी त्यसको सफलतामा टेकरे अहिले निरंकुशताको संरक्षक हुनुभयो भने इतिहासको पुनरावृत्ति हुनसक्छ । हिजो शेरबहादुरले राजालाई बुझाउनुभयो भन्ने थियो, अहिले कम्युनिस्टलाई बुझाउनुभयो भन्नेखालको आरोप खेप्दै हुनुहुन्छ सडकबाट ।

कांग्रेसजस्तो पार्टीको सभापति भएर जे उहाँले बोल्दै हुनुहुन्छ, त्यसमा त उहाँले कम्युनिस्टलाई कम्प्लिट सत्ता दिँदै हुनुहुन्छ या ओलीलाई सत्ता दिँदै हुनुहुन्छ । वास्तवमा अहिले ओली सरकारको लेजिटिमेसी कहीँ पनि छैन । जनतामा पनि छैन, संविधानमा पनि छैन । ओलीले जेसुकै दाबी गरून् । त्यस्तो प्रधानमन्त्रीले लिएको निर्णयमा कांग्रेसजस्तो डेमोक्र्याटिक कल्चर, भ्याल्यु र ट्रेडिसन भएको पार्टीको सभापतिले बोलिरहेको कुराले मान्छे त्राहिमाम् छन् । कांग्रेसको एकथरी कार्यकर्ता त्राहिमाम् छन् ।

तर, दुर्भाग्यले जनतामा जाने कुरालाई किन नजाई भन्ने भनेर बुझेकै कांग्रेसहरु पनि मुखमा टेप लाएर शेरबहादुरकै सहयोगीजस्ता पनि बनेका छन् । जसरी ओलीपट्टि सुवास नेम्वाङहरु म बोल्दिनँ भन्दै छन् । त्यो भनेको के हो ? समर्थन त हो नि । संविधानसभाको अध्यक्ष, संविधानसभाको अध्यक्ष कोही पनि छैन नि, संविधानसभाको क्रेडिट त सधैँभरि सुवास नेम्वाङलाई जान्छ नि ! संघीय संसद्को अध्यक्ष त कोही होलान् नि । तर, संविधानसभाको अध्यक्ष त इतिहासमा सुवास नेम्वाङ मात्रै हो नि । यो संविधानको मर्म र यसको इतिहास उहाँले जति कसले बुझेको होला ? तर, उहाँको यो लेबलको बेइमानीले आज संविधान आघात भएको छ, मर्माहत भएको छ । त्यो संविधानमा भएका डिवेटहरु उहाँजत्तिको अरु कसले सुनेको होला, बुझेको होला ? ७० वर्षको इतिहासमा बनेको संविधानसभामा प्रधनमन्त्रीभन्दा पनि ठूलो पोस्टमा हुनुहुन्थ्यो उहाँ, खोइ उहाँको जिम्मेवारी ? उहाँ आज यस्तो प्रधानमन्त्रीको अनुयायी भएर बस्नुभएको छ, जो प्रधानमन्त्री यो संविधानको चीरहरण गरिरहेको छ ।

यस्तो बेलो कांग्रेसको भूमिका कस्तो छ नि ?
ठिक प्रश्न उठाउनुभयो । यस्तो बेलामा कांग्रेसको सभापतिले चाहिँ ‘म यता न उताको’, कोर्टले जे भन्छ त्यही भन्दै हुनुहुन्छ । कोर्ट भनेको को हो ? त्यहाँ पनि मान्छे हुन्छन् होइन ? डेमोक्रेटिक आन्दोलनमा लागेको शेरबहादुरलाई मैले सम्झाउनुपर्छ ? इन्डियामा इन्दिरा गान्धीको तानाशाहीविरुद्धमा चाहिँ कोर्टले एकपछि अर्को निर्णय इन्दिरा गान्धीको सपोर्टमा गर्दै गयो । तर, जब जनता सडकमा ओर्लिए, जयप्रकाश नारायणले मुभमेन्ट गर्नुभयो – पञ्जाबदेखि बिहारसम्म, मुम्बईदेखि कन्याकुमारीसम्म । त्यसपछि आन्दोलनको राप र तापमा त्यही कोर्टले अधिकांंश निर्णय उल्टाएको छ । कोर्ट भनेको पब्लिक ओपिनियनको रिप्लेक्सन पनि हो । आज यतिखेर कोर्टले दिएको भर्डिक्ट मान्छौँ भनेर चुप लागेर बस्ने हो भने यो व्यक्तिगत मुद्दा हो कि आम नागरिकविरुद्ध स्टेटको मुद्दा हो ? पहिले त्यसलाई छुट्टयाउनुपर्‍यो नि । अब आम नागरिकविरुद्ध स्टेटको मुद्दा हो भने या स्टेटविरुद्ध आम नागरिकको मुद्दा हो भने बोल्नुपर्छ होला । त्यसै चारजना पूर्वप्रधानन्यायाधीशहरुले विज्ञप्ति निकाल्नुभएको हो ?  यो एउटा सिद्धान्तको लडाइँमा शेरबहादुर देउवा सडकमा उभिएर ती चारजना प्रधानन्यायाधीशहरुले भनेको कुरालाई उहाँले नेतृत्व दिन सक्नुपर्थ्यो । त्यस्तै, सुवास नेम्वाङ, जो संविधानसभाको अध्यक्ष हुनुहुन्छ, उहाँ प्रधानमन्त्रीको मतियार बनिरहनुभएको छ । अब शेरबहादुरजी चुप बस्ने, सुवास नेम्वाङजी बोल्दिनँ भन्ने असंवैधानिक काम गर्नका लागि सहयोगी बन्ने गर्‍यो भने, यो एउटा कदममा ओली रोकिन्छन् ? शेरबहादुरजी वा सुवास नेम्वाङ वा उनीहरुका अनुयायीले मानेका छन् भने उनीहरुले राजनीतिको कखरा पनि बुझेका छैनन् भन्ने हुन्छ । ओलीले अर्को कदम चालिहाल्छन् नि !

वैशाखमा चुनाव हुँदै छ, त्यसपछि त ओली हटिहाल्नुहुन्छ नि, हैन ?
वैशाखमा चुनाव हुन्छ ? निर्वाचन आयोगले यो माहोलमा चुनाव गराउन सक्छ ? चुनाव गराउनका लागि प्रतिनिधिसभा विघटन भएकै होइन । आफैँ भुक्तभोगी हुनुहुन्छ नि ! चुनाव घोषणा गरेर चुनाव गराउन नसकेपछि राजाले असक्षमभन्दा शिर झुकाएर हिँड्नुपरेको होइन ? चुनावको घोषणा किन भएको हो भने चुनावको घोषणा गरेपछि शेरबहादुरजीहरुजस्ता निस्किए, ओलीको समर्थनमा बोल्नेहरु निस्किए । बाँडिए नि त । त्यसका लागि हो चुनावको घोषणा । २०१७ सालमा महेन्द्रले पनि एकैपटक संविधान र राजनीतिक दलहरुलाई कहाँ ब्यान्ड गरेका हुन् र ? विस्तार–विस्तार स्टेप लिएका होइनन् र ? त्यति त बुझिन्छ नि । संसारमा निर्वाचित कार्यकारीले यसैगरी विस्तार–विस्तार डिक्टेटर बन्ने हुन् । निर्वाचित प्रतिनिधिबाट डिक्टेटरमा पुग्छ भनेर किताब नै लेखिएको छ । कांग्रेलाई नै सेन्टरमा राखेर कुरा गर्दा कांग्रेसको नेतृत्व चुकिरहेको छ ।

व्यक्तिगतरुपमा मैले धेरै भन्न मिल्दैन । किनभने, एउटा ठूलो आन्दोलनबाट आएको, नेविसंघको अध्यक्ष हुँदै यहाँसम्म आइपुगेको व्यक्तित्व हो उहाँ । कांग्रेस पार्टीको अध्यक्ष हुनुहुन्छ । अप्ठेरो अवस्थामा पनि सभाापति भएर चलाएकै हो । गौरवशाली इतिहास छ । तर, इतिहास गौरवशाली भएर मात्र पुग्दैन । वर्तमानलाई पनि नेतृत्व दिन र आश्वस्त पर्न सक्नुपर्छ । भविष्यको पुस्ताले पनि डिक्टेटरको सामना गर्नु पर्दैन भन्ने कुरामा हामी आश्वस्त हुन पाउनुपर्‍यो ।

अहिले अदालतले फैसला दिन्छ, न्यायालय वा अन्य संवैधानिक अंगले न्याय दिन्छ भनेर ढुक्क हुने वातावरण नै छैन । यस्तो अवस्थामा कसैले निष्पक्ष काम गर्न सक्छ, उनीहरुलाई आँट दिनु पर्दैन ? कि त नेता भएर बस्नु भएन छोडिदिनुपर्‍यो । सभापति भएर बसिसकेपछि त्यसलाई जोगाउन त उभिनुपर्‍यो नि । अदालतलले भोलि एउटा निर्णय गर्छ, अहिले त गरिसकेको छैन नि ।

पहिले–पहिले डाक्टरले नबुझिने अक्षर लेख्थे रे ! तर, अमेरिकामा यस्तो मुभमेन्ट चल्यो कि डाक्टरले लेखेका अक्षर सबै बुझिने हुनुपर्छ भन्ने कुरा स्थापित भयो । अदालत पनि त्यस्तै हो, उसले गरेका निर्णयहरु सबै मान्य नै हुन्छन् र ? यो रोमन इम्पायरको अदालत हो र ? मानेन त ! बेलायतले नमानेर अहिले प्रोटेस्टेन धर्म नै लियो नि । नयाँ धर्म नै उदय भयो जर्मनीमा पनि । अदालतलाई च्यालेञ्ज गरेरै आएको त हो नि मान्दैनौँ यो रोमन क्याथोलिक धर्म भनेर ।

त्यसकारण अदालतमा पनि मान्छे नै हुन्छन् । अन ड्यू प्रोसेसमा प्रेसर पो गर्न हुँदैन त । अदालतलाई पब्लिक ओपिनियन रिफ्लेक्ट त गरिदिनुपर्‍यो नि ! जनता निर्वाचनको हतारोमा छैनन् । निर्वाचनको वातावरण पनि छैन, माहोल पनि छैन । अहिलेको प्राथमिकता पनि होइन । यो कुरा रिफ्लेक्ट गरिदिन पर्दैन ? प्रायोरिटी त कोभिडलाई कसरी व्यवस्थापन गर्ने, नेपाली जनताको जनजीविका कसरी सहज बनाउने, रोगव्याधिबाट कसरी निकाल्ने त्यता लाग्नुपर्ने होइन ? नेपालजस्तो अर्थतन्त्रमा चालिस अर्ब रुपैयाँ निर्वाचनमा लगाउने साटो खुरुक्क लाएर जनताको जीवनस्तर सुधारमा लगाए देश जुरुक्कै उठ्दैन ? यति कुरा शेरबहादुरको टिममा बसेका मान्छेले नबुझेका होलान् । राष्ट्रको जीवनलाई प्रभावित पर्ने कुरामा मौन बस्नु राजनीतिक नैतिकता हो त ?

जनताको यस्तो हालत छ । जीविका चलाउन लाखौँ युवा भारत छिरिरहेका छन् । सबैभन्दा धेरै त सुदूरपश्चिम प्रदेश शेरबहादुरजीकै क्षेत्रबाट भारत गइरहेका छन् । सामान्य भावनात्मक सम्बन्ध त देखाउनुपर्छ नि ! चुनाव, चुनाव, चुनाव भन्दै हुनुहुन्छ । चुनाव भइहाल्यो भने पनि उहाँ प्रधानमन्त्री बन्नुहुन्छ ? कांग्रेसभित्रैबाट उहाँलाई प्रधानमन्त्री हुन दिँदैनन् । जनताले पनि भोट हाल्दैनन् कम्युनिस्टहरुले पनि दिँदैनन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC