कमजोर बन्दै विप्लव समूह, ‘कोर’ टिमसम्म पुग्यो प्रहरी

कमजोर बन्दै विप्लव समूह, ‘कोर’ टिमसम्म पुग्यो प्रहरी

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएपछि विप्लव समूह कमजोर बन्दै गएको पाइएको छ । सुरक्षा निकायको विश्लेषणअनुसार उच्च तहका नेताहरु धमाधम पक्राउ परेसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कमजोर बन्दै गएको हो ।

चारवटै सुरक्षा निकायले चन्द समूहका गतिविधिमाथि उच्च निगरानी सुरु गरेका छन् । दुई वर्षअघि सरकारले विप्लव समूहकामाथि प्रतिबन्धको घोषणा गरेको थियो । त्यसपछि सुरक्षा निकायले सो समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएको छ ।

प्रहरी अपरेसनकै क्रममा बुधबार (हिजो) ललितपुरबाट सो पार्टीका तेस्रो तहका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । बास्तोला सो समूहका अन्तर्राष्ट्रिय विभाग प्रमुखसमेत हुन् । बास्तोलासँगै रहेका अर्का नेता खड्गबहादुर विश्वकर्मा भने उम्कन सफल भएको प्रहरी अधिकारी बताउँछन् ।

‘कोर’ टिमसम्म पुग्यो प्रहरी
विप्लव समूहका गतिविधिविरुद्ध अन्य सुरक्षा निकायभन्दा नेपाल प्रहरी सक्रिय रुपमा लागेको छ । प्रहरीको विशेष ब्युरो, अपराध महाशाखा, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, सीआईबीलगायत महत्त्वपूर्ण प्रहरी कार्यालय गोप्य रुपमा सो समूहका सूचना संकलनदेखि सर्च अपरेसनसम्म सक्रिय रहँदै आएका छन् । कोरोना महामारीका बीचमा पनि प्रहरी सो समूहविरुद्ध सक्रिय नै देखिएको थियो ।

प्रहरीले विप्लवबाहेक सबैजसो उच्च तहका नेताहरुलाई पक्राउ गरिसकेको छ । विप्लवसहित सो समूहको शीर्ष नेताहरुमा खड्ग विश्वकर्मा, हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला नै हुन् । विश्वकर्मा यसअघि पक्राउ परेका थिए । अदालतको आदेशपछि उनी छुटिसकेका छन् । त्यसबाहेक सो समूहका नेता हेमन्तप्रकाश ओली पक्राउ परिसकेका छन् । यसबाहेक माइला लामा, अनिल शर्मा, ओमप्रकाश पुनलगायत नेताहरुलाई कारागारमै छन् ।

उनीहरुमाथि विभिन्‍न स्थानमा भएका विस्फोट,चन्दा आतंकलगायत मुद्दा लगाइएको छ । पक्राउ परेका सबैजसो नेताहरु विप्लव समूहको ‘कोर’ टिमका सदस्य हुन् । विप्लव समूहका आधिकांश नेता तत्कालीन माओवादीले सञ्चालन गरेको युद्धमा सहभागी भएका छन् । कार्यकर्ता पनि युद्धकालीन नै बढी छन् । वर्तमान व्यवस्थाको विरोध गर्दै आएको विप्लव समूहका शीर्ष नेताहरु भूमिगत रहँदै आए पनि प्रहरीको फन्दाबाट भने उम्कन सकेका छैनन् । एक सुरक्षा अधिकारी भन्छन्, “सो समूहका सूचना संकलन गर्न केही कठिनाइ छन् । प्रर्याप्त स्रोत-साधन छैनन् । तर पनि शीर्ष नेताहरु हाम्रो निगरानीमा थिए । त्यसैले पक्राउ गर्न पनि सफल भयौं ।”

विप्लवको कार्यालय टिमका नेताहरु नै पक्राउ पर्न थालेपछि सो समूह कमजोर बन्दै गएको र यसले सरकारसँग वार्ताको सम्भावना बढ्ने सुरक्षा अधिकारीहरुको दाबी छ । तर पछिल्लो समय विप्लव समूहले चन्दा आतंक भने तीव्र बनाएको छ ।  त्यसको निसानामा सबैभन्दा बढी स्थानीय तह परेका छन् । गत महिना मात्रै मोरङमा विप्लव समूहले एक शिक्षकको हत्या गरेका थिए ।

-फाइल तस्बिर

केशवराज जोशी

प्रतिकृया दिनुहोस
ad