प्रदर्शनीमा सय वर्षअगाडिको उपत्यका

प्रदर्शनीमा सय वर्षअगाडिको उपत्यका

काठमाडौँ । पहिले र अहिलेको काठमाडौं उपत्यका कस्तो छ ? तुलनात्मक झझल्को दिने उद्देश्यले फोटो प्रदर्शनी गरिएको छ ।

पाटन संग्रहालय विकास समितिले आयोजना गरेको प्रदर्शनी आन्तरिक पर्यटकको ध्यान तान्न गरिएको म्युजियम अफिसर सुरेशमान लाखेले बताए । उनी भन्छन्, “कोरोना महामारीले म्युजियमलाई पनि असर गरेको छ । म्युजियमले आफ्नो खर्च आफैँ उठाउनुपर्छ । त्यसैले पर्यटकलाई आकर्षित गर्न प्रदर्शनी गरिएको हो ।”

पाटन दरबार स्क्वायर, यसको कला र हेरिटेज त छँदै छ, आगन्तुक आऊन् र सय वर्षअगाडिका पुराना तस्बिर हेरेर स्तब्ध होऊन् भनेर प्रदर्शनी गरेको उनले बताए ।

प्रदर्शनीमा काठमाडौं उपत्यकाको सन् १८५० देखि १८८५ ताकाको लेबोँ र ओल्डफिल्डले गरेका स्केचहरु र सन् १८९९ देखिका स्वदेशी तथा विदेशीद्वारा खिचिएका प्राचीन फोटोहरु राखिएका छन् ।

यस प्रदर्शनीलाई पहिलो भाग र अस्थायी प्रदर्शनी भनिएको छ । दोस्रो भागमा मूर्तिहरु र अन्य कलात्मक वस्तुहरु प्रदर्शन गरिने लाखेले जानकारी दिए ।

२४ ओटा फोटो तथा स्केच राखिएको प्रदर्शनका तस्बिरहरु अष्ट्रियाको भियना म्युजियम, डोनेसन र केही किनेर संकलन गरिएको हो । म्युजियमले सय वर्षअगाडि र अहिले काठमाडौं उपत्यकाको चित्र दिन खोजेको हो ।

प्रदर्शनीमा काठमाडौंमा गाडी गुडाउन गाडी तानेको, पहिलो वैज्ञानिक गेहेन्द्रशमशेर, कालभैरवको मूर्ति, लगनखेलको अशोकन स्तुपा, पाटन दरबार स्क्वायरका स्केचहरु राखिएका छन् ।

स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइएकोले म्युजियम भ्रमण गर्न सुरक्षित रहेको लाखेले जनाएका छन् । यही पुस १० बाट सुरु भएको प्रदर्शनी आउँदो माघ १८ सम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस
ad