site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
स्पोर्ट्स अवार्ड : यस्तो छ विजेता र उनीहरुले हासिल गरेको सफलता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । जलपरी गौरिका सिंह र करातेका मण्डेकाजी श्रेष्ठ १७औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

१३औँ ‘साग’मा ४ स्वर्णपदक विजेता गौरिका वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी हुन् । गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै अवार्ड जितिन् ।

त्यस्तै, मण्डेकाजीले उत्कृष्ट वर्ष पुरुष खेलाडीको अवार्ड पाएका हुन् । मण्डेकाजीले फुटबलका विकेश कुथु, एथ्लेटिक्सका गोपीचन्द्र पार्की, तेक्वान्दोका कमल श्रेष्ठ र गल्फका सुवास तामाङलाई उछिन्दै अवार्ड जिते ।

Prabhu Bank
Agni Group
NIC Asia

१३औँ दक्षिण एसियाली खेलकुद (साग)मा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन् । २०० मिटर फ्रि–स्टायल, २०० मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि–स्टायलमा स्वर्णपदक जितेकी थिइन् । त्यस्तै, उनले ५० र १०० मिटर ब्याकस्ट्रोकमा रजतपदक जितेकी थिइन् भने स्वीमिङ टिम इभेन्ट्समा तीन कास्यपदक जितेकी थिइन् । त्यस्तै, ०७६ मै नेपालगन्जमा आयोजित आठौँ राष्ट्रिय खेलकुदमा गौरिकाले १२ स्वर्ण जित्दै कीर्तिमानमाथि कीर्तिमान कायम गरेकी थिइन् ।

यता, मण्डेकाजीले १३औँ सागमा दुई स्वर्ण जितेका थिए । आठौँ राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्णपदक जितेका उनी टिम कातातर्फ भने रजतमै सीमित भएका थिए । गत वर्ष बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा भने मण्डेकाजीले एकल कातातर्फ कास्य र टिम कातामा स्वर्णपदक जितेका थिए ।

Global Ime bank

अरुणाले जितिन् पिपल्स च्वाइज अवार्ड
भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छन् । अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन् ।

२७ वर्षीया अरुणाले ३७.५२५ प्रतिशत मत प्राप्त गरिन् । यस विधामा करातेका मन्डेकाजीले २८.४५७ प्रतिशत मत ल्याए । बास्केटबलकी सदिनाले १३.४९९ प्रतिशत मत ल्याइन् भने पौडीकी गौरिकाले १३.३०१ प्रतिशत मत हासिल गरिन् । त्यस्तै, फुटबलकी सावित्राले ७.२१८ प्रतिशत मत ल्याइन् ।

एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपमा नेपालले स्वर्ण जित्दा अरुणा कप्तान थिइन् । उनकै कप्तानीमा नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो । त्यस्तै, अरुणाकै कप्तानीमा नेपाल १३औँ सागमा पहिलोपटक फाइनलमा पुगेको थियो । भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिमले रजतपदक जितेको थियो । ‘अरुणालाई जिताऔँ’ भन्दै पोखरामा न्यु डायमण्ड एकेडेमीसँग एपीएफको मैत्रीपूर्ण खेलसमेत खेलाइएको थियो ।

सुवासलाई वर्ष उत्कृष्ट युवा अवार्ड
गल्फका सुवास तामाङले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जित्न सफल भए । सुवासले तेक्वान्दोका भूपेन्द्र श्रेष्ठ, जुडोकी पुनम श्रेष्ठ, भारोत्तोलनकी सञ्जु चौधरी र तेक्वान्दोकी सिना लिम्बु मादेनलाई पछि पार्दै अवार्ड जिते ।

सुवासले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा दुईवटा स्वर्ण जितेका थिए । त्यस्तै, आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेनाका सुवासले राहुल विक र निश्चयजंग राजमाझीसँग टिम इभेन्ट्समा रजतपदक जितेका थिए । फाल्डो सिरिज छनोट २०७६ मा च्याम्पियन बनेका उनी सूर्य नेपाल प्रिमियर लिगमा पनि च्याम्पियन बनेका थिए ।

नवीनलाई वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड
तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठले वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका छन् । नवीनले उसुका अमरकुमार थिङ, करातेका मदन उप्रेती, बक्सिङका प्रकाश थापामगर र पौडीका शंकर कार्कीलाई पछि पार्दै वर्ष उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते ।

१३औँ सागमा तेक्वान्दोबाट नेपालले सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कास्यपदक जित्दा नवीन प्रशिक्षक थिए । तेक्वान्दोमा नेपालका सबै २९ जना खेलाडीले पदक पाएका थिए । उनी चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप नेपालले खेल्दा टिमका प्रशिक्षक थिए । वर्ष उत्कृष्ट प्रशिक्षक अवार्ड पाएका नवीनले एकथान पल्सर मोटरसाइकल पाएका छन् ।

आयशा र सन्तोषीलाई स्पेसल अवार्ड
तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले १७औँ संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’अन्तर्गत् स्पेसल अवार्ड पाएका छन् । आयशा र सन्तोषीले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय जगतमा स्वर्णपदक जितेका थिए ।

०७६ मा नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दोकी आयशाले दुईवटा स्वर्णपदक जितेकी थिइन् । त्यस्तै, उनले आठौँ राष्ट्रिय खेलकुदमा भने कास्यपदक जितेकी थिइन् ।

एथ्लेटिक्सकी सन्तोषीले १३औँ सागमा १० हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् । सन्तोषी १३औँ सागमा एथ्लेटिक्समा स्वर्ण जित्ने एक मात्र महिला खेलाडी हुन् । १३औँ सागमा एथ्लेटिक्समा नेपालले ३ स्वर्ण जितेको थियो ।

महिला भलिबललाई टिम अफ द इयर अवार्ड
महिला भलिबल टिमले टिम अफ द इयरको अवार्ड पाउन सफल भयो । एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियसिपको उपाधि जित्दै नेपाली महिला टिमले ऐतिहासिक सफलता पाएको थियो । नेपालले एक सेट पनि नगुमाई स्वर्ण जितेको थियो ।

नेपाल १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा पहिलोपटक फाइनलमा पुगेको थियो । भारतसँग ३–२ को सेटमा पराजित हुँदै नेपाली महिला टिमले रजतपदक जितेको थियो ।

सिजरिन र गीतालाईलाइफटाइम अचिभमेन्ट अवार्ड
पूर्वटेबलटेनिस खेलाडी सिजरिन शाह र गीता क्षेत्रीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । टेबलटेनिसमा लामो समयसम्म योगदान पुर्‍याएका सिजरिन र गीतालाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।

सन् अस्सीको दशकमा गीता र सिजरिनले अनेक बाधा मात्र तोडेनन्, नेपाली खेलकुद इतिहासकै एक सर्वकालीन गौरवको उपलब्धि पनि हात पारे । सन् १९९१ को पाँचौँ दक्षिण एसियाली खेलकुदमा नेपालले दुई स्वर्णपदक जितेकोमा यी दुवै महिला खेलाडीको नाममा रह्यो । श्रीलंकाको कोलम्बोमा गीता र सिजरिनले आत्मसात् गरेको त्यो उपलब्धि दक्षिण एसियाली खेलकुदमा महिलाले नेपालका लागि जितेको पहिलो स्वर्णका रुपमा रहेको छ ।

अन्तर्राष्ट्रियरुपमा नेपाललाई चिनाएका सिजरिन र गीतालाई यो अवार्डबाट सम्मान गरिएको हो । त्यस्तै, दिगमसिंहलाई पाराएथ्लिट अवार्ड प्रदान गरियो भने एसियन स्पोर्ट्स जर्नालिष्ट अवार्ड अहमद खवारी इशालाई दिइएको छ ।

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत् उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइज अवार्डका विजेताले पल्सर स्पोर्ट्स मोटरसाइकल पाएका छन् । त्यस्तै, हरेक विधाका विजेताले ५० हजार रुपैयाँ नगद पाए ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि हो । डिस मिडिया नेटवर्क लिमिटेडको सहकार्य (पावर्ड बाइ) हुने अवार्डमा सूर्य नेपाल प्रालि, रुस्लान फुटबल, ई–सेवा, केल्मी, टर्किस एयरलाइन्स, होटल क्राउन प्लाजा, रोयल सिंगी होटल, इमेजिङ, युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीको प्रायोजन रह्यो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ११:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC