ज्याक्सनको मुम्बई कन्सर्टको कर माफीमा २४ वर्षपछि निर्णय

ज्याक्सनको मुम्बई कन्सर्टको कर माफीमा २४ वर्षपछि निर्णय

मुम्बई । सन् १९९६ मा माइकल ज्याक्सनको मुम्बईमा एक भव्य शो (कन्सर्ट) भएको थियो । खचाखच दर्शकको भिडबीच आयोजित उक्त शो भारतमा ज्याक्सनको एकमात्रै शो बन्यो ।

नोभेम्बरको १ मा स्पोर्टस एरिनामा आयोजित उक्त शोमा करिब ३५ हजार दर्शक उपस्थित थिए । सन् १९९६ सेप्टेम्बरदेखि सन् १९९७ अक्टोबरसम्म ज्याक्सनले वर्ल्ड टुर गरेर करिब ८३ शो गरेका थिए । जसमा मुम्बई पनि एक थियो ।

त्यसबेला महाराष्ट्रमा शिव सेनाको सरकार थियो । तत्कालीन शिव सेनाको सरकारले उक्त कार्यक्रमलाई ‘च्यारिटी शो’ भनेर मनोरञ्जन कर माफ गरिदिएको थियो । शिव सेना सरकारले करमा छुट दिएपश्चात उक्त कार्यक्रम कानुनी झमेलामा पर्‍यो, जसमा सरकार, कन्सर्टको आयोजक र उपभोक्ता संरक्षण मुछिए । कर छुट हुने कस्तो कन्सर्ट हो भन्ने कुराहरूमा प्रश्न उब्जिएको थियो ।

यसै विषयमा २४ वर्षपछि हालको महाराष्ट्र सरकारले आफ्नो निर्णय सुनाएपछि ज्याक्सनको १९९६ को कन्सर्टको विषय पुनः एकपटक ब्युँतिएको छ ।

त्यस समय इन्डिया टुडेले यो विषयलाई उठाएर यस्तो हेडलाइन दिएको थियो, ज्याक्सनको कन्सर्टको कर छुट दिनुको कारण केही व्यक्तिलाई मात्रै थाहा छ । सुकेतु मेहताले आफ्नो पुस्तक म्याक्सिमम सिटीमा लेखे, “सुपरस्टार ज्याक्सनको कन्सर्टबाट उठ्ने रकम (जुन १० लाख डलरभन्दा धेरै थियो) शिव सेनाको कुनै युवा परियोजनालाई दिने वाचा गरेका थिए ।’’

तर उपभोक्ता संरक्षण समूह मुम्बई ग्राहक पञ्चायतले यो कर माफिको मुद्दालाई बम्बे उच्च अदालतमा पुर्‍यायो ।

टिकटको मूल्य पाँच हजारसम्म
मुम्बई ग्राहक पञ्चायतका अध्यक्ष शिरीष देशपान्डेले हालै यसबारे बीबीसीसँग कुरा गर्दै भने, “कन्सर्ट आयोजना हुनुभन्दा केही दिनअघि मात्रै सरकारले औषधि बिक्रीमा कर बढाएको थियो । हामीले भन्यौं कि यदि तपाईंले औषधिमा कर उठाउँदै हुनुहुन्छ भने सम्पन्न मानिसहरूको सांगीतिक कन्सर्ट हामी कसरी कर निःशुल्क बनाउन सक्छौं । त्यस समयमै टिकटकको मूल्य पाँच हजारसम्म थियो जुन धेरै नै थियो ।”

भारतमा टिकट सस्तो बनाउनका लागि, केही चलचित्र र मनोरञ्जन कार्यक्रमहरू करमुक्त गरिन्छ । रिपोर्टका अनुसार, ज्याक्सनको उक्त शो फन्ड जम्मा गर्ने इभेन्टमा परिणत भएको थियो । जसको प्रत्यक्ष लाभ कन्सर्ट आयोजक कम्पनी र शिव सेनाको युवा रोजगार परियोजनालाई पर्ने थियो ।

बम्बे उच्च अदालतको कदम
बम्बे उच्च अदालतले उपभोक्ता संरक्षण समूहको निवेदनको सुनुवाइ गर्दै कन्सर्टको टिकट बिक्रीबाट भएको तीन करोड फ्रिज गरेको थियो । कर माफीलाई पेन्डिङमा राख्दै सरकारलाई योग्यताका आधारमा यस कर माफीमा फेरि पुनरावलोकन गर्न निर्देशन दिइयो ।

उच्च अदालतको यो निर्णय माथि, के पप म्युजिक कन्सर्टको कर माफी गर्न सकिन्छ रु भन्ने प्रश्न उब्जिएको थियो ।

२४ वर्षपछि सुल्झिएको मुद्दा
ज्याक्सनको उक्त कन्सर्ट आयोजना भएको २४ वर्ष पूरा भइसकेको छ । यद्यपि यस विषयमा भने पछिल्लो २४ वर्षदेखि सुनुवाइ जारी थियो ।

कन्सर्टको २४ वर्षपछि र धेरैपटकको सुनुवाइको प्रक्रियापछि हालको महाराष्ट्र सरकारले कर माफीको निर्णयलाई समर्थन गरेको छ । संयोगको कुरा के छ भने, यो कर माफीको निर्णयलाई समर्थन दिने निर्णय पनि शिवसेना गठबन्धन सरकारले नै गरेको हो ।

गत साता महाराष्ट्रका मन्त्री सुभाष देसाईले भनेका थिए कि, माइकल ज्याक्सनको सन् १९९६ मा आयोजित कन्सर्टबाट जम्मा भएको करिब ३३ लाख रुपैयाँको मनोरञ्जन कर माफ गर्ने प्रस्ताव पारित गरिएको छ ।

भारतीय मिडिया रिपोर्टहरूमा भनिएअनुसार अब यस कार्यक्रमका आयोजकले सरकारसँग यो पैसा दाबी गर्न सक्छन् । यसैबीच शिरीष देशपान्डेले भने, “हामी चाहन्छौं कि यो पैसा अब सरकारको कोषमा नै जम्मा होस् किनकी अब च्यारिटी त छैन ।”

यद्यपि सन् १९९६ को ज्याक्सनको यो शो भारतीय संगीतप्रेमीका लागि निकै दुर्लभ कार्यक्रमभन्दा कम थिएन ।

सुपरहिट कन्सर्ट, भारतको अन्तर्राष्ट्रिय विमानस्थल एक घण्टा बन्द
ज्याक्सन कन्सर्टमा आउँदा ज्याक्सनका लागि मुम्बईका एक ठूला व्यापारी केही समयका लागि ड्राइभर बनेका थिए । अर्थात् ती व्यापारीले ज्याक्सनका लागि कार चलाएका थिए ।

ज्याक्सनको एक झलक हेर्न पाउन मुम्बईको सबैभन्दा लक्जरी होटेलबाहिर मानिसहरूको भिड थियो । भारतीय मिडिया रिपोर्टका अनुसार ज्याक्सन बसेको होटेलको कोठामा भित्ता जति लामो ठूलो ऐना राखिएको थियो । जसमा फर्किने बेला ज्याक्सनले हस्ताक्षर गरेका थिए ।

मुम्बईको यस सांगीतिक यात्राका क्रममा ज्याक्सन बाल ठाकरेको घर पनि गएका थिए । ज्याक्सनको भारतमा अनगिन्ती प्रशंसक थिए । त्यसैले उनलाई स्वागत गर्न मुम्बई विमानस्थलमा हजारौंको भिड जम्मा भएको थियो ।

कन्सर्ट आयोजकमध्ये एकले हालै २४ वर्षअघिको त्यसदिन स्मरण गर्दै यसो भने, “मलाई याद छ उनी आफ्नो निजी विमानबाट आएका थिए । उनको टिमका अन्य साथीहरू भने चार अलग(अलग विमानबाट आएका थिए । विमानस्थल एक घण्टाका लागि रोकिएको (ठप्प पारिएको) थियो । किनकि विमानस्थलका अधिकारी, एयरक्राफ्टका क्रू सबैजना ज्याक्सनलाई अभिवादन गर्न चाहन्थे ।”

विपक्षीको निशानामा सरकार
विपक्षीहरूले सरकारलाई निशाना बनाएर हिन्दुवादी पार्टीले पश्चिमी मुल्यको पप कन्सर्टलाई समर्थन गरिरहेको भन्दै आलोचना गरेको थियो ।

शिवसेनाका केही नेताहरूले यो कन्सर्ट अश्लीलताको सीमा नाघिरहेको महसुस गरिरहेका थिए । इन्डिया टुडेको रिपोर्टअनुसार, तब शिव सेनाका सहयोगी बीजेपी ९भाजपा० ले आफ्ना नेताहरूलाई कन्सर्टबाट टाढा रहन आग्रह गरेका थिए ।
 
इन्डिया टुडेसँगको कुराकानीमा बीजेपीका एक नेताले एक प्रश्न गरेका थिए, “के शिव सेनाका लागि हाम्रो सम्बन्धभन्दा बढी महत्त्वपूर्ण माइकल ज्याक्सन हुन् रु”

सुकेतु मेहताले आफ्नो किताबमा बाल ठाकरेले ज्याक्सनको तारिफ गरेको विषय पनि उल्लेख गरेका छन् । किताबमा लेखिएको यसो लेखियो, “ज्याक्सन एक महान् कलाकार हुन् । हामीले उनलाई एक कलाकारका रुपमा स्वीकार्नुपर्छ । उनको चाल सानदार छ । अधिकांश व्यक्ति उनले जस्तो गर्न सक्दैनन् । तपाई त्यस्तो गर्ने कोसिसमा आफ्नै हड्डी तोड्नुहुनेछ ।”

साथै ठाकरेले ज्याक्सन एक अमेरिकी संस्कृतिको प्रतिनिधित्व गरेको पनि बताएका थिए । यी विश्व चर्चित कलाकार ज्याक्सनको निधन २००९ मा लस एन्जलसमा भएको थियो । त्यस बेला उनी मात्रै ५० वर्षका थिए । ज्याक्सनमाथि बच्चाहरूमाथि यौन उत्पीडनको आरोप पनि लागेको थियो ।

सौतिक विश्‍वास /बीबीसी हिन्दी

प्रतिकृया दिनुहोस
ad